२०८३ बैशाख १५
२०८३ बैशाख १५

काठमाडौं, १४ फागुन ।

दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरून्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले भने, ‘किसानहरूले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्।’न्युज कारखाना

बारा, १४ फागुन ।

बाराको निजगढ नगरपालिका ७ स्थित गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार विष्फोट भएको घटनाको सत्यतथ्य छानबिन गर्न निजगढका राजनीतिक दलहरूले माग गरेका छन्।

सोमबार साझ संयुक्त विज्ञप्ती जारी गरी घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन राजनीतिक दलले माग गरेका हुन्।

निजगढ नगरभित्र रहेका नेपाली कांग्रेसका निजगढका सभापति नवराज तिमल्सिना, नेकपा एमालेका निजगढका उपाध्यक्ष भोला गौतम, नेकपा माओवादी केन्द्र निजगढका अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय स्वतन्त्र पार्टी निजगढका सभापति रामहरी खरेल, राप्रपा निजगढका अध्यक्ष खड्ग प्रसाद उप्रेती र नेकपा एकिकृत समाजवादी निजगढका अध्यक्ष भिम प्रसाद सापकोटाको हस्ताक्षर रहेको संयुक्त विज्ञप्तिमा रोहित वर्कशपमा शंकास्पद वस्तु बिस्फोट भएको प्रति निजगढस्थित सबै राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

यस्तै यस हृदयविदारक घटनाप्रति गहिरो दुःख ब्यक्त गर्द उक्त घटनामापरी मृत्यु भएका सोही वर्कशपका सञ्चालक रेशम बहादुर जर्गामगर प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकटसमेत गरिएको छ।

विज्ञप्तीमा उक्त घटनामा निजगढ नगरपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय सुर्य बहादुर थापा, विरगंज महानगरपालिका वडा नम्बर ९ बस्ने ३४ वर्षीय फिरोद देवान, सोही स्थान बस्ने २० वर्षीय रितु रजत, भारत गवाहि बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत राम गढवा बस्ने २० वर्षीय अरीवन साह घाईते भई उपचारतहरू रहेकोमा उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

यस्तै आज भएको यस घटना संकास्पद वस्तु बिस्फोट भएको देखिएकोले उक्त घटनाको सम्बन्धित निकायबाट छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न र घाइतेहरूको उचित स्वास्थ्य उपचारका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसंग जोडदार माग समेत गरिएको छ।न्युज कारखाना

रौतहट,१४ फागुन ।

रौतहटको गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत शुकदेव चौकस्थित एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन ।

 

यमुनामाई गाउपालिका १ सुकदेव चौकमा स्थित सगरमाथा तराई हस्पिटल प्रा।लिमा कार्यरत ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन ।

 

पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना ढाका वडा नं १४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना सिकारगंज वडा नं ३ वटोआ बस्ने २७ को मो. तबरेज आलम  र यमुनामाई गापा वडा नं. २ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ ।

 

निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र ईलाज गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुलाई राखी विरामीहरुको एपेन्डिस, पायल्स, युट्रेस लगाएतका अपरेसन हुदै आएको सुचनाको आधारमा ती नक्कली डाक्टर पक्राउ परेको  रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन ।

 

उनीहरुलाइ गत फागुण १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको एसपी श्रेष्ठले बताएका छन।

 

उनीहरुसँग बिरामीहरुको उपचार गर्न पाउने ईजाजत पत्र माँग गर्दा निजहरुसंग उपचार गर्नको लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण प्रत्र नभएको कारण निजहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता समेत गरेको एसपी श्रेष्ठले जानकारी दिएका छन।

 

अस्पताल सञ्चालनमा संलग्न अन्य व्यक्तिहरुको  खोजतलास गर्ने कार्य भईरहेको उनले जानकारी दिएका छन  । पछिल्लो समय रौतहटमा बिना दर्ता  ब्यापक रुपमा निजी अस्पताल सञ्चालन भइरहेको पाइएको छ । नियमनकारी निकायले जिल्लामा संचालित त्यस्ता अस्पतालहरुको अनुगमन नगर्दा सैयौं नागरिकहरुले अकालमा ज्यान गुमाउनु परिरहेको स्थानीयहरूले बताएका छन। रौतहट स्थित सञ्चालित निजि स्वास्थ्य संस्थाहरुको अबिलम्ब अनुगमन गर्न जिल्लाबासीले माग गरेका छन्।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले साहको परिवारलाई उक्त आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्त रेखा शर्माले जानकारी दिइन्।

बरथहवा ६ का साहको गत पुस २० गते स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने विषयमा भएको विवादमा प्रहरीले गोली चलाउँदा साहको ज्यान गएको थियो।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

काठमाडौं महानगरपालिकाले ललिता निवास खाली गर्न दिएको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा सरकारी भएको भन्दै महानगरले ९ फागुनमा ७ दिनभित्र ललिता निवास खाली गर्न निर्देशन दिएकोमा रिटको सुनुवाइ गर्दै अदालतले तत्काल उक्त निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तिरिम आदेश दिएको हो।

महानगरको सो निर्देशनविरुद्ध ललिता निवासको संरचना प्रयोग गरिरहेकाहरूले उच्च अदालत पाटनमा रिट दिएका थिए।

विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा ३ फागुनमा गरेको फैसलाको पूर्णपाठ आउन बाँकी नै रहेको भन्दै ललिता निवासको संरचना प्रयोग गरिरहेका व्यक्तिहरू महानगरविरुद्ध मुद्दा दायर गरेका थिए।न्युज कारखाना

महोत्तरी, १४ फाल्गुन ।

नेपाल आदिवासी जनजाति माहासंघ जिल्ला समन्वय समिति महोत्तरीले बर्दिवास चौथो महोत्सवको घोषणा गरेको छ।

फाल्गुन २४ देखि चैत ५ सम्म सञ्चालन गर्नेगरि चौथो पटक उक्त महोत्सवलाई निरन्तरता दिने भएको हो।

जनजातिहरीको सांस्कृतिक पाटाहरुको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको आदिवासी जनजाति माहासंघ जिल्ला समन्वय समितिका अध्यक्ष धननारायण श्रेष्ठले जानकारी दिए।

झण्डै १ लाख पर्यटक भित्र्याएर बर्दिवासको विशिष्ट चिनारीमा महत्वपूर्ण भूमिका खेल्ने र स्थानिय उत्पादनहरुलाई समेत पवर्द्धन गर्ने आयोजक पक्षको तयारी छ।

राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरुको माध्यमवाट महोत्सवलाई थप विशेष बनाउने जिल्ला सचिव मनिष समालले बताए।

महोत्सवमा राखिने १५० स्टलमध्ये ९ वटा स्टलमा आयोजकको तर्फबाट विभिन्न जातजातिको भेषभुषा र संस्कार झल्कने गरि पर्दसन गरिने पनि आयोजक पक्षले जनाएको छ।

वरिष्ठ उपाध्यक्ष हर्क लामाका अनुसार उदघाटनका दिन र समापनको दिन बर्दिवासमा रहेका हजारौ जनजातिहरुले आफ्नो झाकी र कला पर्दसन गर्नेछन्। यस्को लागि निक्कै आन्तरिक तयारी भैइरहेको उपाध्यक्ष लामाले बताए।

यसअघि महोत्सवबाट सिकेका बिषयलाई यो महोत्सवमा थप परिमार्जित गरि नयापन दिइने आयोजक पक्षको दावी छ।

विगतमा भएका महोत्सवमा देखिएको दर्शकहरुको चाहनालाई मध्यनजर गर्दै यो महोत्सवमा अहिलेसम्म कै सवैभन्दा बढी राष्ट्रिय कलाकारहरु बोलाउन लागिएको महोत्सवका ब्यवस्थापक धावा लामाले जानकारी दिए।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को मुख्यालय रहेको भवन खाली गर्ने काठमाडौं महानगरपालिकाको सूचना तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

विशेष अदालतबाट पूर्ण पाठ नआएपनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले विशेष अदालतको फैसला अनुसार जग्गा एक साताभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेका थिए।

विशेष अदालतको फैसला कार्यान्वयनका लागि महानगरले जारी गरेको सूचना सुविधा सन्तुलनको हिसाबले उचित नभएको भन्दै संघले उच्च अदालतमा रिट दायर गरेको थियो।

अदालत पाटनका न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमवार महानगरपालिकालाई कानून बमोजिम पुनरावेदन गर्ने म्याद बाँकी रहेसम्म फैसला कार्यन्वयन सथ्गन गर्नुपर्ने व्यवस्था रहेको भन्दै सो आदेश दिएको हो।

विशेष अदालतको फैसला कार्यान्वयन गर्नको लागि फैसलाको पूर्ण पाठ आएपछि विशेषले जिल्ला अदालत अन्तर्गतको फैसला कार्यान्यन इकाइलाई जानकारी गराउनुपर्छ। सो अनुसार जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले अदालतको फैसला कार्यान्वयन गराउने काम गर्छ।

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने अधिकार छ। तर,बालुवाटार प्रकरणमा काठमाडौंका मेयर बालेनले पूर्ण फैसला नआउँदै जग्गा खाली सूचना जारी गरेका थिए।

सो विरुद्धमा काठमाडौं महानगरलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश उच्च अदालत पाटनले दिएको हो।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

प्रधान सेनापति महारथी प्रभुराम शर्मा र अमेरिकाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोहन सी एक्यूलिनियोबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास-४ लगायत आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

२०८० फाल्गुण १२ गते नेपालको तीनदिने भ्रमणमा आएका उनलाई जङ्गी अड्डामा प्रधान सेनापतिले स्वागत गरेका थिए। उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

ग्लोबल पिस अप्रेसन इन्टेटिभ (गोपी)को सहयोगमा नेपाली सेना तथा अमेरिकी सेनाको सहकार्यमा यही फागुन ०८ देखि २ हप्ता अवधिको शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भइरहेको छ। उनले १९ देशका सैनिकहरू सहभागी रहेको उक्त अभ्यासको फागुन १३ गते अवलोकन गरेका छन्।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले  निर्वाचनका बेला कर्णालीमा भएका चुनावीसभाहरूमा व्यक्त गरेका प्रतिवद्धताहरू पूरा हुँदै गएको बताएका छन्।

उनले निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले कालिकोटमा सम्बोधन गर्ने क्रममा बोलेको कुरामध्ये एउटा काम पुरा भएको बताए। सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रममा खड्काले प्रतिबद्धता अनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्ने बताए।

कालिकोटका नागरिकलाई यातायातमा सहज हुनेगरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बताए। उनले वर्तमान प्रधानमन्त्री र आफूले निर्वाचनका बेला कर्णालीमा गरेका प्रतिवद्धता क्रमश: पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।

उपप्रधानमन्त्री खड्काले हरेक बजेटमा कर्णालीलाई प्राथमिकता दिएको भन्दै यहाँको समस्याबारे आफू जानकार रहेकाे पनि बताए। शिक्षा, स्वास्थ र पूर्वाधारको विकासमा सबै दलहरू एकजुट हुनुपर्नेमा उनको जोड छ।

‘कर्णालीको विकासमा राजनीति गर्न हुँदैन । सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौं । कर्णाली राजमार्ग, भेरी करिडोर, मुगुका प्रमुख सडकहरू निर्माण गर्नेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरूमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ,’ उनले भने।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले कालिकोटको शिक्षा, स्वास्थ्य, पूर्वाधार  र यातायाततर्फकाे विकासमा सबै दल एकजुट हुनुपर्ने बताए। उनले भने, ‘कालिकोटको विकासकाे लागि केन्द्र सरकारकाे तर्फबाट पहल गरिरहेकाे छु, कालिकोटका पर्यटकीय क्षेत्रकाे विकासको लागि र कर्णाली प्रदेशको विकासको लागि नेपाल सरकारले एक किसिमको खाका तयार गरेको छ ।’

मुलुकमा विमानस्थल कम भएपनि जहाजको सेवा कालिकोटका गरिब जनता, सुत्केरी महिला र बृद्धबृद्धाहरूकाे लागि सहयोगी हुने बताए।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले १०–१५ वर्षमा कर्णालीलाई समृद्ध प्रदेश बनाउन सकिने बताउँदै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा  पर्यटनमन्त्री सुदन किराँती, मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री तथा सांसद महेन्द्रबहादुर शाही र पूर्वमुख्यमन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो।न्युज कारखाना

पर्सा, १४ फागुन ।

छोरी जन्मिएपछि नारायणी अस्पतालमै बच्चा छाडेर फरार भएकी आमा अझै भेटिएकी छैनन्। गत शनिबार बिहान साढे ६ बजे नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज–६ रानीघाट ठेगाना र सीतादवी नाम लेखाएकी महिलाले सामान्य अवस्थामा नै छोरीलाई जन्म दिएकी थिइन्।

अस्पतालमा उनीसँगै उनकी सासु बेडीदेवी पनि पुगेकी थिइन्। छोरीको जन्म भएपछि सासुसँग भनाभन हुँदा अस्पतालमै बच्चा छाडेर सीतादेवी फरार भएकी थिइन्। हजुरआमा पनि सम्पर्कविहीन भएपछि बच्चा अहिले अस्पतालमै छ। बच्चाको अवस्था समान्य रहेको तथा बच्चाको आमा वा घरपरिवारबाट कसैले हालसम्म अस्पतालमा सम्पर्क नगरेको नारायणी अस्पतालमा प्रवक्ता डा. उदय नारायण सिंहले जानकारी दिए।

 

अस्पतालमा सीतादेवीले आफ्ना श्रीमान्‌को नाम दीपक कानु लेखाएकी छन्। उनले लेखाएको ठेगाना गलत रहेको तथा छोरी जन्मिएका कारणले नै बच्चालाई छोडेर हिँडेको हुनसक्ने उनले बताए। यसअघि सीतादेवीले तीन छोरी जन्माएको सिंहले बताए।

 

बच्चालाई छाडेर आमा र परिवारजन फरार भएपछि अस्पतालले पर्सा प्रहरीलाई खबर गरेको थियो। आइतबारदेखि नै प्रहरीले बच्चाको आमा र परिवारलाई खोजी गरिरहेको भए पनि हालसम्म भेटाउन नसकिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए। ठेगाना गलत भएकोले खोजीमा अप्ठयारो भइरहेको बताउँदै खोजी कार्य भने जारी रहेको उनले बताए।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।