आरके श्रीवास्तव,राैतहट,२८ गते जेठ ।
लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव तथा प्रवक्ता मनिष मिश्रको जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत महत्त्वपूर्ण घोषणाहरू गरिएको छ । विगत केही वर्षदेखि शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आउनु भएका मिश्रले यस वर्ष शहीद परिवारको सम्मानमा थप महत्वपूर्ण कदम अघि बढाउने घोषणा गरेका छन् ।
जन्मदिनको उपलक्ष्यमा पहिले नै घोषित कार्यक्रमअनुसार सर्लाही जिल्लाको रामनगर गाउँपालिका–१ स्थित श्री बच्चु महेश्वरी प्राथमिक विद्यालयमा असार महिनाभित्र पाँच थान सिलिङ पंखा प्रदान गरिने जानकारी दिइएको छ ।
साथै, मिश्रले लोकतन्त्र स्थापनामा निर्णायक योगदान पुर्याएका शहीदहरूको स्मृतिमा “लोकतान्त्रिक शहीद सन्तती वृत्ति कोष” स्थापना गर्ने घोषणा गरेका छन् । उक्त कोष मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका परिवारहरूको शैक्षिक, सामाजिक र आर्थिक उत्थानमा समर्पित हुने जनाइएको छ ।
कोषको सञ्चालनका लागि एक समर्पित टिम गठन गरिनेछ र कानुनी सल्लाहकारको सहयोगमा आवश्यक विधिक प्रक्रिया पूरा गरिने बताइएको छ । मिश्रले प्रारम्भिक चरणमा आफू व्यक्तिगत तर्फबाट रु ५१ हजार प्रदान गर्दै कोष स्थापनाको औपचारिक सुरुवात गरेका छन् ।
“हामी आज स्वतन्त्ररूपमा अभिव्यक्ति दिन सक्छौं, नेतृत्व तहमा नागरिक पुग्न सकेका छन् भने त्यो शहीदहरूको अमूल्य बलिदानीकै कारण सम्भव भएको हो,” मिश्रले भने, “शहीद परिवारको साथ सम्पूर्ण समाज भन्ने नारासहित यो अभियान अगाडि बढाइनेछ ।
” कार्यक्रममा लोसपा नेपालको पूर्ण साथ रहने विश्वास मिश्रले व्यक्त गरेका छन्, साथै शुभेच्छुक र समर्थकहरूको सहयोगको अपेक्षा गरिएको छ । सकारात्मक सल्लाह, सुझाव र साथको अपेक्षा गर्दै मिश्रले सबैमा आभार व्यक्त गरेका छन् ।
बज्जिकाञ्चल संवाददाता,२०८२ जेठ २६ गते ।
जनकपुरधाम । एकीकृत समाजवादी पार्टीका मधेस प्रदेश सांसद कनिस पट्टेलले सरकारको वार्षिक नीति तथा कार्यक्रममा कडा असन्तुष्टि जनाएका छन् ।
सोमबार संसदमा नीति तथा कार्यक्रममाथि भएको छलफलमा बोल्दै उनले सरकारले सांसदहरूको आवाज समेत नटेर्ने अवस्थामा ‘हेल्लो सीएम’ जस्ता कार्यक्रम जनताका समस्या सुन्ने भरपर्दो माध्यम हुन नसक्ने टिप्पणी गरे ।
“सांसदहरू बारम्बार संसदमा सरकारसँग जनताको समस्या उठाउँछन् तर सुनेको पाइँदैन,” उनले प्रश्न गर्दै भने, “हेल्लो सीएममार्फत जनताको गुनासो कसरी सुन्ने ?”
सरकारले संसदमा उठाइएका प्रश्नहरूको जवाफसमेत दिन चुकेको भन्दै उनले कार्यपालिका र व्यवस्थापिकाबीचको संवादको अभावमा नीतिगत कार्यान्वयन प्रभावित भएको बताए ।
सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम नारा र देखावटी शैलीमै सीमित रहेको उनको आरोप थियो । “फूलबुट्टा सजाएर ल्याएको नीतिभन्दा व्यवहारमा देखिने परिणाम जरुरी छ,” पट्टेलले टिप्पणी गरे ।
उनले नीति तथा कार्यक्रम केही सीमित निर्वाचन क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै सबै क्षेत्रमा समानरूपमा योजना विस्तार गर्न सुझाव पनि दिए । “१२ वटा निर्वाचन क्षेत्रमा मात्रै योजना सीमित नगर्नुहोस्,” उनले चेतावनी दिए, “सार्वजनिक योजना देशभरका जनताको हक हो ।”
पट्टेलको भनाइले सरकार र सांसदबीच बढ्दो दूरी तथा नीतिगत संवादको आवश्यकतालाई उजागर गरेको देखिन्छ ।
चन्दन यादव,राैतहट,२७ गते जेठ ।
राैतहटमा अदालतको फैसला कार्यान्वयन गर्न खटिएको प्रहरी टोलीले फरार रहेका १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । ती सबै प्रतिवादीहरू विभिन्न मुद्धामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका थिए ।
प्रहरीका अनुसार मिति २०८२ साल जेठ २७ गतेसम्ममा रौतहट जिल्ला अदालतबाट सजाय पाएका तर फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका ईकाइहरूबाट परिचालित टोलीले खोजी गरी पक्राउ गरेको हो ।

पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक कारबाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा बुझाइएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक कुमार रायले जानकारी दिएका छन् ।
रायका अनुसार अदालतको फैसला कार्यान्वयनमा शून्य सहनशीलता नीति अपनाउँदै फरार प्रतिवादीहरूलाई खोजी गरी कारबाही अघि बढाउने कार्यलाई प्रहरीले अझ प्रभावकारी बनाउँदै लगेको छ ।
आरके श्रीवास्तव,राैतहट,२७ गते जेठ ।
नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रले सूचित गरेअनुसार भोलि मिति २०८२ जेठ २८ गते (बुधबार) मौलापुर क्षेत्रमा ५ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ।
गौर वितरण केन्द्रबाट प्राप्त जानकारी अनुसार,हर्षाहा ३३ केभी लाइन अन्तर्गत बसन्तपुर क्षेत्रमा अवस्थित दुई थान पोल भाँचिन लागेकोले ती पोलहरुको मर्मत तथा बद्ली कार्य गर्नुपर्ने भएको हो । यस कार्यका लागि बिहान ७:३० बजेदेखि दिउँसो १२:३० बजेसम्म मौलापुर सब स्टेसनबाट सञ्चालित सम्पूर्ण विद्युत् आपूर्ति बन्द रहने जानकारी दिइएको छ ।

Oplus_0
विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तालाई केही असुविधा पर्न सक्ने भएकाले मौलापुर वितरण केन्द्रले सबै ग्राहक वर्गमा क्षमायाचना गर्दै आवश्यक वैकल्पिक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
मौलापुर वितरण केन्द्रका प्रमुख रामदिनेश यादवले जानकारी दिनु भएको छ कि पोल मर्मत कार्य सम्पन्न भएपछि पुनः नियमितरूपमा विद्युत् आपूर्ति सुरु गरिनेछ ।
काठमाडौं, २६ जेठ । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अब्यवस्थित बासोबासी संघले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको माग गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा आज ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौंको सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूमा खानेपानी आपूर्ति नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ । खानेपानी संघर्ष समिति सुकुम्बासी बस्ती काठमाडौंले आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
आम सुकुम्बासी तथा अब्यवस्थित बासोबासी संघका अध्यक्ष एवं संघर्ष समितिका संयोजक समेत रहेका कालबहादुर विकले एक हप्ताभित्रमा आफूहरुको माग सम्बोधन नभए खाली गाग्री सहित खानेपानी कार्यालय घेराउन गर्ने बताए ।
संघर्ष समितिले ध्यानकर्षण सहितको ज्ञापनपत्र बुझाएको र एक हप्तामा खानेपानीको समस्या समाधान नभए चरणबद्ध आन्दोलनमा उत्रिने संघर्ष समितिका प्रवक्ता रञ्जु साहले जनाएकी छन् । साहका अनुसार २ असारदेखी खाली गाग्री सहित खानेपानी कार्यालय घेराउ गर्ने र १० असारदेखी काठमाडौंको खानेपानी वितरण अवरुद्ध गर्ने लगायतका आन्दोलनका कार्यक्रम रहेको छ ।
‘सुकुम्बासी तथा अव्यवस्थित रूपमा बसोबास गरिरहेका टोल–बस्तीहरूमा अहिलेसम्म खानेपानीको आपूर्ति गरिएको छैन । जसले गर्दा हामी पीडित जनतामा अत्यन्तै अन्याय, असन्तोष र पीडाको अनुभूति भईरहेकोछ । शत्रुलाई पनि खानेपानिबाट बञ्चित गर्नुहुँदैन भन्ने हाम्रो समाजको परम्परागत मान्यता विपरित आजको २१औं शताब्दीमा आएर यस्तो अपराध गर्नु भनेको असंवैधानिक हर्कत मात्र नभएर गम्भीर मानवता विरोधी कुकृत्य पनि हो । हाम्रो मत र राजस्वबाट राज्य संचालन हुने तर हामी नै शुद्ध खानेपानिको अभावमा तडपिनु पर्ने विभेदपूर्ण व्यवहारको तुरुन्त अन्त्य गरियोस भन्ने माग सहित यस कार्यालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,’ संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
हाल काठमाडौं उपत्यकाको अधिकांश क्षेत्रमा मेलम्ची खानेपानी योजना अन्तर्गत पाइपलाइन विस्तार भई पानी आपूर्ति भइसकेको छ । तर, काठमाडौंको सुकुम्बासी बस्तीहरुमा खानेपानीको व्यवस्था गरिएको छैन् ।
कुनैपनि किन्तु परन्तुको आडमा आफूहरुको न्यायोचित मागलाई नजरअन्दाज गर्ने गराउने दुस्प्रयास भएमा कडा संघर्षमा उत्रिने र त्यसबाट सृजीत हुने सम्पूर्ण क्षतिको जिम्मेवारी स्वयं नेपाल सरकारको हुने विषय अग्रीम रूपमा अवगत गराउन ज्ञापनपत्र बुझाएको समितिले जनाएको छ ।

आजपा सहअध्यक्ष तिलक थापामगर, संघका अध्यक्ष कालबहादुर विक सहितका नेताहरु खानेपानी लिमिटेटको त्रिपुरेश्वर कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
कामरेन्द्र वर्मा,काठमाडौं, २०८२ जेठ २५ गते । काठमाडौंस्थित भारतीय राजदूतावासले आयोजना गरेको भारतीय राजदूत क्रिकेट प्रतियोगिता २०२५ भव्यताका साथ सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जेठ १७ देखि २५ गतेसम्म चलेको प्रतियोगिताको पहिलो संस्करणले खेलकुद र कूटनीतिक मैत्रीलाई सुदृढ बनाउने महत्वपूर्ण भूमिका खेलेको आयोजक पक्षले जनाएको छ ।

प्रतियोगितामा भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासंघ, विभिन्न कर्पोरेट संस्था तथा नेपालमा रहेका भारतीय समुदायका प्रतिनिधित्व गर्ने टोलीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, बेलायती राजदूत र परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारीको उपस्थिति रहेको थियो ।

एक हप्तासम्म चलेको मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेलपछि जेठ २५ गते भएको रोमाञ्चक फाइनल म्याचमा भारतीय दूतावासको टोलीले भारतीय डायस्पोरा टोलीलाई पराजित गर्दै विजेता बन्यो । फाइनलपछि आयोजित ट्रफी वितरण समारोहमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

त्यसै दिन साँझ प्रतियोगिताको सफलताको अवसरमा आयोजित रिसेप्सन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू, क्यान अध्यक्ष, कूटनीतिक समुदाय र सहभागी टोलीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

समारोहमा भारतीय राजदूत श्रीवास्तवले तीन जना यू–१९ नेपाली क्रिकेट खेलाडीहरुलाई क्रिकेट किट हस्तान्तरण गर्नुका साथै “राजदूत क्रिकेट फेलोशिप” कार्यक्रमको सुरुवातको घोषणा गर्नुभयो । उक्त फेलोशिप अन्तर्गत नेपालका दुई युवा क्रिकेटरहरुले भारतका प्रतिष्ठित कोचिङ एकेडेमीहरुमा छोटो अवधिको प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन् ।

यो प्रतियोगिता भारत र नेपालबीचको खेलकुद सहयोगलाई अझ मजबुत बनाउने उद्देश्यका साथ आयोजना गरिएको हो । भारतीय राजदूतावासले नेपालमा क्रिकेट विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।

कामरेन्द्र वर्मा,काठमाडौँ,२०८२ जेठ २५ गते ।
मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकास्थित श्री दिव्य दीप माध्यमिक विद्यालयमा छात्रावास भवन र चमेना गृह निर्माणको शिलान्यास गरिएको छ । आज एक समारोहका बीच भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष श्री टसी न्हर्वु गुरुङले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्ता, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो ।
भारत सरकारको ‘नेपाल-भारत विकास सहयोग’ कार्यक्रम अन्तर्गत नेरु. ३.७६ करोड लागतमा छात्रावास भवन तथा चमेना गृह निर्माण गरिँदैछ । भवनमा शौचालय, बाथरूम, भोजन कक्षसहितको भान्छा, विश्राम कक्ष लगायत आवश्यक पूर्वाधार समावेश गरिएको छ । परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत लोमान्थाङ गाउँपालिकामार्फत कार्यान्वयन हुँदैछ ।

श्री दिव्य दीप माध्यमिक विद्यालय माथिल्लो मुस्ताङ क्षेत्रमा रहेको एक मात्र उच्च माध्यमिक विद्यालय हो, जसले लो-घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बालबालिकालाई शिक्षाको सेवा प्रदान गर्दै आएको छ । विद्यालयले अनुभवी शिक्षकमार्फत गुणस्तरीय शिक्षाको लक्ष्य राखेको छ ।

सन् २००३ यता भारतले नेपालभर ५७३ वटा एचआईसीडीपी परियोजना कार्यान्वयन गरिसकेको छ, जसमध्ये गण्डकी प्रदेशमा ५९ र मुस्ताङमा मात्रै १७ वटा छन् । यस्तै, भारत सरकारले हालसम्म नेपाललाई १००९ एम्बुलेन्स र ३०० स्कुल बस उपहार दिइसकेको छ, जसमा मुस्ताङ जिल्लाले ११ एम्बुलेन्स र ५ स्कुल बस प्राप्त गरेको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै भारतीय नियोग उप-प्रमुख श्रीवास्तवले भारत-नेपाल विकास साझेदारीको सुदृढीकरणप्रति भारत सरकार प्रतिबद्ध रहेको दोहोर्याउनुभयो ।
कार्यक्रममा बोल्दै स्थानीय जनप्रतिनिधिहरूले भारत सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै निर्माणाधीन पूर्वाधारले विद्यार्थीको सिकाइको वातावरणलाई थप सहज बनाउने विश्वास व्यक्त गरेका छन् ।
नियोग उप-प्रमुख श्रीवास्तवले लोमान्थाङस्थित लोवो निफुग नामड्रोल नोर्वुलिङ्ग मोनास्टिक स्कूलको पनि भ्रमण गर्नुभयो, जहाँ भारत सरकारको सहयोगमा नेरु. ४.१४ करोडको लागतमा छात्रावास भवन निर्माण भइरहेको छ ।
भारत-नेपालको निकट सम्बन्ध र आपसी सहकार्यले आगामी दिनमा अझ सशक्त विकासात्मक साझेदारीको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिएको छ ।
आरके श्रीवास्तव,रौतहट, २०८२ जेठ २६ गते ।
जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रिय सल्लाहकार समिति सदस्य राजकुमार दासमाथि गम्भीर आक्रमण भएको छ । उक्त आक्रमण आइतबार साँझ करिब ६:३० बजे गरुडा नगरपालिका–८ अन्तर्गत बिर्ता चौक नजिकको मस्जिद छेउमा भएको हो ।
पार्टीका अनुसार केही आपराधिक समूहले योजनाबद्धरूपमा दासमाथि संघातिक आक्रमण र दुर्व्यवहार गरेका छन् । यस घटनाप्रति जनता समाजवादी पार्टी नेपाल, रौतहट जिल्ला समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

जिल्ला अध्यक्ष राजीव रंजन यादवद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।

पार्टीले सुरक्षा निकायलाई दोषी पहिचान गरी तुरुन्त कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । साथै, यस्ता आपराधिक घटनाले मुलुकको शान्ति, स्थायित्व र राजनीतिक सहिष्णुतामाथि प्रश्न उठाउने भन्दै चौतर्फी चिन्ता व्यक्त गरिएको छ ।
काठमाडौँ, २४ जेठ :
खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबीच आज साइकल यात्राको महत्व झनै बढ्दै गएको बताउनु भएको छ ।
आज काठमाडौँमा मारवाडी समिति नेपाल अन्तरगतको संस्था मारवाडी युवा मञ्चद्वारा विश्व साइकल दिवश तथा विश्व वातावरण दिवशको अवसर पारेर “वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ आयोजना गरिएको साइकल यात्रा कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले साइकल यात्राले स्वास्थ्य र सफाइको सन्देश दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्याउँछ । हामी सबैले व्यक्तिगत तथा सामूहिक दुवै तहमा हरित भविष्यको कल्पना गर्नुपर्छ ।”
मन्त्री यादवले सरकारले वातावरणमैत्री यातायातको प्रवद्र्धन गर्न आवश्यक नीति तथा पूर्वाधारमा लगानी गर्ने बताउनु हुँदै विद्यालय, कार्यालय, तथा स्थानीय तहहरूमा समेत साइकल प्रयोगलाई प्रोत्साहन गर्नु पर्ने समेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “स्वस्थ जीवन, हरित वातावरण र साकार सकारात्मक सोच प्रवद्र्धन गर्ने यस्तो प्रेरणादायी कार्यक्रम सबै ठाउँमा गर्न आवश्यक छ । साइकल प्रयोगलाई प्रोत्साहन गर्न हामी सबै लाग्नु पर्छ ।”
वातावरण जोगाउन र प्रदुषण मुक्त समाज बनाउन मारवाडी सेवा समाजले अगुवाई गरी उल्लेख्य भुमिका निर्वाह गरेको बताउनु हुँदै मन्त्री यादवले वातावरण सफा कसरी गर्ने, हाम्रो वातावरण कसरी स्वच्छ राख्ने सो विषयमा लाग्नु पर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “जलवायु परिर्वतनका कारण सेता हिमाल काला हुन थालेका छन् । हिमाल बचाउन जरुरी छ । जलवायु परिर्वतन हाम्रा लागि निकै चुनौतिको विषय बनेको छ । यो चुनौतीको समाधान गर्न आवश्यक छ ।”
साइकल यात्राले शारीरिक तन्दुरुस्ती सहित वातावरणीय चेतनाको प्रवाह पनि गर्ने भएकाले आजको युगमा यो अत्यन्त सान्दर्भिक रहेको मन्त्री यादवले बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि एवं मारवाडी सेवा समितीका अध्यक्ष प्रमोदकुमार चौधरीले साइकल प्रयोग गर्नाले व्यक्तिगत तन्दुरुस्ती बढ्नुका साथै यसले शहरको ध्वनि र वायु प्रदूषण पनि घटाउने बताउनुभयो ।
कार्यक्रममा पशुपती गौशाला धर्मशालाका अध्यक्ष रमेश तापडिया, मारवाडी महिला मञ्चकी अध्यक्ष श्रीमती रेखा खेतान, कार्यक्रम संयोजक अरुण गोयल, मारवाडी सेवा समितिका पदाधिकारीहरु, मारवाडी युवा मञ्चका पदाधिकारीहरु तथा कार्यसमिती सदस्यहरुको सहभागीता रहेको थियो ।
आजको उक्त कार्यक्रममा दजर्नौ साइकल यात्रीहरूको सहभागिता रहेको थियो । काठमाडौँको बिवाईडी पार्किङ नक्सालबाट सुरु भएको उक्त यात्रा यहाँका विभिन्न क्षेत्र हुँदै ललितपुरको पाटन दरवार क्षेत्रमा गएर समापन गरिएको कार्यक्रम संयोजक अरुण गोयलले जानकारी दिनुभयो ।