बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
गएराती विद्युत् तारमा सर्ट सर्किट भएर ट्यांकीमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
दुई लाख लिटर क्षमताको उक्त ट्यांकीमा लागेको आगो नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा बिहान करिब २: ३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट मानवीय क्षति भने नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । भारतको दिल्ली प्रहरीको अपराध शाखाले ककरोच जनता पार्टी (सीजेपी) का नेता सौरभ दास, आशुतोष रांका र अजिंक्य शिन्देलाई अनुसन्धानका लागि बोलाएको छ ।
तिहाड जेलबाट रिहा भएपछि सौरभ दास र आशुतोष रांकालाई सोधपुछका लागि उपस्थित हुन सूचना जारी गरिएको र अजिंक्य शिन्देलाई पनि उपस्थित हुन समन पठाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
प्रहरीको अनुसन्धान सरकारी आदेशको कथित उल्लङ्घन र जन्तरमन्तर पुग्ने क्रममा अर्काको सम्पत्तिमा अनधिकृत प्रवेश गरेको आरोपसँग सम्बन्धित रहेको बताइएको छ ।
यसअघि सौरभ र आशुतोषलाई निषेधित क्षेत्र जन्तरमन्तरमा प्रदर्शन गर्न गएको भन्दै हिरासतमा लिएर तिहाड जेलमा राखिएको थियो । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । रुसका तेल प्रशोधन केन्द्र र निर्यात संरचनामाथि युक्रेनले लगातार ड्रोन आक्रमण गरेपछि विश्व बजारमा डिजेलको आपूर्ति प्रभावित भएको छ । मध्यपूर्वमा जारी द्वन्द्वले पनि इन्धन आपूर्तिमा दबाब बढाएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा डिजेलको उपलब्धता घट्ने र मूल्य उच्च रहने जोखिम बढाएको छ ।
रिपोर्ट अनुसार, रुसको डिजेल निर्यात गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बरमा करिब ७७ प्रतिशत घटेको छ। व्यापारसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने केप्लरका अनुसार रुसको डिजेल निर्यात घटेर दैनिक करिब १ लाख ४१ हजार ब्यारेलमा सीमित भएको छ । गत वर्ष सेप्टेम्बरमा यो मात्रा दैनिक ६ लाख ८ हजार ब्यारेल थियो ।
युक्रेनले रुसी तेल भण्डारण केन्द्र, प्रशोधन कारखाना र निर्यात संरचनालाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको छ । पछिल्ला आक्रमणमा सेन्ट पिटर्सबर्गस्थित तेल निर्यात केन्द्रमा समेत आगलागी भएको खबर सार्वजनिक भएको छ। युक्रेनले रुसभित्र टाढा रहेका तेल प्रशोधन केन्द्रलाई पनि निशाना बनाउन थालेपछि क्षतिको प्रभाव बढेको छ ।
तेल प्रशोधन केन्द्रमा रहेका जटिल उपकरणमा क्षति पुग्दा मर्मत गर्न महिनौँ लाग्न सक्ने विज्ञहरूले बताएका छन् । प्रतिबन्ध र आपूर्ति शृङ्खलासम्बन्धी समस्याका कारण आवश्यक उपकरण छिटो उपलब्ध गराउन कठिन हुने भएकाले रुसी तेल उत्पादन र निर्यातमा लामो समयसम्म असर पर्न सक्ने देखिएको छ ।
मध्यपूर्वको द्वन्द्वले पनि विश्व बजारमा डिजेलको आपूर्ति घटाएको छ । होर्मुज जलडमरूमध्यबाट हुने डिजेल निर्यातमा कमी आएपछि रुस र मध्यपूर्व दुवैतर्फबाट विश्व बजारमा पुग्ने डिजेलको मात्रा घटेको छ । अमेरिकामा समेत डिजेलको औसत मूल्य बढेको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले डिजेल आपूर्तिमा देखिएको दबाब सन् २०२७ सम्म कायम रहन सक्ने चेतावनी दिएको छ । अमेरिकी तेल प्रशोधन केन्द्रहरू उच्च क्षमतामा सञ्चालन भइरहेकाले उत्पादन बढाएर विश्व बजारको अभाव पूर्ति गर्न पनि कठिन हुन सक्छ ।
डिजेलको आपूर्ति निरन्तर घटेमा मालसामान ढुवानी, कृषि, उद्योग र उत्पादन लागतमा असर पर्ने जोखिम छ । नेपाललगायत आयातमा निर्भर देशमा यसको प्रभाव कति पर्छ भन्ने कुरा अन्तर्राष्ट्रिय मूल्य, आयात लागत, घरेलु आपूर्ति र सरकारी नीतिमा निर्भर हुनेछ । एभरेष्ट न्यूज एजेन्सी,