२०८३ कार्तिक ५
२०८३ कार्तिक ५

 

बज्जिकाञ्चल संवाददाता, १३ गते असार । 

जनकपुरधाम । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य तथा आम सांस्कृतिक मोर्चाका केन्द्रीय इन्चार्ज विजय यादव ‘निर्विज’ ले मधेश प्रदेश सरकारले चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डको अध्यक्षमा किशोर कुमार लेखीलाई नियुक्त गरेकोमा गम्भीर आपत्ति जनाएका छन्।

यादवले लेखीको नियुक्तिको आधार र योग्यतामाथि प्रश्न उठाउँदै तत्काल सच्याउन माग गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत कडा टिप्पणी गर्दै यादवले गृह तथा सञ्चार मन्त्रालयका राजकुमार लेखीका भाइ भएकै आधारमा किशोर कुमार लेखीलाई नियुक्त गरिएको आरोप लगाएका छन्। उनले किशोर कुमार लेखीलाई चलचित्र, नाट्य, संगीत वा साहित्य कुनै पनि विधामा अनुभव नभएको व्यक्ति भन्दै यस किसिमको नियुक्तिले मुख्यमन्त्री सतीश कुमार सिंहको सुशासनको नारामाथि प्रश्नचिह्न खडा गरेको बताएका छन्।

यादवले मधेश प्रदेशमा सक्षम कलाकार तथा संस्कृतिविद्हरूको अभाव नहुँदा नहुँदै पनि अनुभवहीन व्यक्तिलाई नियुक्ति गरिनुले ‘कार्यकर्ता भर्ना’को प्रवृत्ति देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले मुख्यमन्त्री सिंहलाई यस विषयमा तत्काल ध्यानाकर्षण गराउँदै यदि यो नियुक्ति नसच्याइएमा आम सांस्कृतिक मोर्चाले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यादवले यदि किशोर कुमार लेखीलाई पदबाट नहटाइए तत्काल सडकमा उत्रिने चेतावनीसमेत दिएका छन्।

राजेश निर्माणी, रौतहट, १३ गते असार । 

राैतहटकाे वृन्दावन नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्न आह्वान गरिएको नगरसभा रोक्न उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले दिएको अन्तरिम आदेश आज बदर गरेको छ ।

 

न्यायाधीश गोकर्ण डाँगी र नेत्र आचार्यको संयुक्त इजलासले शुक्रबार गरेको आदेशमा नगरसभाको विषयमा दुवै पक्षको कुरा सुनी मात्र निर्णय गर्न उचित हुने देखिएको उल्लेख गर्दै, यसअघि असार ८ गते जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो ।

 

उक्त आदेशसँगै वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले अब सबै जनप्रतिनिधिहरूसँग छलफल गरी असार मसान्तभित्रै नगरसभा सम्पन्न गर्ने तयारी भएको जानकारी दिए ।

 

उनका अनुसार यसअघि जति अवरोध र जालझेल भए पनि आफ्नो कार्यकालमा तीनपटक नगरसभा समयमै सम्पन्न गर्न सफल भएका थिए।

 

यसपटक भने उपप्रमुख संगिता कुमारी रामले व्यक्तिगत स्वार्थका कारण विपक्षीसँग मिलेर नगरसभा रोक्न खोजेको स्थानीयको आरोप छ। रामले असार ८ गते उच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश माग गर्दै नगरसभा तत्काल स्थगनको माग गरेकी थिइन्, जसपछि अदालतले अल्पकालीन अन्तरिम आदेशमार्फत नगरपालिकालाई नगरसभा नगर्न निर्देशन दिएको थियो ।

न्यायालयले दिएको पछिल्लो आदेशमा उपप्रमुख राम संयोजक रहेको स्थानीय राजस्व परामर्श समितिको बैठक स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार भएको प्रमाण नदेखिएको र नगरसभाको सूचना आफूले नपाएको भनी गरेको दावी समेत कागजातबाट पुष्टि नभएको उल्लेख गरिएको छ ।

यस फैसलापछि अब वृन्दावन नगरपालिकाले बजेट पारित गर्ने बाटो खुलेको छ र विकास तथा सेवा प्रवाहमा आउने अवरोध हट्ने अपेक्षा गरिएको छ ।

बज्जिकाञ्चल संवाददाता,बारा,१३ गते असार । 

बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१, जमुनियास्थित श्री नेरा आधारभूत विद्यालयमा आज निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिको आयोजनामा, विद्यालयको सहकार्य र सिम्रौनगढ नगर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।

विद्यालय परिसरमै आयोजना गरिएको उक्त शिविरमा करिब २ सय ५० जना विद्यार्थीहरूले आँखा परीक्षण गराएका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नूर आलम बादशाहले गर्मी याममा आँखा लगायतका स्वास्थ्य समस्याहरू देखिने सम्भावना बढ्ने भएकाले सचेतना र उपचारका लागि शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।

“गर्मी महिनामा आँखा सम्बन्धी समस्या बढ्न सक्छ । समयमै परीक्षण र सचेतना कार्यक्रम भएमा जटिल अवस्थाबाट बच्न सकिन्छ,” अध्यक्ष बादशाहले भन्नुभयो ।

शिविरमा सिम्रौनगढ नगर आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. दिलीप कुमार यादवको नेतृत्वमा विशेषज्ञ टोलीले सेवा प्रदान गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूका अतिरिक्त अभिभावक तथा स्थानीयबासीहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक अवस्थामै रोग पहिचान गरी उपचार गर्न मद्दत पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

चन्दन यादव,रौतहट १२ गते आसार ।

रौतहट जिल्लामा रहेको गुजरा नगरपालिकाको १ नम्बर वडा रङगपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा बाली,वस्तु उत्पादन बजारीकरण समन्वय कार्यक्रमको दोस्रो बैठक सम्पन्न भएको छ ।

बाली तथा वस्तु उत्पादन बजारीकरण समन्वय कार्यक्रमको दोस्रो बैठक सम्पन्न भएको छ । कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरका प्रमुख डा। विशेश्वर यादव प्रमुख आतिथि तथा प्रशिक्षकका रूपमा सहभागी हुनु भएको थियो ।

बैठकमा सहभागी भएका स्थानीय किसानहरूले मल अभाव, सिँचाइको कमी, बजार मूल्यमा अस्थिरता, बाली भण्डारणको सुविधा अभाव र बजारीकरणमा समन्वयको कमी जस्ता समस्याहरू प्रस्तुत गरेका थियो ।

डा. यादवले थपे, “कृषि अनुसन्धानसँगै किसानका व्यावहारिक समस्यामा ध्यान दिनु जरुरी छ । हामी समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी अगाडि बढ्नेछौं ।”

बैठकले स्थानीय तह, प्राविधिक निकाय र किसानबीच सहकार्य बढाउने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा कृषि अधिकृत, कृषि सहकारी संस्था र कृषक समूहको समेत उपस्थिति रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड समितिको अध्यक्ष धर्मेन्द्र धामीले जानकारी गराएका थिए ।

डा. यादवले सबै समस्या गम्भीरतापूर्वक सुनी समाधानका लागि मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गर्ने आश्वासन दिनुभयो। उहाँले भन्नुभयो, “कृषि विकासका लागि अनुसन्धान मात्र होइन, किसानको आवाज बुझ्नु अझ जरुरी छ। हामी प्रदेशस्तरबाट समस्या समाधान गर्न प्रयास गरिरहेकै छौं ।”

कार्यक्रमले किसान–कृषि अधिकृतसंग बीचको संवादमा नयाँ ऊर्जा दिएको स्थानीयको प्रतिक्रिया रहेको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा भएको कार्यक्रममा स्थानिय किसानहरु, साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक तथा कर्मचारीहरु लगायत संचारकर्मीको सहभागिता  रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,११ गते असार ।
राैतहटकाे गुजरा-१, रंगपुरस्थित साना किसान कृषि सहकारी संस्था लि.ले विउ विजन आत्मनिर्भर कार्यक्रम अन्तर्गत गोदाम घर निर्माण तथा विउ प्रशोधन मेशिन खरिद र जडानसम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम नवस्थापित विउ प्रशोधन केन्द्र परिसरमा आयोजना गरिएको थियो ।


कार्यक्रममा कृषि विकास निर्देशनालय, नकटाझिज, धनुषा –मधेश प्रदेशको ५०% लागत साझेदारीमा भएको सहयोगप्रति सहकारीका पदाधिकारीहरूले आभार व्यक्त गरेका थिए ।
सहकारी संस्थाका अध्यक्ष धर्मेन्द्र धामीले भने, “हामी स्थानीय किसानहरूलाई आत्मनिर्भर बनाउने दिशामा एक ठूलाे कदम चालिरहेका छौं । यो गोदाम र प्रशोधन केन्द्रले किसानका बिउको गुणस्तर सुधार्नेछ र उत्पादन लागत घटाउनेछ ।” उहाँले किसानको जीवनस्तर उठाउन यस्ता योजनाहरू दीर्घकालीन फाइदाकाे आधार हुने विश्वास व्यक्त गरेका हुन् ।


त्यस्तै, मुख्य प्रबन्धक कपुरीलाल बण्ठाले परियोजनाको पारदर्शिता र समावेशीपनमा जोड दिँदै भन्नुभयो, “हामीले सार्वजनिक सुनुवाईमार्फत स्थानीय समुदायलाई सूचित र सहभागी गराउने प्रयास गरेका छौं । हरेक काममा स्थानीय किसानको प्रत्यक्ष सरोकार कायम राखेका छौं ।”
कार्यक्रममा स्थानीय कृषक, उपभोक्ता प्रतिनिधि, जनप्रतिनिधि तथा पत्रकारको उपस्थिति थियो । सहभागीहरूले परियोजनालाई सकारात्मक मूल्याङ्कन गर्दै सहकारी संस्था र निर्देशनालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।


उक्त कार्यक्रमले विउ प्रशोधन तथा भण्डारण क्षेत्रमा गाउँमै पूर्वाधार निर्माणमार्फत कृषिमा आत्मनिर्भरताको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिएको छ ।

आरके श्रीवास्तव,धनुषा,११ गते असार ।
जनकपुरधाम — मधेस प्रदेशका दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूका लागि जनकपुरधाममा तीन दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा मिथिला बिहारी नगरपालिका २ मा सुरु भएको कार्यक्रममा संचार क्षेत्रका विविध पक्षमा छलफल भइरहेको छ ।

उद्घाटन सत्रपछि फोटो पत्रकार प्रकाश माथेमाले फोटो पत्रकारिता, अनलाइन मिडिया संघका अध्यक्ष शिवप्रसाद सत्यालले अनलाइन पत्रकारिता, र पत्रकार प्रकाश मैनालीले साइबर सुरक्षा विषयमा सहजीकरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले सञ्चारकर्मीहरूलाई मर्यादित, अनुशासित र उत्तरदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । “सरकारको कमजोरी औँल्याउनुहोस्, सल्लाह दिनुहोस्, तर पूर्वाग्रही समाचार नगर्नुहोस्,” मन्त्री लेखीले भन्नुभयो ।

कार्यक्रममा प्राधिकरण अध्यक्ष जितेन्द्र खड्का र प्रमुख प्रशासकीय अधिकृत प्रसन्न राज कर्णको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काले डिजिटल युगमा अनलाइन पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै तथ्य, सन्तुलन र विश्वसनीयतामा आधारित समाचार प्रकाशनमा जोड दिनुभयो । “पत्रकारिताको मूल धर्म भनेको सत्य खोज्नु र जनतालाई सही सूचना दिनु हो,” उहाँले भन्नुभयो, “सञ्चारमाध्यमको विश्वसनीयता सुरक्षित गर्न सम्पादकहरूको भूमिका निर्णायक हुन्छ ।”

त्यस्तै, प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत प्रसन्न राज कर्णले सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि यस्ता अभिमुखिकरण कार्यक्रम आवश्यक रहेको बताउनुभयो । “सञ्चारमाध्यमहरू जनताको आवाज हो, तर त्यसलाई प्रभावकारी बनाउन सम्पादकहरूको अभिमुखिकरण अनिवार्य छ,” उहाँले भन्नुभयो, “प्राधिकरणले सूचना प्रवाहलाई मर्यादित, तथ्यपरक र उत्तरदायी बनाउने दिशामा सहकार्यलाई अझ सुदृढ बनाउने छ।”

कार्यक्रममा अनलाइन सञ्चारमाध्यमका सम्पादक, पत्रकारहरू तथा संचार क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।

आरके श्रीवास्तव,राैतहट,१० गते असार ।

राैतहटकाे गुजरा नगरपालिका–४ स्थित कनकपुरमा करिब ४५ लाख रुपैयाँको लागतमा हुने सडक स्तरोन्नति तथा आर.सी.सी. ढलान कार्यको शिलान्यास सम्पन्न भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेश सरकारको विनियोजित बजेटमार्फत निर्माण हुन लागेको उक्त परियोजनाको शिलान्यास मधेश प्रदेशका पूर्व राज्यमन्त्री केशव राय चौधरीले गर्नु भएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री चौधरीले यस सडक परियोजनाले स्थानीय जनताको दैनिक आवतजावत सहज बनाउने तथा समग्र क्षेत्रको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । “भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत विकासको गति बढाउन प्रदेश सरकारले निरन्तर पहल गरिरहेको छ,” उहाँले भन्नुभयो ।

करिब ४५ लाखको लागतमा सम्पन्न हुने यस सडक स्तरोन्नति तथा ढलान परियोजनाले वर्षातको समयमा हुने कीचड र हिलाको समस्याबाट स्थानीयलाई मुक्ति दिलाउने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरूले सडक सुधारको लागि लामो समयदेखि आवाज उठाउँदै आएका थिए ।

 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । अलि ढिलै भएपनि निर्माण कार्य सुरु भई तोकिएको समयसीमा भित्र सम्पन्न गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

आरके श्रीवास्तव,राैतहट,१० गते असार । 

रौतहटको गुजरा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५० करोड ४ लाख १८ हजार ३ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार १२ औं नगरसभा मार्फत बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

नगरप्रमुख सन्तलाल चौधरीको अध्यक्षतामा सम्पन्न नगर सभामा उपप्रमुख रत्न लामाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटाले बजेट वक्तव्य पढेर सुनाएका थिए ।

बजेटमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार सिर्जना, पूर्वाधार तथा सामाजिक सुरक्षालगायतका क्षेत्रमा प्राथमिकता दिइएको जनाइएको छ । आगामी वर्षमा नगरको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बजेट निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरसभामा सम्बाेधन गर्दै नगर प्रमुख चौधरीले जनताको आवश्यकता र सुझावका आधारमा योजनाहरू समेटिएको उल्लेख गर्दै बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक हुने बताए । उपप्रमुख लामाले नीति तथा कार्यक्रममा समावेश परियोजनाहरू समावेशी, दिगो र विकासमुखी हुने दाबी गरिन् ।

 

बज्जिकाञ्चल संवाददाता,देवाही गोनाही,असार १० गते ।

देवाही गोनाही नगरपालिकाको आर्थिक सहयोगमा सृजनात्मक समाज कल्याण केन्द्र नेपालको आयोजनामा सञ्चालित चार दिने साइबर अपराध सचेतना तालिम आज एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। तालिम समाजमा दिनप्रतिदिन बढ्दो साइबर अपराधका घटनाहरूलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो ।

तालिममा कक्षा ८ देखि १० सम्मका १५० भन्दा बढी विद्यार्थी, ५ जना शिक्षक, तथा ५ जना स्थानीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको शिक्षक विवेक शर्माले जानकारी गराउनु भएको हाे ।

प्रशिक्षकका रूपमा उपस्थित ईलाका प्रहरी कार्यालय, देवाही गोनाहीका प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले सहभागीहरूलाई साइबर अपराधका विभिन्न स्वरूपहरू, यसबाट जोगिने उपाय, नेपालको साइबर कानुन तथा सुरक्षित इन्टरनेट प्रयोगबारे विस्तृत प्रशिक्षण दिनुभयो ।

उहाँले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, साइबर बुलिङ, ह्याकिङजस्ता संवेदनशील विषयमा सचेत गराउँदै, डिजिटल दुनियाँमा सजग बन्न आग्रह गर्नुभयो ।

तालिमको समापन कार्यक्रममा सृजनात्मक समाज कल्याण केन्द्र नेपालका अध्यक्ष विवेक शर्माको सभापतित्व रहेको थियो भने देवाही गोनाही नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णु कुमार दास प्रमुख अतिथि रहनुभएको थियो ।

समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष दासले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहभागीहरूलाई तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न र प्रविधिको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष विवेक शर्माले तालिमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै यस प्रकारका सामाजिक सचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा देवाही निवासी अमरेश पटेलको विशेष सहयोगप्रति पनि आभार प्रकट गरिएको थियो । सहभागीहरूले तालिम अत्यन्त प्रभावकारी, जानकारीमूलक र समय सान्दर्भिक रहेको प्रतिक्रिया दिएका छन् ।

 

बज्जिकाञ्चल संवाददाता,रौतहट, १० गते असार ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशले लोकतान्त्रिक बाटो बिराएकाले त्यसलाई करेक्सन गर्नुपर्ने बताएका छन् ।

रौतहटको मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनको आज (मंगलबार) उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । आजपा अध्यक्ष साहको गृहनगर समेत रहेका मौलापुरबाट मुलुकको विकास र समृद्धिका लागि दलहरु लोकतान्त्रिक मार्गमा हिड्नुपर्ने बताए ।

‘मुलुकले लोकतान्त्रिक बाटो बिराएको छ । त्यो करेक्सन हुनुपर्छ । कांग्रेस र एमालेको गठबन्धन अलोकतान्त्रि, अप्राकृतिक र अनैतिक रहेकोले जनतामा निरासा छाएको छ । त्यसका कारण कांग्रेस लोकतान्त्रिक बाटोमा हिड्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनमा मेयर रिनाकुमारी साह आ.ब.२०८२/०८३ को नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेकी छन् । उनले मौलापुर नगरपालिकाको आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

मौलापुर नगरपालिकाले हरेक बर्षझै यस बर्ष पनि शिक्षा क्षेत्रमा अत्याधिक बजेट बिनियोजन गरेको छ । शिक्षा क्षेत्रमा मौलापुरले कुल बजेटको ४० प्रतिशत भन्दा बढी रकम छुट्याएको छ । मौलापुरमा नगर प्रहरीको साटो नगर शिक्षक र चिकित्सक रहेको छ । शिक्षा क्षेत्रमा मोडेल बन्दै गईरहेको मौलापुर नगरपालिका देशमै उत्कृष्ट काम गरेवापत पोखरामा एक महिना अघि आयोजित एक कार्यक्रममा सम्मानित समेत भएको छ । गुणस्तरीय शिक्षा, साक्षरता अभियान, उच्च शिक्षा र प्राविधिक शिक्षाको क्षेत्रमा मौलापुरले अत्याधिक बजेट खर्च गर्दै आएको छ ।

यस्तै मौलापुर नगरपालिकाले शुन्य कर नीतिलाई निरन्तरता दिएको छ । विगत ८ बर्षदेखी मौलापुरका मेयर रहेकी साहले यस बर्ष पनि शुन्य कर नीतिलाई निरन्तरता दिइएको फ्रि बिजुली, फ्रि पानी, यही आर्थिक बर्षमा नगरलाई कच्ची सडक मुक्त नगरको रुपमा घोषणा गरिने लक्ष्य समेत लिइएको जनाएकी छन् ।

‘हामी शासक होईन, सेवक हौँ, जनतासंग लिने होईन दिने हो । नगर प्रहरी होईन, नगर शिक्षक र नगर चिकित्सक राखेर हामी जनतालाई बढीभन्दा बढी सेवा दिन दिनरात जनताकै सेवामा खटने हो,’ मौलापुरका मेयर साहले भनेकी छन् ।

यस्तै मौलापुरका मेयर साहले छोरीसंग मेयर कार्यक्रमलाई समेत निरन्तरता दिएकी छन् । यो कार्यक्रम पनि उनी मेयर भएदेखी लागु भएको छ । यो कार्यक्रम अन्तरगत बिहेको समयमा हरेक छोरीलाई ३० हजार नगद सहयोग पालिकाले गर्दैआएको छ । यसैगरी मौलापुरले नमुना एकीकृत दलित बस्ती निर्माण, धुवा चुलो मुक्त अभियानलाई निरन्तरता दिएको छ ।

‘आगामी आ.व. २०८२/०८३ मा नगरपालिकाबाट नगर गौरवको आयोजनाको रुपमा विगत देखी सञ्चालन हुँदै आएको पुरातात्विक महादेव मन्दिर, मौलापुर शहरीकरण, एकीकृत नमुना बस्ती विकास, मोडेल प्राविधिक शिक्षालयको थप व्यवस्थागर्ने आयोजनाहरु र यस नगरपालिकाले सञ्चालन गर्दै आएको कच्ची सडक मुक्त नगर, हर हातमे हुनर, साक्षरता अभियान, निशुल्क बिजुली पानी र बेटीके साथ मेयर लगायतका लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिदै नवीनतम प्रविधि र गुणस्तरयुक्त शिक्षाको लागि विद्यालयहरुमा स्मार्ट कक्षा सहितको भौतिक तथा मानवसंशाधान थप व्यवस्था गर्ने,’ मेयर साहले भनेकी छन्, ‘वर्तमान समयको माग अनुसार नगर कार्यपालिकाको कार्यालय तथा यस मातहतका शाखा, वडा कार्यालयबाट हुने सेवा प्रवाहलाई अझ छिटो छरितो र व्यवस्थित गर्ने, स्वास्थ्य संस्थाहरुलाई थप व्यवस्थि तगर्ने, वेरोजगारहरुलाई स्वरोजगार बनाउने र कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाउने र नयाँ एकीकृत दलित बस्ती निर्माण गरी झोपडी मुक्त नगर निर्माणको अभियानमा थप कार्यक्रम सञ्चालन गर्नुका साथै सुशासनलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरिएको छ ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।