काठमाडौँ । असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात आज असार १५, धान दिवस ।
२३औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिले यस बर्षको राष्टिय धान दिवस तथा रोपाइँ महोत्सवको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भता र समृद्धि’ भन्ने तय गरेको बालि विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।
आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान करिब १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ ।
जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सहीरुपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरुको भनाइ छ ।
नेपालीहरु दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ । सरकारले भने धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको छ । विश्वको कूल जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या एशिया महादेशमा बसोबास गर्छन् । एशियाका धेरै मानिसको आहार भात हो । त्यसैले सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन र भारत एशियामै पर्छन् । त्यसपछि क्रमशः इण्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशको गणनामा सूचीकृत भएका छन् । नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।
खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये धेरै बाँझो छ । सरकारी तथ्याङ्कअनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ ।एभरेष्ट न्यूज एजेन्सी
रौतहट । आफ्नी जीवनसंगिनीको जीवन बचाउन सक्दो प्रयास गर्दा गर्दै सबै सम्पत्ति गुमाएका रौतहटका एक सर्वसाधारण अहिले सहयोगी मनहरूको ढोका ढकढक्याउन बाध्य भएका छन्।
रौतहटको गरुडा नगरपालिका-२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी ३१ वर्षीया पत्नी पूजा देवीको उपचारका लागि आर्थिक सहयोगको मार्मिक अपिल गरेका हुन्।
पूजा देवी विगत केही वर्षदेखि रगतसम्बन्धी अत्यन्तै दुर्लभ र जटिल रोग ‘आईटीपी’ (इडियोप्याथिक थ्रोम्बोसाइटोपेनिक पर्पुरा) सँग संघर्ष गरिरहेकी छन्। यो रोगका कारण उनको जीवन निरन्तर जोखिममा छ।
आफ्नो सिन्दूर जोगाउने आशामा ईनरदेवले नेपाल र भारतका दर्जनौँ अस्पताल धाइसकेका छन्। वीरगञ्जको नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, भरतपुर अस्पताल, काठमाडौँको सिभिल अस्पताल, नेपाल मेडिकल कलेज, भारतको पटनास्थित पीएमसीएच, इन्दिरा गान्धी अस्पताल, मुजफ्फरपुरको प्रशान्त मेमोरियल अस्पताल, चण्डीगढ र अन्ततः नयाँदिल्लीस्थित एम्स अस्पतालसम्म पुगेर उपचार गराए। तर लाखौँ रुपैयाँ खर्च गर्दा पनि पूजाको स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेन।
उपचारको क्रममा ईनरदेवले आफ्नो सबै सम्पत्ति गुमाइसकेका छन्। ‘श्रीमतीलाई बचाउन मैले आफ्नो भएभरको सबै सम्पत्ति सिद्ध्याएँ। उपचारकै क्रममा घरको करिब १५ कठ्ठा जग्गा बेचिसक्यौँ। गोठका साना-ठूला पशुचौपाया पनि बेचेर उपचारमा लगायौँ। अहिले हामी बस्ने एउटा ओत लाग्ने घरबाहेक संसारमा केही बाँकी छैन,’ उनले गहभरी आँसु पार्दै भने।
उनका अनुसार उपचारका क्रममा हालसम्म ३५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। यति ठूलो रकम खर्च गर्दा पनि पत्नीको स्वास्थ्यमा सुधार नआएपछि उनीहरू फेरि नयाँ चुनौतीसँग जुधिरहेका छन्।
हालै नयाँदिल्लीस्थित एम्स अस्पतालका विशेषज्ञ चिकित्सकहरूले पूजा देवीको ज्यान जोगाउने अन्तिम विकल्पका रूपमा ‘बोन म्यारो ट्रान्सप्लान्ट’ (अस्थिमज्जा प्रत्यारोपण) गर्नुपर्ने सुझाव दिएका छन्। तर उक्त उपचारका लागि मात्रै थप करिब ६० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
सबै सम्पत्ति सकिएको अवस्थामा यति ठूलो रकम जुटाउनु ईनरदेवका लागि असम्भवजस्तै बनेको छ। पैसाको अभावमा आफ्नै आँखा अगाडि जीवनसंगिनीलाई पीडासँग संघर्ष गरिरहेको देख्न बाध्य उनी अहिले देश-विदेशमा रहेका सहयोगी मनहरूसँग हार्दिक अपिल गरिरहेका छन्।
‘मसँग अब बेच्ने केही बाँकी छैन। श्रीमतीलाई बचाउने अन्तिम आशा तपाईंहरूको सहयोग नै हो। कृपया सकेको सहयोग गरेर एउटा परिवार उजाडिनबाट बचाइदिनुहोस्,’ उनले भावुक हुँदै आग्रह गरे।
आर्थिक अभावका कारण उपचार रोकिएमा पूजाको ज्यान थप जोखिममा पर्न सक्ने चिकित्सकहरूले बताएका छन्। त्यसैले समयमै आवश्यक रकम जुटाउन सके अस्थिमज्जा प्रत्यारोपणमार्फत उनको जीवन बचाउने सम्भावना रहेको परिवारको विश्वास छ।
एउटा सानो सहयोगले एउटा परिवारको आशा, एउटा श्रीमानको भरोसा र एक युवतीको जीवन बचाउन ठूलो आधार बन्न सक्ने अपेक्षा परिवारले गरेको छ।हाम्रो कुरा
आरके श्रीवास्तव,रौतहट,१४ गते असार ।
केयर नेपाल, आइडिइ नेपाल र संरक्षण नेपालको समन्वयमा सञ्चालित पोषण परियोजनाअन्तर्गत प्रदेश नीति तथा योजना आयोगको आयोजनामा रौतहट जिल्ला स्तरीय बहुक्षेत्रीय पोषण कार्यक्रमको समीक्षा तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्ययोजना सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी बिहीबार र शुक्रबार सम्पन्न भएको छ । चन्द्रनिगाहपुरस्थित गोल्डेन बैंक्वेटमा आयोजित कार्यक्रममा जिल्लाका १८ वटै स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य, कृषि तथा पशु सेवा शाखाका प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य बहुक्षेत्रीय पोषण योजना तथा पोषणमैत्री स्थानीय शासन कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबीच अनुभव आदान–प्रदान, समीक्षा तथा आगामी कार्ययोजना तयार गर्नु रहेको आयोजकले जनाएको छ । कार्यशालाका क्रममा सहभागी पालिकाहरूले आ–आफ्ना क्षेत्रका पोषणसम्बन्धी गतिविधि, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या प्रसाद यादव रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहलेले गर्नुभएको थियो । कार्यक्रममा संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहा, जिल्ला स्वास्थ्य कार्यालय रौतहटका राजेश सिंह, कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र कुर्मी, केयर नेपालका पदम लम्साल, पुनम यादव तथा श्री भगवान जयसवाल लगायतले पोषण सुधार, बहुक्षेत्रीय समन्वय र स्थानीय सरकारको भूमिकाबारे आफ्नो धारणा राख्नुभएको थियो ।

वक्ताहरूले पोषणसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि स्वास्थ्य, कृषि, पशु सेवा, शिक्षा, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याउँदै स्थानीय तहको सक्रियताले पोषणमैत्री शासनलाई थप प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमबारे जानकारी संरक्षण नेपालका पोषण परियोजना संयोजक भाग्यनारायण महतोले दिनुभएको हो । उहाँका अनुसार कार्यशालाबाट तयार गरिएको कार्ययोजनाले जिल्लाका सबै स्थानीय तहमा बहुक्षेत्रीय पोषण कार्यक्रमलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ ।
आरके श्रीवास्तव,रौतहट,१४ गते असार ।
रौतहटको कटहरिया स्थित श्री बाल कल्याण विद्या मन्दिरले शैक्षिक सत्रका लागि आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । विद्यालयले अभिभावकहरूको हातहातमा क्यालेन्डर वितरण गर्दै औपचारिक रूपमा सार्वजनिक गरेको हो ।
विद्यालयका संस्थापक बैजु दास कथबनियाका अनुसार क्यालेन्डरमा शैक्षिक वर्षभर सञ्चालन हुने मासिक कार्यक्रम, विभिन्न अतिरिक्त क्रियाकलाप, सार्वजनिक तथा विद्यालय बिदा, परीक्षा तालिका, साथै बोर्डिङ विद्यालयका विविध गतिविधिहरू समावेश गरिएको छ । यसबाट विद्यार्थी, अभिभावक र शिक्षकलाई शैक्षिक योजना बनाउन सहज हुने विश्वास विद्यालयले लिएको छ । संस्थापक कथबनियाले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

अभिभावकलाई विद्यालयका गतिविधिबारे समयमै जानकारी गराउने उद्देश्यले वार्षिक शैक्षिक क्यालेन्डर तयार गरी वितरण गरिएको उनको भनाइ छ । वि.सं. २०७२ सालमा स्थापना भएको श्री बाल कल्याण विद्या मन्दिरले छोटो अवधिमै गुणस्तरीय शिक्षाका कारण कटहरिया क्षेत्रका अभिभावकको विश्वास जित्दै आएको छ । विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप, नैतिक शिक्षा र व्यक्तित्व विकासमा समेत विशेष जोड दिँदै आएको छ । विद्यालय प्रशासनले आगामी दिनमा पनि विद्यार्थीमैत्री र गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्दै उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
शिवनाथ कुशवाहा,रौतहट,१४ गते असार ।
केयर नेपाल, आइडिइ नेपाल र संरक्षण नेपालको संयुक्त साझेदारीमा विगत दुई वर्षदेखि रौतहटको कटहरिया नगरपालिकामा सञ्चालित पोषण परियोजना अन्तर्गत सञ्चालन भएका कार्यक्रम तथा गतिविधिको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले असार १० गते जिल्ला तथा स्थानीय तहका सरोकारवाला निकाय, विभिन्न संघसंस्था र सञ्चारकर्मीहरूको संयुक्त अनुगमन गरिएको छ ।

अनुगमन टोलीले परियोजनाअन्तर्गत सञ्चालित प्राविधिक सहयोग कार्यक्रम, सामुदायिक सिकाइ केन्द्र, प्रदर्शन डेमो प्लट, टीभीएससी कार्यक्रम, स्वास्थ्य संस्था तथा स्वास्थ्य आमा समूहहरूको स्थलगत निरीक्षण गरेको थियो । सामुदायिक सिकाइ केन्द्रका कृष्णनन्दन दासले विषादीरहित तरिकाले उत्पादन गरिएको तरकारी खेतीबारे जानकारी गराउँदै यसले स्वास्थ्य, वातावरण संरक्षण तथा आम्दानी वृद्धिमा सकारात्मक योगदान पुर्याएको बताए ।

साथै, गँड्यौला मल भर्मी कम्पोस्ट प्रविधिमार्फत व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले मल उत्पादन केन्द्र स्थापना गरिएको जानकारी पनि दिइयो । अनुगमनका क्रममा स्वास्थ्य संस्थामा संरक्षण नेपालले उपलब्ध गराएका स्वास्थ्य उपकरण प्रभावकारी रूपमा प्रयोग भइरहेको पाइएको थियो । स्वास्थ्यकर्मीहरूले गर्भवती जाँच, सुरक्षित सुत्केरी सेवा, प्रसूति पश्चात् जाँचलगायत स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको जानकारी गराए ।

परियोजना अन्तर्गत हाल ६ सय आमाहरू र जीवनको पहिलो एक हजार दिनका बालबालिकाका अभिभावकहरू स्वास्थ्य आमा समूहमा आबद्ध रहेका छन् । उनीहरूलाई नियमित रूपमा स्वास्थ्य, पोषण, कृषि, सरसफाइ, महिला सशक्तीकरण तथा विषादीरहित पोषण बगैँचा स्थापना सम्बन्धी तालिम र परामर्श प्रदान गरिँदै आएको छ ।

समूहका सदस्यहरूले यसबाट घरमै सुरक्षित तरकारी उत्पादन र उपभोग बढ्नुका साथै परिवारको पोषण अवस्थामा सुधार आएको बताएका छन् । संयुक्त अनुगमनमा जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या प्रसाद यादव, कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मी, स्वास्थ्य कार्यालय रौतहटका राजेश सिंह, जिल्ला प्रशासन कार्यालय रौतहटका राजकुमार कुशवाहा र नायब सुब्बा रामनरेश साह , संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहा, परियोजना संयोजक भाग्यनारायण महतो, कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश प्रसाद यादव लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अनुगमन टोलीले परियोजनाले समुदायमा पोषण सुधार, सुरक्षित कृषि अभ्यास, स्वास्थ्य सेवा सुदृढीकरण तथा जनचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको निष्कर्ष निकाल्दै यस्ता कार्यक्रमलाई थप विस्तार र दिगो बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको र अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा २-३ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको विभागले जनाएको छ ।
हाल कोशी र मधेश प्रदेश तथा देशको पहाडी र हिमाली भू-भागमा साधाराणतया बादल लागेको छ र तराईका भू-भागमा आंशिक बादल लागेको छ।देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि वर्षा मध्यमसम्मको भईरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भु-भागका धेरै स्थानमा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थान मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको तथा देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका धेरै स्थान, र लुम्बिनी प्रदेशका पहाडी भु-भागका केही स्थानमा र हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराईका धेरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ असार १५ गते सोमबार ईस २०२६ जुन २९ नेपाल सम्बत ११४६ तछलाथ्व पुन्हि, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल पूर्णिमा, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शुक्ल योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज असार १५ धान दिवस दहि चिउरा खाएर मनाइदैछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज आफूले बनाएका योजना व्यवहारमा उतार्ने राम्रो अवसर प्राप्त हुनेछ। कामप्रतिको लगाव र आत्मविश्वासले नयाँ उपलब्धि दिलाउन सक्छ। कार्यालय वा व्यवसायमा नयाँ जिम्मेवारी आउन सक्छ, जसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। आर्थिक रूपमा आम्दानीका केही नयाँ सम्भावना देखिए पनि खर्चमा नियन्त्रण आवश्यक रहनेछ। परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ र घरमा खुसीको वातावरण रहनेछ। साथीभाइसँगको सहकार्य लाभदायक बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर पर्याप्त आराम र नियमित खानपानमा ध्यान दिनु उचित हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आज धैर्य र विवेकले तपाईंलाई धेरै क्षेत्रमा सफलता दिलाउनेछ। हतारमा निर्णय गर्नुको सट्टा सोचविचार गरेर अघि बढ्दा राम्रो नतिजा प्राप्त हुनेछ। कार्यक्षेत्रमा पुराना प्रयासले सकारात्मक परिणाम दिन थाल्नेछन्। आर्थिक अवस्था स्थिर रहनेछ र बचत गर्ने अवसर पनि मिल्न सक्छ। परिवारमा आपसी विश्वास र सहयोग बढ्नेछ। आफन्तसँगको भेटघाट वा कुराकानीले मन हल्का बनाउनेछ। स्वास्थ्यमा सामान्य स्फूर्ति रहनेछ र मानसिक रूपमा पनि शान्त महसुस हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज दिनभरि व्यस्तता रहने सम्भावना भए पनि उपलब्धि उत्साहजनक रहनेछ। नयाँ जिम्मेवारी वा नयाँ कामको अवसर प्राप्त हुन सक्छ। सहकर्मी र साथीभाइको साथले जटिल काम पनि सहज बन्नेछ। आर्थिक पक्षमा सन्तुलित अवस्था रहनेछ, तर अनियोजित खर्च बढ्न सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ। परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। अध्ययन, लेखन वा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन विशेष फलदायी रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज घरपरिवारसँग सम्बन्धित विषयमा खुसीको समाचार प्राप्त हुन सक्छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ र आपसी सहयोग बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको लगनशीलता र जिम्मेवारीको प्रशंसा हुनेछ। रोकिएका कामहरू पनि बिस्तारै अघि बढ्ने सम्भावना छ। आर्थिक पक्षमा सामान्य सुधार देखिनेछ। मानसिक रूपमा सन्तुलित र आत्मविश्वासी महसुस हुनेछ। स्वास्थ्य पनि सामान्यतया राम्रो रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज आफ्नो क्षमता प्रदर्शन गर्ने राम्रो अवसर प्राप्त हुनेछ। नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर आउन सक्छ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। आर्थिक रूपमा लाभका अवसर देखिए पनि ठूलो लगानी गर्दा सोचविचार गर्नु आवश्यक हुनेछ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्ने सम्भावना छ। परिवारको साथ र प्रोत्साहनले मनोबल उच्च रहनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर अत्यधिक व्यस्तताबाट बच्नु उचित हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज सिकाइ, अध्ययन र नयाँ अनुभव प्राप्त गर्ने दिन रहनेछ। कुनै नयाँ सीप सिक्ने वा पुरानो ज्ञानलाई व्यवहारमा उतार्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा धैर्यका साथ अघि बढे अपेक्षाभन्दा राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक अवस्था सामान्य रहनेछ, तर अनावश्यक खर्चबाट बच्नु राम्रो हुनेछ। परिवारमा खुसीको वातावरण कायम रहनेछ। छोटो यात्रा वा बाहिरी काम लाभदायक बन्न सक्छ। स्वास्थ्यमा सामान्य सावधानी अपनाउनु उचित हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज आर्थिक पक्षमा सकारात्मक परिवर्तन आउने संकेत देखिन्छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोत फेला पर्न सक्छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय राम्रो रहनेछ। नयाँ योजना वा लगानीका विषयमा सोच्ने अनुकूल समय रहनेछ। परिवारमा खुसी र सन्तोषको वातावरण रहनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ र नयाँ व्यक्तिसँगको परिचय भविष्यका लागि उपयोगी बन्न सक्छ। आत्मविश्वास पनि बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज मेहनत र लगनशीलताको राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्न सक्छ। कार्यक्षेत्रमा तपाईंको क्षमता र अनुभवको कदर हुनेछ। आर्थिक रूपमा लाभका केही अवसर देखिए पनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। परिवारमा खुसीको खबर प्राप्त हुन सक्छ। सम्बन्धमा विश्वास र आत्मीयता बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा पनि उत्साह कायम रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज सकारात्मक सोच र ऊर्जा तपाईंको सबैभन्दा ठूलो बल बन्नेछ। व्यापार, अध्ययन वा यात्रासँग सम्बन्धित काममा राम्रो अवसर प्राप्त हुन सक्छ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्ने सम्भावना छ। आर्थिक पक्षमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध थप सुमधुर बन्नेछ। नयाँ योजना सुरु गर्न वा पुराना योजनालाई गति दिन उपयुक्त समय रहनेछ। स्वास्थ्य सामान्य रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज जिम्मेवारी बढ्न सक्छ, तर अनुशासन र धैर्यले सबै काम व्यवस्थित रूपमा सम्पन्न गर्न मद्दत गर्नेछ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुन सक्छ। आर्थिक रूपमा खर्चमा नियन्त्रण गर्नु आवश्यक देखिन्छ। परिवारका सदस्यहरूको साथ र सुझावले महत्वपूर्ण निर्णय लिन सहज बनाउनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्नुपर्छ। दिनको अन्त्यमा कुनै राम्रो उपलब्धिले मन सन्तुष्ट बनाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज सिर्जनात्मक सोच र नयाँ योजनाले सफलता दिलाउन सक्छ। रोकिएका कामहरू अघि बढ्नेछन् र कार्यक्षेत्रमा प्रगतिको संकेत देखिनेछ। साथीभाइ तथा सहकर्मीको सहयोगले आत्मविश्वास बढ्नेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। परिवारमा खुसी र आपसी समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र भविष्यमा फाइदा पुग्ने नयाँ अवसर प्राप्त हुन सक्छ। स्वास्थ्य सामान्य रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –
आज धैर्य र संयम अपनाउन सके धेरै काम सहज रूपमा सम्पन्न हुनेछन्। केही काम अपेक्षाअनुसार ढिलो भए पनि अन्ततः सकारात्मक परिणाम प्राप्त हुनेछ। आर्थिक पक्षमा खर्च गर्दा सोचविचार गर्नु आवश्यक हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति मिल्नेछ। पुराना अधुरा काम पूरा गर्ने अवसर प्राप्त हुन सक्छ। दिनको उत्तरार्धमा सुखद समाचार सुन्न पाइने वा मन प्रसन्न बनाउने घटना घट्ने सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ र आत्मविश्वास पनि बढ्दै जानेछ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आगामी असार १६ र १७ गते देशभर मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार देशका पहाडी र तराईका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै जाने भएकाले मनसुन बाँकी भूभागमा पनि फैलिने अनुमान गरिएको छ ।
सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने महाशाखाले चेतावनी दिएको छ । शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला तथा साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ ।
महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
महाशाखाले मनसुनी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाउँदै अद्यावधिक मौसम पूर्वानुमान नियमित रूपमा सार्वजनिक गरिने जनाएको छ। साथै, सबैलाई नियमित रूपमा मौसमसम्बन्धी सूचना हेरी आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । काठमाडौंबाट धनगढीतर्फ उडान भरेको श्री एयरलाइन्सको एक जहाजमा उडानकै क्रममा प्राविधिक समस्या देखिएपछि भैरहवामा आकस्मिक अवतरण गराइएको छ । विमानको ककपिटमा अचानक धुवाँ देखिएपछि चालक दलले तत्काल सुरक्षा प्रक्रिया अपनाएको थियो ।
विमानले आइतबार अपराह्न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडान भरेको थियो । केही समयमै ककपिट क्षेत्रमा धुवाँ देखिएपछि पाइलटले सतर्कता अपनाउँदै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराएका थिए ।
विमान सुरक्षित रूपमा अवतरण भएको र जहाजमा सवार सम्पूर्ण यात्रु तथा चालक दलका सदस्य सकुशल रहेका छन् । घटनापछि प्राविधिक टोलीले जहाजको विस्तृत परीक्षण सुरु गरेको छ भने ककपिटमा धुवाँ देखिनुको वास्तविक कारणबारे अनुसन्धान अघि बढाइएको छ ।
यसैबीच, भैरहवामा रोकिएका यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन श्री एयरलाइन्सले अर्को जहाज पठाइसकेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ ।
मदन भण्डारी फाउण्डेशनले गरेक बर्ष प्रदान गर्ने यो पुरस्कार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् ।
इलामको सूर्योदय नगरपालिका–११, केराबारीका स्थायी बासिन्दा राई लामो समयदेखि नेपाली राजनीति, विकास तथा समसामयिक विषयमा स्वतन्त्र अध्येता एवं अनुसन्धानकर्ताका रूपमा सक्रिय छन् । पुरस्कारस्वरूप राईलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।
फाउण्डेशनका अनुसार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा अध्ययन, अनुसन्धान, संस्मरण लेखन तथा पुस्तक प्रकाशनमार्फत उनको व्यक्तित्व, विचार, राजनीतिक जीवन र योगदानलाई दस्तावेजीकरण तथा प्रचार–प्रसारमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी