काठमाडौँ । आज जुन ३० अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । पृथ्वीमा क्षुद्रग्रह ठोक्किन सक्ने सम्भावित जोखिमबारे जनचेतना फैलाउने, वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा सम्भावित विपद्का लागि अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउने उद्देश्यले यो दिवस मनाइन्छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१६ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष जुन ३० लाई अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवसका रूपमा मनाउन थालिएको हो । यो मिति सन् १९०८ मा रुसको साइबेरियास्थित तुङ्गुस्का क्षेत्रमा भएको इतिहासकै सबैभन्दा ठूलो क्षुद्रग्रह विस्फोटको सम्झनामा तय गरिएको हो । उक्त घटनाले करिब दुई हजार वर्ग किलोमिटर वन क्षेत्र ध्वस्त बनाएको थियो ।
वैज्ञानिकहरूका अनुसार पृथ्वी नजिक परिक्रमा गर्ने ३६ हजारभन्दा बढी क्षुद्रग्रह पत्ता लागिसकेका छन् । तीमध्ये केही क्षुद्रग्रह भविष्यमा पृथ्वीको नजिक आउन सक्ने भएकाले तिनको निरन्तर निगरानी गरिँदै आएको छ । पृथ्वीको कक्षाको धेरै नजिक आउने र ठूलो आकारका क्षुद्रग्रहलाई सम्भावित जोखिमयुक्त मानिन्छ ।
संयुक्त राष्ट्रसंघले सन् २०२९ लाई अन्तर्राष्ट्रिय क्षुद्रग्रह सचेतना तथा ग्रह सुरक्षा वर्ष घोषणा गरेको छ । सोही वर्ष ‘अपोफिस’ नामक विशाल क्षुद्रग्रह पृथ्वीबाट करिब ३२ हजार किलोमिटरको दूरीबाट सुरक्षित रूपमा गुज्रिनेछ । यसले पृथ्वीलाई कुनै खतरा नपुग्ने भए पनि यो घटना दुर्लभ मानिएको छ र संसारका धेरै स्थानबाट खुला आकाशमा नाङ्गो आँखाले समेत देख्न सकिने अपेक्षा गरिएको छ ।
क्षुद्रग्रहसम्बन्धी सम्भावित जोखिमको पहिचान, निगरानी र आवश्यक परे त्यसको प्रभाव कम गर्ने उपायबारे अन्तर्राष्ट्रिय स्तरमा सहकार्य भइरहेको छ । यसका लागि संयुक्त राष्ट्रसंघको पहलमा विभिन्न अन्तरिक्ष निकाय र वैज्ञानिक संस्थाहरूले सम्भावित जोखिमको मूल्याङ्कन तथा पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । गाब्रिएल मार्टिनेलीले इन्जुरी समयको पाँचौँ मिनेटमा निर्णायक गोल गरेपछि ब्राजिलले पुनरागमन जित निकाल्दै जारी विश्वकपमा जापानलाई २-१ ले पराजित गरेको छ। यससँगै पाँच पटकको विश्व विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अब ब्राजिलले अन्तिम १६ मा नर्वे वा आइभोरी कोस्टमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको निर्धारित समय सकिनै लाग्दा ब्राजिलले जापानको पेनाल्टी क्षेत्रनजिकै बल खोसेको थियो । ब्रुनो गिमाराइसले दिएको उत्कृष्ट पासलाई गाब्रिएल मार्टिनेलीले नियन्त्रण गर्दै पोस्टमा ठोक्काएर जाली चुमाएपछि ब्राजिलले रोमाञ्चक जित सुनिश्चित गर्यो ।
जापानले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई दबाबमा राखेको थियो । खेलको अग्रता पनि जापानले नै लिएको थियो । दानिलोको कमजोर पासलाई काइसु सानोले बीचमै खोसेर कासेमिरोलाई छक्याउँदै तल्लो कुनामा शानदार प्रहार गरेका थिए ।
पहिलो हाफमा लय समात्न नसकेको ब्राजिल दोस्रो हाफमा भने आक्रामक रूपमा फर्कियो । खेल पुनः सुरु भएको १० मिनेटपछि गाब्रिएलको पछाडिबाट आएको क्रसलाई कासेमिरोले शक्तिशाली हेडमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
बराबरी गोलपछि ब्राजिलले लगातार आक्रमण गरिरह्यो । भिनिसियस जुनियरले एकल प्रयासमा दुई रक्षकलाई छल्दै गरेको आकर्षक प्रहार जापानी गोलरक्षक जियोन सुजुकीले पोस्टतर्फ फर्काएपछि ब्राजिल अग्रता लिनबाट वञ्चित भएको थियो ।
त्यसपछि जापानले खेलमा पुनः सन्तुलन कायम गरे पनि अन्तिम क्षणमा आओ तनाकाले आफ्नै पेनाल्टी क्षेत्रको छेउमा बल गुमाए । त्यसैको फाइदा उठाउँदै मार्टिनेलीले निर्णायक गोल गरेपछि जापानको उत्कृष्ट संघर्ष निराशामा टुंगियो र ब्राजिलले अन्तिम १६ को यात्रा तय गर्यो । यो हारसँगै जापानको विश्वकप यात्रा टुंगिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको र अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा भोलीसम्म मनसुन बिस्तार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल कोशी, मधेश र बागमती प्रदेशमा अधिकांश बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा साथै गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू-भागका धेरै स्थानमा, कर्णाली र सुदुरपश्चिमको पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको तथा देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागको केही स्थानमा तथा कर्णाली सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भू-भाग धेरै स्थान मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ असार १६ गते मंगलबार ईस २०२६ जुन ३० नेपाल सम्बत ११४६ तछलाथ्व पुन्हि, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल पूर्णिमा, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, ब्रम्हा योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवस परेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज नयाँ अवसरलाई सही समयमा पहिचान गर्न सक्नुभयो भने राम्रो उपलब्धि हात पर्न सक्छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता, आत्मविश्वास र स्पष्ट निर्णय क्षमताले सकारात्मक परिणाम ल्याउनेछ। रोकिएका कामहरू पूरा हुने सम्भावना छ भने नयाँ जिम्मेवारी पनि थपिन सक्छ। आर्थिक पक्षमा आम्दानी बढ्ने संकेत देखिए पनि अनावश्यक खर्चमा नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारमा हाँसो–खुसीको वातावरण रहनेछ र प्रियजनको साथले मन प्रसन्न हुनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर पर्याप्त आराम र नियमित खानपानमा ध्यान दिनु राम्रो हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आज संयम र धैर्यले तपाईंलाई धेरै क्षेत्रमा सफलता दिलाउनेछ। कार्यक्षेत्रमा हतार नगरी योजनाबद्ध रूपमा अघि बढे राम्रो परिणाम प्राप्त हुनेछ। पुराना प्रयासले फल दिन थालेको महसुस हुन सक्छ। आर्थिक अवस्था स्थिर रहनेछ र बचततर्फ ध्यान दिने अवसर प्राप्त हुनेछ। परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। आफन्तसँगको भेटघाट वा कुराकानीले मन हल्का बनाउनेछ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा पनि सन्तुलित महसुस हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज कामको व्यस्तता बढ्न सक्छ, तर त्यसको प्रतिफल पनि सन्तोषजनक रहनेछ। नयाँ योजना वा जिम्मेवारी प्राप्त हुने सम्भावना छ। सहकर्मी र साथीभाइको सहयोगले कठिन काम पनि सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक रूपमा साना लाभका अवसर प्राप्त हुन सक्छन्। परिवारसँग समय बिताउँदा मन प्रसन्न हुनेछ। अध्ययन, लेखन, सञ्चार वा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन विशेष फलदायी रहनेछ। स्वास्थ्यमा सामान्य सावधानी अपनाउनु उचित हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज घरपरिवारसँग सम्बन्धित विषयमा सुखद परिवर्तन आउने संकेत छन्। परिवारका सदस्यहरूको साथ र सहयोगले आत्मबल बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत र इमानदारीको प्रशंसा हुनेछ। रोकिएका कामहरू क्रमशः पूरा हुँदै जानेछन्। आर्थिक पक्षमा सामान्य सुधार देखिनेछ। मानसिक रूपमा शान्त र सन्तुलित महसुस हुनेछ। कुनै शुभ समाचारले दिनलाई अझ रमाइलो बनाउन सक्छ। स्वास्थ्य पनि राम्रो रहने सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज आफ्नो प्रतिभा र नेतृत्व क्षमता देखाउने अवसर प्राप्त हुनेछ। महत्त्वपूर्ण व्यक्तिसँग भेटघाट वा छलफल हुन सक्छ, जसबाट भविष्यका लागि राम्रो सम्भावना खुल्न सक्छ। कार्यक्षेत्रमा तपाईंका विचारको सम्मान हुनेछ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि ठूलो लगानी गर्दा सोचविचार गर्नु आवश्यक हुनेछ। परिवारको साथ र विश्वासले मनोबल बढाउनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान पनि वृद्धि हुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज नयाँ ज्ञान प्राप्त गर्ने र आफ्नो क्षमता विकास गर्ने दिन रहनेछ। अध्ययन, अनुसन्धान, लेखन वा तालिमसँग सम्बन्धित काममा राम्रो प्रगति देखिनेछ। कार्यक्षेत्रमा धैर्यका साथ अघि बढे अपेक्षाभन्दा राम्रो नतिजा प्राप्त हुनेछ। आर्थिक अवस्था सामान्य रहनेछ, तर खर्चलाई व्यवस्थित गर्नु आवश्यक हुनेछ। परिवारमा खुसी र सन्तोषको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर पर्याप्त आराम गर्न नबिर्सनुहोस्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज आर्थिक पक्षमा सकारात्मक परिवर्तन देखिन सक्छ। रोकिएको रकम प्राप्त हुने वा नयाँ आम्दानीको स्रोत फेला पर्ने सम्भावना छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय राम्रो रहनेछ। व्यवसायमा नयाँ योजना सुरु गर्ने सोच भए आजको दिन अनुकूल रहन सक्छ। परिवारसँग रमाइलो समय बित्नेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ र नयाँ सम्बन्ध भविष्यका लागि लाभदायक बन्न सक्छ। आत्मविश्वास पनि उल्लेखनीय रूपमा बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज मेहनतको उचित प्रतिफल प्राप्त हुने सम्भावना बलियो छ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्न सक्छ। कार्यक्षेत्रमा तपाईंको अनुभव र क्षमताको कदर हुनेछ। आर्थिक रूपमा लाभका अवसर प्राप्त भए पनि सोचविचार गरेर निर्णय गर्नु उचित हुनेछ। परिवारमा खुसीको वातावरण बन्नेछ र प्रियजनसँगको सम्बन्ध अझ सुदृढ हुनेछ। मानसिक रूपमा उत्साहित महसुस हुनेछ। स्वास्थ्य सामान्य रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज सकारात्मक सोच र आत्मविश्वासले धेरै काममा सफलता दिलाउनेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन्, विशेष गरी व्यापार, अध्ययन वा यात्रासँग सम्बन्धित क्षेत्रमा। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्ने सम्भावना छ। आर्थिक अवस्थामा सुधार आउने संकेत देखिनेछन्। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप सुमधुर बन्नेछ। नयाँ योजना सुरु गर्न वा दीर्घकालीन लक्ष्य तय गर्न आजको दिन उपयुक्त रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज जिम्मेवारी केही बढ्न सक्छ, तर योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्न सकिनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारको साथ र सुझावले महत्वपूर्ण निर्णय लिन सहज बनाउनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले आरामका लागि समय निकाल्नु राम्रो हुनेछ। दिनको अन्त्यमा सन्तोषजनक उपलब्धि प्राप्त हुने सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज सिर्जनात्मक सोच र नयाँ योजनाले तपाईंलाई अगाडि बढाउनेछ। रोकिएका कामले गति लिनेछन् र कार्यक्षेत्रमा प्रगतिको संकेत देखिनेछ। साथीभाइ तथा सहकर्मीको सहयोगले आत्मविश्वास बढ्नेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। परिवारमा खुसी, मेलमिलाप र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र भविष्यमा फाइदा पुग्ने नयाँ अवसर प्राप्त हुन सक्छ। स्वास्थ्य सामान्य रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –
आज धैर्य र सकारात्मक सोचले तपाईंलाई सही निर्णय लिन सहयोग गर्नेछ। केही काम अपेक्षाभन्दा ढिलो भए पनि अन्ततः सफलतापूर्वक सम्पन्न हुनेछन्। आर्थिक पक्षमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति मिल्नेछ। पुराना अधुरा काम पूरा गर्ने अवसर प्राप्त हुन सक्छ। दिनको उत्तरार्धमा सुखद समाचार प्राप्त हुने वा मन खुसी बनाउने घटना घट्न सक्ने सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ र आत्मविश्वास पनि बढ्दै जानेछ।एभरेष्ट न्यूज एजेन्सी
रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आज र भोली बन्द गरिएको छ ।
नेपाल-चीन जोड्ने मितेरी पुल मर्मतका लागि आज र भोली नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।
चिनियाँ पक्षले मनसुन र बाढी पहिरोलाई मध्यनजर गरी आजदेखि पुलको गुणस्तर मापन तथा मर्मत सम्भारको कार्य गर्न लागेकाले नाका बन्द गरिएको बताइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी द्रुव प्रसाद अधिकारीले जारी गरेको सूचनामा भनिएको छ- ‘रसुवागढी सीमानाकास्थित नेपाल चीन जोड्ने मितेरी पुल (बेलीब्रीज ) को चेकजाँच एवम् मर्मतसम्भार गर्नुपर्ने भएकाले मिति २०८३।०३।१५ र १६ गते उक्त बेलीब्रिजबाट हुने सवारी आवगमनमा रोक लगाइएको भनी चिनीयाँ समकक्षीबाट जानकारी हुन आएको हुँदा सोही बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । साथै, कैलाश मानसरोबर तीर्थाटनमा रहनु भएका तीर्थयात्रीहरुलाई १०/१० जनाको समूहमा दुवै पक्षका सुरक्षा संयन्त्रहरुको समन्वयमा यात्रा सहजीकरण भईरहेको बेहोरा समेत अनुरोध छ ।’एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम ३२ को चौथो खेलमा मंगलबार विहान नेदरल्यान्ड्स र मोरक्कोबीच कडा प्रतिस्पर्धा हुँदैछ । नेपाल समय अनुसार बिहान ६: ४५ बजेदेखि हुने यो खेल समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका दुई टोलीबीच रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
मोरक्कोले समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै समूह ‘सी’को उपविजेता बनेको थियो । उसले पहिलो खेलमा ब्राजिलसँग १-१ को बराबरी खेलेको थियो भने त्यसपछि स्कटल्यान्डलाई १-० र हाइटीलाई ४-२ ले हराएको थियो।
प्रशिक्षक मोहम्मद ओआहबीको नेतृत्वमा रहेको मोरक्कोले लगातार दुई विश्वकपमा नकआउट चरणमा स्थान बनाउने तेस्रो अफ्रिकी राष्ट्र बनेर इतिहास रचेको छ । यसअघि नाइजेरियाले सन् १९९४ र १९९८ तथा घानाले सन् २००६ र २०१० मा लगातार नकआउट चरण खेलेका थिए ।
सन् २०२२ को विश्वकपमा अफ्रिकाबाट पहिलो पटक सेमिफाइनल पुगेर इतिहास बनाएको मोरक्को यसपटक त्यो उपलब्धिलाई अझ अगाडि बढाउने लक्ष्यमा छ । तर त्यसका लागि उसले बलियो लयमा रहेको नेदरल्यान्ड्सलाई हराउनुपर्ने चुनौती छ ।
नेदरल्यान्ड्सले पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। उसले पहिलो खेलमा जापानसँग २-२ को बराबरी खेलेपछि स्विडेनलाई ५-१ र ट्युनिसियालाई ३-१ ले पराजित गर्दै समूह ‘एफ’को विजेता बनेको थियो ।
रोनाल्ड कोम्यानको टोलीले सन् २०१० यता खेलेका पछिल्ला १० विश्वकप नकआउट खेलमध्ये सातमा जित निकाल्दै राम्रो कीर्तिमान बनाएको छ । यद्यपि पछिल्ला पाँच नकआउट खेलमध्ये तीन खेल पेनाल्टी सुटआउटमा पुगेका थिए। सन् २०२२ को क्वार्टरफाइनलमा अर्जेन्टिनासँग ४-३ ले पेनाल्टीमा पराजित भएको पीडा यसपटक बिर्साउने लक्ष्य डच टोलीको छ ।
समूह चरणमा नेदरल्यान्ड्सको आक्रमण निकै प्रभावशाली देखिएको छ । तीन खेलमा १० गोल गर्दै उसले सन् २०१४ पछि पहिलो पटक समूह चरणमा दोहोरो अंकको गोल संख्या पुर्याएको हो । हालसम्म प्रतियोगितामा जर्मनी र फ्रान्ससँगै सर्वाधिक १० गोल गर्ने टोली पनि नेदरल्यान्ड्स नै हो ।
यता मोरक्कोले पनि गोल गर्ने क्षमतामा कुनै कमी देखाएको छैन । समूह चरणमा उसले ६ गोल गरेको थियो । हाइटीविरुद्ध ४ गोल गर्दै मोरक्कोले विश्वकप इतिहासमा पहिलो पटक एउटै खेलमा चार गोल गर्ने राष्ट्रिय कीर्तिमान बनाएको थियो । विश्वकपमा उसको कुल गोल संख्या २६ पुगेको छ, जसले नाइजेरियाको २३ गोलको कीर्तिमानलाई पछि पार्दै अफ्रिकी राष्ट्रमध्ये सर्वाधिक गोल गर्ने टोली बनाएको छ ।
मोरक्कोका इस्माइल साइबारी टोलीका सबैभन्दा खतरनाक खेलाडीका रूपमा उदाएका छन् । उनले ब्राजिल, स्कटल्यान्ड र हाइटीविरुद्ध लगातार गोल गरेका छन् । एउटै विश्वकपमा तीन गोल गर्ने उनी पहिलो मोरक्कन खेलाडी बनेका छन् । यदि उनले नेदरल्यान्ड्सविरुद्ध पनि गोल गरे भने क्यामरुनका रोजर मिल्लाको चार गोलको अफ्रिकी कीर्तिमानसँग बराबरी गर्नेछन् ।
नेदरल्यान्ड्सतर्फ भने गोल गर्ने जिम्मेवारी धेरै खेलाडीले बाँडेका छन् । ब्रायन ब्रोबेले तीन गोल गरेका छन् भने कोडी गाक्पो र क्रिसेन्सियो समरभिलले समान दुई-दुई गोल गरेका छन् । डच टोलीले सिर्जना गरेका अवसरको तुलनामा निकै प्रभावकारी रूपमा गोल गर्दै आएको छ, जुन उसको सबैभन्दा ठूलो बल बनेको छ ।
विश्वकप इतिहासमा यी दुई टोलीबीच यो दोस्रो भेट हुनेछ । पहिलो भेट सन् १९९४ को विश्वकपमा भएको थियो, जहाँ डेनिस बेर्गकाम्प र ब्रायन रोयको गोलमा नेदरल्यान्ड्सले २-१ को जित निकालेको थियो ।
नेदरल्यान्ड्सले विश्वकपमा अफ्रिकी टोलीविरुद्ध खेलेका ६ खेलमध्ये पाँचमा जित र एकमा बराबरी खेलेको छ । उसका पाँचै जितमा कम्तीमा दुई गोल गरेका छन् । यद्यपि अफ्रिकी टोलीसँग नकआउट चरणमा भने यो पहिलो भेट हुनेछ । मोरक्कोले स्कटल्यान्डलाई हराएपछि लगातार दोस्रो पटक विश्वकपमा युरोपेली टोलीविरुद्ध जित निकाल्ने लक्ष्य राखेको छ । युरोपेली टोलीविरुद्ध खेलेका पाँच नकआउट खेलमध्ये मोरक्कोले एक मात्र जित सन् २०२२ को क्वार्टरफाइनलमा पोर्चुगललाई १-० ले हराउँदा निकालेको थियो । त्यसैले मंगलबारको खेलमा इतिहास दोहोर्याउने कि नेदरल्यान्ड्सले आफ्नो उत्कृष्ट कीर्तिमान कायम राख्ने भन्ने चासो रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपालप्रसाद भट्टले पदभार ग्रहण गरेका छन् ।
आजै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबाट पद तथा गोपनियताको शपथ गरेपछि उनी धितोपत्र बोर्डको ललितपुरस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
शपथपछि अर्थमन्त्री डा. वाग्लेले कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न निर्देशन दिदै पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्न निर्देशन दिएका थिए ।
अर्थमन्त्री डा. वाग्लेले सरकारले सबैखाले सहयोग गर्ने बताउदै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउन अध्यक्ष भट्टलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
पुँजी बजार सुधारका काम गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना पेस गर्न निर्देशन दिदै अर्थमन्त्री डा. वाग्लेले बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गर्ने परिपाटी रोक्न आग्रह गरेका थिए ।
भट्टलाई असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।एभरेष्ट न्यूज एजेन्सी
बाँके । आफ्नै दाई २५ वर्षीय मनोज चौधरीको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहवा बस्ने २० वर्षीय बिनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
बिनोदले आइतबार राति कुटपिट गरी मनोजको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका-१५ गोहवाबाट सोमबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
आरके श्रीवास्तव,रौतहट,१४ गते असार ।
रौतहटको मध्यभाग गरुडास्थित होटल एनएन प्लाजामा जनता समाजवादी पार्टी (जसपा) नेपालको अगुवा कार्यकर्ता भेला, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेका थिए भने जिल्ला अध्यक्ष राजीव रञ्जन यादव (राजु)ले अध्यक्षता गरेका थिए ।
कार्यक्रमको सञ्चालन आरएन पटेलले गरेका थिए । भेलामा रौतहटका निर्वाचन क्षेत्र नम्बर १ देखि ४ सम्मका प्रतिनिधिसभा सदस्यका पूर्व उम्मेदवार तथा पार्टीका नेताहरूले पछिल्लो निर्वाचनको समीक्षा गर्दै आफ्ना धारणा राखेका थिए । रौतहट क्षेत्र नम्बर ३ का पूर्वमन्त्री तथा नेता गोविन्द चौधरीले संघीयताको विषयमा आमजनतामा अझै पनि स्पष्ट बुझाइको अभाव रहेको उल्लेख गर्दै जनताको बीचमा पुगेर यसको वास्तविक महत्व बुझाउनुपर्ने बताए ।
उनले दशैं–तिहारलगायतका अवसरमा जनतासँग प्रत्यक्ष सम्पर्क र सडक संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीले निर्वाचनमा देश–विदेशी षड्यन्त्रका कारण जसपा पराजित भएको दाबी गर्दै जनतालाई भ्रममा पार्ने प्रयास भएको बताए । उनले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिँदा संघीयताको मर्मअनुसार काम गर्न कठिन भएको उल्लेख गरे । राउतले मधेश प्रदेश सरकारले तीनवटा विश्वविद्यालय स्थापना गर्न सफल भएको दाबी गर्दै प्रदेश सरकारले गरेका सकारात्मक कामहरू जनतासम्म प्रभावकारी रूपमा पु¥याउन नसकिएको बताए। उनले अहिलेको सरकारले करको भार बढाएर गरिब जनतालाई थप मर्कामा पारेको आरोप पनि लगाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देशभर यस्तै प्रकृतिका अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उनले यो कार्यक्रम अन्यभन्दा फरक रहेको उल्लेख गर्दै कार्यकर्ताको सुझाव र अनुभव सुन्ने उद्देश्यले आयोजना गरिएको बताए । अध्यक्ष यादवले सतही विश्लेषणभन्दा गहिरो समीक्षा आवश्यक रहेको बताउँदै विगतका निर्वाचन परिणामबाट शिक्षा लिनुपर्ने धारणा राखे ।
उनले जनता सचेत भए मात्र आफ्नो अधिकारको रक्षा गर्न सक्ने भन्दै गाउँ–गाउँमा पुगेर जनचेतना फैलाउन कार्यकर्तालाई निर्देशन दिए । उनले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरणका लागि चार बुँदे कार्ययोजना अघि सारे । वास्तविक र सक्रिय व्यक्तिलाई पार्टी सदस्य बनाउने, काम गर्ने कार्यकर्तालाई समितिमा समावेश गर्ने, जिल्ला कमिटी पुनर्गठन गर्ने तथा अहिलेदेखि नै आगामी निर्वाचनको तयारीमा जुट्नुपर्नेमा उनले जोड दिए ।
यादवले वर्तमान अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै संकट उत्पन्न भएको दाबी गर्दै संघीयता कमजोर पार्ने र प्रदेश संरचना समाप्त गर्ने प्रयास भइरहेको आरोप लगाए । जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने जसपा नेपालको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै लोकतन्त्र र संघीयताको रक्षाका लागि संघर्ष गर्न तयार रहन उनले कार्यकर्तालाई आह्वान गरे । उनले सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा प्रयोग गर्दै पार्टीका गतिविधि र विचार जनतामाझ पु¥याउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमका अध्यक्ष राजीव रञ्जन यादवले केही व्यक्तिका कारण पार्टी संगठन कमजोर बनेको स्वीकार गर्दै अब सबै नेता तथा कार्यकर्ताबीच एकता कायम गरी संगठनलाई पुनः बलियो बनाउनुपर्नेमा जोड दिए । भेलामा जिल्लाका विभिन्न पालिकाबाट आएका पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
आशिक हुसैन शेख
दोहा (कतार), असार १४ / जुन २८, २०२६
“सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्धि नेपालको परिकल्पना” भन्ने मूल नारासहित बागमती प्रदेश समन्वय परिषद् कतारले २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसरमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
दोहाको सनैयास्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रम परिषद्का अध्यक्ष कविन्द्र कँडेलको सभापतित्व तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा परिषद्का संस्थापक संरक्षक सागर नेपाल, विशिष्ट संरक्षक नन्दन ढुंगाना, सल्लाहकार राज देवकोटा लगायत विभिन्न सामाजिक तथा सामुदायिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बंगलादेश, श्रीलंका तथा भारतका विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका थिए। साथै कतारस्थित विभिन्न प्रदेश समन्वय परिषद्, जिल्ला संस्था, सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार, कलाकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाली राष्ट्रिय गानसँगै कार्यक्रमको शुभारम्भ गरिएको थियो। ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। प्रमुख अतिथि, सभापति तथा विशिष्ट अतिथिहरूद्वारा दीप प्रज्वलन र ब्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो।
परिषद्की महिला उपाध्यक्ष ममता राना भाटले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामहरी चौलागाईंले राष्ट्रिय धान दिवसको महत्वबारे प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै सांगीतिक प्रस्तुति पनि दिएका थिए।
कार्यक्रममा वक्ताहरूले राष्ट्रिय धान दिवसको महत्व, कृषि संस्कृतिको संरक्षण, प्रवासी नेपालीबीचको एकता तथा सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
सांस्कृतिक कार्यक्रममा स्वागत नृत्यसँगै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाका कलाकारहरूले आकर्षक गीत तथा नृत्य प्रस्तुत गरेका थिए। सुमित्रा भट्टराई, अस्मिता लामिछाने, वीरेन्द्र श्रेष्ठ, सुमन खड्का, मनिता सुनाम, गुणा मगर, नारायण देवकोटा, पुकार थापा, जमुना बिक, बाबु कौशल, लक्ष्मी कार्की र सुमित्रा बुढा क्षेत्रीलगायत कलाकारहरूको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।
यस अवसरमा नेपाली कला, संस्कृति, सामाजिक सेवा तथा सञ्चार क्षेत्रमा योगदान पुर्याएका कलाकार, पत्रकार तथा विभिन्न व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
औपचारिक कार्यक्रमपछि दोस्रो चरणको सांस्कृतिक कार्यक्रम साँझ ७ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रमको सञ्चालन परिषद्का महासचिव गंगा बहादुर सुनुवारले गरेका थिए भने सह–सञ्चालन उपमहासचिव दिनेश अधिकारीले गरेका थिए।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने संरक्षक, सल्लाहकार, जिल्ला संस्था, स्वयंसेवक, कलाकार, पत्रकार, व्यवसायी, सामाजिक अभियन्ता, प्रायोजक तथा सम्पूर्ण सहभागीप्रति बागमती प्रदेश समन्वय परिषद् कतारले हार्दिक आभार व्यक्त गरेको छ। परिषद्ले आगामी दिनमा पनि नेपाली भाषा, कला, संस्कृति, कृषि परम्परा तथा प्रवासी नेपालीबीचको एकतालाई अझ सुदृढ बनाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।