काठमाडौं, साउन १६ — मधेश मुक्ति अभियानले आफ्नो विस्तारित केन्द्रीय समिति बैठकपछि नयाँ केन्द्रीय समिति तथा पदाधिकारीहरूको नामावली औपचारिक रूपमा सार्वजनिक गरेको छ। अभियानले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यका साथ नयाँ नेतृत्व टोली घोषणा गरिएको जनाएको हो।
विज्ञप्तिअनुसार बैठकमा संगठनको वर्तमान गतिविधि, संगठनात्मक संरचना, विस्तार रणनीति तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। केन्द्रीय समिति सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्ने वा केही समयपछि गर्ने विषयमा समेत व्यापक बहस भएको र अन्ततः सर्वसम्मत निर्णयमार्फत नामावली सार्वजनिक गरिएको अभियानले जनाएको छ।
अभियानको नयाँ नेतृत्वमा अश्विनी कुमार केन्द्रीय संयोजक चयन भएका छन्। प्रवीण झा सह–संयोजक तथा मनोज यादव महासचिवको जिम्मेवारीमा छन्। त्यसैगरी नन्दिनी पासवान उपमहासचिव, प्रियांशी महतो सचिव, लक्ष्मण दास सहसचिव, प्रभु साह कोषाध्यक्ष तथा सीमा देवी चौधरी सह–कोषाध्यक्ष बनेका छन्। कुमार भागिरथ प्रवक्ता र दीपक मेहता सह–प्रवक्ताको जिम्मेवारीमा रहेका छन्।
विभागीय जिम्मेवारीतर्फ संगठन विभाग प्रमुखमा सुस्वेत यादव, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा सुशांक खतुवे, प्रशिक्षण विभाग प्रमुखमा सागर मिश्रा, नीति तथा अनुसन्धान विभाग प्रमुखमा सविना साह, कानुनी विभाग प्रमुखमा बबिता रजक, युवा विभाग प्रमुखमा पिंटु सिंह, महिला विभाग प्रमुखमा समीक्षा चौधरी थारु, विद्यार्थी विभाग प्रमुखमा गायत्री शाक्य, श्रमिक विभाग प्रमुखमा संग्राम सदा मुसहर, किसान विभाग प्रमुखमा चन्द्र प्रकाश मेहता, सूचना तथा सञ्चार विभाग प्रमुखमा सितेश यादव तथा सांस्कृतिक विभाग प्रमुखमा संजय अधिकारी चयन भएका छन्।
केन्द्रीय सदस्यहरूमा रामेश्वर राय यादव, महन्थ साह तेली, राजेन्द्र यादव, उपेन्द्र मेहता, अनिल कुमार पाठक, हृदयेन्द पासवान, प्रभास सदा, सरिता चौधरी, दीपिका चौधरी थारु, रामसेवक ठाकुर बरही, चैतन्य कुमार राउत, प्रकाश राउत र पवन नारायण माझी रहेका छन्।
मधेश मुक्ति अभियानले आगामी दिनमा संगठनलाई देशव्यापी रूपमा विस्तार गर्दै मधेशी समुदायको अधिकार, पहिचान, स्वाभिमान तथा सामाजिक–राजनीतिक मुद्दामा प्रभावकारी ढंगले आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ। संगठनात्मक एकता, जनसहभागिता र योजनाबद्ध कार्यक्रममार्फत अभियानलाई थप सशक्त बनाउँदै लैजाने लक्ष्य पनि विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।
अभियानका अनुसार केन्द्रीय समिति सार्वजनिक हुनु संगठनको संस्थागत विकास, प्रभावकारी नेतृत्व निर्माण तथा आगामी रणनीतिक कार्यक्रम कार्यान्वयनका लागि महत्वपूर्ण कदम हो। नवगठित पदाधिकारी, विभागीय प्रमुख तथा सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै अभियानलाई थप सुदृढ बनाउन पनि आह्वान गरिएको छ।
जनकपुरधाम । धनुषा जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेशलाई कायम राख्दै सर्वसाधारणको दैनिक जीवन सहज बनाउन शनिबार बिहान केही समयका लागि कर्फ्यू आंशिक रूपमा खुकुलो पारिएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारीबाट साउन १४ गते जारी गरिएको कर्फ्यू आदेश यथावत् रहनेछ । तर, शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि कर्फ्यू आंशिक रूपमा खुकुलो गरिएको हो ।
प्रशासनले तोकिएको समयभित्र आवश्यक सामग्री खरिद गरी आ–आफ्नो निवासमा फर्किन तथा त्यसपछि कर्फ्यूको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ ।
प्रशासनका अनुसार कर्फ्यू अवधिमा पनि अस्पताल, औषधि पसल, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध ढुवानी गर्ने सवारी र फोहोर संकलन गर्ने सवारीसाधनलगायत अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन् ।
यस्तै, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, नेपाल रेडक्रसका कर्मचारी, तीर्थयात्री, बिरामी, विमानस्थल जाने–आउने यात्रु तथा उनीहरूलाई लिन वा पुर्याउन जाने व्यक्तिले परिचयपत्र वा सम्बन्धित प्रमाण साथमा राखी आवतजावत गर्न सक्ने प्रशासनले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
इनरुवा । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी रहेको कर्फ्यू आदेश हटाएर निषेधाज्ञा लागू गरेको छ ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनाअनुसार साउन १२ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू गरिएको कर्फ्यू आदेश साउन १६ गते बिहान ८: ३० बजेदेखि साँझ ५ बजेसम्म हटाइएको हो ।
कर्फ्यू हटाइए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गरिएको प्रशासनले जनाएको छ ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्र समावेश छन्।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको पूर्ण पालना गर्न सबैसँग आग्रह गरेको छ।एभरेष्ट न्यूज एजेन्सी
पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा हिमपहिरोमा बेपत्ताको आजको खोजीकार्य स्थगित गरिएको छ ।
पाकिस्तान अल्पाइन क्लबले दिएको अपडेट अनुसार अहिलेसम्म दुई जनाको शव फेला परेको र उनीहरु ओमानकी नधिरा अल हार्थी र नेपालका पुरबहादुर गुरुङ (युक्त) रहेको जानकारी दिएको छ ।
पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन पाकिस्तानी सेनाका दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरिएको थियो । आज मौसमको खराबी र अध्यारो भएका कारण खोजी कार्य रोकिएको र भोली फेरी शुरु हुने अल्पाइन क्लबले अपडेट दिएको छ ।
यसअघि आज बिहानसम्म ट्रयाकरको लोकेसन फेला परेको बताइएको थियो । लोकेसन ६ हजार देखि ७ हजार मिटर उचाईमा रहेको उल्लेख गरिएको थियो तर सो क्षेत्रसम्म आज पुग्न नसकिएको बताइएको छ ।
क्लबका अनुसार उच्च हिमाली क्षेत्रमा भइरहेका उद्धार प्रयासलाई थप प्रभावकारी बनाउन हवाई तथा स्थलमार्गबाट समन्वयात्मक रूपमा काम भइरहेको छ ।
हिमपहिरोमा परेका १० जना आरोहीमध्ये नेपाली कम्पनी एलिट एक्सपेड, सेभेन समिट ट्रेक्स र इम्याजिन नेपाल मार्फत गएका विदेशी र नेपाली आरोही रहेका छन् ।
हिमपहिरोमा अझै ८ जना बेपत्ता रहेका छन्, जसमा पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा (निम्स दाइ), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको जानकारी दिएको छ ।
हाल लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ, बाँकी भू-भागमा साधारणतया बादल लागेको छ। बागमती प्रदेशको थोरै स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा र पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। साथै तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका केही तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग, मधेश प्रदेश तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ साउन १६ गते शनिबार ईस २०२६ अगस्ट १ नेपाल सम्बत ११४६ दिल्लाथ्व तृतीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल तृतीया, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शोभन योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा बजे हुनेछ ।
आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ हुदैछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन उत्साह, आत्मविश्वास र नयाँ अवसरले भरिएको रहनेछ। बिहानदेखि नै मनमा सकारात्मक सोच जाग्नेछ र लामो समयदेखि रोकिएका काम अघि बढ्ने संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको नेतृत्व क्षमता, मेहनत र निर्णय गर्ने शैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी प्राप्त भए पनि सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। व्यापार–व्यवसायमा नयाँ ग्राहक, सम्झौता वा लगानीको अवसर प्राप्त हुन सक्छ। आर्थिक रूपमा आम्दानी बढ्ने सम्भावना छ। परिवारमा खुसी र मेलमिलापको वातावरण कायम रहनेछ। प्रियजनसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। नियमित खानपान र पर्याप्त आरामले दिनभर स्फूर्ति कायम राख्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आज धैर्य, विवेक र संयमले तपाईंलाई धेरै क्षेत्रमा सफलता दिलाउनेछ। कार्यक्षेत्रमा सहकर्मी तथा वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ। अधुरा रहेका योजना पूरा हुने सम्भावना बलियो छ। व्यापार–व्यवसायमा नियमित लाभ मिल्नेछ र नयाँ अवसर पनि देखा पर्न सक्छ। आर्थिक पक्ष सन्तुलित रहनेछ। बचत गर्ने योजना सफल बन्ने संकेत छ। परिवारमा सुखद वातावरण रहनेछ र आफन्तसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। सामाजिक कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति र आत्मसन्तुष्टि महसुस हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज सिर्जनशीलता र प्रभावकारी अभिव्यक्तिले तपाईंलाई अरूभन्दा अलग बनाउनेछ। अध्ययन, लेखन, शिक्षण, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन निकै फलदायी रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र आफ्नो क्षमता प्रदर्शन गर्ने मौका मिल्नेछ। आर्थिक रूपमा अतिरिक्त आम्दानी हुने सम्भावना देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले जटिल काम पनि सहज रूपमा सम्पन्न हुनेछ। परिवारसँग खुसीका क्षण बित्नेछन्। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा उत्साह, ऊर्जा र आत्मविश्वास बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज पारिवारिक सुख र आत्मीयताले मनलाई आनन्दित बनाउनेछ। घरमा खुसीको वातावरण रहनेछ र परिवारका सदस्यहरूसँगको सम्बन्ध थप सुमधुर बन्नेछ। कार्यक्षेत्रमा तपाईंको इमानदारी, जिम्मेवारीबोध र मेहनतको प्रशंसा हुनेछ। रोकिएका काम पूरा हुने सम्भावना बलियो देखिन्छ। आर्थिक पक्षमा सुधार आउने संकेत छ। घर वा सम्पत्तिसँग सम्बन्धित विषयमा सकारात्मक निर्णय हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति र सन्तुलन कायम रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज नेतृत्व क्षमता, आत्मविश्वास र साहसले तपाईंलाई नयाँ सफलता दिलाउनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्नुका साथै नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा विस्तारको सम्भावना देखिएको छ। आर्थिक रूपमा लाभदायक दिन रहनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। परिवारको साथ र सहयोगले मनोबल थप उच्च रहनेछ। प्रियजनसँग बिताएको समय अविस्मरणीय बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र शरीरमा पर्याप्त ऊर्जा कायम रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ सीप सिक्ने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा अनुशासन र लगनशीलताले राम्रो परिणाम दिलाउनेछ। वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुनेछ। आर्थिक अवस्था स्थिर रहनेछ। योजनाबद्ध खर्चले भविष्यमा राम्रो बचत गर्न सकिनेछ। परिवारमा आपसी समझदारी र सहयोग बढ्नेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। नियमित व्यायामले शरीरलाई थप फुर्तिलो बनाउनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज आर्थिक क्षेत्रमा उत्साहजनक सुधार आउने सम्भावना बलियो छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोत खुल्न सक्छ। व्यापार–व्यवसायमा लाभ बढ्नेछ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। नयाँ योजना सफल हुने सम्भावना देखिन्छ। परिवारसँग खुसीका क्षण बित्नेछन्। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध विस्तार हुनेछ, जसले भविष्यमा राम्रो अवसर सिर्जना गर्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा उत्साह र आत्मविश्वास बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज निरन्तर मेहनत, धैर्य र अनुभवको प्रतिफल प्राप्त हुने दिन रहनेछ। कार्यक्षेत्रमा तपाईंको क्षमता र कार्यदक्षताको उच्च मूल्यांकन हुनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना बलियो छ। व्यापार–व्यवसायमा राम्रो लाभ हुनेछ। आर्थिक अवस्था थप मजबुत बन्ने संकेत देखिएको छ। परिवारमा प्रेम, विश्वास र आत्मीयता बढ्नेछ। प्रियजनसँग भविष्यका योजनाबारे सकारात्मक छलफल हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा आत्मबल र उत्साह बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज आशावादी सोच र दृढ इच्छाशक्तिले तपाईंलाई नयाँ उपलब्धितर्फ डोर्याउनेछ। अध्ययन, व्यापार, वैदेशिक क्षेत्र वा यात्रासँग सम्बन्धित काममा सकारात्मक परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, जसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। नयाँ योजना सुरु गर्न दिन शुभ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर मन प्रसन्न रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्न सके बचत बढ्नेछ। भविष्यका लागि दीर्घकालीन योजना बनाउने समय अनुकूल रहनेछ। परिवारका सदस्यहरूको सुझाव उपयोगी सावित हुनेछ। घरमा शान्त र सुखद वातावरण कायम रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्नु आवश्यक हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले आत्मविश्वास बढाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज सिर्जनशील सोच, नयाँ योजना र सकारात्मक दृष्टिकोणले उल्लेखनीय सफलता दिलाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम पूरा हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण योजना सफल बन्नेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा प्रेम, मेलमिलाप र समझदारी बढ्नेछ। सामाजिक क्षेत्रमा प्रभाव विस्तार हुनेछ र नयाँ सम्बन्धले भविष्यमा लाभदायक अवसर प्रदान गर्नेछ। स्वास्थ्य राम्रो रहनेछ। दिनभर उत्साह, ऊर्जा र स्फूर्ति कायम रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –
आज धैर्य, विवेक र सकारात्मक सोचले तपाईंलाई सफलता दिलाउनेछ। सुरुवातमा केही चुनौती देखिए पनि अनुभव र आत्मविश्वासका कारण सबै काम सहज रूपमा अघि बढ्नेछन्। कार्यक्षेत्रमा मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ र बचत गर्ने अवसर पनि मिल्नेछ। परिवारको साथ र सहयोगले मनोबल बढ्नेछ। अधुरा रहेका योजना पूरा हुने दिशामा अघि बढ्नेछन्। साँझतिर प्राप्त हुने शुभ समाचारले भविष्यप्रति नयाँ आशा, उत्साह र आत्मविश्वास थप बलियो बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति, सन्तुलन र सकारात्मक ऊर्जा दिनभर कायम रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जलगायत तराई-मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको छलफलमा उनीहरूले उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले दिएको जानकारीअनुसार पूर्वराष्ट्रपति डा. यादवले सरकारले यो विषम स्थितिमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकलाई साथमा लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताए । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यालयमा आकस्मिक बैठक गरेको छ ।
बैठकमा पार्टी सभापति, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य, संसदीय दलका नेता तथा सांसद, मधेस प्रदेश र सुनसरी–मोरङलगायत सम्बन्धित जिल्लाका नेता सहभागी भएका थिए। मधेस प्रदेशका मुख्यमन्त्री, स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष तथा प्रदेश र स्थानीय तहका नेता भने भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।
बैठकले कप्तानगञ्ज घटनापछि सरकारको गैरजिम्मेवार, असंवेदनशील व्यवहार तथा नागरिकमाथि अत्यधिक बल प्रयोग भएको भन्दै गम्भीर आपत्ति जनाएको छ । नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयको सत्यतथ्य पत्ता लगाउन तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न कांग्रेसले माग गरेको छ ।
कांग्रेसले घाइतेको निःशुल्क उपचार, उचित व्यवस्थापन तथा तोडफोड र आगजनीबाट क्षति पुगेका सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निरन्तर दबाब दिने निर्णय पनि गरेको छ ।
पार्टीले नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई पहिलो प्राथमिकता दिने जनाएको छ। कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार, स्थानीय सरकार तथा जनप्रतिनिधिलाई नागरिकको सुरक्षा सुनिश्चित गर्न, घाइते परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन र सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न निर्देशन दिइएको छ ।
यस्तै, पार्टीका सबै तहका समितिलाई वडा तहसम्म सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा संवाद तथा सहकार्यको अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ । प्रदेश, जिल्ला र स्थानीय तहका समितिलाई युवासँग नियमित छलफल तथा संवाद गर्न पनि भनिएको छ ।
सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेशसभा सदस्य, केन्द्रीय पदाधिकारी तथा नेताहरूलाई सम्भव भएसम्म आफ्ना जिल्लामा पुगेर समुदाय, घाइते र पीडित परिवारसँग भेटघाट गर्दै सामाजिक सद्भाव कायम गर्न पहल गर्न निर्देशन दिइएको छ ।
कांग्रेसले आफ्ना नेता–कार्यकर्तालाई घटनासम्बन्धी संवेदनशील विषयमा तथ्य नबुझी सार्वजनिक प्रतिक्रिया नदिन, अफवाह र भ्रामक सूचनाको पछि नलाग्न तथा हिंसा र उत्तेजना फैलाउने कुनै पनि गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ ।
साथै, पार्टीका कुनै पनि तहका जिम्मेवार व्यक्ति वा सदस्य हिंसात्मक गतिविधिमा संलग्न भएको वा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बिथोल्ने कार्यमा सहभागी भएको पाइए पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी पनि कांग्रेसले दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । मोरक्कोबाट हजारौं आप्रवासी स्पेनको स्वशासित सहर स्युटामा प्रवेश गरेका छन् । सीमा पार गर्ने क्रममा भएको भागदौडमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
घटनापछि स्थानीय प्रशासनले स्पेन सरकारसँग राष्ट्रिय आपत्काल घोषणा गर्न तथा अवस्था नियन्त्रणका लागि सेना परिचालन गर्न माग गरेको छ । स्पेनको गृह मन्त्रालयले नागरिकको सुरक्षा र देशको सीमा संरक्षणका लागि आवश्यक सबै कदम चालिने जनाएको छ । तर, आप्रवासनसम्बन्धी अवस्थाका आधारमा राष्ट्रिय आपत्काल घोषणा गर्न कानुनी व्यवस्था नभएको मन्त्रालयको भनाइ छ ।
स्युटास्थित स्पेनी सुरक्षा बलले अवस्था पूर्ण रूपमा नियन्त्रणबाहिर पुगेको बताएको छ । अहिलेसम्म हजारौं आप्रवासी सीमा पार गरिरहेका छन् र वास्तविक संख्या यकिन गर्नसमेत कठिन भएको छ ।
उत्तरी मोरक्कोका मानवअधिकारकर्मीहरुले यस अवस्थालाई असाधारण भन्दै ताराजल सीमा नाकाबाट ठूलो संख्यामा मानिस प्रवेश गरेको बताएका छन् । सार्वजनिक भएका दृश्यमा सयौं मानिस समुद्री तट हुँदै स्युटाका सडकमा प्रवेश गरिरहेको देखिएको छ । उनीहरूमध्ये अधिकांश मोरक्कोका युवा भए पनि महिला र बालबालिकासहितका परिवार पनि रहेका छन् । केही आप्रवासीले स्पेनको समर्थनमा नाराबाजीसमेत गरेका थिए । यति ठूलो संख्यामा मानिसहरू एकैपटक स्युटा प्रवेश गर्नुको कारण भने अझै स्पष्ट हुन सकेको छैन ।
स्पेन र मोरक्कोबीचको सीमा क्षेत्रमा बुधबारदेखि तनाव बढेको थियो । त्यसयता धेरै आप्रवासी समुद्र तरेर स्युटा पुग्ने प्रयास गरिरहेका छन् । स्थानीय अधिकारीका अनुसार बुधबार मात्र समुद्री मार्गबाट प्रवेश गर्ने क्रममा तीन जनाको मृत्यु भएको थियो ।
स्पेनको गृह मन्त्रालयले मोरक्को सरकारसँग सीमा व्यवस्थापनमा नजिकबाट सहकार्य भइरहेको जनाएको छ । मोरक्कोका सुरक्षाकर्मीले सीमा पार गर्न खोज्ने धेरैलाई रोकिरहेको र अवैध रूपमा स्युटा प्रवेश गरेका व्यक्तिलाई यथाशीघ्र फिर्ता पठाउने विषयमा दुवै देश सहमत भएको मन्त्रालयले जनाएको छ । स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्दे-मार्लास्काले शुक्रबार स्युटा पुगेर अवस्थाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय अधिकारीहरूले आप्रवासीको संख्या बढ्नुमा हालै स्पेनको सर्वोच्च अदालतले गरेको निर्णयलाई पनि एउटा कारण मानेका छन् । उक्त निर्णयअनुसार समुद्री मार्गबाट स्पेन पुगेका आप्रवासीलाई कानुनी प्रक्रिया पूरा नगरी तत्काल फिर्ता पठाउन नपाइने व्यवस्था गरिएको छ । यद्यपि, केही सामाजिक अभियन्ताले अधिकांश आप्रवासीलाई यस्तो कानुनी व्यवस्थाबारे जानकारी नै नहुने भएकाले आर्थिक अवसरको खोजी र हिंसाबाट बच्न युरोप पुग्ने चाहनालाई मुख्य कारण मानेका छन् ।
स्युटा उत्तर अफ्रिकाको तटमा रहेको स्पेनको स्वशासित सहर हो। यहाँ पुग्न धेरै आप्रवासीले मोरक्कोको फनिदेक क्षेत्रबाट करिब पाँच किलोमिटर समुद्री दूरी पौडी खेलेर पार गर्ने गरेका छन् ।
यसपटकको घटना सन् २०२१ को संकटसँग मिल्दोजुल्दो छ, जतिबेला दुई दिनमै आठ हजारभन्दा बढी आप्रवासी स्युटा प्रवेश गरेका थिए । त्यसबेला मोरक्कोले सीमा निगरानी कमजोर बनाएको आरोप लागेको थियो, जसका कारण स्पेन र मोरक्कोबीच कूटनीतिक विवादसमेत उत्पन्न भएको थियो ।
यसैबीच, स्युटाका प्रमुख हुआन जीसस भिभासले राष्ट्रिय सुरक्षाको अवस्था उत्पन्न भएको भन्दै स्पेन सरकारसँग राष्ट्रिय आपत्काल घोषणा गर्न, थप सुरक्षाकर्मी परिचालन गर्न तथा सीमा क्षेत्रमा सेना तैनाथ गर्न आग्रह गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३७ कम्पनिका ८८ लाख ५१ हजार २१६ कित्ता शेयर ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० मा कारोबार भएको थियो । आज निर्जीव बीमा र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको लक्ष्मी भ्यालु फण्ड २ को शेयर ८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बोटलर्स नेपालको शेयर ५.३३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको १७ करोड २६ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमइ बैंकको १५ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी