२०८३ कार्तिक ५
२०८३ कार्तिक ५

 

काठमाडौं, २६ साउन ।

२४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले वृक्षारोपण कार्यक्रम गरेको छ। काठमाडौंको कागेश्वरी मनोहरा वडा नं ६ स्थित ठाढुङ्गेश्वर सामुदायिक वनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रुद्राक्षको विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

युवा संगठनले राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण अभियान सञ्चालन गरेको र यसलाई देशव्यापी निरन्तरता दिइने सो संगठनका संयोजक सुजित केसीले जानकारी दिएका छन् ।

वृक्षारोपण कार्यक्रममा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं संयोजित संगठन विभाग प्रमुख राजेन्द्र गुरुङ, संगठनका पूर्व अध्यक्षहरु, संगठनका पदाधिकारी सदस्यहरु, काठमाडौं क्षेत्र नं २ का नेता कार्यकर्ताहरु र स्थानीयबासीले विभिन्न प्रजातिका ५०० विरुवा रोपेर वृक्षारोपण गरेको युवा संगठनका प्रचार संयोजक कल्याण विक्रम आचार्यले जानकारी दिएका छन् ।

 

अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा संगठनले शनिबार बृहत रक्तदान र चियापान कार्यक्रमको आयोजना पनि गरेको आचार्यले बताएका छन्

 

काठमाडौं, २६ साउन ।

प्रमुख प्रतिपक्ष एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै शुुक्ररबार बसेको बैठकमा एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि बैठक नै स्थगित गरिएको हो ।

आउँदो सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ ।

 

काठमाडौं, २६ साउन ।

प्रमुख प्रतिपक्ष एमालेले संसद बैठकमा अवरोध गरेको छ ।

शुुक्ररबार बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध गरेको छ ।

रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

 

रामेछाप, २६ साउन ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप नगरपालिका-८ बाबियाखर्क बस्ने ३७ वर्षीय भुपेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले ती बालिकालाई सोही ठाउँस्थित गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौं, २६ साउन ।

शुक्रबार राखिएको राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश गर्न लाग्दा स्थगित भएको छ । सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिसकेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेका थिए । तर, प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु उठेर विरोध जनाए ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसद उठेर विरोध जनाए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले प्रतिपक्षीलाई बोल्न समय दिएपछि यसको विरोधमा सत्तापक्ष सांसदले उठेर विरोध जनाए ।

दुवै पक्षका सांसद उठेर विरोध जनाइरहेपछि अध्यक्ष तिमिल्सिनाले बस्न आग्रह गरे । उठेरै संसद चलाउने भएपछि पछि गाह्रो पर्ने भन्दै सांसदहरूमाथि उनले व्यंग्य पनि गरे । तर, दुवै पक्षका सांसद बस्न मानेनन् ।

 

सत्ता र प्रतिपक्ष सांसदहरू उठिरहेपछि अध्यक्ष तिमल्सिनाले शुक्रबारको बैठकको कार्यसूचीमा राखेका सबै कार्यक्रम हटाएको जानकारी दिँदै बैठकलाई साउन ३१ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरे ।

 

काठमाडौ, २६ साउन ।

सानिमा माई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड ७२ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.४४ प्रतिशतले घटेको हो । गत वर्ष यसले ५४ करोड ६१ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १८.३४ प्रतिशतले घटेर ७६ करोड ३५ लाख ११ हजार रुपैयाँमा आएपछि खुद नाफा प्रभावित भएको हो । अघिल्लो वर्ष विद्युत बिक्रीबाट ९३ करोड ५० लाख २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीको परियोजना सञ्चालन खर्च पनि ८ करोड ८८ लाख रुपैयाँबाट बढेर ९ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

 

सानिमा माईको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा १ अर्ब १६ करोड ९० लाख रुपैयाँ छ । अन्य रिजर्भमा १ अर्ब २९ करोड ५० लाख रुपैयाँ जम्मा रहेको छ । खुद नाफामा कमी आएपछि प्रतिसेयर आम्दानी ४.५ रुपैयाँले घटेर १३.१८ रुपैयाँमा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ १७९.७६ रुपैयाँ रहेको छ । सम्पतिमा प्रतिफल (आरओए) अघिल्लो वर्षको ९.५१ प्रतिशतबाट घटेर अहिले ५.५३ प्रतिशतमा सीमित छ ।

 

काठमाडौं, २६ साउन ।

कांग्रेस सांसद जितेन्द्र नारायण देवले लगातार संसदको अवरोधको विरोध जनाएका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले अल्पमतले सदन बन्धक बनाउन संसारभर कहीँ व्यवस्था नभएको बताए । जनताको आवाज राख्न थलो सदनलाई प्रतिपक्षी दल एमालेले बन्धक बनाएको उनको भनाइ छ ।

‘प्रतिपक्षी दलको संसद हो आफ्ना कुरा राख्न । तर, बन्धक बनाउन होइन, लामो समय अवरुद्ध गर्न होइन,’ उनले भने, ‘सरकार पनि बहुमतले बनाउँछ । संसद पनि बहुमतले नै चल्छ । अल्पमतले बन्धक बनाउन पाइँदैन ।’

संगठित अपराध अन्त्यका लागि गृहमन्त्री र अर्थमन्त्री लाग्दा विरोध गर्न नहुने भन्दै उनले सीआईबीको अनुसन्धानलाई विश्वास नगरी विरोध गरेको देख्दा शंका उठेको बताए ।

 

चरिकोट, २६ साउन ।

दोलखामा यात्रीवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

 

दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा२ख ५४२९ नम्बरको बस तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

उनीहरुको च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ ।

 

काठमाडौ, २६ साउन ।

चालु साताको अन्तिम कारोबार दिन  शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।  शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

यो साताभरि भने सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको छ। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

यो साताभरि भने चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेको छ। गत शुक्रबार चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

 

काठमाडौं, २६ साउन ।

नेपाली चलचित्र ‘बगान’ पाँचौँ सातामा प्रदर्शनरत छ । साता बढ्दै गर्दा यसको दर्शक पनि बढेका छन् । दर्शककै ‘वर्ड अफ माउथ’को कारण सफल भईरहेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन् । दर्शकले चलचित्रमा आमा बन्नु भएकी करिश्मासँगै छोरीको भूमिकामा रहेकी नव अभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन् । प्राय दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिईरहेका छन् ।

 

नेपालको सफलता पश्चात चलचित्र अमेरिकाको विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । गीतकार तथा निर्माता सुरेश वाग्लेले अगस्टबाट प्रदर्शन प्रारम्भ हुने जानकारी दिए । उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय प्रदर्शन सुरू गरेका छौँ । अमेरिकासँगै विभिन्न देशमा हुने प्रदर्शनको विषयमा समेत जानकारी गराउने छौं ।’ उनले अगस्ट १८ र १९ मा बोस्टनमा रहेको रिजेन्ट थियटरमा विशेष प्रदर्शनी हुने जानकारी दिए । यसपश्चात न्यूयोर्क, ड्याल्स, ह्युस्टन, अस्टिन, लस एन्जल्स, क्यालीफोर्निया, ह्यारिस्वर्ग, कोलोराडो, एटलान्टा लगायतका सहरमा प्रदर्शनको तयारी भईरहेको गीतकार वाग्लेले बताए ।

 

‘नेपालमा पाईरहेको प्रतिक्रियाले विदेशमा कहिले प्रदर्शन हुन्छ भन्ने धेरै जिज्ञासा अईरहेको थियो । अहिले हामी बगान टिम नै चलचित्र लिएर अमेरिकामा छौँ’, उनले भने । चलचित्रका निर्देशक सरोज खनाल र अभिनेत्री प्रमिला अमेरिकामा हुने प्रदर्शनीमा सहभागी हुनेछन् ।

 

अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गर्नुभएको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

 

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

 

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।