काठमाडौं, ३० साउन ।
सुन तस्करी प्रकरणमा थप तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार थप पक्राउ परेका थप तीनजनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
२ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुनको पगाल्ने काम मंगलबार सकिएको छ । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर भित्र्याइएको उक्त सुन गालिसकेकाले तौलबारे मंगलबार जानकारी दिने तयारी गरिएको छ ।
सोमबार ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ ।
दाङ, ३० साउन ।
पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् ।
सुन तस्करीमा उनको संलग्नता रहेको आशंका गर्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठिरहेका बेला मंगलबार दाङमा पत्रकारसँग कुरा गर्दै महराले अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएका हुन् ।
सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार रहेको उनको भनाइ छ । ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु । छानबिनमा सरकारलाई सघाउन तयार रहेको कुरा भन्दै पनि आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?,’ उनले भने ।
चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताएकाा उनले सुन तस्करी प्रकरणमा विनाकारण आफ्नो नाम मुछिएको आरोप लगाए । वाङको नाम सुन तस्करी प्रकरणमा मुछिएको छ । तर, महराले वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए ।
काठमाडौं, ३० साउन ।
मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएसँगै ताैल सार्वजनिक
छ ।
मंगलबार बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो । गालिएको सुनको तौल सार्वजनिक गर्ने तयारी भइरहेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।
यसअघि सोमबार ब्रेक सुबाट छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ ।
भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।
सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सुम्पिएको छ ।
गुल्मी, ३० साउन ।
गुल्मीमा अरिङ्गालले टोकेर मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको छ । सोमबार अरिङ्गालले टोके पनि मंगलबार बिहान उनलाई गुल्मी अस्पताल लगिएको थियो ।
तर, उपचारका क्रममा उनको गुल्मी अस्पतालमा मृत्यु भएको हो । सोमबार बेलुका देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई टोकेको थियो ।
मोरङ, ३० साउन ।
विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३३ वर्षीय खेम चन्द्र राई, सोही उपमहानगरपालिका-८ बस्ने ३१ वर्षीय रवी चन्द्र राई, उदयपुर गढी गाउँपालिका-८ बस्ने २५ वर्षीय ईन्द्र बहादुर तामाङ, नुवाकोट बिदुर नगरपालका-५ बस्ने २४ वर्षीय सुजित डंगोल र मोरङ बेलबारी नगरपालिका-४ बस्ने २४ वर्षीय संजिव राई रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार खेम चन्द्र र रवी चन्द्रलाई १ ग्राम ५८ मिलिग्राम, को.१ ह ६३९५ नम्बरको टेम्पोमा सवार ईन्द्र बहादुर र सुजित डंगोललाई २२ ग्राम ३४ मिलिग्राम तथा प्रदेश १-०१-०१४ प ९८४५ नम्बरको स्कुटरमा सवार संजिवलाई २ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौ, ३० साउन ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेसनल लघुवित्तको खुद नाफा ४०.३६ प्रतिशतले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३६ करोड ७ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ ।
खुद ब्याज आम्दानी सामान्य (०.६० प्रतिशत) ले घटेर ८३ करोड ४२ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ४०.३४% ले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।
प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६४ पैसाले घटेर १९ रुपैयाँ ८४ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ७२ पैसा छ । असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १६ करोड ७८ लाख १२ हजार रुपैयाँ छ ।
मस्को, ३० साउन ।
रुसको एक पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको एउटा पेट्रोल पम्पमा भएको आगलागीमा तीन बालबालिकासहित २७ जनाको मृत्यु भएको हो ।
सोमबार राति मखचकलाको राजमार्गमा रहेको सवारीसाधन मर्मत पसलमा सुरु भएको आगलागी नजिकैको पेट्रोल पम्पमा फैलिएर विस्फोट भएको उद्धारकर्मीहरुले बताएका छन् । मखाचकला ६ लाखभन्दा बढी मानिसहरूको सहर, दागेस्तानको राजधानी हो । आगलागीको भिडियो फुटेजमा एक तले भवनमा आगलागी भएको देखाइएको छ ।
रुसको आपतकालीन मन्त्रालयले मंगलबार बिहान आगो निभाइएको जनाएको छ । घाइतेसमध्ये १० जनाको अवस्था गम्भीर रहेकोे रुसी उपस्वास्थ्यमन्त्री भ्लादिमिर फिसेन्कोले बताएका छन् । गम्भीर घाइतेहरुलाई उद्धार गर्न मखचकलामा विमान पठाइएको थियो ।
घाइते मध्ये १३ जना बालबालिका रहेका छन् । रुसी आपतकालीन सेवाले जारी गरेकोा विज्ञप्तिमा ६०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो ।
सिन्धुपाल्चोक, ३० साउन ।
मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो अवरुद्ध भएको छ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीले सो सडकखण्ड अवरुद्ध हुन पुगेको हो ।
मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको छ । वर्षा र बाढीका कारण हेलम्बु राजमार्गका विभिन्न स्थानमा क्षति गरेको छ । साथै केही बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम परेको छ ।
काठमाडौ, ३० साउन ।
नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ। मंगलबार सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। साेमबार भाउ स्थिर रहँदै चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौ, ३० साउन ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२० विन्दुले घटेको छ । यससँगै सूचक २०७७.०३ अंकमा आएको छ । १२ लाख ३२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको ३३ सय १८ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल ६० पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।