२०८३ कार्तिक २
२०८३ कार्तिक २

पोखरा । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत्तले पार्टीको विवाद अदालत बाहिर मिलाउन खोजेपनि सफल नभएको बताएका छन् ।

पोखरामा देउवा समुहको सम्पर्क कार्यालय खोलेर पत्रकार सम्मेलन गर्दै नेता डा. महत्तले पार्टीको विवाद अदालत बाहिर मिलाउन खोजेपनि अहिलेको संस्थापन पक्षले इच्छा नदेखाएको आरोप लगाए ।

साथै नेता महत्तले अहिले पनि शेरबहादुर देउवा महाधिवेशन उद्घाटन गर्न आउने भन्दै झुट प्रचार गरिएको आरोप लगाउदै आफुहरु सत्यको लडाईमा रहेको बताउदै पार्टीमा झुटको बोली चलिरहेको बताए ।

अहिले सत्यको मुख बन्द गरिएको बताउदै बोलेपछि सामाजिक संजालमा गालीको बर्षा हुने गरेको उल्लेख गरे ।

उनले आफुहरुले पार्टीको अहिलेको अवस्था नचाहादा नचाहदै आएको बताए । नयाँ नेतृत्व नआएसम्म पार्टीले जित हासिल गर्न नसक्ने भन्दै निर्वाचन अघि विशेष महाधिवेशन गरिएको बताउदै उनले तर निर्वाचनको परिणाम त्यस्तो नआएको बताए । नेता महत्तले आफुहरुले विशेष महाधिवेशन पार्टीको विधान अनुसार नभएकोले नै पुनरावलोकनका लागि अदालतमा गएको बताए । आफुहरुले पार्टी एक भएर जानुपर्छ भन्ने विषयमा कोशिस गरेको र त्यो सफल नभएको बताउदै अदालतका अहिलेसम्मका निर्णय सहि नभएको कारणले आफुहरुलाई निस्सा दिइएको दाबी गरे ।

कांग्रेसको विवाद जारी रहेका बेला संस्थापन पक्षले असोज १८ गतेदेखि काठमाडौँमा १५औं महाधिवेशन गरिरहेको छ भने देउवा पक्षले मङ्सिरमा गर्ने महाधिवेशनका लागि भोली देखि वडा स्तरमा अधिवेशन शुरु गर्दैछ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने भएका छन् ।

उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाईमा यसअघि जस्तो औपचारिकता नहुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

यसक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा परम्परागत औपचारिक बिदाइ समारोहको कुनै कार्यक्रम नहुने बताइएको छ । प्रधानमन्त्री शाह बालुवाटारबाट सिधै विमानस्थल जाने र भीआइपी वे हुँदै विमानतर्फ जानेछन् । प्रधानमन्त्री शाह साँझ ७ बजे कतार एयरवेजमार्फत न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

विगतमा प्रधानमन्त्रीको विदेश भ्रमणमा जाँदा विमानस्थलमा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरु विमानस्थल पुग्ने गरेर बिदाई गर्ने परम्परा रहेको थियो ।  त्यस्तै, प्रधानमन्त्रीको विदाइमा नेपाली सेनाले गार्ड अफ अनरसमेत दिने परम्परा रहेको थियो । यस पटक भने प्रधानमन्त्रीको बिदाईका लागि कसैलाई निमन्त्रणा नगरिएको बुझिएको छ ।

भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले प्रधानमन्त्रीकै इच्छा अनुसार औपचारिक कार्यक्रम नराखिएको बताइएको छ ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  यसक्रममा उनले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केहीबेरमा शुरु हुदैछ । बैठकमा सहभागी हुने एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको भनीमण्डलस्थित रामबाग महल पुगेका छन् ।

यसअघि आजै बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको ऐजेन्डा तय गरेको छ ।

च्यासलमा बसेको बैठकले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तथा केन्द्रीय सदस्य मनोनयन गर्ने एजेन्डा रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

भट्टले आजको सचिवालय बैठकमा  पुनर्गठन कार्यदलको प्रतिवेदनमा छलफल नभएको बताए । सो प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने नहुने बारेपनि भट्टले स्पष्ट जानकारी दिएनन् । आजबाट ललितपुरको रामबाग महलमा सुरु हुने केन्द्रीय कमिटी बैठक बुधबारसम्म चल्ने छ । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेको छ ।

प्रवक्ता जगदीश खरेलका अनुसार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक केन्द्रीय कार्यालय बनस्थलीमा जारी रहेको हो ।

बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको कांग्रेसको महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा आएका टिप्पणीबारे स्पष्ट पार्दै खड्काले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकताबारे आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको कारणले आफु महाधिवेशनको प्रक्रियामा सहभागी नभएको बताएका हुन् ।

उनले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गगन थापाको नेतृत्वमा सुरु भएको महाधिवेशनमा सहभागी हुनु आफूलाई ‘चरम अनैतिक काम’ हुने बताएका छन् ।

खड्काले भनेका छन्, ‘सम्बन्धित सबैमा स्पष्ट होस् कि यो महाधिवेशनको कुनै पनि प्रक्रियामा मेरो सहभागिता छैन, रहने छैन ।’

उनका अनुसार गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा समेत यही कारणले आफू उम्मेदवार नबनेका हुन् । उनले गगन थापाको हस्ताक्षर भएको टिकटबाट चुनाव लड्नु नैतिक रूपमा उचित नहुने आफ्नो विश्वास रहेको बताएका छन् ।

खड्काले सर्वोच्च अदालतको पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रक्रिया र यसअघिको निर्णयमा त्रुटि देखाउँदै आफूहरूले दायर गरेको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएको बताएका छन् ।

महाधिवेशनका सबै प्रक्रिया रोक्न आफूहरूले सर्वोच्च अदालतमा निवेदन दिएको भए पनि अदालतबाट महाधिवेशन रोक्न आवश्यक नदेखिएको भन्दै रिट जारी नभएपछि कांग्रेसको नाममा अलग-अलग दुईवटा महाधिवेशन हुने अवस्था बनेको खड्काले बताएका छन् ।

उनले भनेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ ।’

यद्यपि सम्भावित पार्टी विभाजन रोक्न आफूहरू अन्तिम प्रयासमा रहेको उनले बताएका छन् । कांग्रेस विभाजन भए त्यसको असर पार्टीमा मात्र नभई नेपालको लोकतन्त्रमा समेत बहुआयामिक प्रभाव पर्न सक्ने उनको धारणा छ ।

खड्काले सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई विचाराधीन पुनरावलोकनको मुद्दाको गम्भीरता मूल्यांकन गरी सम्भव भए अग्राधिकार दिएर ‘अन्तिम फैसला यथाशीघ्र’ गर्न आग्रह समेत गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको बताए ।

उनले भने, ‘यो संविधानले नेपाली जनतासँग विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य तथा विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाज निर्माण गर्ने बाचा गरेको छ ।’

बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी शासनलाई सरकारका लागि केवल सर्तका रूपमा नभई राष्ट्रिय जीवनका आधारका रूपमा लिनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए । ‘संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र क्रियाशील भएन भने त्यो एउटा कागज मात्र बन्नेछ,’ उनले भने । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण र प्रकृति पत्ता लगाउन सात सदस्यीय विज्ञ समिति गठन गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार समितिमा जलविद् (हाइड्रोलोजिस्ट) डा नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भुगर्भविद् (जियोलोजिस्ट) डा मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित, विपद् जोखिम न्युनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहेका छन् । समितिले बाढीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ ।

साथै जलवायु, हिमनदी, भूगर्भ, भूरूप विज्ञान, जलविज्ञान तथा नदी प्रणालीबीचको अन्तरसम्बन्धबारे अध्ययन गरिने मन्त्रालयले जनाएको छ । समितिले बाढीका तत्कालीन तथा अन्तर्निहित कारण पहिचान गर्नुका साथै जलवायु परिवर्तनको भूमिका कति थियो भन्ने पनि वैज्ञानिक रूपमा मूल्याङ्कन गर्नेछ। घटनालाई सामान्य बाढी नभई विभिन्न प्राकृतिक जोखिमको श्रृंखलाका रूपमा अध्ययन गरिने जनाइएको छ ।

अध्ययनका क्रममा हिमनदी, पहिरो, चट्टानको अस्थिरता, नदीको बहाव, अवसाद तथा पानी र अवसादको मिश्रित बहावलगायत विषयको अध्ययन गरिनेछ। आवश्यकताअनुसार ड्रोन तथा उपग्रहबाट प्राप्त तस्बिरसमेत प्रयोग गरिनेछ ।

समितिलाई अध्ययन पूरा गर्न दुई महिनाको समय दिइएको छ। अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा भविष्यमा जलविद्युत् तथा अन्य पूर्वाधारलाई यस्ता विपद्बाट जोगाउन पूर्वतयारी र जोखिम न्यूनीकरणका उपाय तय गरिने मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा बढिरहेको महंगीप्रति सरकार मौन रहेकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको वुधबारको बैठकमा बोल्दै नेता केसीले पछिल्लो समय देशमा महंगी व्यापक रुपमा बढेको अवस्थामा सरकार मौन रहेको भन्दै यो दुखद भएको र गम्भीर हुन चेतावनी दिएका छन् । उनले ग्यास व्यवस्थापन गर्न सरकारले नसकेको बताउदै कालोबजारीमा ग्यास तुरुन्त पाइएकोप्रति सरकार बेखबर रहनु दुखद भएको बताए ।

जनताले दुई तिहाइ मत दिएको बिचौलियालाई पोस्न र अकर्मण्य बन्न नदिएको भन्दै प्रभावकारी अनुगमन गरेर कालोबजारी रोक्न सरकारलाई आग्रह गरेका छन् ।

उनले संकटको बेला नागरिकको चुलो बलेको सुनिस्चित गर्नु सरकारको दायित्त्व भएको बताउदै सरकार र सरकारी निकाय मौन रहनु कुनै पनि किसिमले सहि नभएको बताए । नेता केसीले सरकारले प्रभावकारी अनुगमन गरेर कालोबजारी नरोकेमा र वितरण सहज नबनाएमा जनता सडकमा उत्रिन बाध्य हुने समेत चेतावनी दिएका छन् ।

उनले भोटेकोशी बढीको प्रभावकारी अनुगमन र व्यवस्थापनका लागि संसदीय समिति बनाउन माग गरेका छन् ।n एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीका तीन पदमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ ।

आयोगको भदौ ३० गतेको निर्णयअनुसार सर्वोच्च अदालतका सहरजिस्ट्रार ठगीन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिस्ट्रार पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।

त्यस्तै न्याय परिषद्का कायममुकायम सचिव रामप्रसाद भट्टराईलाई न्याय परिषद्को सचिव पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।

सर्वोच्च अदालतका सहरजिस्ट्रार बाबुराम दाहाललाई पनि सर्वोच्च अदालतको रजिस्ट्रार पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।

आयोगले नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीका रिक्त पदमा योग्य कर्मचारीलाई बढुवा गरी सम्बन्धित पदमा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको हो । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल चीनको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन् ।

नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलको भ्रमण असोज ३ गतेसम्म हुनेछ । भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान मञ्चमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

भ्रमणअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति सिग्देललाई सम्मानगारत अर्पण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले उनलाई बिदाइ गरेका थिए ।

नेपाली सेनाले भ्रमणबाट नेपाल–चीनबीचको सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।