२०८३ कार्तिक ६
२०८३ कार्तिक ६

काठमाडौँ, १९ पुस :

नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको बताउनुभयो ।

फरार भएका खड्कालाई प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खोजतलास गर्दा फेला पारेको हो । प्रहरीले डलर देखाएर लुटपाट गरेको अभियोगमा खड्कालाई पक्राउ गरेको थियो । (रासस)

काठमाडौँ, १८ पुस :

वेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् । करोमानिया पठाइदिन्छु भन्दै रु २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२४ बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी प्रक्राउ परेका छन् ।

अभियुक्त बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक रु एक लाख तलब प्राप्त हुने प्रलोभनमा पारी पटकपटक गरेर उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसैगरी कतार पठाइदिन्छु भन्दै रु दुई लाख ९४ हजार ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का कैलाश गिरीलाई पक्राउ गरिएको छ । निजले वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने र मासिक रु ८० दिलाउने भन्दै उक्त रकम ठगेका हुन् ।

यसैबीच, स्लोभेनिया पठाइदिने बहानामा रु दुई लाख ८० हजार ठगी गरेको अभियोगमा धादिङका जयराज शाही र गोरखा चुमनुव्री गाउँपालिका–४ की ३५ वर्षीया छिमी सुनिनलाई पक्राउ गरिएको छ । सबै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग चलान गरिएको छ । (रासस)

काठमाडौँ, १८ पुस :

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहनुभएको छ । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ ।

यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ । (रासस)

  1. मनहरी (मकवानपुर), १८ पुस :
  • मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटाँैडामा कार्यरत तथा डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो । उक्त घटनामा दुई प्रहरी घाइते भएका छन् ।
  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११ थानाभ्याङमा आज बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना४३प २२२ नं को मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवान एडी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
  • मोटरसाइकल सडकमा अनियन्त्रित भई पल्टिँदा चालक हेटौँडा–४ का ४१ वर्षीय लक्ष्मण लामा र सोही गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र विजय खत्री घाइते भएका उहाँले बताउनुभयो । मोटरसाइकल चालक लामाको चितवनमा उपचार भइरहेको छ । प्रहरी जवानद्वय सार्की र खत्रीको हेटौँडा अस्पतालमा उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । (रासस)

काठमाडौँ, १८ पुस :

न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहनुभएका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गर्नुभएको हो ।

यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएपछि दुवै पद रिक्त थिए । (रासस)

काठमाडौं, पुस १७ गते ।

’ काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ ।

No description available.

जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २.०’ ल्याउँदै त्यसका लागि आवश्यक उपकरण नेकलाई हस्तान्तरण गरेको छ । आइतबार कलेजमा आयोजित एक कार्यक्रममा जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

No description available.

‘हावा प्रोजेक्ट २.०’ अन्तरगत चाँगुनारायण नगरपालिका क्षेत्रभित्र जेइएसएले नेकका विद्यार्थीहरू सँगको सहकार्यमा हावाबाट विद्युत उत्पादन गर्न सकिने विषयमा सम्भाव्यता अध्ययन गर्नेछ । ‘यसअघि पनि नेकसँग सहकार्य गरेर ‘हावा प्रोजेक्ट’ चलाएका थियो । त्यसलाई पुनः नियमितता दिनका लागि ‘हावा प्रोजेक्ट २.०’ ल्याइएको हो । यसले नेपालमा हावाबाट कसरी विद्युत निकाल्छ सकिन्छ, संभाब्यता अध्ययन र अनुसन्धान गर्नेछ ।’

No description available.

नरेश महर्जनले बताए । प्रोजेक्टमा नेकमा अध्ययनरत सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका विद्यार्थीहरूलाई सहभागिता गराउँदै उनीहरूलाई नवीनतम सोच र अनुसन्धानमा लाग्न प्रेरित गरिने छ । कलेजले ‘हावा प्रोजेक्ट २.०’ कार्यान्वयनका लागि प्राध्यापक दिनेशप्रसाद गुरागाइँको अध्यक्षतामा सिभिल, कम्प्युटर, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका एक एक जना प्राध्यापकहरू समेत रहने गरी हावा इनर्जी डेभलपमेन्ट ग्रुप गठन गरेको छ ।

सोमबार कलेजमा विद्यार्थीहरू सँगकाे प्रस्तुतिकरणमा बोल्दै जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहराले जापानमा हावाबाट विद्युत निकाल्ने कार्य धेरै अगाडिबाट भइरहेको बताउँदै नेपालमा पनि हावाबाट विद्युत निकाल्न सम्भव रहेको जिकिर गरे । २०७२ सालको विनाशकारी भूकम्पपछि नेपाल आएका एत्सुओ किरिहराले नेपालका कुनकुन स्थानमा हावाबाट विद्युत निकाल्न सम्भव छ भन्ने सोध र अनुसन्धान गरिरहेका छन् । ‘अहिले विश्वभर आणविक उर्जाको विकल्पमा वैकल्पिक उर्जा खोज, उपयोगमा जोड दिइँदै आइएको छ ।

नेपालमा पनि जलश्रोत पछिको वैकल्पिक उर्जाका रुपमा हावाबाट विद्युत निकाल्न सम्भव छ ।’ उनले भने । जेइएसएका इन्जिनियरिङ सल्लाहकार किरिहराका अनुसार नेपालमा जनवरीदेखि मे सम्म हावाबाट विद्युत निकाल्न सकिन्छ । त्यससँगै सौर्य उर्जा समेत उत्पादन गर्न सकिने उनको दावी छ । ‘जनवरी देखि मे सम्म हावाबाट विद्युत निकाल्ने र अन्य समय सौर्य उर्जा प्रयोग गर्न सकिन्छ ।’ ठूल्ठूला स्कुल, कलेज, विश्वविद्यालय र अर्गनाइजेसन हरुमा हावा र सौर्य उर्जा प्रयोग गर्न सकिने उनको भनाई छ ।

नेकका भिजिटिङ प्रोफेसर समेत रहेका ७२ वर्षीय किरिहराले जापान लगायत विकसित देशहरूले न्यूक्लियर उर्जा विस्थापित गर्ने कार्य थालनी गरेकाले नेपालले पनि जलविद्युतको विकल्पका रुपमा वैकल्पिक उर्जातर्फ अग्रसर हुँदा दिगो विकासको लक्ष्य समेत हासिल गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेकका सिभिल एण्ड रुरल इन्जिनियरिङ विभागका प्रा.डा. गणेश साह, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ विभागका सहप्राध्यापक गणेश प्रसाद अधिकारीले ‘हावा प्रोजेक्ट २.०’ले नेपालमा हावाबाट विद्युत उत्पादन गर्ने सवालमा सम्भाव्यता अध्ययनसँगै विद्यार्थीहरूलाई नवीनतम कार्य गर्न र ज्ञान हासिल गर्न प्रेरित गर्ने बताए । प्रोजेक्ट अन्तरगत अब चाँगुनारायण नगरपालिका क्षेत्रका विभिन्न घरहरूमा हावाको गति मापन गरिने उपकरण जडान गरिनेछ ।

त्यसको डेटा संकलन भने नेकलाई हस्तान्तरण गरिएको डिभाइसमा संकलन गरी अध्ययन गरिनेछ । नेकमा अध्ययनरत विद्यार्थीहरूलाई समेत प्रोजेक्टमा सहभागी गराइने भएकाले उनीहरूले नवीनतम उर्जा, वैकल्पिक उर्जाका क्षेत्रमा नयाँ अनुभव हासिल गर्ने कलेजका इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागका विभागीय प्रमुख याम कृष्ण पौडेलले बताए ।

‘हावा प्रोजेक्ट २.०’ सन् २०२४ देखि २०२६ सम्म सञ्चालन हुनेछ । भविष्यमा नेकका विद्यार्थीहरूलाई इन्टरनेसनल एक्सपोज प्राप्त गर्न प्रोजेक्टले ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

काठमाडौँ, १७ पुस :
सर्वोच्च अदादतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज जलवायु परिर्वतनसम्बन्धी कानुन किन नबनाएको भन्ने विषयमा सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो । अधिवतmा पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म पनि कानुन नबनाएको उल्लेख गर्दै यही पुस ५ गते अवहेलनासम्बन्धी मुद्दा दायर गर्नुभएको थियो ।
जलवायु परिवर्तनलाई अनुकुलन तथा न्यूनिकरण गर्ने सन्दर्भमा छुट्टै कानुन निर्माण गरी समस्याको सम्बोधन हुन जरुरी भएकाले जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुन यथासीध्र निर्माण गरी लागू गर्नु गराउनु भन्ने अदालतको आदेशमा उल्लेख छ । (रासस)

काठमाडौँ, १७ पुस :

आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि रु बीस लाख लाग्ने प्रलोभन देखाएका थिए । पक्राउ परेका पौडेले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई रु तीन लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा रु १९ लाख ६० हजार ठगी गरेको जनाइएको छ ।

पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन पनि प्रहरीले आग्रह गरेको छ । (रासस)

काठमाडौँ, १५ पुस :

ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ ।

रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरुलाई छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार सो प्रदर्शनका क्रममा थुनामा रहेका सबै रिहा भएका हुन् ।

उहाँले भन्नुभयो, “प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई छोडिएको छ र उनीहरुलाई मुद्दा नचलाउने निर्णय भएको छ ।” भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने गाडीमा आगजनी गरी भौतिक सम्पत्तिमा समेत तोडफोड गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरी थुनामा राखेको थियो ।

उक्त प्रदर्शनका क्रममा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही रु १० लाखका दरले राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ । (रासस)

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।