रौतहट,१७ गते जेठ । वातावरणमा नकारात्मक प्रभाव परिरहेको र हरियालीको अभाव हुँदै गएको वर्तमान परिवेशमा रौतहटको एक पालिकालाई हरित पालिका बनाउने अभियान संचालन गरिएको छ । रौतहटको परोहा नगरपालिकालाई हरित पालिका बनाउने अभियान संचालन भएको हो । अन्य पालिकाले विश्व वातावरण दिवसको दिन गमलामा पानी हालेर सामाजिक संजालमा फोटो हाल्दै हरियाली बचाउने घोषणा गरिरहेका बेला परोहा नगरपालिकाले व्यवहारमा नै हरियालीको प्रबर्धन, संरक्षण तथा विस्तार गरिरहेको छ । निर्वाचनको समयमा गरिएको घोषणालाई व्यवहारमा उतार्दै परोहाले हरियाली प्रबर्धन अभियान नै थालेको हो । नगर प्रमुख शेख वकिलले पन्ध्र किलोमिटर पक्की सडक निर्माण गरेर दुवैतर्फ वृक्षरोपण गरिएको बताउँछन् । सुकदेव चौकदेखि भारतको सिमानासम्म करिब १३ किलोमिटर ट्रयाक खोलेर सडक विभागबाट पिच बनाएर सडकको दुवैतिर वृक्षरोपण गरिएको, यसै गरी हुलाकी सडकको दुवैतिर वृक्षरोपण गरी हुर्काइसकिएको र अन्य सडकहरुमा पनि वृक्षरोपण गरिएको बताउँदै नगर प्रमुख वकिलले अब एक घर दुई बिरुवा अभियान संचालन गर्न थालेको बताएका छन् । हरेक परिवारलाई दुई थान बिरुवा उपलब्ध गराउने तथा हरेकलाई हुर्काउने जिम्मेवारी पनि दिइने नगर प्रमुखको भनाइ छ । हरेक वर्ष पाँचदेखि दश लाख रुपैयासम्म बोटबिरुवालाई सुरक्षाको लागि मात्र खर्च गर्ने गरेको वकिलको भनाइ छ । वातावरणमा सकारात्मक प्रभाव पार्ने, नगरको सौन्दर्यमा वृद्धि हुने तथा सबैको लागि फलदायी हुने भएकोले हरित पालिका अभियान फलदायी बनिरहेको नगर प्रमुख वकिलको भनाइ छ । नगरपालिकाले रोप्नको लागि आवश्यक पर्ने बिरुवा बन कार्यालयबाट ल्याउने गरेको छ । बिरुवालाई घेराबेरा गर्ने, बिरुवा हेर्ने हेरालु, निरन्तर पानी हाल्ने र सिंचाइ गर्ने, गोडमेल गर्ने, सरसफाइ गर्ने काम नगरपालिकाको तर्फबाट हुँदै आएको छ । परोहका प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुजले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यस अभियानमा लगाउने योजना बनाएको बताएका छन् । परोहा नगरपालिकाको हरित नगर अभियानको प्रभावकारिता निकै राम्रो रहेको भन्दै स्थानीयवासीले प्रशंसा गर्ने गरेका छन् ।
काठमाडौं । विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहभागी भएका हुन् ।
बैठकमा विशेष गरि मधेश प्रदेशको सरकार गठनका विषयमा छलफल भएको थियो । जसपा नेपालको नेतृत्वमा रहेको मधेश प्रदेसको सरकार एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको छ ।
यस बैठकमा सभापति देउवाले मधेस प्रदेशमा नयाँ समीकरण बनाएर अगाडी बढ्नुपर्ने र त्यसलाई केन्द्रसम्म अगाडी बढाउनुपर्ने प्रस्ताव गरेका थिए ।
साथै देउवाले एकीकृत समाजवादीलाई सरकार छोडेर वैकल्पिक सरकारको पक्षमा उभिन आग्रह गरेको बैठकमा सहभागी सांसद मेटमणि चौधरीले जानकारी दिएका छन् ।
बैठकमा जसपा नेतृत्वको मधेश सरकार जोगाउनुपर्ने विषयमा छलफल भएको थियो । कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपास एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धनविरुद्धको सरकार बन्ने देखिन्छ ।
मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।
बैठकमा कांग्रेसका पदाधिकारीहरूसहित एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सांसद चौधरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी लगायतको सहभागिता थियो । न्युज कारखाना
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई गएराती हिरासतबाट मुक्त गरेको हो ।
सिरोहियालाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको छ ।
अध्यक्ष सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट प्रहरीले पक्राउ गरी नागरिकतासम्बन्धमा अनुसन्धान गर्न भन्दै स्थलमार्गबाट धनुषा लागिएको थियो ।
अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार हेलिकप्टरमा काठमाडौँ ल्याइएको थियो ।
नागरिकतामा किर्ते गरेको आरोपमा पक्राउ परेका सिरोहिया बारे अनुसन्धान भने जारी रहने भएको छ ।
अध्यक्ष सिरोहियालाई जेठ ८ गते साँझ थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो । न्युज कारखाना
वीरगंज,१६ गते जेठ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग सरकारसंग गरेका छन् । आर्थिक नगरी वीरगंजलाई आर्थिक राजधानी घोषणा गरी सरकारले सोही अनुसार यहाँ लगानी गर्नुपर्ने माग समेत उनले गरेका छन् । आजपा पर्सा जिल्ला कमिटीले आज वीरगंजको टाउनहलमा आयोजना गरेको ‘वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ बृहत भेलालाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन् ।
वीरगंजबाट देशको कुल राजस्व मध्ये ८० प्रतिशतभन्दा बढी उठने गरेको छ । मुुलुककै आर्थिक नगरी वीरगंजबाट सबैभन्दा बढी राजस्व उठने गरेको बताउँदै उनले ढिला नगरी सरकारले यथासिघ्र वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताए । ‘बीरगंज देशकै आर्थिक नगरी हो । यहाँ सबैभन्दा बढी आर्थिक कारोबार हुन्छ, सरकारको राजस्व पनि अन्तभन्दा यहाँबाट धेरै उठने गरेको छ ।
आर्थिक नगरी वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारले ढिला गर्नुभएन् । यथासिघ्र वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्छ’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले यहाँबाट राजस्व उठाउने र अन्त गएर लगानी गर्नु हामीलाई स्वीकार्य छैन् । वीरगंज आर्थिक राजधानी हो र यहाँ त्यही अनुसार सरकारले लगानी पनि गर्नुपर्छ ।’ बारा, पर्सामा देशकै सबैभन्दा बढी उधोग व्यापार हुने ठाउँ हो ।
जसको केन्द्र भनेको वीरगंज हो । वीरगंजमा सरकारले न्यनू लगानी गरिरहेको बताउँदै उनले आर्थिक नगरीको बिकासका लागि सरकारले बढी भन्दा बढी बजेट दिनुपर्ने माग समेत गरे । तर हालै आएको सरकारको बजेटले समेत न्याय नगरेको बताउँदै उनले वीरगंजलाई आजपाले जसरी पनि आर्थिक राजधानीको रुपमा घोषणा गराएर सोही अनुसार बिकासका आयोजना पनि ल्याउँने बताए ।
वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउन आजपाले पहल थालेको बताउँदै अध्यक्ष साहले त्यसका लागि यहाँका उधोगी, व्यापारी, नागरिक समाज, बुद्धिजिवि, जनप्रतिनिधि, राजनीतिक दल लगायतका सबैको साथ सहयोगको आवश्यकता रहेको बताए । सबै मिलेर एकढिका भई अगाडी बढने हो भने सरकारले आर्थिक राजधानीको रुपमा घोषणा गरेर बिकासका आयोजना पनि सोही अनुसार दिने उनले बताए । देशको प्रमुख आर्थिक केन्द्र, सबैभन्दा बढी राजस्व उठने ठाउँका साथै उधोग व्यापार सबैभन्दा बढी भएको वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउँन सरकारलाई दबाब दिने उदेश्यले आयोजित भेलामा सहभागिलाई उनले धन्यवाद व्यक्त गरे ।
भेलामा उधोगी, व्यापारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, बुद्धिजिवि, नागरिक समाज सहित बिभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलामा सहभागिहरुले वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउनका लागि आजपाले पहल गरेकोमा धन्यवाद दिदै त्यसका लागि संघर्षमा समेत उत्रिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं । कोशी सरकार गठन विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ । सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा सरकार गठन प्रक्रिया बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । जेठ ९ गते संयुक्त इजलासले मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।
त्यसअघि वैशाख २८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न बोलाउने आदेश भएको थियो ।
निर्वतमान मुख्यमन्त्री केदार कार्की असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । कात्तिक १ गते विश्वासको मत प्राप्त गरेका थिए । कार्कीले दुई वर्षभित्र पुन: विश्वासको मत लिनु नपर्ने जिकिर गरेका छन् ।
केन्द्रीय सत्ता गठबन्धन परिवर्तन भएसँगै ५२ सांसदको समर्थनमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा समेत उल्लेख नगरी र आफूलाई मुख्यमन्त्रीबाट समेत नहटाई असंवैधानिक रूपमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेकोले उक्त निर्णय बदर हुनुपर्ने कार्कीको जिकिर छ । न्युज कारखाना
सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् ।
चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताए ।
“गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।” उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको जानकारी दिए ।
“प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत यसलाई अघि सारेको छ, त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,” प्रधानमन्त्री प्रचण्डले भने । उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताए ।
देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे । “शारीरिक तथा मानसिकरूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्रै कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “यही कुरालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ ।”
विसं २०७२ सालको महाभूकम्पले धरासायी बनाएको चौतारा अस्पतालको पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भवन निर्माण भएसँगै अस्पतालको खुलाचौरमा टेण्टभित्र स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता अन्त्य भइ सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे ।
व्यवस्थासँगै अवस्था परिवर्तनका लागि सिन्धुपाल्चोकको महत्त्वपूर्ण भूमिमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको कठिन समयमा यहाँका जनताबाट माया पाएको स्मरण गरे । “म थुप्रैपटक सिन्धुपाल्चोक आएको छु, जनयुद्धको कठितम् दिनहरूमा मैले यहाँका गाउँवेशी चहारेको छु, यहाँका भीरपाखाहरू छिचोलेको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “बृद्ध आमाहरूले मायाले पकाएर दिनुभएको खोलेफाँडो खाएर क्रान्तिको मोर्चामा लामबद्ध भएको छु ।” न्युज कारखाना
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
उनलाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न भनेको थियो ।न्युज कारखाना
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले बजेट ल्याउदा आफु दबाबमा रहेको बताएका छन् ।
बुधबार बजेट बारे पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले यस अघिका प्रक्षेपणहरु पुरा नहुदा आफु बजेट बनाउनेक्रममा दबाबमा रहेको बताएका हुन् ।
उनले बजेट बारे जानकारी दिदै युवाहरुलाई विदेश पठाउन रोक्न, देश भित्रका अवसर नखोजेर सजिलै विदेश जान खोज्ने प्रवृतिलाई रोक्न बजेटले प्रयास गरेको बताए । आफुहरु कुनै व्यक्ति वा नेताहरुको कमजोरीलाई भन्ने भन्दा पनि हाम्रो अर्थतन्त्रको समग्र स्वरूपलाई नै समीक्षा गरेर बजेट ल्याएको दाबि गरे ।
उनले हाम्रो छिमेकमा कस्तो अर्थतन्त्र निर्माण हुदै छ र हाम्रो देश सुहाउदो बजेट ल्याउने प्रयास गरेको बताए । उनले अब देशमा नयाँ चरणको आर्थिक सुधारको आवश्यकता भएको भन्दै आयोग नै गठन गरेर अगाडी जाने व्यवस्था गरेको बताए ।
अर्थमन्त्रीले अहिले २०-२५ प्रतिशत मात्र खर्च गरेको बताउदै अब निजी क्षेत्रलाई अगाडी बढाएर जाने नीति लिएको स्पष्ट गरे । ठुला पूर्वाधार जस्तै विमानस्थल तथा सिग्नेचर पुर्बाधारमा अब निजी क्षेत्रलाई पनि लगानी गर्न प्रेरित गर्ने व्यवस्था बजेटमा गरेको बताए ।
अर्थमन्त्री पुनले प्रदेशको विशेषता अनुसारको कार्यक्रम ल्याइएको बताए । बजेटमा कोशीलाई उद्योग, बागमतीमा सूचना प्रविधि, गण्डकीलाई पर्यटक, लुम्बिनीलाई साना तथा मझौला उद्योग, कर्णालीलाई जडिबुटी र सुदूरपश्चिममा धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्ने योजना बजेटमा ल्याएको बताए ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् ।
अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।
अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।न्युज कारखाना
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर भएको रिट आज सुनुवाई नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो ।
निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो।
अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ ।
रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।
रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित समेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न अन्तरिम आदेश माग समेत गरिएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।
७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले आगाडि बढाएको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने अभियानलाई सघाउन आग्रह गरेका हुन् ।
विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण तथा हिमालका फोहोरमैला व्यवस्थापन लगायतका चुनौती थपिएको बताए ।
“हिमाललाई प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयवको आवश्यकता छ । यसका लागि नेपाल सरकारले ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गर्ने नीति लिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारको यस नीतिगत प्राथमिकता र पहलमा सरोकारवाला लगायत सम्पूर्ण नेपालीहरूको बलियो साथ रहने मेरो विश्वास छ ।” उहाँले पछिल्लो समय विश्वव्यापी रूपमा देखापरेका वातावरणीय सङ्कट खासगरी जलवायु परिवर्तन, तापमान वृद्धिले ल्याएको चुनौती गम्भीर भएको उल्लेख गरे ।
“मुख्यतः तापमान वृद्धिसँगै हिमाल पग्लिने, हिमताल विष्फोटको खतरा बढ्दै जाने, वायु प्रदुषण बढ्दै जानेजस्ता कारणले हिमालको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवन, सभ्यता, विकास, जीवनशैली, स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ,” प्रधानमन्त्रीले भने, “नेपालले हिमाली क्षेत्रको संरक्षण एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण र अनुकुलन गर्न उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु न्यायका लागि नेतृत्वदायी पैरबी गर्दै आइरहेको छ ।”
सगरमाथा दिवसले नेपालको पर्यटक आगमनमा वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहोरको न्यूनीकरण एवं उचित व्यवस्थापन गर्न एवं हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावहरू न्यूनीकरण एवं अनुकूलनका लागि काम गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
“सगरमाथा नेपालको विशिष्ट पहिचान र सौन्दर्य हो, यो जैविक विविधताको विशिष्ट केन्द्र पनि हो, हिमाली जाति र समुदायको ऐतिहासिकता र मौलिक संस्कृति हो,” प्रधानमन्त्रीले भने, “हिमाली क्षेत्रले विश्वलाई वातावरणीय सेवा, जैविक विविधता, स्वच्छ पानी, स्वच्छ हावा, तापमान नियन्त्रण एवं सन्तुलन, पारिस्थितिक प्रणालीमा सन्तुलन, मानव जीवनचक्र लगायतका बहुआयमिक पक्षमा महत्त्वपूर्ण योगदान गर्दछ ।”
विश्व इतिहास र रङ्गमञ्चमा नेपाली पहिचान र विशेषताका बहुआयामिक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सगरमाथा र लुम्बिनी जस्ता प्राकृतिक, ऐतिहासिक एवं सांस्कृतिक विश्व सम्पदा संसारभरिका मानिसका निम्ति गौरवको विषय बताए ।
सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा नेपाल लगायत विश्वका विभिन्न हिमशिखरहरूको आरोहण हुँदै विश्वव्यापी फैलिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमालहरूका साथै अन्य हिमालहरूको आरोहणमा आकर्षण बढिरहेको बताए ।
सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्राउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्धन, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह, पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाउने तथा टाकुरा पर्वतीय गन्तव्यको पहिचान, प्रवर्द्धन कार्यक्रम राखिएको उल्लेख गरे ।
“सगरमाथा आरोहणको दौरानमा सयौँ आरोहीहरूले जीवन गुमाउनुभएको छ,” प्रधानमन्त्रीले भने, “यस दिनमा उहाँहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उहाँहरूका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”न्युज कारखाना