काठमाडौँ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । देश बाढीपहिरोका कारण शोकमा रहेकाले कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार भोटेकोशीमा आएको बाढीले १ हजार ४०० भन्दा बढीको मृत्यु र ५ हजारभन्दा बढी बेपत्ता भएको तथा बूढीगण्डकीमा आएको बाढीले समेत जनधनको क्षति पुर्याएकोले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान स्थगित गरिएको हो ।
बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमामा शुभकामना आदानप्रदान र आपसी सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले चियापान समारोह सुरु गरेका थिए । त्यसयता केही वर्षबाहेक कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो ।
कांग्रेस सभापति गगनकुमार थापाले शोकको घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित भएर परिवारमा सीमित रही मनाउन आग्रह गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँले नेपाली समाजमा एकता, आत्मीयता र सद्भाव बढाउने विश्वास व्यक्त गर्दै विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
फूलपातीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशका विभिन्न स्थानमा भएका विपद्का कारण शोकको अवस्था रहे पनि नेपालीहरूले आफ्नो धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्परालाई निरन्तरता दिँदै आएको बताएका छन् । उनले भनेका छन्- ‘विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेको बडादसैँले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस्।’
दसैँ धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण पर्व भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसले परिवार र आफन्तबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएका छन् । ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा सानालाई माया र ठूलालाई आदर गर्ने मौलिक संस्कृतिको प्रतिबिम्ब भएको उनको भनाइ छ । यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएका विनाशकारी घटनाको पीडा कायम रहेकै अवस्थामा दसैँ आएको उल्लेख गर्दै उनले विपद्मा ज्यान गुमाएकाहरूको चिरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
‘सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ उनले सन्देशमा भनेका छन् । सरकारले विस्थापित नागरिकको पुनःस्थापनाका लागि सक्रियतापूर्वक काम गरिरहेको जानकारीसमेत उनले दिएका छन् ।
प्रधानमन्त्री शाहले दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गरेका छन् । उनले सत्यको बाटोमा हिँड्ने प्रेरणा मिलोस् र प्रत्येक व्यक्तिले आफूभित्रका नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्न सकोस् भन्ने कामना गरेका छन् ।
‘मानव दुःखका प्रमुख कारणका रूपमा रहेका काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न सकौँ,’ उनले भनेका छन् ।
दसैँका बेला पनि लाखौँ नेपाली परिवारसँग भेटघाट गर्न नपाई विदेशमा बस्न बाध्य रहेको यथार्थप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री शाहले बाध्यताले विदेशिनुपर्ने अवस्था अन्त्य गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । विदेशमा रहेका नेपालीले चाडपर्वमा घर फर्कन नपाउँदा भोग्नुपर्ने पीडा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
उनले भनेका छन्, ‘आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा हामी सचेत छौँ ।’ आर्थिक समृद्धि र सुशासनका माध्यमबाट नागरिकको जीवनस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका छन् ।
अन्त्यमा प्रधानमन्त्री शाहले माता दुर्गाभवानीको कृपा सबैमा रहोस् भन्दै नेपालीहरूमा सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेका छन् । उनले सबैलाई सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,रौतहट, असोज ३० गते ।
रौतहटको कटहरिया नगरपालिकामा मन्त्रालयबाट नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका उपसचिव कमल ज्ञवालीको कार्यशैलीलाई लिएर विवाद उत्पन्न भएको छ। नगरपालिकामा हाजिर नै नभई कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख मानदेव ठाकुरसँगको समन्वयमा पालिकाको खाता सञ्चालन गरी उनी फर्किएको आरोप लागेको छ।
नगरपालिकामा यसअघि देखि नै विभिन्न समस्या रहँदै आएका बेला नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएका ज्ञवालीले समस्याको समाधान गर्न पहल नगरेको भन्दै नगरप्रमुख अजयप्रकाश जयसवालले असन्तुष्टि व्यक्त गरेका छन्।
बडादशैँको समयमा तलबभत्ता नपाएको भन्दै नगरपालिकामा कार्यरत करारका कर्मचारीहरूले ज्ञवाली आउनुअघि नै कार्यालयमा तालाबन्दी गरेका थिए। कर्मचारीको तलबभत्ता भुक्तानी, सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता वितरण तथा अत्यावश्यक सेवाको सञ्चालनजस्ता विषयमा समस्या कायम रहेकै अवस्थामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीले थप अन्योल सिर्जना गरेको नगरप्रमुख जयसवालको भनाइ छ।
त्यस्तै, कटहरिया नगरपालिका–५ मा सञ्चालित खानेपानी आयोजनाको विद्युत् महसुल भुक्तानी हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणको मौलापुर वितरण केन्द्रले विद्युत् लाइन काटेको छ। यसका साथै केही लाभग्राहीले अझै सामाजिक सुरक्षा भत्ता पाउन नसकेको बताइएको छ।
चाडपर्वको समयमा कर्मचारीले तलबभत्ता नपाउनु, सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ हुनु र खानेपानीजस्तो अत्यावश्यक सेवा प्रभावित हुनु गम्भीर विषय भएको नगरप्रमुख जयसवालले बताएका छन्। उनका अनुसार, यस्ता समस्या समाधान गर्नुको सट्टा पालिकालाई थप अस्तव्यस्त बनाइएको छ।
नगरपालिकामा हाजिरसमेत नभई खाता सञ्चालन गरिएको र कार्यालयको जिम्मेवारी सम्हालेर समस्याको समाधान गर्नुपर्ने अवस्थामा सम्बन्धित अधिकारी फर्किएको विषयलाई लिएर कर्मचारी तथा जनप्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
खाता सञ्चालनबारे कोष तथा लेखा नियन्त्रक कार्यालयको स्पष्टीकरण
यस विषयमा कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख मानदेव ठाकुरसँग प्रतिक्रिया लिँदा उनले प्रमुख प्रशासकीय अधिकृत हाजिर भए वा नभएको जानकारी आफूलाई नभएको बताएका छन्। मन्त्रालयको सरुवा पत्रका आधारमा नगरपालिकाको खाता सञ्चालन गरिएको उनको भनाइ छ।
यद्यपि, प्रमुख प्रशासकीय अधिकृतको हाजिरीको अवस्था, खाता सञ्चालनका लागि अपनाइएको प्रक्रिया तथा यसमा सम्बन्धित निकायहरूको भूमिकाबारे थप स्पष्टता आवश्यक देखिएको छ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीको मोबाइल फोन स्विच अफ रहेकाले उनको भनाइ प्राप्त हुन सकेन। उनको प्रतिक्रिया प्राप्त भएमा समाचारमा समेटिनेछ।
नगरपालिकामा देखिएका समस्या समाधान गर्नुपर्ने जिम्मेवारी बोकेका अधिकारीहरूबीच समन्वयको अभाव हुँदा त्यसको प्रत्यक्ष असर कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारण सेवाग्राहीमा परेको नगरप्रमुख जयसवालको भनाइ छ। अब सम्बन्धित निकायले खाता सञ्चालनको प्रक्रिया, कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता तथा खानेपानी सेवासम्बन्धी समस्याबारे स्पष्ट पार्दै आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४ सय १८ सिट वृद्धि गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्दै सो निर्णय गरेको हो। यो सङ्ख्या गत वर्षभन्दा ४ सय १८ ले बढी हो ।
सिट निर्धारण प्रक्रियाका लागि देशभरका कुल ९० वटा शिक्षण संस्थाले स्व-मूल्याङ्कन फाराम भरेर सिट माग गरेका थिए ।
विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमनको प्रतिवेदनलाई आधार बनाएर ९० मध्ये ८४ वटा शिक्षण संस्थालाई यस वर्ष सिट निर्धारण गरिएको छ ।
आयोगका सदस्य सचिव हरि प्रसाद निरौलाका अनुसार, कार्यक्रमगत हिसाबले एमबीबीएसतर्फ गत वर्षको तुलनामा कुल ११० सिट वृद्धि गरिएको छ । जसअन्तर्गत सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएसका लागि ५० सिट प्राप्त गरेको छ ।
यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०-३० सिट थप गरिएको छ ।
‘निजी मेडिकल कलेजको हकमा भने यस वर्ष सिट वृद्धि गरिएको छैन। एमबीबीएसमा बढेको सिट सरकारी संस्थाको मात्र हो,’ सदस्य सचिव निरौलाले बताए ।
उनका अनुसार, एमबीबीएसबाहेक अन्य विधामा पनि सिट बढाइएको छ । बिएससी नर्सिङतर्फ गत वर्षको तुलनामा २ सय १० सिट वृद्धि गरिएको छ भने बिएमएसमा ९८ सिट थप गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन सर्वाधिक मत पाएर विजयी भएका छन् । उनले पाँच हजार ३३० मत प्राप्त गरेका छन्।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेतक निष्कल राई दोस्रो र बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ तेस्रो स्थानमा निर्वाचित भएका छन् । राईले चार हजार ९५६ र बानियाँले चार हजार ७३२ मत प्राप्त गरेका छन् ।
खुलातर्फ निर्वाचित हुने ४५ केन्द्रीय सदस्यमध्ये प्रा. डा. गोविन्दराज पोखरेलले चार हजार ४६०, इन्जिनियर मोहन आचार्यले चार हजार ३७०, जितनारायण श्रेष्ठले चार हजार ३४७ र प्रवल थापाले चार हजार १७५ मत पाएका छन् । त्यस्तै, गणेश लामाले तीन हजार ९२५, राजीव कोइरालाले तीन हजार ९१३, हिमालदत्त श्रेष्ठले तीन हजार ७३४, डा. शोभाकर पराजुलीले तीन हजार ४८८, विद्वान् गुरुङले तीन हजार ४६८ र अर्जुनप्रसाद जोशीले तीन हजार ३९३ मत प्राप्त गरेका छन् ।
इ. अमृत ज्ञवालीले तीन हजार ३४९, सन्दीप रानाले तीन हजार २७१, इन्जिनियर नवराज त्रिपाठीले तीन हजार २६३, भरतकुमार शाहले तीन हजार १८५, नरेन्द्रकुमार केरुङले तीन हजार १६४ र मीनकृष्ण महर्जनले तीन हजार १०० मत पाएका छन् ।
बलदेव तिमल्सिनाले तीन हजार ७१, महेश खरेलले तीन हजार २८, जन्मजय तिमल्सिनाले दुई हजार ९७०, युवराज पाण्डेयले दुई हजार ९४६ र कुमार लुइँटेलले दुई हजार ८८० मत प्राप्त गरेका छन् । त्यस्तै, ऋषि कोइरालाले दुई हजार ८६१, दीपक बाबु कँडेलले दुई हजार ८५१, उज्ज्वलप्रसाद बरालले दुई हजार ८२२, किरण केसीले दुई हजार ७७४, दीपक भट्टराईले दुई हजार ७६३ र महेन्द्रकुमार शर्माले दुई हजार ७४७ मत पाएका छन् ।
डा. सुरजराज काफ्लेले दुई हजार ६४३, डा. मुकेशराज काफ्लेले दुई हजार ५९९, मदनकृष्ण श्रेष्ठले दुई हजार ५८६ र प्रमोदहरि गुरागाईंले दुई हजार ५५९ मत प्राप्त गरेका छन् । लेखनाथ पोखरेलले दुई हजार ४९५, किरण किशोर घिमिरेले दुई हजार ४७१, रवि सिंहले दुई हजार ४५९, डा. कृष्णप्रसाद पौडेलले दुई हजार ४५५, तिलकबहादुर रानाभाटले दुई हजार ४४४, प्रदीपकुमार सुनुवारले दुई हजार ४३० र प्रकाशसिंह कार्कीले दुई हजार ४१९ मत प्राप्त गरेका छन् ।
डा. मुक्तिराम श्रेष्ठले दुई हजार ३५७, कृष्ण रिजालले दुई हजार ३४२, नीलकण्ठ रिजालले दुई हजार ३०५ र सुधांशु कोइरालाले दुई हजार २५६ मत प्राप्त गर्दै विजयी भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ ४५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । सरकारले गठन भएको पहिलो ६ महिनामा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको नीतिगत सुधार, विद्युत् प्रसारण विस्तार, सिँचाइ सुविधा वृद्धि र विपद् पूर्वसूचना प्रणाली सुदृढीकरणमा काम गरेको जनाएको छ ।
मन्त्रालयका अनुसार नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक संसद्मा पुगेको छ भने जलस्रोतसम्बन्धी विधेयक अघि बढाइएको छ। विद्युत् विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकको प्रारम्भिक मस्यौदासमेत तयार गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गरी विद्युत् उत्पादन, प्रसारण, वितरण तथा व्यापारका लागि छुट्टाछुट्टै कम्पनी बनाउने कार्ययोजना तयार भइरहेको मन्त्रालयले जनाएको छ। विद्युत् अनुमतिपत्र र विद्युत् खरिद सम्झौताको समीक्षा सम्पन्न गरी प्रतिवेदन प्राप्त भएको छ। सरकारले विद्युत् नियमन तथा उपभोक्ता सेवामा सुधार गर्न नयाँ निर्देशिका र मापदण्डसमेत जारी गरेको छ।
नेपाल र भारतबीच विद्युत् आदानप्रदान क्षमता बढाउने सहमति भएको छ। ढल्केबर–मुजफ्फरपुर र ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनबाट नेपालले भारतबाट आयात गर्न सक्ने विद्युत् क्षमता १ हजार मेगावाटबाट १ हजार ४०० मेगावाट र निर्यात क्षमता १ हजार १०० मेगावाटबाट १ हजार ६५० मेगावाट पुर्याउने सहमति भएको छ। नयाँ बुटवल–गोरखपुरसहित विभिन्न अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा क्षमता विस्तारका योजना पनि अघि बढाइएका छन्।
सिँचाइतर्फ सिक्टा आयोजनामा ६ महिनामा १३ किलोमिटर नहर निर्माण गरी थप १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ। बबई सिँचाइ आयोजनाबाट थप ६०० हेक्टर, महाकाली आयोजनाबाट १ हजार १५५ हेक्टर, बड्कापथ आयोजनाबाट ६१० हेक्टर र रानी जमरा कुलरिया आयोजनाबाट १५० हेक्टर जमिनमा सिँचाइ सुविधा थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ। सरकारले बबई र भेरी–बबई आयोजना आगामी दुई आर्थिक वर्षभित्र तथा अन्य राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ।
विद्युत् प्रसारण र वितरणतर्फ विभिन्न आयोजना निर्माण तथा सञ्चालनमा ल्याइएका छन्। बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने बाह्रबिसे र नयाँ खिम्ती सबस्टेसन आंशिक सञ्चालनमा ल्याइएको छ। मस्र्याङ्दी करिडोरअन्तर्गत मार्कीचोक–भरतपुर प्रसारण लाइन र काठमाडौँको चोभार सबस्टेसन सञ्चालनमा आएका छन्। हेटौँडा–ढल्केबर प्रसारण लाइनका लामो समयदेखि अवरुद्ध टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।
जलविद्युत् विकासतर्फ २३ आयोजनालाई कुल १ हजार ६२३ मेगावाट क्षमताको सर्वेक्षण अनुमतिपत्र र चार आयोजनालाई ३०.५९ मेगावाट क्षमताको उत्पादन अनुमतिपत्र जारी गरिएको छ। ३९ जलविद्युत् आयोजनाको कुल ९५१.३४२ मेगावाट क्षमताको ग्रिड प्रभाव अध्ययन सम्पन्न भएको छ। माथिल्लो अरुण, उत्तरगङ्गा, तनहुँ, बुढीगण्डकी र किमाथाङ्का अरुणलगायत आयोजना अघि बढाउन अनुमति, अध्ययन, जग्गा अधिग्रहण तथा निर्माणसम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ ।
वैकल्पिक ऊर्जातर्फ ग्रामीण क्षेत्रमा लघु तथा साना जलविद्युत् र सौर्य प्रणालीमार्फत विद्युत् पहुँच विस्तार गरिएको छ । ३१५ सौर्य सिँचाइ पम्प जडान भएका छन् भने घरायसी बायोग्यास, विद्युतीय चुलो र सुधारिएको चुलो गरी १ लाख १९ हजार ५०० स्वच्छ खाना पकाउने प्रविधि जडान तथा वितरण गरिएको छ। विभिन्न संस्थामा १८ हजार ५७५ किलोवाटभन्दा बढी क्षमताको छानामाथि जडान गरिने सौर्य विद्युत् प्रणाली स्थापना भएको विवरणमा उल्लेख छ।
बाढी तथा मौसम पूर्वसूचना प्रणालीमा पनि सुधार गरिएको छ। भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका बेला प्रभावित क्षेत्रका बासिन्दालाई करिब ७ लाख सन्देश पठाएर सतर्क गराइएको थियो। त्यसपछि थप ७ लाख सन्देश पठाइएको मन्त्रालयको विवरणमा उल्लेख छ। प्रमुख नदीको बाढी पूर्वानुमान अवधि तीन दिनबाट पाँच दिन र साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान अवधि २४ घण्टाबाट ४८ घण्टा पुर्याइएको छ। मौसमसम्बन्धी सूचना दिन चौबीसै घण्टा सेवा सञ्चालन गरिएको छ।
मन्त्रालयले नागरिक सहायता, डिजिटल सेवा र जलवायु वित्तका क्षेत्रमा पनि काम अघि बढाएको जनाएको छ। नागरिकका गुनासा सम्बोधन गर्न निःशुल्क टेलिफोन नम्बर ११५१ र कृत्रिम बुद्धिमत्तामा आधारित ‘एआई साथी’ सञ्चालनमा ल्याइएको छ। जलवायु परिवर्तनबाट हुने क्षति सम्बोधन तथा ऊर्जा रूपान्तरणका लागि अन्तर्राष्ट्रिय कोषमा विभिन्न परियोजना प्रस्ताव पेस गरिएका छन्। यी उपलब्धि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको प्रगति विवरणमा आधारित छन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेकपाका सांसद बर्षमान पुनले साउदी अरेबियाका लागि प्रस्तावित राजदुत गिरीबहादुर सुनारलाई आफ्नो नाम फिर्ता लिन आग्रह गरेका छन् ।
संसदीय सुनुवाईका क्रममा पुनले सुनारविरुद्ध लागेका आरोप गम्भीर भएकाले आफैले नाम फिर्ता लिन सुझाव दिएका हुन् ।
पुनले अभियन्ताकै पहिचान बनाएका व्यक्तिमाथि महिलाविरुद्ध हिँसाको आरोप लाग्नु गम्भीर भएको बताए ।
त्यस्तै एमाले सांसद पदमा अर्यालले पनि सुनारमाथि लागेको आरोप गम्भीर भएको बताउदै राजदुतको मापदण्ड अनुसार नभएको उल्लेख गर्दै महिलाको कुरा सुन्दा र निवेदनमा उल्लेख भएको विषय गम्भीर भएको बताएकी थिइन् । सुनारमाथि लागेका आरोपको अध्ययन नै गर्नुपर्ने भन्दै सुनारले दिने प्रमाण पनि आफुहरुका लागि सहयोगी हुने बताएकी थिइन् ।
सुनारले भने आफूमाथि लागेका आरोप निराधार भएको दाबि गर्दै आफुसँग सबै प्रमाण भएको बताएका थिए ।
सुनारमाथिको सुनुवाई र उनीमाथि लागेका आरोपमा छलफल जारी रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रका तीन पदको मतगणना सम्पन्न भएको छ । सम्पन्न मतगणनाबाट सहमहामन्त्री, केन्द्रीय सदस्य (खुला) र केन्द्रीय सदस्य (महिला) पदमा तीन जना निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा जीवनबहादुर शाही तीन हजार ९०६ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी जनक राज गिरीले एक हजार ३७०, नारायणप्रसाद भट्टराईले ७२१, राजन कुँवरले ३२४ र रामबहादुर बिस्टले २६० मत पाएका छन् ।
त्यस्तै, केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र, खुला) मा दिपकजंग शाह दुई हजार २६१ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी तपेन्द्र खड्काले दई हजार ४४, कालीबहादुर सहकारीले ८७७, ईश्वरबहादुर मल्लले ७८१ र विरेन्द्रराज गिरीले ५३४ मत पाएका छन् ।
त्यसैगरी, केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र, महिला) मा सुशीला मिकत दुई हजार ९८६ मतसहित निर्वाचित भएकी छन् । उनका प्रतिष्पर्धी जुना कुमारी दानीले दुई हजार १० र शान्तिकुमारी बोहरा पुजाराले एक हजार ५३३ मत पाएका छन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले आफूमाथि सार्वजनिक भएका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन् ।
सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको बताएका छन् । काल्पनिक महिलासँग जोडेर आफ्नो नाममा श्रव्य सामग्री सार्वजनिक गरिएको दाबी गर्दै उनले त्यस्ता सामग्री कृत्रिम बुद्धिमत्तालगायत प्रविधिको प्रयोग गरेर बनाइएको आरोप लगाएका छन् ।
उनले आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् । भ्रष्टाचारविरुद्ध प्रश्न उठाएकै कारण आफूलाई निशाना बनाइएको उनको भनाइ छ । सुनारले आफूविरुद्ध हुने छानबिनमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन् । साथै, आफूले सार्वजनिक गरेका विषय र आफूमाथि लागेका आरोपबारे फैलाइएका भ्रममा नपर्न उनले आम नागरिकलाई आग्रह गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसको उपसभापति पदमा विनोद चौधरी विजयी भएपछि टिप्पणी गर्दै समावेशिताको विषयमा प्रश्न गरेका छन् ।
थापाले कांग्रेसको महामन्त्री पदमा पराजित गुरु घिमिरे र उपसभापति पदका उम्मेदवार जीवन परियारको पराजय तथा विनोद चौधरीको विजयले पार्टीभित्रको अवस्थाबारे प्रश्न उठाएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै कांग्रेसको ‘२.०’ अभियानका एक नम्बर हस्ताक्षरकर्ता घिमिरे र समावेशी प्रतिनिधित्वका उम्मेदवार परियारको पराजयलाई चौधरीको विजयसँग तुलना गरेका छन् ।
थापाले कांग्रेसको समावेशी अभ्यासप्रति पनि प्रश्न उठाउदै उनले समावेशिताको अभ्यासले आम नेपालीलाई आश्चर्यचकित बनाएको टिप्पणी गरेका छन् ।
‘परिवर्तनको सरिलो धुन भनेर बजाएकोमा झ्यारझ्यार आवाज पो सुनियो,’ थापाले लेखेका छन् । उनले निर्वाचन परिणामलाई लिएर विवेकको मूल्याङ्कन गर्न कठिन भएको उल्लेख गर्दै ‘बिजोग यस्तै अवस्थालाई भनिएको होला’ भन्दै टिप्पणी गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,