चितवन, १५ पुस :
चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप, डुङ्गा सफारी हुने गरेको छ ।
क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष ओमप्रकाश पाण्डेले गत सेप्टेम्बरमा पर्यटकको राम्रो आगमन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत केही दिन यता सौराहाका होटलमा पर्यटकको ‘अकुपेन्सी’ राम्रो छ ।” पाण्डेको ल्याण्डमार्क फरेष्ट पार्कमा मात्रै ७५ प्रतिशत रहेको बताउनुभयो ।
सौराहमा यतिबेला आन्तरिक पर्यटकसँगै भारतीय र चिनियाँ पर्यटकको उपस्थिती पनि राम्रो रहेको उहाँले बताउनुभयो । सङ्घका महासचिव गुणराज थपलियाले शनिबार सबै कोठा भरिएको र र आइतबार अकुपेन्सी शतप्रतिशत पुग्ने अनुमान गरिएको बताउनुभयो । युनिक वाइल्ड रिसोर्टका सञ्चालक थपलियाका अनुसार उहाँको होटलमा रहेका ३० वटा कोठा जनवरी ४ तारिखसम्मका लागि शतप्रतिशत बुकिङ भएका छन् ।
सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहामा एक सय ६० हाराहारी होटल छन् । ती होटलमा सात हजार जनालाई एकै साथ सेवा दिनसक्ने क्षमता छ । होमस्टे सहित गणना गर्दा सैराहमा १० हजारभन्दा बढीले एक रात बस्न सक्छन् । आइतबार सबै होटल र होमस्टे भरिने अनुमान गरिएको उहाँले बताउनुभयो ।
सौराहामा आएका पर्यटक कुमरोज र कुचकुचे सामुदायिक वनमा जीप सफारी गर्न जान्छन् । यससँगै चितवन राष्ट्रिय निकुञ्जभित्र पनि जीप सफारी हुन्छ । भट्टराईका अनुसार सामुदायिक वनमा मात्रै दैनिक एक सय हाराहारी जीप सफारी भइरहेको छ । ती जीपमा पर्यटकले पालो कुर्नुपर्ने अवस्था छ ।
निकुञ्जभित्र सौराहातर्फबाट ३२ वटा जीपले अनुमति पाएका छन् ।यस्तै कसराबाट २० वटा, मेघौलीबाट नौ वटा, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट छ वटा र कुजौलीबाट दुई वटा जीपले जंगल सफारीको अनुमति लिएका छन् ।
सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे यो याममा पूर्ववत् अवस्थामा पर्यटकको आगमन भएको बताउनुभयो । उहाँका अनुसार कोभिडअघिको अवस्थामा जस्तै गरी अहिले पर्यटक आएका छन् । जाडो मौसममा पर्यटकले यहाँ घुम्न रुचाउँछन् । आउँदा दिनहरुका लागि बुकिङ राम्रो छ । उहाँले भन्नुभयो “अब हामीलाई आशावादी बनाएको छ ।” सौराहामा पर्यटक बढ्दै गर्दा रेष्टुराँमा पनि पर्यटक भरिएका छन् । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) का निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुराँमा पर्यटकको राम्रो उपस्थिति छ । दसैँपछि पर्यटकको राम्रो चहलपहल भएको उहाँले बताउनुभयो ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष समेत रहनुभएका खतिवडाका अनुसार उहाँहरुसँग भएका ३० वटा हात्तीले दैनिक तीन पटक पर्यटक घुमाइरहेका छन् । यद्यपि कतिपयले हात्ती चढ्ने पालो समेत पाउन सकेका छैनन् । उहाँका अनुसार राति सौराहामै बसेका पर्यटकहरुले पालो मिलाएर हात्ती चढेको भएपनि हात्ती मात्रै चढ्नका लागि सौराहा पुगेका कतिपय हात्ती चढ्न पाएका छैनन् ।
सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटकको राम्रो उपस्थिति छ । तेस्रो मुलुकका पर्यटकहरु यतिबेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय र चिनियाँ पर्यटकको राम्रो उपस्थिति छ । पटिहानीको जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलले पर्यटकको उपस्थिति राम्रो रहेको बताउनुभयो । पूर्ववत् अवस्थामा पर्यटक फर्किने अनुमान गरिएको उहाँको भनाइ छ ।(रासस)
काठमाडौँ, १४ पुस :
सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरुको प्रयोेग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिनुभयो । संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौँ राष्ट्रिय टे«ड युनियन सम्मेलनलाई आज यहाँ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी सो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारी साधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताउनुभयो । प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरुलाई निलम्बन गरिएको हो । ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो । प्रधानमन्त्रीले सो घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको बताउनुभयो । प्रधानमन्त्रीले आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराईलगायत सुरक्षा अङ्गका प्रमुखसँग सो घटनाका बारेमा जानकारी लिनुभएको थियो । प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग पनि उक्त घटनाका सम्बन्धमा छलफल गरिएको जानकारी दिनुभयो । (रासस)
भरतपुर (चितवन), १४ पुस :
चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ । चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष तथा महोत्सव संयोजक ओम पाण्डले जानकारी दिनुभयो । उहाँले हात्तीलाई झण्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको बताउनुभयो । एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका व्यवस्थापक विनोद तिमिल्सिनाले बताउनुभयो । “जसरी हामी वनभोज खान जाँदा रमाउँछाँै, त्यसरी नै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्”, उहाँले भन्नुभयो, “राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो ।” उहाँले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताउनुभयो । धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता वढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उहाँले बताउनुभयो । मानिस र जनावरबीचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्वपूर्ण रहेको तिमिल्सिनाको भनाइ छ । पर्यटकको आकर्षणका लागि सन् २०१४ देखि हात्तीको वनभोज कार्यक्रम सञ्चालनमा छ । वनभोजमा हात्तीलाई खुवाउन दर्शकको भीड लागेको थियो । महोत्सव हेर्न आएका पर्यटकले वनभोज निकै आकर्षक मानेर हेरेका थिए । सौराहामा यस वर्ष हात्ती दौड र हात्तीका छावाबीच फुटबल आयोजना गरिएको छैन । हात्ती सुन्दरी र डुङ्गा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी शनिबारसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । (रासस)
बाह्रबीसे (सिन्धुपाञ्चोक), ९ पुस :
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्ने तयारी भइरहेको बताउनुुभएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ खाडीचौरस्थित बाल शिक्षा माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई आज सम्बोधन गर्दै १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्थाको लागि सरोकारवालासँग तीव्र रुपमा छलफल भइरहेको बताउनुुभयो । “१२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्थाको लागि प्रधानमन्त्री र नेतालगायत सरोकारवालासँग कुरा गरिसकेको छु, अब छिट्टै निर्णय हुन्छ”, मन्त्री बस्नेतले भन्नुुभयो ।
उहाँले यही सरकारले १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्था गर्ने बताउनुुभयो । मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यका कारण धेरै मानिस मानसिक रोगी भएको आफूले पाएको बताउँदै आत्महत्या गर्नेमध्ये पनि अधिकांश मानसिक रोगी रहेको बताउनुुभयो ।
उहाँले भन्नुुभयो, “नेपाली शिक्षालाई निःशुल्क गर्दै जाँदा आत्महत्या न्यूनीकरणमा सहयोग पुुग्नेछ ।” उहाँले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्ना विद्यालयमा १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्था निःशुल्क गरिसकेको बताउनुुभयो ।
मन्त्री बस्नेतले अब केही वर्षमा लाखौँलाख विद्यार्थीले नेपालमै सहुलियतमा मेडिकल शिक्षा पढ्न पाउने बताउनुुभयो । “यसबाट खरबौँ रुपैयाँ विदेशिनबाट जोगिन्छ, लाखौँले रोजगारी पाउनेछन्”, उहाँले भन्नुुभयो । उहाँले सरकारले एक प्रदेश एक मेडिकल कलेज सञ्चालन गर्ने योजना बनाइने बताउनुुभयो । सो अवसरमा उहाँले विद्यालयलाई स्कुल बस प्रदान गर्ने गाउँपालिकाको पूर्वअध्यक्ष केदार क्षेत्रीलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशको वन तथा वातावरणमन्त्री मसिना खड्काले शिक्षा नै भविष्य तय गर्ने बाटो भएकाले समसापेक्ष बदलिँदो प्रविधिसँगै शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुुभयो । बागमती प्रदेशसभा सदस्य अमृता नेपाल, गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङलगायतले शुभकामना व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले आजै बाह्रबीसे नगरपालिका–४ सिन्धुपाल्चोकको ७३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताउनुभयो ।
उहाँले शिक्षाको विकास हुन नसके अन्य कुनै पनि विकास नहुनेसमेत दाबी गर्दै शिक्षाको मन्दिरलाई व्यवस्थित गर्न समुुदायका सबै व्यक्ति लाग्नुपर्ने बताउनुुभयो ।
मन्थली (रामेछाप), ९ पुस :
सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो । त्यसैगरी सो मोटरसाइकल चालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका–२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । रामेछापको सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा सो दुर्घटना भएको थियो । दुर्घटनामा उनीहरुको मृत्युपछि स्थानीयले सो बसमा आगजनी गरेका छन् । बसमा आगो लगाएपछि आज बिहानदेखि सो राजमार्गमा सवारी आवागमन बन्द भएको छ । (रासस)
चितवन, ७ पुस :
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन पाइने छ । काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताउनुभयो । यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । बिस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताउनुभयो । साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताउनुभयो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ । –––
पुस ०६ गते
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम पूर्व सांसद गोविन्दबिक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनित गरेका छन् ।
शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गर्दै बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् । केही दिनअघि राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन् । राप्रपाका संस्थापक सदस्य शाह पछिल्लो समय नेकपा एमालेमा आबद्ध थिए ।
मकवानपुर ६ पुस।
बागमती प्रदेश सरकारले आफू मातहत रहेका १३ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
पुष ५ गते
बुढानिलकण्ठ नगरपालिका-१२ कपनस्थित पसि लमु तामाङको मोलम रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार २ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ४० वर्षीय शुशिल श्रेष्ठको हाम्रो खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ५० रूपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पुष ५ गते
सरकारले सञ्चारमाध्यम तथा पत्रकारहरुको नियमन र अनुगमनका लागि दुई स्वायत्त निकायको परिकल्पना गरी कानुनको मस्यौदा गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चार माध्यमसँग सम्बन्धित राष्ट्रिय आमसञ्चार विधेयक र नेपाल मिडिया काउन्सिल विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव माग गरेको छ ।
मस्यौदामा राष्ट्रिय आमसञ्चार प्राधिकरणले सबै सञ्चार माध्यमहरुको दर्ता, इजाजत, अनुगमन र नियमनको काम गर्ने उल्लेख छ । त्यस्तै नेपाल मिडिया काउन्सिललाई पत्रकारहरुको दर्ता, अभिलेख, प्रमाणपत्र दिने र आचारसंहिता अनुगमनको काम गर्ने जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।
सञ्चार माध्यमहरुको दर्ता, व्यवस्थापन र नियमन गर्न हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, राष्ट्रिय प्रशारण ऐन र नेपाल प्रेस काउन्सिल ऐनलाई विस्थापित गर्ने गरी यी दुई विधेयक ल्याउन लागेको हो ।
राष्ट्रिय आमसञ्चार विधेयकमा के छ ?
विधेयकमा स्वायत्त प्रकृतिको राष्ट्रिय आमसञ्चार प्राधिकरणको परिकल्पना गरिएको छ । जसले आमसञ्चार संस्थाको दर्ता, इजाजत, अनुगमन र नियमनको काम गर्ने प्रस्ताव गरिएको छ । विधेयकमा सबै सञ्चारमाध्यमहरु स्थानीय तहमा दर्ता गर्नुपर्ने प्रस्ताव छ । प्राधिकरणले भने सबै स्थानीय तहको एकीकृत अभिलेख राख्नेछ ।
प्राधिकरणलाई प्रशारण माध्यम र केबुल टेलिभिजनको दर्ता र अनुमतिपत्र वितरणको अधिकार दिने प्रस्ताव विधेयकमा गरिएको छ ।
विधेयकमा एउटै परिवार वा समूहले छापा, विद्युतीय वा प्रशारण प्रकृतिका प्रकाशन वा प्रशारण गर्न निरुत्साहित गरेको छ । एउटा प्रकृतिको सञ्चारमाध्यममा लगानी भए अर्कोमा बहुमत हिस्सा नहुने गरी व्यवस्थापन गर्नुपर्ने प्रस्ताव छ ।
सञ्चारक्षेत्रमा लगानी गर्नेहरुले व्यवसायिक योजना, जनशक्ति, सम्पादकीय नीति तथा लगानीको स्रोत समेत खुलाउनुपर्ने भनी विधेयकमा व्यवस्था गरिएको छ । अबदेखि विदेशी सञ्चार माध्यमले नेपालभित्र प्रतिनिधि राख्न चाहेमा अनुमति लिनुपर्ने व्यवस्था विधेयकको मस्यौदामा छ ।
विधेयकमा सञ्चारमाध्यमले संघीय इकाइबीच खलल हुने विषय, साम्प्रदायिक विषय, गाली बेइज्जती हुने विषय प्रकाशन तथा प्रशारण गर्न नपाइने उल्लेख छ । उल्लंघन भएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यहोरा समावेश छ ।
सार्वजनिक भएको समाचार वा सूचनाले कसैलाई क्षति पुगेको भए क्षतिपूर्ति भराउनसक्ने व्यवस्था विधेयकमा राखिएको छ । तर जरिवाना र क्षतिपूर्तिको फैसला गर्ने अधिकार जिल्ला अदालतलाई हुने प्रस्ताव गरिएको छ ।
आमसञ्चार विधेयकले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन र राष्ट्रिय प्रशारण ऐन विस्थापित गर्नेछ ।
पत्रकारिता वा आमसञ्चार क्षेत्रमा २० वर्ष काम गरेको र ३५ वर्ष पूरा भएको व्यक्ति प्राधिकरणको अध्यक्ष हुनेछ ।
प्राधिकरणमा चार सदस्य हुनेछन्, जहाँ प्रशासन वा कानून वा व्यवस्थापन, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स इञ्जिनियर र मन्त्रालयको एकजना सहसचिव सदस्य हुने प्रस्ताव छ । मन्त्रालयको प्रतिनिधिबाहेक सबैको अनुभव १५ वर्षको हुनुपर्नेछ । सबैको कार्यकाल चार वर्ष हुने प्रस्ताव छ ।
मिडिया काउन्सिल विधेयकमा के छ ?
पत्रकारहरुको दर्ता, अभिलेखीकरण र आचारसंहिताको अनुगमन गर्ने एकत्रित अधिकार सहित मन्त्रालयले मिडिया काउन्सिल विधेयकको मस्यौदा पनि बिहीबार नै सार्वजनिक गरेको छ ।
पत्रकारहरुको आचारसंहिता अनुगमन गरिरहेको प्रेस काउन्सिल नेपाललाई विस्थापित गर्ने गरी मिडिया काउन्सिल स्थापनाको प्रस्ताव विधेयकमा छ ।
अहिले सूचना विभागले पत्रकारहरुको दर्ता, अभिलेखीकरण र परिचपयत्र दिने काम गरिरहेको छ भने प्रेस काउन्सिलले पत्रकार तथा सञ्चार माध्यमले आचारसंहिता पालना गरेको वा नगरेको अनुगमन गरिरहेको छ । विधेयकमा यी दुवैथरी काम गर्ने गरी मिडिया काउन्सिलको प्रस्ताव गरिएको हो ।
सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको वरिष्ठ अधिवक्ता वा पत्रकारितामा विशिष्ट योगदान पु¥याएको व्यक्ति मिडिया काउन्सिलको अध्यक्ष हुनेछन् । अध्यक्षका लागि २० वर्षको अनुभव र न्यूनतम ४५ वर्षको उमेर तोकिएको छ । अरु सदस्यहरुका लागि १५ वर्षको अनुभव र न्यूनतम ३५ वर्षको उमेर तोकिएको छ ।
काउन्सिलमा मन्त्रालयले तोकेको सहसचिव, पत्रकार महासंघको अध्यक्ष सदस्य हुनेछन् । विभिन्न सञ्चारमाध्यमका प्रकाशक, सम्पादक, पत्रकार समेतको प्रतिनिधित्व हुने सबै प्रदेशबाट गरी थप ७ जना सदस्य हुनेछन् ।
एक जना साहित्यिक पत्रकार र थप एक जना विज्ञ हुनेछन् । पाठक, दर्शक, स्रोताको प्रतिनिधित्व हुने गरी एक जना सदस्य थपियो । काउन्सिलमा अध्यक्ष बाहेक १२ जना सदस्य हुनेछन् ।
काउन्सिललाई आचारसंहिताको पालना, उजुरी जाचबुझको प्रमुख जिम्मेवारी तोकिएको छ । त्यसबाहेक पत्रकारिता क्षेत्रको अध्ययन, सरकार र सञ्चारमाध्यमहरुको समन्वय लगायतका जिम्मेवारी पनि प्रस्ताव गरिएको छ ।
कुनैपनि सञ्चारमाध्यममा प्रकाशित समाचार वा सूचनाबाट अर्को पक्षलाई गम्भीर असर परेको लागेमा जिल्ला अदालतमा उजुरी दिन सक्ने प्रस्ताव विधेयकमा छ ।
अदालतले मनासिव क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिनसक्ने व्यवस्था गरेपनि क्षतिपूर्तिको रकम खुलाइएको छैन । यो विवादमा न्यायाधीशलाई असीमित तजविजी अधिकार प्रस्ताव गरेको देखिन्छ ।
सञ्चार मन्त्रालयले विज्ञ समेतको संलग्नतामा मस्यौदा तयार पारिएको भन्दै १५ दिनभित्र त्यसवारेमा सुझाव दिन आह्वान गरेको छ ।