काठमाण्डौं,२२ गते पुस ।
आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलन जारी राखेको छ । भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले पहिलो र दोस्रो चरणको आन्दोलनका कार्यक्रम गर्दा सरकारले आफूहरुको माग सुनुवाई नगरेका कारण आफूहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाएकी छन् ।

संघर्ष समितिका संयोजक साहका अनुसार तेस्रो चरणको आन्दोलनका क्रममा २७ पुसमा राजस्व नीति बारे अर्थ बिज्ञहरुसंग काठमाडौंमा अन्तरक्रिया कार्यक्रम, २५ पुसर देखी १० माघ सम्म सिमाक्षेत्रका स्थानिय तहहरुमा भेला, अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने कार्यक्रम रहेको जनाएकी छन् । यसैगरी ६ माघमा भन्सार नीति बारे राजनीतिक पार्टी तथा सांसदहरुसंग छलफल, ११ माघ देखी १९ माघ सम्म तराई–मधेसका जिल्ला सदरमुकाममा सर्वपक्षीय भेला तथा मोटरसाइकल र्याली, १३ माघमा काठमाडौंमा मोटरसाईकल र्याली र २१ माघ देखी अनिश्चितकाल सम्म भन्सार विभाग घेराऊ तथा जिल्लाका भन्सार कार्यालयहरु ठप्प गर्ने कार्यक्रम रहेको छ ।

संघर्ष समितिले काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ । सो क्रममा प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनकारीलाई पक्राउ गर्नुका साथै लाठी चार्ज समेत गरेको थियो । सरकारले माग सम्बोधनको साटो दमनमा उत्रिएको उनीहरुको आरोप छ ।

काठमाडौँ, २२ पुसः
कुनै कालखण्डमा कुनै व्यक्तित्वप्रति राखिएको दृष्टिकोण सधैँ एउटै हुँदैन । नेपाली इतिहासका ऐतिहासिक व्यक्तित्वहरूको पुनर्मूल्याङ्कन हुनुपर्छ भन्नेमा विद्वान्हरूले मत जाहेर गरिरहेका छन् । पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा, बिपी कोइराला, महेन्द्र शाहलगायत व्यक्तिमाथि कुनै समय राखिएको विचार समयका दौरानमा परिवर्तन हुँदै, थोरै मात्र आलोच्य हुँदै गइरहेको पढ्न पाइन्छ । हरेक वर्ष खास गरी पुस २७ का वरिपरि उनका पक्षविपक्षमा पत्रपत्रिकामा लेखरचनाको जुहारी चल्ने तथा अन्तक्र्रिया–बहस हुने गरेको छ । राणाकालमा नाम नै उच्चारण नै गर्न नहुने भनिएका पृथ्वीनारायणलाई पञ्चायतकालभरि नेपाल एकीकरणकर्ता र राष्ट्रिय एकताका प्रतीकका रूपमा मानिरहेका अवस्थामा पछिल्लो समय खासगरी माओवादी सशस्त्र द्वन्द्वकाल र त्यसयता जातीय राज्यको मागसँगै उनलाई विस्तारवादी, राज्य केन्द्रीयतावादी र क्रूरताका नायक मान्नेहरू पनि जन्मँदै गरेको अवस्था छ । उनको जन्मदिनमा बिदा दिने–नदिने, राज्यस्तरबाट सभासमारोह गर्ने–नगर्ने चलन पनि चल्दै हाल सरकारी तवरबाट सार्वजनिक बिदा दिने निर्णय पनि हुन थालेको स्थिति छ । पृथ्वीनारायणको आलोचना नेपाली व्यापक राष्ट्रिय एकता वृद्धि गर्ने सोचाइबाट नै आएको छ भने त्यसलाई मान्नु बेस हुने छ । “देवत्वकरण इतिहास लेखनको मर्म र धर्म विपरीत पक्ष हो । …ढाकछोप गरिएका सत्यलाई उजागर गर्ने समय आयो ”, लेखकले भूमिकामा लेखेर प्रस्तुत कृति लेखनको आफ्नो अभीष्ट स्पष्ट पार्नुभएको छ, जुन स्वाभाविक पनि हो ।
साहित्यकार–पत्रकार हुँदै प्रवास बसाइका क्रममा इतिहास अनुसन्धाताको परिचय बनाउनुभएका राजकुमार दिक्पालले ‘जङ्गबहादुरको युग ः ऐतिहासिक अध्ययन’ (साङ्ग्रिला पुस्तक प्रा. लि., २०७९) र तामाङलगायत अन्य सीमान्तकृतहरूले गरेको विद्रोह समेटिएको ‘आदिवासी विद्रोहको इतिहास’ (मञ्जरी पब्लिकेशन, २०७९–किरात एकेडेमी पुरस्कार प्राप्त), ‘मगर इतिहास’ (मनोज घर्तीसँग संयुक्त) र हाल ‘पृथ्वीनारायण शाह ः आलोचनात्मक इतिहास’ (मञ्जरी पब्लिकेशन, २०८०) प्रकाशनसँगै बेलाबखत पत्रपत्रिकामा नेपाली इतिहासका विविध पक्षलाई उधिन्दै पनि आउनुभएको छ । धनकुटादेखि राजधानीको बसाइ हुँदै हाल प्रवासमा रहनुभएका लेखकले आफ्नो सीमित समयमा पनि इतिहासजस्तो प्रामाणिकता खोज्ने विषयमाथि सदैव घोत्लिएर कृतिहरू प्रकाशन गर्दै जानु सराहनीय छ र गहन विषय समातिएको उहाँको पछिल्लो कृति उहाँको अनुसन्धानको भोकबाट सृजना गरिएकाले पठनीय नै हुन सक्छ ।
बाइस अध्यायमा लिखित समीक्ष्य कृतिमा पृथ्वीनारायणको मूल कार्यमा आलोचना गर्ने वा उनलाई विस्तारवादी–केन्द्रवादी भन्नेतिर नगई उनले बाल्यावस्था, युवराज काल र राजा भएपछि एकीकरणलगायत विभिन्न व्यवहारका क्रममा नकारात्मक काम, अमानवीयता र क्रूरताका पक्ष तथा केही जनमानसमा फैलन नसकेका घटना, व्यापारिक काम आदिबारे उधिन्ने प्रयास गरिएको छ ।
पृथ्वीनारायणको जन्म नै भूटानी लामा लोपाबाट भएको बौद्धपूजा र तान्त्रिक अनुष्ठानबाट भएको रोचक विवरण उल्लेख गर्दै गोरखा फौजलाई भोटका फौजले घेरिरहेका बखत भोटसँग सन्धि गरिदिएबापत उनी र अन्य लामालाई ताम्रपत्र जारी गरेर गुम्बा दान गरेको जनाइएको छ । उनले जनताका बारीका उखुबारीमा उखु चोर्नेदेखि लिएर अर्काको गहना र हात्तीमाथि आँखा गाडेका घटना तथा बेलाबखत भाइभारदार र शत्रु राज्यका मानिसहरूलाई कुनै न कुनै दोष देखाएर कटाउने–मराउने कुरामा आदेश दिएको भनी लेखकले जिकिर गर्नुभएको छ । राजा हुनेबित्तिकै बनारस गई हातहतियारसहित फर्कंदा सीमा भन्सारमा जाँचका क्रममा त्यहाँका कर्मचारीलाई कटाएको र आफ्नो ज्यान जोगाउन नै मुस्किल परेको, कीर्तिपुर युद्धमा पनि आफ्नै हठले युद्ध गर्न पुग्दा आफैँ झन्डै मारिएकोजस्ता घटना पनि उनीसँग सम्बन्धित छन् । उनका मकवानपुर र गोरखपुरका गरी दुई रानी इतिहासमा सर्वत्र लेखिए पनि भक्तपुर बसाइका क्रममा एक नेवार कन्या पनि प्राप्त गरेको कुरा चाहिँ धेरैलाई थाहा नहोला, जुन यस कृतिमा उल्लेख गरिएको छ । नुवाकोटबाट लखेटिएर कान्तिपुरका उमराव बनेका जयन्त रानालाई बेलकोट विजयपछि छाला काढेर मारिएको, तनहुँका राजा त्रिविक्रमले डोलीमा बोकिएर गएकी आफ्नी बिरामी रानीमाथि नजर लगाएको आरोपमा उनलाई पनि पक्राउ गरेको पनि उल्लेख छ जुन अन्यत्र पनि आएकै कुरा हो । भादगाउँ विजयपछि राजा तथा मितबा रणजित मल्ल र भागेर त्यहाँ पुगेका जयप्रकाश मल्लका हकमा सम्मान नै गरेका पृथ्वीनारायणले त्यहीँ शरण लिन आएका अर्का राजा तेजनरसिंह मल्ल्ललाई भने कोर्रा हान्न लगाएको प्रसङ्ग पनि यहाँ आएको छ । कीर्तिपुरमा लडाइँ गर्ने परिस्थिति नभएको भनी काजी कालु पाँडेले सल्लाह दिँदादिँदै पनि आक्रमण गर्दा पाँडेको निधन राजहठले भएको कृतिमा स्पष्ट गरिएको छ । बन्दुकका बलमा निर्दाेषको नरसंहार, तिमालकोटको युद्धमा छलकपट, कीर्तिपुरेको नाक–कान कटाइ, कमारा–कमारी राख्न दिने चलन, नगरकोटीको संहार र माझकिरातमा अत्याचार जस्ता आलोचनात्मक पक्षको पनि चर्चा गरिएको छ । कृतिका सबै अध्यायमा पृथ्वीनारायणको मात्र नभएर भाइ, भारदार, छोरा, नातिहरूका नकारात्मक पक्षमाथि पनि कलम चलाएर यसलाई सामान्य विस्तार गर्ने प्रयास भएको छ । भूटानसँगको सम्बन्ध र ‘दिव्योपदेश’ को उत्पत्तिबारे कृतिमा चर्चा गरिए पनि त्यसमा खासै आलोचना गरिएको छैन ।
पृथ्वीनारायणले एकीकरणको अभियान चलाएर नेपालको सिमाना विस्तार गरेको वा पुनःस्थापना गरेको कुरा प्रायः सबै कृतिमा पाइने भए पनि प्रस्तुत कृतिमा त्यस कर्मलाई गोरखा ‘राज्य विस्तारको योजना’ भनी प्रसङ्गवश कतै कतै मत बुझाइएको छ ।
लेखक दिक्पालले यी सबै लेखनमा बाबुराम आचार्य, नयराज–महेशराज–दिनेशराज पन्त, धनबज्र बज्राचार्य, योगी नरहरिनाथ, डा राजेश गौतम, मोहनप्रसाद खनाल, चित्तरञ्जन नेपाली, सूर्यविक्रम ज्ञवाली, इमानसिंह चेम्जोङजस्ता इतिहासकार, विद्वान् एवं लेखकका कृति तथा लेखरचनाबाट उद्धृत गर्दै आफ्नो विश्लेषण पनि दिनुभएको छ ।
कृतिमा तथ्यतथ्याङ्क र वाक्यमा निकै पुनरुक्ति छन् । पत्रकारको पनि परिचय बनाएका युवा लेखक दिक्पालले एकै विषयमा ठाउँठाउँमा दोहो¥याई तेह¥याई लेख्दा पाठकलाई झिँजो लाग्नु स्वाभाविक छ । सामान्य वाक्य संरचना र वर्णविन्यासमा त्रुटि छन् । कोलम्बसले अमेरिका पत्ता लगाएको सन् १४९२ हुनुपर्नेमा १५४९ भएको छ ।
प्रस्तुत कृतिमा लेखकले पीडितका पक्षलाई पनि अध्ययनअनुसन्धानबाट उजागर गर्ने प्रयास गर्नुभएको छ । यसमा प्राप्त तथ्यतथ्याङ्कमा विश्लेषण गरी आफ्नो धेरथोर राय दिनेसम्मको काम भएको छ । यसर्थ प्रस्तुत कृतिलाई मौलिक मान्न नसकिए पनि राष्ट्रिय विभूतिको आलोचनात्मक पक्षलाई पनि उजागर गरिदिएर लेखकले इतिहासका विद्यार्थी र पाठकहरूलाई गुन लगाउनुभएको छ । साहित्यकार–इतिहासकार वैरागी काइँलालाई समर्पण गरिएको कृतिमा प्रस्तुत गरिएका उनका कमीकमजोरीले उनको राष्ट्रनिर्माताको छवि भने धुमिल नहुने स्पष्ट छ । रासस
काठमाडौँ, २२ पुस :
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक जारी रहेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्गठन विभागका प्रमुख राजेन्द्र श्रेष्ठ र प्रदेश समितिका इन्चार्जले तयार पारेका साङ्गठनिक प्रस्ताव, आसन्न राष्ट्रियसभा निर्वाचन, यही पुस २५ गतेदेखि काठमाडौँमा बस्न लागेको पार्टीको राजनीतिक समिति बैठक र पुस २७ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकको तयारीलगायतका विषयमा छलफल भइरहेको छ ।(रासस)
काठमाडौँ, २२ पुसः
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट गएराति १ बजे काठमाडौँ आएकी ५४ वर्षीया श्रीलङ्काली नागरिक कान्थी माथी कावस्कर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार राहदानी नम्बर ८१५१३८५ भएकी निज महिलाले लगाएको ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन दुई पोका तौल पाँच सय ग्राम तथा लगाएको कट्टुभित्र आठ सय ग्राम सुन गरी कुल एक किलो तीन सय ग्राम सुन बरामद गरिएको हो ।
उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(रासस)
काठमाडौँ, २२ पुस :
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको जानकारी दिनुभयो ।
राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो । राष्ट्रियसभाको निर्वाचनका लागि भोलि सोमबार उम्मेदवार मनोनयन दर्ता हुँदैछ । राष्ट्रियसभाको निर्वाचन भने अगामी माघ ११ गते हुने निर्वाचन आयोगले जनाएको छ । कांग्रेसले बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।(रासस)
पुस २१ गते।
जनता समाजवादी पार्टी जसपा नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको बागमती प्रदेश समिति पुनर्गठन भएको छ ।
शनिबार जोरपाटी नयाँबस्तीस्थित गोल्डेन कार्पेटको प्राङ्गणमा आयोजित भेलाबाट योगेन्द्र साम्पाङ राईको अध्यक्षतामा १७ सदस्यीय समिति पुनर्गठन गरिएको महासंघका केन्द्रीय उपाध्यक्ष सुरेश मोक्तानले जानकारी गराएका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन संयुक्त संयन्त्रका प्रमुख रणध्वज कन्दङ्वा, महासंघका केन्द्रीय अध्यक्ष अर्जुन लम्साल, उपाध्यक्ष सोनाम लामालगायत उपस्थित रहेका थिए ।
काठमाडौं ,पुस २१ गते ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।
शुक्रबार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङका १८ औं ब्याचका १९२ जना विद्यार्थीहरुलाई विदाई गरेको हो । कलेजको स्नातक अध्ययन पुरा गरी विदा हुनेहरुमा सिभिल इन्जिनियरिङमा १४४ तथा सिभिल एण्ड रुरल इन्जिनियरिङमा ४८ जना रहेका छन् ।

विदाई कार्यक्रममा बोल्दै वक्ताहरुले मुलुकको विकासमा दक्ष जनशक्तिको खाँचो रहेको औल्याउँदै उत्पादित जनशक्तिहरुलाई स्वदेशमै बसेर काम गर्न सुझाए । इन्जिनियरिङका क्षेत्रमा नयाँ नयाँ अवसरहरु सृजना गर्नुपर्ने तथा स्वदेशमै स्नातक पछिको उच्च शिक्षा हासिल गर्ने वातावरण राज्यले बनाउनु पर्नेमा जोड दिए । राज्यले उत्पादित जनशक्ति ब्यवस्थापनमा चासो नदिँदा युवाहरु पलायन भइरहेको भन्दै वक्ताहरुले नेपालमा अब मेगा प्रोजेक्टहरु सञ्चालन गरिनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन डाक्टर राजेश ठकूराठीले विद्यार्थीहरुलाई इन्जिनियरिङका जुनसुकै पेशा व्यवसायमा आबद्ध हुँदा त्यो पेशा र व्यवसायको इथिक्स र मर्यादा राखेर काम गर्न सुझाए । ‘जुनजुन पेशा व्यवसायमा आबद्ध हुन जाँदै हुनुहुन्छ त्यो पेशा व्यवसायको इथिक्सलाई मेन्टेन गरिदिनु होला, अनुशासन मेन्टेन गरिदिनुहोला जसले गर्दा पहिलो नम्बरमा कलेज दोश्रो नम्बरमा विश्वविद्यालयको शानलाई उच्च राख्न तपाईहरुको योगदान हुन्छ ।’

पोखरा विश्वविद्यालयबाट अध्ययन पुरा गरेका जनशक्तिहरु देश विदेशमा राम्रा संस्थाहरुमा काम गरेको, व्यवसाय गरेको, सफल भएको उदाहरणहरु रहेको डीन ठकूराठीले बताए । डीन ठकूराठीले नेपालको शिक्षा प्रणाली खासगरी विश्वविद्यालयका पाठ्यक्रमहरु समयानूकुल नभएको केही हदसम्म स्वीकार्दै कामै नलाग्ने भन्ने नभएको जिकीर गरे । ‘पाठ्यक्रम नराम्रो हैन । सुधार्न जरुरी छ ।’ पाठ्यक्रम सुधार गर्नुपर्ने, विद्यार्थी मैत्री बनाउनु पर्ने, अर्निङ र लर्निङ सँगसँगै लैजानु पर्ने भएपनि विश्वविद्यालयले सोचेअनुसार गर्न नसकेको डीन ठकूराठीको भनाई छ । नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष डा। विकास अधिकारीले पछिल्लो समय नेपालमा इन्जिनियरिङ शिक्षामा विद्यार्थीहरु घट्दै जानुमा विद्यार्थीहरुको भन्दापनि राज्यको भूमिका बढी जिम्मेवार रहेको बताए ।
कक्षा एकमा सय जना विद्यार्थी भर्ना हुँदा १२ कक्षासम्म पुग्दा ६० जना मात्र हुन आउने बताउँदै उपाध्यक्ष अधिकारीले करिब ४ लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदा ५० प्रतिशत उत्तिर्ण भएकोमा ती मध्ये अधिकांश विदेश पढ्न जानु चिन्ताजनक रहेको जिकीर गरे । ‘४ लाखले परिक्षा दिँदा २ लाख उत्तिर्ण भए, ती मध्ये १ लाख २५ हजार विद्यार्थी नो अब्जेक्सन लेटर लिएर विदेश जान तम्तयार भएर बसेका छन् ।’ ७५ हजार विद्यार्थी मध्ये २० हजार प्राविधिक शिक्षा लिन योग्य रहेकोमा इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ५ हजार मात्रै रहेको उनको दावी छ ।

काउन्सिलले देशभरका इन्जिनियरिङ कलेजहरुमा १० हजारको हाराहारीमा विद्यार्थी पढाउन अनुमति दिएपनि ५० प्रतिशत विद्यार्थीहरु मात्र उपलब्ध हुनुमा विद्यार्थीको भन्दापनि पोलिसी लेवलमै कमजोरी रहेको जनाए । उनले आम जनताको जीवनस्तर नै परिवर्तन गर्ने नयाँ पुस्ताले माग गरे अनुसारका ठूला प्रोजेक्टहरु नेपालमा बन्नुपर्र्नेमा जोड दिए । ‘अब ठूल्ठूला सडक, जलश्रोत, कृषि र वनसम्बन्धी परियोजनाहरु बन्नुपर्छ ।
एउटै आयोजनामा ५ हजार इन्जिनियरहरुले एक साथ काम गर्नुपर्छ ।’ साथै उनले नेपालमा विद्यार्थी टिकाउन र विकाउन पोलिसी लेवलमा ठूलै सुधार गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले विद्यार्थीहरु नै कलेजको ब्राण्ड एम्बेष्डर भएको बताउँदै आ–आफ्नो विषयमा इमान्दार भएर काम गर्न आग्रह गरे ।
आचारसंहितामा रहेर व्यवसायिक जीवन अगाडी बढाए हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने भन्दै कलेजलाई समय–समयमा सल्लाह सुझाब दिन भने । नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समिति सदस्य दिनेश खनालले विद्यार्थीहरुले कलेजमा हासिल गरेका ज्ञान, सीपलाई सबैभन्दा पहिला आफ्नै मातृभूमीमा प्रयोग गर्न सुझाए । कार्यक्रममा विद्यार्थी तानिया लामिछाने, संगीता रानाभाट, आस्था ढुङ्गाना, दिनेशकुमार यादव लगायतले कलेजमा अध्ययन गर्दाका अनुभवहरु सुनाएका थिए ।

कार्यक्रममा सिभिल इन्जिनियरिङ विभागका प्रमुख रमेश खनाल, सिभिल रुरल इन्जिनियरिङ विभागका प्रमुख अनिल श्रेष्ठ, एशोसिएट प्रोफेसर सचिन श्रेष्ठले इन्जिनियरिङ विषय, संभावना र अवसरका बारेमा बोलेका थिए । विदाई कार्यक्रममा संगीता रानाभाटलाई सिभिल एण्ड रुरल इन्जिनियरिङ, वाटर एण्ड स्टक्चर अवार्ड दिइएको थियो । भने, उनले नितिन कर्णसँग संयुक्त रुपमा सिभिल साइन्स अवार्ड पनि प्राप्त गरिन् ।
त्यस्तै, अञ्जली पाण्डेलाई चेयरमेन प्राइड गोल्ड अवार्ड, आस्था ढुंङ्गानालाई सिभिल प्रोगाम टपर अवार्ड, सुस्मी श्रेष्ठलाई सिभिल साइन्स अवार्ड तथा अजय कुमार यादवले जियो–टेक अवार्ड प्राप्त गरेका थिए ।
काठमाडौँ, १९ पुस :
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो । प्रधानमन्त्री दाहालका भारतीय समकक्षी नरेन्द्र मोदीले सोही अवसरमा दीर्घकालीनरूपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशका बीचमा सहमति भएको बताउनुभएको थियो ।
भारतको सङ्घीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको आजदेखि हुन लागेको नेपाल भ्रमणका अवसरमा दुई देशका सचिवले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सो सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा विद्युत् खरिद–बिक्री सम्झौता गरी बिजुली लिनेछन् । नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा नै दुई देशका प्रधानमन्त्रीले बिजुली निर्यातका विषयलाई ऐतिहासिक र महत्त्वपूर्ण भएको टिप्पणी गर्नुभएको थियो । विभिन्न आन्तरिक तयारीपछि यो विषयले साथर्कता पाएको हो ।
सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ ।
उक्त सहमतिपछि नेपालको ऊर्जा क्षेत्रको विकासको ढोका खुल्ने भन्दै निजी क्षेत्रले समेत स्वागत गरेको छ । सरकारले निजी क्षेत्रलाई समेत साथमा लिएर ऊर्जा क्षेत्रको विकासमा गुणात्मक परिवर्तन गर्ने लक्ष्य राखेको छ । त्यसअघि ऊर्जामन्त्री बस्नेतसँग भारतीय ऊर्जासचिव अग्रवाललगायतको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा ऊर्जामन्त्री बस्नेतले दुई देशबीच ऊर्जा क्षेत्रमा सार्थक सहकार्य आरम्भ भएकामा खुसी व्यक्त गर्दै त्यसलाई थप निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभयो ।
उहाँले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सम्झौताले दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्याउने बताउनुभयो । उहाँले अन्य आयोजनालाई पनि गति दिन र तोकिएको समयमा सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले ठूला आयोजनामा भारतीय लगानीको अपेक्षा गरेकोसमेत बताउनुभयो । (रासस)
काठमाडौँ, १९ पुस :
राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गर्नुभयो ।
सो अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताउनुभयो । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री डा जयशङ्कर आज बिहान काठमाडौँ आउनुभएको हो ।(रासस)
काठमाडौँ, १९ पुस :
भारतीय विदेशमन्त्री डा एस जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आइपुग्नुभएको छ । उहाँ भारतीय विशेष विमानमार्फत आज बिहान यहाँ आइपुग्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गर्नुभयो ।
संयुक्त आयोगको बैठक यही पुस १९ र २० गते काठमाडौँमा हुँदैछ । संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउद र उहाँका भारतीय समकक्षी डा जयशङ्करले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री डा जयशङ्करले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै राष्ट्रपतिको कार्यालयमा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने तालिका छ । यसैगरी आजै दिउँसो होटल याक एण्ड यतीमा संयुक्त आयोगको बैठक बस्ने र सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री साउदले उहाँ र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । विदेशमन्त्री डा जयशङ्करले भोलि पुस २० गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्नुहुनेछ । विदेशमन्त्री डा जयशङ्कर भोलि पुस २० गते नै स्वदेश फर्कनुहुनेछ । (रासस)