२०८३ कार्तिक ५
२०८३ कार्तिक ५

 

अभिमनु पटेल,रौतहट, ३ भदौ ।

सर्वोच्च अदालतले १९ वर्ष पुरानो गौर घटनामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवविरुद्ध छानबिन अघि बढाउन परमादेश जारी गरेपछि मधेशमा राजनीतिक तरंग आएको छ । जसपा नेपालले यसलाई “राजनीतिक प्रतिशोध” र “राज्यसत्ताको दुरुपयोग” भन्दै रौतहटमा विरोध प्रदर्शन गरेको छ ।

सदरमुकाम गौरमा आज बिहानैदेखि जसपाका कार्यकर्ताले “निर्दोष आन्दोलनकारीलाई फसाउन पाइदैन, “राज्यसत्ताको दुरुपयोग बन्द गर, गौर घटना षड्यन्त्र हो, गौर घटनाको योजनाकार प्रभु साहलाई कारबाही गर, “प्रभु साह हत्यारा हो” जस्ता नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए । ¥याली जिल्ला अदालत अगाडि कोणसभामा परिणत भएको थियो ।

जसपा नेपाल रौतहटका अध्यक्ष तथा पूर्वमेयर राजीव रंजन यादवले विरोध सभालाई सम्बोधन गर्दै गौर घटना १९ वर्षपछि पुनः उचालिनु पूर्ण रूपमा षड्यन्त्र भएको बताए । उनले भने, “२०६३ साल चैत ७ गते गौरस्थित राईस मिल प्राङ्गणमा भएको आमसभामा उपेन्द्र यादव सहभागी नै नभएको प्रमाणित भइसकेको हो । तर, तत्कालीन माओवादी नेता प्रभु साहको योजनामा डकैती र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई लागूऔषध खुवाएर सर्वसाधारण जनतामाथि आक्रमण गराइयो । प्रतिकारमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए । अहिले वास्तविक दोषीलाई बचाएर निर्दोष आन्दोलनकारीलाई फसाउन खोजिएको छ ।”

अध्यक्ष यादवले गौर घटनाका योजनाकार प्रभु साहलाई सरकार तुरुन्त हिरासतमा लिएर छानबिन गर्न माग गरे । उनले घटनालाई राजनीतिक प्रतिशोधको रूपमा प्रयोग गर्दै एमाले र कांग्रेस मिलेर जसपा अध्यक्ष उपेन्द्र यादवलाई टार्गेट गरेको आरोप लगाए ।

जसपाले यस घटनालाई हालसालैको भूमि आयोग विधेयकसँग पनि जोडेको छ । अध्यक्ष यादवका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि आयोग विधेयक पारित गर्न उपेन्द्र यादवलाई पटक–पटक दबाब दिएका थिए । तर यादवले मधेशी जनताका हकहितविपरीत हुने भन्दै अस्वीकार गरेपछि अहिले पुरानो मुद्दालाई पुनः जीवित पारिएको हो ।

उनले भने, “भूमि अध्यादेशका विरुद्ध चट्टानी अडानमा रहेका उपेन्द्र यादवलाई एमाले र कांग्रेस पार्टीले मिलेर लोकतन्त्र, न्यायपालिका र मधेशी जनताको आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले फसाउन खोजिएको हो ।”

२०६३ साल चैत ७ गते गौरस्थित राईस मिल प्राङ्गणमा मधेशी जनअधिकार फोरम नेपालले एक महिनाअघि नै रेडियो तथा बाजागाजामार्फत प्रचार–प्रसार गर्दै आमसभा आयोजना गर्ने तयारी गरेको थियो । तर सोही दिन तत्कालीन माओवादीले कुनै अनुमति नलिई त्यही स्थलमा आफ्नो कार्यक्रम गर्न स्टेज बनाउन थालेपछि तनाव चर्किएको थियो ।

फोरमको सभालाई बिथोल्ने र मधेशी समुदायलाई डरत्रास दिने उद्देश्यले भएको आक्रमणमा स्थानीय जनताले प्रतिकार गर्दा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । त्यस घटनापछि माओवादीले उपेन्द्र यादवसहित रौतहटका करिब १३० जना नेताकर्मचारीविरुद्ध किटानी जाहेरी दिएको थियो । तर प्रारम्भिक अनुसन्धानमै यादव घटनास्थलमै नरहेको पुष्टि भएको थियो ।

आजको कोणसभामा जसपा नेताहरूले सर्वोच्चको आदेशलाई “न्यायपालिकामार्फत राजनीतिक खेल” भन्दै कडा आलोचना गरेका छन् । उनीहरूले गौर घटनाका वास्तविक दोषीलाई कारबाही नगरी निर्दोष आन्दोलनकारीलाई फसाउने प्रयास भएमा मधेशभरि थप व्यापक आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

आरके श्रीवास्तव,रौतहट,०२ गते भदौ । 

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध रौतहटको गौर घटनासम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश जारी गरेपछि सोमबार साँझ जसपा नेपालले तीव्र विरोध जनाएको छ ।

 

सर्वोच्च अदालतको आदेशको विरोधमा जसपाले रौतहटको गौर लगायतका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘उपेन्द्र यादवमाथिको षड्यन्त्र बन्द गर’ जस्ता नारा पनि गरेका थिए ।

 

जसपाका स्थानीय नेताहरूले सर्वोच्च अदालतको आदेशलाई राजनीतिक पूर्वाग्रही निर्णय भनेका छन् । उनीहरूले यो आदेशले पार्टी र यादवको राजनीतिक छविलाई धूमिल पार्ने नियत राखेको आरोप लगाएका छन् ।

 

गौर घटनामा २०६३ साल चैत ७ गते भएको झडपमा २७ जनाको मृत्यु भएको थियो । घटनालाई लिएर लामो समयदेखि न्यायिक प्रक्रिया चलिरहेको छ । यसै सन्दर्भमा

सर्वोच्च अदालतले १९ वर्षअघि रौतहटको गौर हत्याकाण्डमा संलग्नहरूमाथि छानबिन गरी आवश्यक कारबाहीको माग गर्दै परेको रिटमा छानबिन अघि बढाउन परमादेश जारी गरेको छ ।

प्रदर्शन शान्तिपूर्ण रहे पनि केही ठाउँमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तानातानको अवस्था सिर्जना भएको थियो ।

हनुमत कुमार यादव,राैतहट,०१ गते भदौ ।

रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा पछिल्लो समय विद्युत मोटर लगायतका कृषिसम्बन्धी उपकरण चोरी हुने घटनाहरू तीव्ररूपमा बढिरहेका छन् । चोरीको शिकार भएका किसानहरूले बारम्बार प्रहरी चौकीमा उजुरी दिएका भए पनि सुरक्षा निकायबाट कुनै ठोस पहल नहुनुमा उनीहरू थप चिन्तित बनेका छन् ।

 

माधवनारायण–२, खेसरहिया स्थित श्रीराम चोकदेखि दक्षिण–पश्चिम दिशामा रहेको खेसरहिया चौरमा किसान महिन्द्र राय यादव को खेतमा हालसम्म तीन पटक मोटर चोरी भएको छ । पहिलो पटक २०७६ सालमा, दोस्रो पटक २०८१ सालमा र हालै २०८२ साल साउन ३१ गते राति तेस्रोपटक विद्युत मोटर चोरी भएको हो । ती मोटरहरू यादवले आफ्ना खेत सिँचाइका लागि खरिद गरेका थिए ।

 

पीडित यादव भन्छन्, “हामीले दिन–रात मेहनत गरेर मोटर किनेका हौं, खेती हाम्रो जीविकोपार्जनको आधार हो। अब बारम्बार चोरिने भयो भने हामी कसरी टिक्ने?”

 

किसानहरूका अनुसार, यस्ता चोरीका घटना यस क्षेत्रका अन्य स्थानमा पनि भइरहेको छ। तर, सम्बन्धित सुरक्षा निकाय – सुकदेव चेक प्रहरी चौकी लगायतका निकायहरूमा पटक–पटक उजुरी दिँदा समेत कुनै अनुसन्धान अघि बढाइएको छैन् ।

 

स्थानीय कृषकहरूको गुनासो छ कि समाजमा यस्ता विकृति बढ्दो रहेको बेलामा जिम्मेवार निकाय मौन बस्नु दुःखद पक्ष हो। उनीहरूले प्रहरी प्रशासनसँग तत्काल कारवाहीको माग गर्दै चोरी नियन्त्रणमा कडा कदम चाल्न आग्रह गरेका छन् ।

 

क्षेत्रका किसानहरूले सामूहिक रूपमा चोरी रोकथामका लागि सीसीटीभी जडान र रात्रीकालीन गस्तीको व्यवस्था मिलाउन आग्रह गर्दै स्थानीय तह तथा प्रशासनसँग समन्वय गर्न सुरु गरेका छन् ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०१ गते भदौ । 

रौतहट जिल्लाको बौधिमाई नगरपालिका–२ इनर्वा टोलमा ट्रान्सफर्मर जडान भएपछि स्थानीय किसानहरूमा खुसीयाली छाएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको १०० केभिए क्षमताको ट्रान्सफर्मर हालसालै मर्मत गरी सञ्चालनमा ल्याइएको हो ।

 

उक्त ट्रान्सफर्मर पूर्व नगर प्रमुख राजीव रंजन यादवको पहलमा आर्थिक वर्ष २०७७/७८ मा करिब साढे पाँच लाख रुपैयाँ खर्चमा कृषि प्रयोजनका लागि खरिद गरिएको थियो । तर, प्राविधिक कारणले तत्काल जडान हुन नसकी थन्किएको ट्रान्सफर्मरमा पछि समस्या आएको थियो ।

 

हाल वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलले वडास्तरीय योजना अन्तर्गत मर्मत र परीक्षण गराई ट्रान्सफर्मर जडान गराएका छन् । जसबाट इनरवा नदीपारी क्षेत्रका करिब २५० किसानलाई कृषि कार्यका लागि आवश्यक विद्युत आपूर्ति गर्न सकिने जनाइएको छ ।

 

“सुख्खा तथा खडेरीका कारण जोखिममा परेका किसानहरूलाई राहत दिन ट्रान्सफर्मर जडान गरिएको हो,” वडा अध्यक्ष पटेलले बताए ।

 

स्थानीय किसानहरूका अनुसार विद्युत आपूर्ति सहज भएपछि सिंचाइ समस्याको समाधान हुने र कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

 

किसानहरूले पूर्व नगर प्रमुख यादव र हालका वडा अध्यक्ष पटेलको पहलप्रति आभार प्रकट गर्दै, उनीहरूको सहकार्यले कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,०१ गते भदौ ।
रौतहटको चन्द्रपुर नगरपालिका–९ चेतनगर विर्तामा रहस्यमय तरिकाले मृत अवस्थामा फेला परेकी २४ वर्षीया रोमा कुमारी साहको मृत्यु हत्या भएको माइती पक्षले आरोप लगाएको छ ।
देवाही गोनाही नगरपालिका–२ का चुल्हाई साहले आफ्नी छोरी रोमाको हत्या जग्गा विवादका कारण ससुराली पक्षले मिलेर गरेको दाबी गरेका छन्। चुल्हाई साहले आज गाउँमै पत्रकार सम्मेलन गरेर छोरीको मृत्यु सामान्य नभई योजनाबद्ध हत्या भएको स्पष्ट पारे।
उनका अनुसार छोरीको श्रीमान सरोज साह, जेठान मनोज साह, जेठानी रेखा साहलगायत परिवारका सदस्यहरू मिलेर गत साउन १७ गते हत्या गरेर शव गाउँबाट पर रहेको नहरमा फालेका हुन्। शव भेटिँदा शरीरमा कुनै चोटपटक वा डुबेर मरेको संकेत नदेखिएको र पेटमा पानीसमेत नरहेकोले घटनामा शंका थपिएको हो।

“यदि डुबेर मरेकी भए पेट फुलेको र शरीरमा पानी देखिनुपर्ने थियो, तर केही पनि थिएन”, चुल्हाई साहले भने। घटनापछि ससुराली पक्षले पोस्टमार्टम नगरी शव जलाउन दबाब दिएको पनि उनले खुलासा गरे। माइती पक्षको अडानपछि बल्ल पोस्टमार्टम गरिएको थियो।
मृतक रोमाका दुई सन्तान छन् – ९ महिनाको छोरा र २ वर्षकी छोरी। चार वर्षअघि सरोज साहसँग विवाह गरेकी रोमा लामो समयदेखि पारिवारिक तनावमा रहेको माइती पक्षको दाबी छ। मनोज साहले एकलौटी रूपमा घडेरी आफ्नो नाममा बकसपत्र गराएपछि विवाद सुरु भएको थियो।
घटनाबारे इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिइएको भए पनि एक सातासम्म कुनै सुनुवाइ नभएको चुल्हाई साहको गुनासो छ। उनले प्रहरीमाथि आरोप लगाउँदै भने, “हत्यामा संलग्नहरूलाई जोगाउने प्रयास भइरहेको छ।”
यता, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले भने घटना अनुसन्धानको चरणमा रहेको र दोषी पत्ता लागेपछि कारबाही हुने स्पष्ट पारे। उनले पीडित पक्षको आरोप अस्वीकार गर्दै न्याय दिलाउन प्रतिबद्ध रहेको बताए।
तर, पीडित पक्ष प्रहरी प्रशासनको ढिलासुस्तीले न्याय नपाइने हो कि भन्ने चिन्तामा छन्। माइती पक्षको आरोप र प्रहरीको मौनताले यो घटना झनै रहस्यमय बन्दै गएको छ।

बज्जिकाञ्चल संवाददाता,रौतहट,०१ गते भदौ । 

बज्जिका भाषाको पहिलो दैनिक पत्रिका बज्जिकाञ्चलले पाँचौ वार्षिकोत्सव मनाएको छ । बज्जिकाञ्चल मिडिया प्रालिद्वारा प्रकाशित बज्जिकाञ्चल दैनिकले यस अवसरमा पाँच जना संचारकर्मीलाई सम्मानित गरेको छ ।

दैनिकका कार्यकारी सम्पादक आरके श्रीवास्तवको अध्यक्षतामा कटहरियामा भएको कार्यक्रममा बज्जिका साहित्यकार सञ्जय साह मित्रले बज्जिका पत्रकारहरु चन्दनप्रसाद यादव,दिनेश कुमार श्रीवास्तव,रामअधार यादव,अर्जुन यादव,राजेश कुमार यादव गरी पाँच जनालाई गमछा ओढाएर प्रशंसापत्रले सम्मानित गरेका हुन् ।

स्थानीय भाषाको पत्रकारितालाई अगाडि बढाउन दिएको योगदानको कदर गर्दै सञ्चार माध्यमले पत्रकारलाई सम्मान गर्दा समाजसेवीहरुले पनि खुसी व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मित्रले बज्जिका भाषालाई रोजीरोजीसित जाडेको बज्जिकाञ्चल दैनिकले मातृभाषाको पहिचान र प्रचारका साथै साहित्यमा ठुलो योगदान दिएको बताएका छन् ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य रामप्रवेश दासले स्थानीय भाषालाई जन जनमा पुर्याउन र मातृभाषामार्फत स्थानीयका कुरा स्थानीयसमक्ष पुर्याउन अतुलनीय भूमिका निर्वाह गरेको बताएका छन् । पत्रिकालाई डिजिटल युगमा पुर्याउन पनि सुझाव दिएका छन् ।

यसै गरी नेकपा माओवादीका स्थानीय नेता एवम् मेयर प्रत्यासी नसरुद्दीन अन्सारीले जनताको समस्यालाई निडरतापूर्वक उठाएर पत्रिकाले गलतलाई गलत र सहीलाई सही भन्ने साहस गर्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुन दयाल श्रीकृष्ण, शिक्षक मंचका रौतहट अध्यक्ष शिवशंकर झा, कटहरिया बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कपिलदेव राय यादव लगायतले शुभकामना मन्तव्य दिँदै पत्रिकाले स्थानीय स्तरमा आम जनतालाई सुसूचित पार्न खेलिरहेको भूमिकाको प्रशंसा गरेका छन् ।

भाषा, साहित्य र संस्कृतिलाई प्राथमिकता दिइरहेको बज्जिकाञ्चल दैनिकले प्रकाशनको क्रममा थोरै समयमा धेरै संघर्ष गरिसकेको कार्यकारी सम्पादक श्रीवास्तवले अवगत गराएका छन् । पत्रिका अब स्थायीत्वतर्फ अगाडि बढेको भन्दै श्रीवास्तवले थप परिमार्जनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,३० गते साउन । 
रौतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ४, बहादुरपुरमा आज जनसंवाद कार्यक्रमको दोस्रो दिन सम्पन्न भएको छ । नगर प्रमुख अजय प्रकाश जयसवालले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै नगरका समस्या, आवश्यकता र आगामी विकास योजनाहरूको विषयमा विस्तृत छलफल गरेका छन् ।
स्थानीय विकासप्रति प्रतिबद्धता जनाउँदै मेयर जयसवालले भने, “नगरको समग्र विकासका लागि जनताको आवाज सुन्नु हाम्रो पहिलो प्राथमिकता हो । योजना निर्माणदेखि कार्यान्वयनसम्म जनसहभागिता अनिवार्य छ।”
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका आधारभूत सेवाहरूको सुधारको माग गरेका थिए । तिनका जिज्ञासामा जवाफ दिँदै नगर प्रमुख जयसवालले तत्कालीन समस्याको समाधानका लागि नगर कार्यपालिकाले प्राथमिकताका आधारमा योजना अघि बढाइरहेको जानकारी दिए।
यस किसिमको जनसंवाद कार्यक्रम नगरवासीसँग नजिक रहने र पारदर्शी शासन प्रणालीको अभ्यास गर्ने माध्यम हो भन्ने विश्वास व्यक्त गर्दै मेयर जयसवालले आगामी दिनहरूमा अन्य वडाहरूमा समेत यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस कार्यक्रमलाई स्थानीयस्तरमा व्यापक स्वागत गरिएको छ। नागरिकहरू नगर प्रमुखको सक्रियता र प्रत्यक्ष सहभागिताबाट उत्साहित देखिएका छन्।

आरके श्रीवास्तव,रौतहट, साउन ३०
रौतहटको फतुवा विजयपुर नगरपालिकाले शुक्रबार बजेट ल्याएको छ । नगरपालिकाले शुक्रबार नगरसभा गरी ५६ करोडभन्दा बढीको बजेट ल्याएको हो ।
गत असार १० मा हुनुपर्ने नगरपालिकाको बजेट अधिवेशन आन्तरिक कारणले ढिलो भएको हो ।

शुक्रबार नगरपालिका कार्यालयमा आयोजित नगरसभामा चालु आर्थिक वर्षको लागि कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले नीति तथा कार्यक्रम पेश गर्दै समृद्ध नगरपालिका बनाउनका लागि बजेट आएको बताएकी छन् । बजेटमा शिक्षा, स्वास्थ्य, सडक पूूर्वाधार, कृषि, पोषण तथा रोजगारीको क्षेत्रलाई प्राथमिकतामा राखिएको कावा नगर प्रमुख खातुनको भनाइ छ ।


नगरपालिकाको तर्फबाट वडाध्यक्ष राकेश यादव पप्पुले चालू आर्थिक वर्षको लागि ५६ करोड ३२ लाख ९५ हजार १५१ को आयव्यय प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षमा नगरपालिकाको वडा नम्बर ९, १० र ११ गरी ८४ जना भूमिहीन सुकुम्बासीलाई जग्गाको प्रमाणपुर्जा वितरण गरिने कार्यक्रम राखिएको वडाध्यक्ष पप्पुले जानकारी गराएका छन् ।


कार्यक्रममा प्रदेशसभा सदस्यका प्रत्याशी तथा प्रतिष्ठित नेता महम्मद सेराजले नगरपालिकाको बजेट सन्तुलित भएको प्रतिक्रिया दिँदै चालु आर्थिक वर्षमा सबै काम यथासमयमा सम्पन्न गर्नुपर्ने बताएका छन् । बजेटको नीति तथा कार्यक्रमले नगरपालिका समृद्धितर्फ लम्किने विश्वास लिएको सेराजले बताएका छन् ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले समृद्ध पालिका निर्माणका लागि आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण, वन तथा वातारण र विपद् व्यवस्थापन, संस्थागत सेवा प्रवाह, भूमिहीन सुकुम्बासी, पोषण तथा रोजगारी र लघु उद्यम कार्यक्रमका लागि बजेट छुट्याइएको जानकारी गराएक छन् ।
नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीले चालू आर्थिक वर्षको बजेट आउन केही ढिलो भए पनि समयमै सबै योजना तथा कार्यक्रम लागू हुने वातारण निर्माण भएको बताएका छन् । सबैको सहयोगले बजेट अधिवेशन शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रतिक्रिया दिँदै लेखा अधिकृत सहनीले चालु आवमा नगरपालिकाको नीति तथा कार्यक्रमले लिएको उद्देश्य पूरा हुने बताएका छन् ।

आरके श्रीवास्तव,रौतहट, साउन ३०
रौतहटका इँटा व्यवसायीहरुले इँटाको बिमा नहुँदा निकै मर्कामा परेको बताएका छन् । रौतहट इँटा उद्योग व्यवसायी संघ गरुडाको सातौँ साधारणसभा तथा पाँचौ अधिवेशनमा इँटाको उद्योग तथा व्यवसाय गर्नेहरुले बिमा नहुँदा निकै मर्कामा परेको बताएका छन् ।

संघका मधेश प्रदेश अध्यक्ष विक्रम कुमार साहले प्रदेशमा १३४९ इँटा उद्योग रहेकामा विस्तारै अहिले ७०० मा झरिसकेको बताउँदै इँटा उद्योगी पलायन हुँदा राज्यलाई पनि ठुलो आर्थिक घाटा भएको बताएका छन् । सरकारले इँटा उद्योगलाई बिमा नगर्ने हो भने विस्तारै उद्योगीहरु पलायन हुँदै विदेशबाट इँटा ल्याउनु पर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिएका छन् ।
कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कल्वारले करोडौँको लगानी गरेर इँटा व्यवसायीले उधारोमा बेच्नु परेको र अस्वस्थ प्रतिस्पर्धाले उद्योगी टाट पल्टिइरहेकाले सबै पक्षले गम्भीर भएर विचार गर्नुपर्ने बताएका छन् ।


रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले अन्य वस्तुको मूल्य बढ्दै जाँदा इँटाको मूल्यमा कमी आइरहेकोले उद्योगी पलायन हुनुपर्ने बाध्यता भएको बताएका छन् । प्रजिअ खड्काले इँटा उद्योगीबिच अस्वस्थ्य प्रतिस्पर्धाका साथै उत्पादन लागत बढ्दै जाँदा पनि समस्या बढ्दै गएको बताएका छन् । ऐन कानुनको परिधिमा रहेर उद्योग संचालन गर्न प्रजिअ खड्काले आग्रह गरेका छन् ।
कार्यक्रमको अध्यक्षता गरेका राम विनोद साहले इँटा उद्योगीको मर्का राज्यले नबुझेको चर्चा गर्दै रौतहटका साठी प्रतिशत इँटा व्यवसायी पलायन भइसकेको बताएका छन् । रौतहटमा १६३ इँटा उद्योगमध्ये करिब ६० ओटा मात्र संचालनमा रहेको अध्यक्ष साहले जानकारी गराएका छन् ।

अधिवेशनले राम विनोद साहको अध्यक्षतामा १५ सदस्यीय रौतहट इँटा व्यवसायीको नयाँ कार्य समिति र नौ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२९ गते साउन ।
राैतहटकाे कटहरिया नगरपालिकामा आज आम जनता पार्टी (आजापा) को नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा मधेशमा फैलिँदो विपद् र किसानहरू मल-खादको चरम अभावमा परिरहेको अवस्थामा तत्काल राहत प्याकेजको माग गर्दै सशक्त आन्दोलनको तयारी गर्ने निर्णय गरिएको छ ।

बैठकमा आम जनता पार्टीका नेता तथा कटहरियाका पूर्व मेयर सियाराम कुशवाहा, आजपा जिल्ला अध्यक्ष नरेश तुराहा, जिल्ला सचिव अमित साह, युवा नेता दिलीप साह, अञ्जित कुशवाहा, सन्तलाल यादव, महेश यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

बैठकले संगठन विस्तारलाई अभियानको रूपमा अगाडि बढाउने निर्णय समेत गरेको छ । जसअन्तर्गत गाउँ–गाउँमा पार्टी सञ्जाल मजबुत बनाइनेछ । नेताहरूले किसानहरूको समस्यालाई सम्बोधन गर्न सरकारलाई दवाव दिन आन्दोलनका कार्यक्रमहरू अगाडि सारिने बताएका छन् ।

नेता सियाराम कुशवाहाले बैठकमा बोल्दै भने, “मधेशमा विपद् सँगसँगै मल-खादको अभावले किसानहरू मर्कामा परेका छन् । अब आन्दोलनबाहेक विकल्प छैन।”

जिल्ला अध्यक्ष नरेश तुराहाले तत्काल राहत प्याकेज र नियमित मल आपूर्तिका लागि संघीय तथा प्रदेश सरकारलाई आग्रह गर्दै तयारी अवस्थामा बस्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।