रौतहट, कात्तिक २३ ।
यस वर्षको शुभ दीपावली पर्व रौतहट जिल्लाभरि नै अत्यन्तै हर्षोल्लास र भव्य रूपमा मनाइएको छ। जिल्लाका प्रमुख बजार तथा ग्रामीण क्षेत्रहरूमा दीपावलीलाई लक्षित गरी घरआँगन सरसफाइ गर्नुका साथै झिलिमिली बत्ती र मैनबत्ती बालेर दीपावलीको उल्लास साटासाट गरिएको थियो।

रौतहटको कटहरिया, फतुवा विजयपुर, गरुडा, मौलापुरलगायतका विभिन्न स्थानीय तह तथा बजार क्षेत्रहरूमा दीपावली पर्व निकै भव्यताका साथ सम्पन्न भएको स्थानीय बासिन्दाहरूले बताएका छन्। दीपावलीको अवसरमा सम्पूर्ण क्षेत्रहरू रंगीचंगी बत्ती र दीपावलीको उज्यालोले झिलिमिली बनेका थिए।

एउटा मात्र अप्रिय घटना शान्तिपूर्ण र हर्षोल्लासपूर्ण वातावरणमा दीपावली पर्व सम्पन्न भए पनि जिल्लाको एक ठाउँमा भने आगलागीको अप्रिय घटना घटेको छ। प्राप्त समाचार अनुसार फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ स्थित एक मिस्त्रीको किराना पसलमा अचानक आगलागी भएको छ।

स्थानीय किराना पसलमा भएको उक्त आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने हालसम्म आउन बाँकी रहेको छ। घटनाको खबर प्राप्त हुनासाथ स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले आवश्यक प्रयास गरेका थिए। यस बाहेक जिल्लाका अन्य कुनै पनि स्थानमा अन्य कुनै किसिमका अप्रिय घटना नभएको र समग्र जिल्लामा दीपावली शान्तिपूर्ण रूपमा सम्पन्न भएको सुरक्षा स्रोतले जनाएको छ।

शान्ति सुरक्षाको कडा प्रबन्धबीच रौतहटवासीले यसपटकको तिहार तथा दीपावली पर्व आपसी सद्भाव र उल्लासका साथ मनाएका छन्।







