काठमाडौँ । रोयल च्यालेंजन्स बैंगलुरुले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई २३ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
बैंगलुरुले दिएको २२३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो ।
पञ्जावका लागि शशांक सिंहले सर्बाधिक ५६ रन बनाए भने कूपर कोन्नोलीले ३७, मार्कस स्टोइनिसले ३७ र सुर्यांश शेडजेले ३५ रन बनाएका थिए ।
त्यस्तै बैंगलुरुका बलर रसिख सलामले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले वेंकटेस अय्यरको अविजित ७३, विराट कोहलीको ५८ र देवदत्त पाडिकलको ४५ रनको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १८ अंक भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै पञ्जावको भने १३ खेलमा १३ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । रूसको मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
रूसस्थित भारतीय दूतावासले आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा भारतीय कामदारको ज्यान गएको जनाएको हो । दूतावासका अधिकारीहरूले घटनास्थल र अस्पताल पुगेर घाइतेहरूसँग भेट गरेको पनि बताइएको छ ।
दूतावासले घाइतेहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन कम्पनी व्यवस्थापन र स्थानीय प्रशासनसँग समन्वय भइरहेको जनाएको छ ।
यसअघि रूसी अधिकारीहरूले युक्रेनतर्फबाट मस्को क्षेत्रमा ठूलो स्तरको ड्रोन आक्रमण भएको दाबी गरेका थिए । रूसी प्रशासनका अनुसार आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।
क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार राजधानीको उत्तरस्थित खिम्की क्षेत्रमा एक महिलाको मृत्यु भएको छ भने पोगोरेल्की गाउँमा एक पुरुष र एक महिलाले ज्यान गुमाएका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले शहरको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा १२ जना घाइते भएको बताएका छन् ।
रूसी सेनाले ५५६ वटा ड्रोन खसालिएको दाबी गरेको छ । यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युक्रेनका शहरमाथि रूसले गरिरहेको घातक आक्रमणको जवाफस्वरूप यी कारबाही ‘पूर्ण रूपमा जायज’ रहेको बताएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
कञ्चनपुर । ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-४ बुटाबारी बस्ने ६० वर्षीय देव सिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
देव सिंहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । चन्द्रागिरी नगरपालिका-३ थानकोट खरीबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको छ ।
समिले घरायसी विवादको क्रममा धारिलो हतियार चक्कु प्रहार गर्दा जाकिर गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका जाकिरको मेडपोइन्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलमा सहभागी हुन त्यसतर्फ जाने भएकी छन् ।
आइतबार भएको महानगरको ४९औं कार्यपालिका बैठकमा डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने प्रस्ताव पारित गरिएको थियो ।
डंगोलले काठमाडौँ महानगरले आयोजना गर्ने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को घोषणाको लागि आफु त्यसतर्फ जान लागेको बताएकी छन् ।
फ्रान्सको कान्समा जारी फिल्म फेस्टिभल मे १२ देखि शुरु भएको छ भने मे २३ सम्म चल्ने छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । राप्रपा नेता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले वर्तमान सरकारले देशमा चर्चामा रहेका ६५ वटा ठूला भ्रष्टाचार काण्डका मुख्य दोषीलाई कानुनी कठघरामा उभ्याउने विश्वास व्यक्त गरेका हुन् ।
उनले लाउडा विमान घोटाला, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड, वाइडबडी विमान खरिद विवाद, सुडान एपीसी काण्ड, ३३ किलो सुन प्रकरण, मेलम्ची खानेपानी आयोजना विवाद तथा सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डजस्ता बहुचर्चित घटनामा निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्।
त्यस्तै ओम्नी समूह स्वास्थ्य सामग्री खरिद विवाद, टेरामक्स काण्ड, बालुवाटार जग्गा प्रकरण, सहकारी घोटाला, नेपाल ट्रस्ट जग्गा विवाद, कर फर्छ्योट आयोग घोटाला, फास्ट ट्र्याक मुआब्जा प्रकरण, बुढीगण्डकी मुआब्जा काण्ड तथा एनसेल कर विवादलाई पनि उनले प्रमुख भ्रष्टाचार प्रकरणका रूपमा उल्लेख गरेका छन् ।
शाहीले नेपाल आयल निगम इन्धन खरिद विवाद, रेल्वे खरिद काण्ड, कृषि अनुदान घोटाला, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ऋण तथा ठेक्का विवाद, कोभिड–१९ परीक्षण तथा क्वारेन्टिन खर्च अनियमितता, प्रश्नपत्र चुहावट, ढुंगा–गिटी उत्खनन काण्ड र रासायनिक मल खरिद घोटालामा पनि कारबाही आवश्यक रहेको बताएका छन् ।
उनले सांसद विकास कोष दुरुपयोग, नक्कली शैक्षिक प्रमाणपत्र, काठ तस्करी, गोर्खा फाइनान्स घोटाला, ओरियन्टल सहकारी काण्ड, युनिटी लाइफ घोटाला, नक्कली भ्याट बिल प्रकरण, भन्सार राजस्व चुहावट तथा विदेश रोजगार ठगी काण्डलगायतका विषयमा पनि दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।
शाहीले सुशासन कायम गर्न सरकार कठोर रूपमा प्रस्तुत हुनुपर्ने र भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
सहायक हवल्दार अनिता कार्किले आज मे १७ तारिख बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११ बजेर ५५ मिनेटको समयमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरु पहिलो महिला आरोही हुन् । इलाम जिल्लाको सन्दकपुर गाँउपालीका माबु मा जन्म लिएकी सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी आरोही अनिता कार्कीले अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई अझ उचो बनाएको सशस्त्र प्रहरीले जनाएको छ ।
पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका आरोहीहरुले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन् । आरोही निम डिक्की शेर्पा र आरोही अनिता कार्कीको सगरमाथा आरोहण अभियानमा क्रमश: शेर्पा निमा साङ्गे शेर्पाले र टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए । उनीहरुको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुदलीय जनवादको वैचारिक विरासतले निरन्तर जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन् ।
मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै ओलीले मदन भण्डारीलाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै नभई युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने र जनताको बहुदलीय जनवादको वैचारिक विरासतले निरन्तर जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका हुन् ।
३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनुपरेको स्मरण गर्दै अध्यक्ष ओलीले समय बित्दै जाँदा पनि त्यो पीडाको अनुभूति अझ गाढा बन्दै गएको बताएका छन् । उनले मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा रहेको उल्लेख गर्दै जीवराज आश्रितलाई कुशल संगठकका रूपमा स्मरण गरेका छन् ।
अध्यक्ष ओलीले मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादले विचारलाई समयअनुसार मौलिक परिष्कार गर्दै आन्दोलनलाई बलियो आवाज दिएको र परिवर्तनको सपनालाई जनताको जीवनसम्म पुर्याउने मार्गचित्र तयार गरेको बताएका छन् ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पनि त्यही वैचारिक धरातलमा अघि बढाइएको उल्लेख गर्दै पछिल्लो दशकमा उक्त अभियानले मानवीय तथा भौतिक पूर्वाधार विकासमा परिवर्तन ल्याउन थालेको दाबी उनले गरेका छन् ।
ओलीले मदन भण्डारी, जीवराज आश्रित तथा आन्दोलनका अन्य अग्रजहरू शारीरिक रूपमा नरहे पनि उनीहरूको विचार र योगदान राजनीतिक यात्रामा दीपस्तम्भसरह रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद कुनै क्षणिक लोकप्रियताको औजार नभई यथार्थमा आधारित विचार भएको उनको भनाइ छ ।
भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियो । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
म्यानचेस्टर सिटीको जितमा खेलको ७१औं मिनेटमा एन्टोनी सेमेन्योले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो म्यानचेस्टर सिटीले जितेको आठौ एफए कप उपाधि हो । एफए कपको उपाधि सबै भन्दा बढी पटक जित्ने किर्तिमान भने आर्सनलको नाममा रहेको छ । आर्सनलले १४ पटक यो उपाधि जितेको छ । त्यस्तै म्यानचेस्टर युनाईटेडले १३ पटक एफए कपको उपाधि जितेको छ ।
त्यस्तै चेल्सीले पनि आठ पटक यो उपाधि जितेको छ । पछिल्लो पटक चेल्सीले २०१८ मा यो उपाधि जितेको थियो ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जेठ ८ गतेदेखि १४ गतेसम्म काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ ।
नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।
काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल, किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।
नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग खेल्दैछ भने दोस्रो खेल जेठ ९ गते किर्गिस्तानसँग र तेस्रो खेल जेठ १० गते माल्दिभ्ससँग खेल्दैछ ।एभरेष्ट न्यूज एजेन्सी