आरके श्रीवास्तव,राैतहट,कार्तिक २४ गते ।
रौतहटको कटहरिया बजारस्थित विवाह मण्डप भवनमा आज सम्पन्न चिठ्ठा कुपन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । श्री दुर्गा पूजा समिति, कटहरिया–५ द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा ४ हजारभन्दा बढी कुपन काटिएको समितिका सहयोगी तथा निराला जेनरल स्टोरका सञ्चालक महाशक्ति साहले जानकारी दिनुभयो ।
साहका अनुसार, “स्थानीय व्यापारी र उपभोक्ताबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले यो योजना ल्याइएको हो । जनताको उत्साह र सहभागिता अत्यन्तै उत्साहजनक रह्यो,” उहाँले बताउनुभयो ।
२०८२ साल भदौ १ गतेदेखि असोज १६ गतेसम्म सञ्चालन गरिएको “चिठ्ठा कुपन योजना” अन्तर्गत सहभागीले खरिदमा आधारित कुपन प्राप्त गरेका थिए ।
कार्यक्रममा विभिन्न आकर्षक पुरस्कारहरू चिठ्ठामा परेको थियो । प्रथम पुरस्कार स्मार्ट टिभी – १ जना,द्वितीय पुरस्कार फ्रिज १ जना,तृतीय पुरस्कार साइकल – १ जनालाई परेकाे थियो ।
त्यस्तै
चौथो पुरस्कार धाेनी साबुन – १०० जना, पाँचौं पुरस्कार धाेनी साबुन,छैठौं पुरस्कार एक्सट्रा डिटर्जेन्ट २५ जना,सातौं पुरस्कार नम्बर १०० जनालाई परेको थियोे ।
साहले थप भन्नुभयो, “स्थानीय बजारमा पारस्परिक विश्वास र सहकार्य बढाउन यस किसिमका कार्यक्रमले सकारात्मक प्रभाव पार्छन्। आगामी वर्षहरूमा पनि यस्तो योजना निरन्तर ल्याइनेछ।”
समितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै व्यवसायी, उपभोक्ता र सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ।
निराला जेनरल किराना पसल, कटहरिया–५ रौतहटले कार्यक्रमको मुख्य सहयोगीको भूमिका निर्वाह गरेको थियो ।
कार्यक्रममा स्थानीय व्यवसायी, उपभोक्ता तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
हनुमत कुमार यादव ,रौतहट, २४ कात्तिक ।
नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाको आयोजनामा तीन दिने मनोसामाजिक प्राथमिक उपचार (Psychosocial First Aid – PFA) सम्बन्धी उन्मुखीकरण कार्यक्रम गौरमा सुरु गरिएको छ। जिल्ला सदरमुकाम गौरस्थित रेडक्रस भवनको सभाहलमा आयोजित उक्त कार्यक्रम २६ कात्तिकसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा सहभागीहरूलाई तनाव, डर, चिन्ता, आघात जस्ता अवस्थाको सामना गरिरहेका व्यक्तिहरूलाई सहयोग गर्ने आधारभूत सीप तथा व्यवहारिक ज्ञान प्रदान गरिँदैछ। जिल्लाका विभिन्न पालिकाबाट आएका प्रतिनिधिहरू उक्त प्रशिक्षणमा सहभागी छन् ।
प्रशिक्षकहरूले संकटका समयमा कसरी शान्त रहनु, कसरी सक्रिय रूपमा सुनुवाइ गर्न र प्रभावित व्यक्तिको भावना सम्मानपूर्वक सम्बोधन गर्न सकिन्छ भन्नेबारे व्यावहारिक अभ्यासमार्फत प्रशिक्षण दिएका छन्। साथै, आवश्यकता अनुसार थप सहयोग वा रेफरल गर्ने प्रक्रियासम्बन्धी जानकारी पनि दिइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सभापति राजकिशोर प्रसाद यादवले भने, “प्रकृति–आपदा, महामारी वा सामाजिक घटनाले भौतिक क्षति मात्र होइन, मानिसहरूको मानसिक स्वास्थ्यमा पनि गम्भीर असर पार्छ। त्यसैले राहत र पुनःस्थापनासँगै मनोसामाजिक सहयोग अपरिहार्य छ।”
यस उन्मुखीकरणपछि प्रशिक्षित स्वयंसेवकहरूले जिल्लाभरका प्रभावित समुदायमा गएर मनोसामाजिक सहयोग र परामर्श प्रदान गर्ने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ ।
हनुमत कुमार यादव,गाैर, २४ कात्तिक ।
रौतहटको राजदेवी नगरपालिका–४, गडहियामा करिब ४ करोड रुपैयाँको लागतमा आधुनिक विद्यालय भवन निर्माण हुने भएको छ । सो उद्देश्यका लागि नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतको काठमाडौँस्थित भारतीय दूतावास र राजदेवी नगरपालिकाबीच समझदारी पत्र (MoU) मा हस्ताक्षर गरिएको छ ।
उक्त सम्झौता अनुसार विद्यालय भवन निर्माण कार्य भारत सरकारको अनुदान सहयोगमा सम्पन्न हुनेछ । यो परियोजना “उच्च प्रभाव समुदाय विकास परियोजना (High Impact Community Development Project – HICDP)” अन्तर्गत पर्ने हो, जसअन्तर्गत भारतले नेपालका विभिन्न समुदायमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

सम्झौता पत्रमा भारत सरकारका तर्फबाट काठमाडौँस्थित भारतीय दूतावासका काउन्सेलर (डीपीआर र रिटर्न्स) अजय कुमार सिंह, नेपाल सरकारका प्रतिनिधि तथा राजदेवी नगरपालिकाका प्रमुख भिखारी प्रसाद यादव लगायतका अधिकारीहरूले हस्ताक्षर गरेका छन् ।
नगरप्रमुख यादवका अनुसार सो भवन निर्माणले गडहिया प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई सुरक्षित र आधुनिक शिक्षण वातावरण प्रदान गर्नेछ । उनले भने, “भारत सरकारको सहयोगमा बन्ने यो विद्यालयले हाम्रो नगरको शिक्षाको स्तर अभिवृद्धि गर्न मद्दत पुर्याउनेछ ।
यस परियोजनाले राजदेवी नगरपालिका–४ मा शिक्षा क्षेत्रको भौतिक पूर्वाधार सुदृढ गर्दै विद्यार्थीहरूको सिकाइमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ ।
काठमाडौं, २४ कात्तिक ।
COMMON GEN-Z NEPAL ले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । निकास र विकासमा असफल भएकी प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका हत्यारालाई अझै पक्राउ गरेर कारबाही नगरेको आरोप उनीहरुले लगाएका छन् ।
काठमाडौंको भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै COMMON GEN-Z NEPALका अध्यक्ष विकेश साहले जेनजी आन्दोलनका हत्यारा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखकलाई यथासिघ्र पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरे ।
‘जेनजी आन्दोलनको क्रममा युवा विद्यार्थीमाथि ताकिताकि टाउको, छातीमा गोली ठोक्ने र आदेश दिनेलाई अझै पक्राउ गरिएको छैन । केपी ओली, रमेश लेखक सहितलाई यथासिघ्र पक्राउ गरी कारबाही गर्न हामी जोडदार रुपमा माग गर्दछौं,’ अध्यक्ष साहले भने, ‘तर यो सरकारका प्रधानमन्त्री सुशीला कार्की देखी गृहमन्त्री ओमप्रकाश आर्यालय लगायतकाले खुटाकमाएका छन् । अपराधीलाई पक्राउ गर्न किन नसकेको होला ? हाम्रो गम्भिर प्रश्न छ । उनीहरुलाई पक्राउ गर्नु, पक्राउ गर्न नसक्ने हो भने कुर्सी छोडनुस् ।’
जेनजी आन्दोलनकारी सिवि साहले युवा विद्यार्थीको आन्दोलन र रगतबाट बनेको वर्तमान सरकारले अपराधीलाई पक्राउ गरेर कारबाही गर्नुको साटो संरक्षण गरेको गम्भिर आरोप लगाए । मुलुकमा भ्रष्टाचार तिब्ररुपमा बढेको र अनियमितता, कुशासन, कर आतंक, नेताको लुटभ्रष्टाचार, मनोमानी बढदै गएपछि जेजनी आन्दोलन भएको बताउदै उनले आन्दोलनमा दमन गर्ने अपराधीलाई पक्राउ गरी जेलभित्र राख्नुपर्ने उनले बताए । जेनजी आन्दोलनका क्रममा हत्या गरिएका परिवारलाई एक करोड क्षतिपुर्ति र रोजगारको व्यवस्था सरकारले गर्नुपर्ने माग समेत साहले गरेका छन् ।
गत शनिबार काठमाडौंको कोटेश्वरमा जेनजी आन्दोलनकारीको भएको राष्ट्रिय भेलाबाट भएका निर्णय र निष्कर्ष सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा जेनजी आन्दोलनकारी उज्जवल शर्मा, राजन साह, प्रसुना आचार्य, सोनिया पटेल, प्रदिप साह, साहिल साह, सुवास ठाकुर, विकास झा, धिरेन्द्र साह, साइमन साह लगायतकाले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, लुटेरालाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
राष्ट्रिय भेलाले अन्तरिम संविधान र जेनजी नेतृत्वमा नयाँ सरकार गठनको माग गरेको छ । जेनजी हत्यारा र देश लुटने भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने, जेनजी आन्दोलनकारीमाथिको धरपकड बन्द गर्नुपर्ने, निकास र विकासमा असफल सुशीला कार्की सरकार तुरुन्त विघटन गर्नुपर्ने, जेनजीमाथि मुद्धा लगाउने निकम्मा गृहमन्त्री ओमप्रकाश अर्यालले राजिनामा दिनुपर्ने, जेनजी आन्दोलनका शहिद, घाइते परिवारलाई रोजगारी दिनुपर्ने, जेनजी आन्दोलनका घाइतेको उपचारमा भइरहेको हेलच्क्रयाई बन्द गर्नुपर्ने लगायतका माग भेलाले गरेको छ ।
यि माग पुरा गराउनका लागि विभिन्न संघर्षका कार्यक्रम गरिने निर्णय भएको COMMON GEN-Z NEPAL का महासचिव प्रदिप साहले जनाएका छन् । जेनजी आन्दोलनसंग भएको धोखा बारेमा देशैभरी भण्डाफोर अभियान गर्ने, जेनजी हत्यारा केपी ओली, रमेश लेखकलाई गिरफ्तारका लागि जनदबाब सृजना गर्ने, जेनजी आन्दोलनकारीमाथि भइरहेको धरपकडको प्रतिकार गर्ने, जेनजी आन्दोलनका हत्यारालाई एक हप्ताभित्रमा कारबाही नगरे गृहमन्त्रीलाई ऐरियाबन्दी गर्ने निष्कर्ष भेलाले गरेको महासचिव साहले जनाएका छन् ।
यसैगरी राष्ट्रिय भेलाले सातै प्रदेशमा इन्चार्ज र संयोजकको जिम्मेवारी समेत तोकेका छ ।
जनकपुरधाम,कार्तिक २४ गते ।
मधेश प्रदेशमा हाल भइरहेको राजनीतिक तनाव र आन्दोलनका बीच सामाजिक सञ्जालमा फैलिएका भ्रामक समाचारका सम्बन्धमा नेपाली काग्रेस मधेश प्रदेशका उप सभापती पूर्व मन्त्री मा. बिरेन्द्र प्रसाद सिंहले जनतालाई संयमित रहन आग्रह गरेका छन्।
सिंहले भनेका छन् कि मधेश प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीद्वारा गैर–संवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेपछि सात राजनीतिक दलहरूले विरोध प्रदर्शन गरेका थिए। सो क्रममा कार्यालयभित्र उतेजित आन्दोलनकारिहरुले केही वस्तु तोडफोड गर्न खोज्दा आफुले टेबलको छेउमा रहेको नेपालको राष्ट्रिय झण्डालाई सुरक्षित राख्ने उद्देश्यले वालतर्फ सारिएको दृश्यलाई केही व्यक्तिहरूले ‘झण्डा फालिएको’ भनेर सामाजिक सञ्जालमा गलत रूपमा प्रचार गरेको भन्दै उनले आपत्ति जनाए।
पूर्व मन्त्री सिंहले भने, “नेपाल राष्ट्र र राष्ट्रिय झण्डाप्रति मेरो उच्च सम्मान सदैव रहिआएको छ। भ्रामक समाचार र गलत प्रचारबाट जनमानसमा भ्रम सिर्जना भएको छ भने त्यसप्रति म खेद प्रकट गर्छु।”
उनले सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूसँग यथार्थ तथ्यमा आधारित सूचना मात्र प्रसारण गर्न आग्रह गर्दै भने,
“देश र प्रदेशका संवेदनशील विषयहरूमा भ्रामक समाचारको पछाडि नपरी शान्तिपूर्ण र जिम्मेवार व्यवहार देखाउनु सबैको कर्तव्य रहेको मधेश प्रदेशका सूचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठीले बताए।
आरके श्रीवास्तव,रौतहट, कार्तिक २४ गते ।
रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले तलब–भत्ताको बक्यौता भुक्तानीको माग गर्दै विगत १४ दिनदेखि गर्दै आएको तालाबन्दी अन्त्य भएको छ । कर्मचारीहरूले वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालयहरू तथा नगरपालिकाको मुख्य कार्यालयमा तालाबन्दी गर्दै कार्यालय परिसरमै धर्ना दिइरहेका थिए ।

वडा अध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरूले सामूहिक रूपमा कर्मचारीहरूको तलब–भत्ताको विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएपछि तालाबन्दी खोलिएको हो । उनीहरूले कार्यालय प्रमुख आएलगत्तै पहिलो कामका रूपमा तलब भुक्तानी गर्ने निर्णय गरेका छन् ।
कटहरिया नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष समिश विक्रम शाहले भने, “पहिला तलब–भत्ता दिने, त्यसपछि मात्रै अन्य काम अघि बढाउँछौं । अब नगरपालिका भोलिदेखि नियमित रुपमा सञ्चालन हुनेछ।”
त्यस्तै वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहाले भने, “गैरजिम्मेवार मेयर र जनप्रतिनिधिलाई जिम्मेवार बन्न हामीले पाठ सिकाएका हौं । सेवाग्राहीको पीडा अन्तिम अवस्थामा पुगेपछि तीन दिनको निरन्तर प्रयासपछि तालाबन्दी खोलिएको हो । तलब दिएर मात्रै अन्य काम गर्न दिनेमा हामी एकमत छौं।”
वडा नं. ३ का अध्यक्ष श्यामाकान्त यादवले वडामा विभिन्न सेवा अवरुद्ध भएको जनाउँदै भने, “मेयर साहेब अजय प्रकाश जयसवाल आउनु भएन, त्यसैले हामी अग्रसर भएर ताला खोलाउन बाध्य भयौं । कर्मचारीहरूको तलब जसरी पनि दिलाउनेछौं।”
करारका कर्मचारी प्रमोद कुमार साहले पनि वडा अध्यक्षहरूको प्रयासको कदर गर्दै भने, “हामीले जनताको पीडा बुझ्दै ताला खोल्ने निर्णय गरेका हौं । हाम्रो तलब यथाशीघ्र पाइनुपर्छ।”
नि. प्रमुख प्रशासकीय अधिकृत रामनरेश यादवले तालाबन्दी खुलाउन सराहनीय भूमिका निर्वाह गरेका छन् । उनले प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा पहिलो बैठकमै कर्मचारीहरूको तलब भुक्तानी गर्ने निर्णय हुने जानकारी दिएका छन् ।
नगरपालिकाका कार्यपालिका सदस्य मनोज जयसवालले तालाबन्दी सर्वसहमतिको आधारमा अन्त्य भएको जनाउँदै भने, “तालाबन्दीका कारण जनसाधारण सेवाबाट बञ्चित भएका थिए । आर्थिक कारोबारका लागि हाकिम नहुँदा समस्या उत्पन्न भएको हो । अब हाकिम आउने छन्, तलब तत्काल दिलाइनेछ।”
लगातार १४ दिनको तालाबन्दीका कारण नगरपालिकाका नागरिकता सिफारिस, राजस्व संकलन, सामाजिक सेवा लगायतका अत्यावश्यक कामहरू ठप्प भएका थिए । स्थानीय बासिन्दा अत्यधिक मर्कामा परेपछि वडा अध्यक्ष,वडा सदस्य,कार्यपालिका सदस्य प्रशासनसँगको सहमति अनुसार मंगलवार (कार्तिक २५) देखि कटहरिया नगरपालिका र सबै वडाहरूमा नियमित कामकाज पुनः सुरु हुने भएको छ ।
आरके श्रीवास्तव,राैतहट,कार्तिक २४ गते ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेश प्रदेशमा भएको मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई संवैधानिक व्यवस्थाको असफलताको प्रमाण भएको बताएका छन् । उनले यो घटनाले वर्तमान संविधान र राजनीतिक प्रणालीको नैतिकता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष साहले भनेका छन्, “मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिले फेरि एकपटक पुष्टि गर्यो कि वर्तमान संवैधानिक व्यवस्था असफल मात्र होइन, अनैतिक राजनीतिक र लुट–भ्रष्टाचारको ओडार हो।”
उनका अनुसार समस्या व्यक्तिमा होइन, प्रणालीमै रहेको छ। साहले गलत संवैधानिक प्रावधानलाई वास्तविक समस्या मानेर त्यसको विरोधमा उत्रिन सबैलाई आह्वान गरेका छन्। उनले भने, “समस्याको मुख्य जडको रूपमा रहेको गलत संवैधानिक प्रावधानलाई छोडेर एक–अर्कालाई मात्र दोषारोपण गर्नु अर्को बेइमानी हुनेछ।”
अध्यक्ष साहले संविधान निर्माणका क्रममा भएका त्रुटिहरूको जिम्मेवारी संविधान निर्माताहरूले लिनुपर्ने बताएका छन्। “संविधान निर्माताहरूले आफ्ना गल्ती स्वीकारेर आत्मालोचित भई संविधान खारेजीको पक्षमा आउनु जरुरी छ,” उनले भने, “यसैमा सबैको भलाई निहित छ।”
उनले देशवासीलाई वर्तमान ‘लुटकारी व्यवस्था’माथि पुनर्विचार गर्न आग्रह गर्दै नयाँ र न्यायसंगत राजनीतिक व्यवस्थाको आवश्यकता औंल्याएका छन् ।
जनकपुरधाम,२४ गते कार्तिक ।
मधेश प्रदेशमा पुनः राजनीतिक अस्थिरताको संकेत देखिन थालेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नेकपा एमालेका संसदीय दलका नेता महोत्तरीका प्रदेशसभा सदस्य सरोज कुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेकी छिन् ।
प्रदेश प्रमुख भण्डारीले शुक्रबार (मिति २०८२/०७/२३) जारी गरेको पत्रमा यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेकी छन् । नियुक्ति पत्रमा उल्लेख छ-“नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम तपाईलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु । मुख्यमन्त्री पदमा नियुक्त हुनु भएकोमा तपाईलाई हार्दिक बधाई छ।”

तर, यस निर्णयलाई कानुनी भन्दा पनि राजनीतिक कदमका रूपमा हेरिएको छ । एमालेको कोटाबाट प्रदेश प्रमुख बनेकी सुमित्रा सुवेदी भण्डारीले गरेको यो निर्णयले मधेश प्रदेशमा फेरि एकपटक राजनीतिक अस्थिरता र अविश्वासको वातावरण सिर्जना गरेको विश्लेषण गरिँदैछ ।
गत असार २३ र २४ गतेको आन्दोलनपछि मधेशको राजनीतिक तापक्रम केही समयका लागि शान्त देखिएको भए पनि, नयाँ नियुक्तिले पुनः विवाद र सत्ता संघर्षको संकेत दिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, एमालेले अघिल्ला घटनाबाट सिक्ने अपेक्षा गरिएको भए पनि, “त्यही पुरानो शैली र घमण्ड” दोहोरिएको देखिएको छ ।
अबको राजनीतिक यात्राले मधेश प्रदेशलाई स्थायित्वतर्फ लैजान्छ वा पुनः उथलपुथलतर्फ धकेल्छ, त्यो समयले नै निर्धारण गर्नेछ । तर अहिलेका संकेतहरू शान्तिदायी छैनन् ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक २३ गते ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले नगरपालिकामा उत्पन्न विभिन्न विवादका विषयमा पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।
खातुनका अनुसार करारका कर्मचारीहरूलाई हटाउने कुनै निर्देशन आफूले नदिएको स्पष्ट पार्दै उनले भनिन्, “मैले कसैलाई रोक्न भनेकी छैन, संघीय मामिला तथा सरकारका निर्देशनअनुसार प्रमुख प्रशासकीय अधिकृत भरत यादवलाई आवश्यक प्रक्रिया पूरा गरेर अघि बढ्न भनेकी छु।”
उनका अनुसार कर्मचारी व्यवस्थापन हाकिमको जिम्मेवारी हो र आफूले दरबन्दीअनुसार मात्र कर्मचारी राख्न सुझाव दिएको बताइन् । कार्यपालिका बैठकका विषयमा पनि उनले आफू कहिल्यै पछि नहटेकी स्पष्ट पारिन्। “शान्ति सुरक्षा कायम भए र कुनै किसिमको हल्ला नभए जुनसुकै बेला बैठक बस्न तयार छु,” उनले भनिन्।
खातुनले जेनजी आन्दोलनका क्रममा जलेको नगरपालिकाको कार्यालय भवन पुनःनिर्माणका लागि बजेट छुट्याइएको जानकारी दिँदै भनिन्, “जलेको भवन मर्मत गर्ने काम हाकिमको हो, र कार्यालय स्थानान्तरणबारे छलफल कार्यपालिका बैठकमा हुनेछ।”
उनका अनुसार हाल प्रयोग भइरहेको भवनको भाडा ३८ लाख रुपैयाँ रहेको र नयाँ प्रस्तावित स्थानमा ५ लाख रुपैयाँमै फलैट उपलब्ध भएको कारण खर्च घटाउने उद्देश्यले कार्यालय सार्ने प्रस्ताव ल्याइएको बताइन् । तर, उक्त प्रस्तावप्रति वडा अध्यक्षहरूले असहमति जनाइरहेको पनि उनले बताइन् ।
खातुनले भनिन्, “वडा अध्यक्षहरूको काम वडा चलाउने हो, मेरो काम नगरपालिका सञ्चालन गर्ने हो।”
यसैबीच, कार्यवाहक नगरप्रमुख खातुनका श्रीमान् मोहमद सेराजले वडा अध्यक्षहरू विद्युत महसुल बुझाउने बारे लगाएको आरोप गलत हाे । उनका अनुसार माथिबाट विद्युत महसुल र वितरणमुखी कार्यक्रममा बन्देज लगाइएको भए पनि, “यदि नियमले अनुमति दिन्छ भने भुक्तानी गर्नुपर्छ,” भन्दै उनले नियम अनुसार काम गर्न आग्रह गरे ।
सेराजका अनुसार नगरपालिकाको १० कराेडकाे बजेट शीर्षकमा माइनस इण्ट्री गरिएको छ, जुन अस्वाभाविक भएको बताउँदै उनले थपे, “जसको जति बजेट छ, त्यत्तिकै चलाउनु पर्छ, मनोमानी गर्न मिल्दैन।”
उनले प्रमुख प्रशासकीय अधिकृतले अधिकांश बजेट कार्यक्रम सञ्चालनमा राखेको आरोप पनि लगाए । साथै, कर्मचारी हाजिरीमा विवाद सिर्जना गर्ने, रजिष्टार लुकाउने जस्ता कार्य नगरपालिकामा भइरहेका छन् भनेर असन्तुष्टि जनाए ।
खातुनले थपिन्, “तिहार र छठ पर्वको बेला मैले अधिकार अनुसार हस्ताक्षर गरेर सहयोग गरेकी थिएँ, अहिले हाकिमले मनपरि खर्च गर्न खोजिरहेका छन्।”
उनले आरोप लगाइन् कि, रिसइबीका क्रममा आफ्नै औषधि पसलमा आगजनी गरी करोडौंको क्षति पुर्याइएको छ। “कहिले मेयरको गाडी कब्जा गर्ने, कहिले अनावश्यक बहाना गर्ने—यी सबै घटनाले हामीलाई दुःखी बनाएका छन्,” खातुनले भनिन्।
अन्त्यमा उनले भनिन्, “यी सबै घटनाको मूल्यांकन अब फतुवा बिजयपुर नगरवासीहरूले गर्नुपर्नेछ।”