आरके श्रीवास्तव,राैतहट,कार्तिक २८ गते ।
रौतहटकाे बौधिमाइ नगरपालिका–७ बन्कुलमा जेनजी टिम द्वारा आयोजित विशेष भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय युवा सक्रियता तथा विकास मुद्दामा अग्रसर रहेका सोनु कुशवाहाले मुख्य अतिथिको रूपमा सहभागिता जनाउँदै स्थानीय समस्याहरूको विषयमा विस्तृत रूपमा छलफल गरेका छन् ।
समुदायका प्रतिनिधिहरूसँगको कुराकानीका क्रममा कुशवाहाले वडा नम्बर ७ मा देखिएका प्रमुख चुनौतीहरू बाटोघाटोको दयनीय अवस्था, नहर तथा सरसफाइ व्यवस्थापनको अभाव, र स्थानीय पूर्वाधार विकासमा देखिएको ढिलासुस्ती तत्काल समाधान गर्नुपर्ने आवश्यकता औंल्याए । उनले जनताको अपेक्षाअनुसार विकास र सुशासन सुनिश्चित गर्न युवाहरूको एकता र सशक्त भूमिकाको आवश्यकता रहेको बताए ।
जेनजी समूहका तर्फबाट रौतहट क्षेत्र नं. २ मा संघीय सांसदका लागि उम्मेदवारी दिने तयारीसहित कुशवाहाले विकासमुखी राजनीति, पारदर्शिता र युवामैत्री नेतृत्वलाई आफ्नो प्राथमिकता रहेको उल्लेख गरेका छन् ।
“जय युवा एकता” नारासहित सम्पन्न भएको भेटघाट कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले उठाइएका समस्याहरू समाधानका लागि जेनजी टिमले आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरिएको जनाइएको छ ।








