आरके श्रीवास्तव,राैतहट,मंसिर ०४ गते ।
राैतहटकाे निर्वाचन क्षेत्र नं. २ मा विकासका कामहरू अपेक्षाकृत रूपमा निकै पछाडि परेकाे जेनजीकाे तर्फबाट आगामी संघीय चुनावकाे तयारी गरिरहेका भावी उम्मेदवार साेनु कुशवाहाले बताएका छन् । जेनजीकाे बौधीमाई नगरस्तरीय भेलालाई गत साेमबार सम्बाेधन गर्दै उनले क्षेत्रका प्रमुख समस्या र विकासका कमीबारे कडा रूपमा टिप्पणी गरेका छन् ।
उनका अनुसार स्थानीय सरकार गठन भएकाे करिब ८ वर्ष बित्न लाग्दा पनि नागरिकले अनुभूत गर्न सक्ने खालका ठूला–महत्त्वपूर्ण विकास काम हुन सकेका छैनन् । उनले नगरका विभिन्न स्थानमा सिसिटिभि क्यामेरा जडान नहुँदा चोरी–डकैतीजस्ता अपराध बढिरहेकाे उल्लेख गर्दै सुरक्षा व्यवस्थामा सुधार आवश्यक रहेकाे बताएका छन् ।

जेनजी आन्दोलनपछि प्रहरी प्रशासनकाे प्रतिष्ठा बढेकाे बताए । विकास बजेटमा कमिसनकाे खेल हुँदै आएकाेले हरेक वर्ष निर्माण भएका बाँधहरू भत्किनुपर्ने अवस्था सिर्जना हुने गरेको उनको भनाइ थियाे ।
छोटी भन्सार सञ्चालनमा नआउँदा स्थानीय व्यवसायीहरू समस्यामा परेकाे तथा बम नाहर सञ्चालनमा नआएर किसानहरू वर्षौंदेखि मर्कामा परिरहेकाे उनले उल्लेख गरिन् । त्यसैगरी क्षेत्रमा राम्रो अस्पतालकाे अभाव, शिक्षामा पछाडि र सेवा–सुविधामा स्थायी सुधार नआएको उनले बताए ।
बौधीमाई नगरपालिकामा जेनजी टिमद्वारा आयोजित भेलामा युवाहरूकाे उत्साहपूर्ण सहभागीता थियो । कार्यक्रमका सहभागीहरूले क्षेत्रका समस्या समाधानका लागि नयाँ नेतृत्व आवश्यक रहेको बताएका थिए ।








