हनुमत कुमार यादव,गाैर,२७ गते पुस ।
गाैर । राष्ट्रिय एकता दिवसको अवसरमा रौतहट जिल्लाको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल गौरमा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । अस्पतालका अध्यक्ष अवधेश यादवको सक्रियतामा आयोजित उक्त कार्यक्रम अस्पताल प्रशासनको समन्वयमा विभिन्न सामाजिक संघ–संस्था, स्वास्थ्यकर्मी तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो ।
कार्यक्रममा अस्पतालका चिकित्सक तथा कर्मचारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी र सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका थिए । रक्त अभावका कारण बिरामीहरूलाई उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले आपतकालीन अवस्थामा उपचाररत बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रादेशिक अस्पताल गौरका अध्यक्ष अवधेश यादवले रक्तदान मानव जीवनसँग प्रत्यक्ष जोडिएको महान् कार्य भएको उल्लेख गर्दै भने, “रक्त अभावकै कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो उद्देश्य रहेको बताए । राष्ट्रिय एकता दिवसजस्तो महत्वपूर्ण दिनमा आयोजित यस कार्यक्रमले समाजमा मानवीय सेवा र एकताको सन्देश प्रवाह गर्छ भन्ने कुरा व्यक्त गरे । उनले यस्ता कार्यक्रमलाई विभिन्न पालिका, संघ-संस्था, सकृय युवा संग समन्वय गरी निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।
त्यसैगरी कार्यक्रममा मन्तव्य राख्दै मे.सु. मुरारी ठाकुरले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “रक्तदान महादान हो । थोरै समय र इच्छाले अरूको जीवन बचाउन सकिन्छ । यस किसिमका कार्यक्रमले स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै समाजमा सहयोगको भावना मजबुत बनाउँछ ।
प्रादेशिक अस्पताल गौरका व्यवस्थापन पक्षले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै भविष्यमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । राष्ट्रिय एकता दिवसको अवसरमा सम्पन्न यस रक्तदान कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आपसी सहकार्य र एकताको भावना अभिवृद्धि गरेको वे. स. स. ओमप्रकाश साह मधेशीयाको भनाइ रहेको छ ।








