आरके श्रीवास्तव,राैतहट,२६ गते माघ ।
रौतहट । रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार तथा पूर्वमन्त्री गोविन्द चौधरीले देवाहीगोनाही नगरपालिका–९ धरहरीमा आयोजित चुनावी विशेष कोणसभालाई सम्बोधन गरेका छन् ।
मतदाता भेटघाटपछि आयोजित सभालाई सम्बोधन गर्दै चौधरीले जनताको आग्रह र चाहनाअनुसार आफू उम्मेदवार बनेको स्पष्ट पारे । उनले भने, “जनताको विश्वास र आग्रहकै कारण म उम्मेदवारी दिएको हुँ । तपाईंहरू निश्चिन्त रहनुहोस्, यो लडाइँको अन्तिम छोरसम्म म डटेर उभिनेछु ।”

आफूलाई सहयोग र साथ आवश्यक रहेको बताउँदै उनले मतदातासँग भावुक अपिल गरे । “यस्तो नहोस् कि म अगाडि बढूँ तर पछाडि कुनै सेना नै नरहोस्,” भन्दै उनले मतदातासँग साथ र समर्थन मागे ।
चौधरीले आगामी दिनमा आफूविरुद्ध विभिन्न किसिमका जालझेल, भ्रम र दुष्प्रचार हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे । “कुनै पनि गलत हल्ला, बदनामी वा दुष्प्रचारमा विश्वास नगर्नुहोला,” उनले भने ।
आफ्नो राजनीतिक जीवनबारे उल्लेख गर्दै उनले ३५ वर्षअघि जस्तै अहिले पनि आफू इमानदार रहेको दाबी गरे। “अलिकति बुढो भएको छु, तर तपाईंहरू साथमा हुनुहुन्छ भने म पहाड र बाघसँग पनि लड्न तयार छु,” भन्दै उनले आत्मविश्वास व्यक्त गरे ।

आफूमाथि ‘विकाउ भएको’ भन्ने हल्ला फैलाउने प्रति लक्ष्यित गरि प्रतिक्रिया दिँदै चौधरीले भने, “मभन्दा बढी सम्पत्ति कसको छ ? कसैलाई मसँग आँखा जुधाउने हैसियत छैन् । त्यसैले यस्ता हल्लामा विश्वास नगर्नुहोला ।”
विकास निर्माणका सन्दर्भमा उनले २०४८ सालमा निर्वाचित भएपछि गरुडा–झाझपुल–कटहरिया सडक खण्ड निर्माण गराउन सफल भएको बताए । साथै गरुडामा श्रीराम सुगर मिल गरूडामा आफूले स्थापना गराएको दाबी गर्दै त्यससम्बन्धी भ्रम फैलाइएकोप्रति आपत्ति जनाए ।

सभाको अन्त्यमा चौधरीले दुवै हात जोड्दै मतदातासँग आफूलाई जिताउन आग्रह गरे । “यसपटक आर–पार नै होस्,” भन्दै उनले आफ्नो पक्षमा मतदान गर्न अपिल गरे । कार्यक्रममा अन्य वक्ताहरूले पनि चाैधरी नै राैतहट ३ मा परिवर्तन मजबुत जग भएको भन्दै छाताछापमा मतदान गर्न आग्रह गरेका थिए ।








