बज्जिकाञ्चल संवाददाता,महाेत्तरी,२२ गते माघ ।
महोत्तरी क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) की उम्मेदवार डा. मिनाक्षी ठाकुरको नेतृत्वमा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । जसपा नेपालको आयोजनामा सम्पन्न उक्त भेलामा पार्टी संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था, आगामी रणनीति तथा जनआधारित कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको थियो ।
भेलामा डा. मिनाक्षी ठाकुरले क्षेत्र नम्बर ३ का जनताको मुद्दा, मधेसको अधिकार, समानता र समावेशी लोकतन्त्रका लागि जसपा नेपाल प्रतिबद्ध रहेको स्पष्ट पार्दै संगठनलाई स्थानीय तहसम्म अझ मजबुत बनाउने आवश्यकता औँल्याइन् । उनले पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट भई जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रमलाई तीव्रता दिन आग्रह गरिन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले पनि संगठन विस्तार, कार्यकर्ताको सक्रिय भूमिका र जनताको पक्षमा दृढतापूर्वक उभिनुपर्नेमा जोड दिए । वक्ताहरूले मधेस, पहिचान, समान अधिकार र समावेशी लोकतन्त्रको एजेन्डालाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेलामा मधेस प्रदेशकी शिक्षा मन्त्री रानी शर्मा तिवारी, जसपा नेपालका नेता रामकुमार शर्मा, युवा नेता अजय झा लगायत स्थानीय अगुवा तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूको व्यापक उपस्थितिले महोत्तरी–३ मा डा. मिनाक्षी ठाकुरप्रति बढ्दो समर्थन र जसपा नेपालको राजनीतिक माहौल मजबुत बन्दै गएको संकेत गरेको आयोजकले जनाएको छ ।
भेलाले संगठनात्मक एकता सुदृढ गर्ने, स्थानीय तहसम्म पार्टीको प्रभाव विस्तार गर्ने र आगामी राजनीतिक चुनौतीहरूलाई सामूहिक रूपमा सामना गर्ने निष्कर्ष निकालेको छ ।








