आरके श्रीवास्तव,मधेस,२४ गते माघ ।
महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत एकडारा गाउँपालिका–३ भटौलियामा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा स्तरीय भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । जसपा नेपालकी प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार डा. मिनाक्षी ठाकुरको अगुवाइमा सम्पन्न कार्यक्रममा बोल्दै उनले जनताको अधिकार, सम्मान र समावेशी विकासका लागि जसपा नेपाल निरन्तर संघर्षरत रहेको बताइन् । “राजनीति पद र शक्तिका लागि होइन, जनताको जीवन परिवर्तनका लागि हुनुपर्छ,” भन्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

डा. ठाकुरले मधेसका समस्या बुझ्ने र समाधान गर्न सक्ने पार्टी जसपा नेपाल मात्रै भएको दाबी गर्दै संविधानमा भएको त्रृटि सच्याउन, संघीयताको सुदृढीकरण र सामाजिक न्यायका लागि सबैलाई एकजुट हुन आग्रह गरिन् ।
कार्यक्रममा जसपा नेपालकी उपाध्यक्ष तथा शिक्षा मन्त्री रानी शर्मा तिवारी, महासचिव रामकुमार शर्मा, युवा नेता प्रदीप पाठक लगायतका नेताहरूको उपस्थिति रहेको थियो । उनीहरूले पार्टीको नीति, कार्यक्रम र भावी कार्यदिशाबारे प्रष्ट पार्दै कार्यकर्ता तथा अगुवा नेताहरूलाई संगठन मजबुत बनाउन आह्वान गरे ।
भेलामा स्थानीय अगुवा नेता तथा कार्यकर्ताहरूले पार्टीप्रति प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा जसपा नेपालको जित सुनिश्चित गर्न सक्रिय रूपमा लाग्ने संकल्प व्यक्त गरेका थिए । कार्यक्रम अन्ततः अगुवा नेता तथा कार्यकर्ताबीच छलफलसहित भेला समापन गरिएको थियो ।








