२०८२ फाल्गुन २०
२०८२ फाल्गुन २०

मधेश राजनीतिमा नयाँ अध्याय: लोसपा–जसपा एकीकरण, ठाकुर संरक्षक र यादव अध्यक्ष

काठमाडौँ,२७ गते पुस । 

नेपाली राजनीतिक इतिहासमा आज एक महत्वपूर्ण मोड आएको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा, नेपाल) बीच औपचारिक एकीकरण सम्पन्न भएको छ । लामो समयदेखि अलग–अलग धारमा रहेका मधेश केन्द्रित दुई प्रमुख शक्तिहरूको यो एकीकरणलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।

एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहनेछ । पार्टीको चुनाव चिन्ह छाता रहनेछ भने झण्डा रातो, सेतो र हरियो रंगको रहने सहमति भएको छ, जुन यसअघि लोसपा, नेपालले प्रयोग गर्दै आएको झण्डा हो । झण्डाको बीच भागमा ढल्किएको छाता रहने व्यवस्था गरिएको छ ।

एकीकरणसँगै महन्थ ठाकुर पार्टीको संरक्षक र उपेन्द्र यादव पार्टीको अध्यक्ष रहने सहमति भएको छ ।

मिति २०८२ साल पुस १३ गते दुवै पार्टीबीच सहमति भई एकीकरण गर्ने संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो । सोही विज्ञप्तिलाई आधार मानी एकीकरण प्रक्रिया अगाडि बढाइएको हो। एकीकरणसम्बन्धी सम्पूर्ण प्रक्रिया राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुन अनुसार सञ्चालन गरिने उल्लेख गरिएको छ।

एकीकृत पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । सो समितिले पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णय गर्ने अधिकार पाउनेछ । साथै, समितिले आफ्नै सदस्यहरूमध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ।

दुवै पार्टीका केन्द्रीय समिति पूर्ण रूपमा समायोजन नहुन्जेलसम्म केन्द्रीय समन्वय समिति नै पार्टीको सर्वोच्च निर्णायक निकाय रहनेछ । पार्टी मातहतका सबै तहका संगठन, भ्रातृ संगठन, शुभेच्छुक संगठन, विभाग तथा संयन्त्रहरू केन्द्रीय समन्वय समितिको निर्णयअनुसार जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही क्रियाशील रहनेछन् ।

आगामी मिति २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन का लागि पेश गरिने उम्मेदवारको मनोनयन पत्रमा केन्द्रीय समन्वय समितिको निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमति भएको छ ।

केन्द्रीय समन्वय समितिमा महन्थ ठाकुर, उपेन्द्र यादवसहित विभिन्न समुदाय, क्षेत्र र पृष्ठभूमिका ४३ जना नेताहरूलाई समेटिएको छ, जसले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

यो एकीकरणले मधेश आन्दोलन, समावेशिता, संघीयता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ । विभाजित शक्तिहरू एक ठाउँमा आउँदा राष्ट्रिय राजनीतिमा जनता समाजवादी पार्टी, नेपालको भूमिका थप प्रभावशाली हुने नेताहरूको दाबी छ ।

आज सम्पन्न यो एकीकरणलाई मधेश केन्द्रित राजनीतिमा नयाँ अध्यायको सुरुआतका रूपमा हेरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।