प्रेमचन्द्र झा,राैतहट,माघ २६ गते ।
रौतहट। बौधिमाई नगरपालिकाका मेयर प्रदीप यादवले स्वास्थ्यकर्मी अनिल साहलाई दुर्व्यवहार गरेको दाबी गर्दै स्वास्थ्यकर्मीहरूले विरोध जनाएका छन्। घटनाको विरोधमा सम्पूर्ण स्वास्थ्यकर्मीहरू आन्दोलनको तयारीमा रहन आह्वान गरिएको छ।
स्वास्थ्यकर्मीहरूले मेयर यादवको व्यवहारलाई आपत्तिजनक र कर्मचारीको मर्यादाविपरीत भएको बताएका छन्। “कुनै पनि जनप्रतिनिधिले कर्मचारीमाथि दुर्व्यवहार गर्न पाउँदैन,” भन्दै उनीहरूले उक्त कार्य अस्वीकार्य भएको स्पष्ट पारेका छन्।
स्वास्थ्यकर्मी पक्षले बौधिमाई नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य संयोजक समयमै कानुनको दायरामा नल्याए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। साथै, विभिन्न संघ–संगठनहरूसँग समन्वय भइरहेको र त्यसकै आधारमा आगामी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ।
यस विषयमा नगरपालिकाको तर्फबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।








