आरके श्रीवास्तव,रौतहट,१२ गते चैत ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा समुदाय स्तरमा देखिने नसर्ने रोग सम्बन्धी पालिका स्तरीय जनचेतनामूलक अभिमूखिकरण गोष्ठी सम्पन्न भएको छ ।
बिहीबारका दिन वडा नम्बर–८ स्थित माध्यमिक विद्यालय विजयपुरको सभाहलमा स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रममा रक्तचाप (ब्लडप्रेसर), मधुमेह (चिनी रोग), दम, क्यान्सर लगायतका नसर्ने रोगबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद गुप्ताले नसर्ने रोगको कारण, लक्षण तथा यसबाट बच्ने उपायबारे सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
उहाँले असन्तुलित खानपान, शारीरिक व्यायामको कमी, धूम्रपान तथा मदिरा सेवन जस्ता कारणले यस्ता रोगको जोखिम बढ्ने बताउँदै स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो ।
स्वास्थ्य सह– संयोजक रमेश यादवले यसले सामुदाय स्तरमा यस कार्यक्रम मार्फत राम्रो प्रभाव हुने र यसबाट जोगिन यसबारे सबैलाई जानकारी लिनुपर्ने र सचेत हुनु जरुरी रहेको देखिन्छ ।
उक्त कार्यक्रममा नगरका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, पालिकाका शाखा प्रमुखहरु , पत्रकारहरु लगाएत सरोकारवालाहरुको उल्लेखनीय सहभागीता रहेका थियोे ।
कार्यक्रममार्फत समुदायमा नसर्ने रोगबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको स्वास्थ्य शाखाले जनाएको हो ।







