बज्जिकाञ्चल संवाददाता,राैतहट,०७ गते फाल्गुन ।
रौतहटको गरुडास्थित वंशीराम जयसवाल अनाथालयमा एक भारतीय महिलाले खाद्यान्न, कपडा र नगद सहयोग गर्नुभएको छ । अनाथालयलाई भारतको हैदरावादकी नीरु लाठले खाद्यान्न, कपडा तथा नगद सहयोग गर्नु भएको हो ।
रौतहटको सदरमुकाम गौर माइती भई भारत बिहार प्रान्तको सीतामढी जिल्लाको सुरसंड भन्ने ठाउँमा स्थायी घर भएकी तर हैदरावादमा रहँदै आउनु भएकी लाठले मातापितासहित विहीवार अनाथालय पुगेर अनाथहरुलाई २४ थान सुट, ५ कार्टुन चाउचाउ, २ कार्टुन बिस्कुट, २ कार्टुन फलफूलको जुस, एक बोरा चामल तथा एक बट्टा चकलेट प्रदान गर्नु भएको छ ।
लाठका पिता तथा गौरका समाजसेवी पवनकुमार जयसवालले अनाथालयका अध्यक्ष भुवनेश्वर राम जयसवाललाई नगद २ हजार ५ सय रुपैया पनि उपलब्ध गराउनु भएको छ । अनाथालयका व्यवस्थापक कृष्णकुमार साहसित लाठकी आमा मीरादेवी अग्रवालले कुनै समस्या भए बताउन आग्रह गरेपछि अनाथालयमा रहेका अनाथहरु तथा अनाथालयमा आउने पाहुनाहरुका लागि केही थान कुर्सी चाहिएको बताउनु भएको थियो । अनाथालयमा देखिएको अभावलाई टार्न मीरादेवी अग्रवालले तत्काल ३० थान कुर्सी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
गौरमा अग्रवाल समुदायका अगुवा समाजसेवी रहेका पवनकुमार अग्रवालले पहिलोचोटि अनाथहरुलाई भेट्न पाउँदा आफू द्रविभूत भएको बताउनु भएको छ । हैदरावादबाट आएकी छोरीको इच्छाअनुसार अनाथहरुलाई सहयोग गर्न आएको उहाँको भनाइ छ । मारवाडी सेवा समिति गौरका अध्यक्षसमेत रहनु भएका अग्रवालले आगामी दिनमा अनाथहरुलाई अझ बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । धार्मिक प्रवृत्तिका अग्रवालले अनाथहरुको मुहारमा खुसी ल्याउने काम गर्न पाउँदा भित्रैदेखि सन्तोषको भाव जागेको बताउनु भएको छ ।
उक्त अवसरमा अनाथालयका सचिव गणेशकुमार साह, गौरका समाजसेवी विष्णु झासमेतको सहभागिता रहेको थियो । अनाथहरुको हातमा फलको जुस तथा कपडा उपलब्ध गराउँदा आफ्नो मनमा निकै खुसी लागेको नीरु लाठको अनुभव रहेको छ ।







