हनुमत कुमार यादव,राैतहट,०१ गते भदौ ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा पछिल्लो समय विद्युत मोटर लगायतका कृषिसम्बन्धी उपकरण चोरी हुने घटनाहरू तीव्ररूपमा बढिरहेका छन् । चोरीको शिकार भएका किसानहरूले बारम्बार प्रहरी चौकीमा उजुरी दिएका भए पनि सुरक्षा निकायबाट कुनै ठोस पहल नहुनुमा उनीहरू थप चिन्तित बनेका छन् ।
माधवनारायण–२, खेसरहिया स्थित श्रीराम चोकदेखि दक्षिण–पश्चिम दिशामा रहेको खेसरहिया चौरमा किसान महिन्द्र राय यादव को खेतमा हालसम्म तीन पटक मोटर चोरी भएको छ । पहिलो पटक २०७६ सालमा, दोस्रो पटक २०८१ सालमा र हालै २०८२ साल साउन ३१ गते राति तेस्रोपटक विद्युत मोटर चोरी भएको हो । ती मोटरहरू यादवले आफ्ना खेत सिँचाइका लागि खरिद गरेका थिए ।
पीडित यादव भन्छन्, “हामीले दिन–रात मेहनत गरेर मोटर किनेका हौं, खेती हाम्रो जीविकोपार्जनको आधार हो। अब बारम्बार चोरिने भयो भने हामी कसरी टिक्ने?”
किसानहरूका अनुसार, यस्ता चोरीका घटना यस क्षेत्रका अन्य स्थानमा पनि भइरहेको छ। तर, सम्बन्धित सुरक्षा निकाय – सुकदेव चेक प्रहरी चौकी लगायतका निकायहरूमा पटक–पटक उजुरी दिँदा समेत कुनै अनुसन्धान अघि बढाइएको छैन् ।
स्थानीय कृषकहरूको गुनासो छ कि समाजमा यस्ता विकृति बढ्दो रहेको बेलामा जिम्मेवार निकाय मौन बस्नु दुःखद पक्ष हो। उनीहरूले प्रहरी प्रशासनसँग तत्काल कारवाहीको माग गर्दै चोरी नियन्त्रणमा कडा कदम चाल्न आग्रह गरेका छन् ।
क्षेत्रका किसानहरूले सामूहिक रूपमा चोरी रोकथामका लागि सीसीटीभी जडान र रात्रीकालीन गस्तीको व्यवस्था मिलाउन आग्रह गर्दै स्थानीय तह तथा प्रशासनसँग समन्वय गर्न सुरु गरेका छन् ।








