काठमाडौं, १८ असोज – अविरल वर्षाको कारण काठमाडौं उपत्यकासहित देशभर जनजीवन प्रभावित भएको छ । प्रमुख राजमार्गहरू अवरुद्ध हुनुका साथै पहिरो र डुबानका घटनाले जोखिम बढेसँगै जनता त्रसित बनेका छन् ।
यस्तै विपद्को समयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता शरतसिंह भण्डारीले सबै नागरिकलाई सुरक्षाका लागि घरमै बस्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै भण्डारीले भनेका छन्, “सम्भव भए दुई दिन घरमै बसौं।”
उनले देशका विभिन्न भागमा लगातार भइरहेको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको भन्दै नागरिकहरूलाई सतर्क रहन र एकअर्कालाई सक्दो सहयोग गर्न अनुरोध गरेका छन् ।
“देशका प्रमुख राजमार्गहरू जोखिमपूर्ण छन् । जो जहाँ हुनुहुन्छ, कृपया सुरक्षीत रहनुहोस्,” भण्डारीले भनेका छन् ।
सरकार तथा सम्बन्धित निकायहरूले समेत विपद्को अवस्थामा आवश्यक सतर्कता अपनाउन र जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न अनुरोध गरिएको छ । हाल देशका विभिन्न स्थानमा पहिरो, डुबान र सडक अवरोधका समाचार आइरहेका छन् ।








