रामअधार प्रसाद यादव,रौतहट, १६ फागुन ।
रौतहट क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुनम यादवले सन्तपुरलाई समग्र विकाससहितको नमुना बस्तीका रूपमा विकास गर्ने अठोट व्यक्त गर्नुभएको छ। फतुवा विजयपुर नगरपालिका–५ स्थित सन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले युवाकेन्द्रित पूर्वाधार, दिगो विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट गर्नुभयो।

उहाँका अनुसार सन्तपुरमा आधुनिक सुविधासहितको क्रिकेट रंगशाला निर्माण गरिनेछ, जसले युवालाई खेलकुदतर्फ आकर्षित गर्दै सकारात्मक ऊर्जा सिर्जना गर्नेछ। साथै स्थानीय खेल प्रतिभा उत्पादनका लागि आवश्यक वातावरण निर्माण गरिने बताउनुभयो।
वर्षायाममा हुने जलजमाव, दुर्गन्ध तथा त्यसबाट उत्पन्न स्वास्थ्य जोखिम समाधानका लागि आधुनिक नाला तथा ढल व्यवस्थापन प्रणाली लागू गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

त्यसैगरी गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी, सरसफाइ, स्वास्थ्य सेवामा सहज पहुँच तथा स्थानीय स्तरमै रोजगारीका अवसर विस्तार गर्ने दीर्घकालीन योजना कार्यान्वयन गरिने उहाँको भनाइ छ।
“विकास कागजमा सीमित हुनुहुँदैन, जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुनुपर्छ,” भन्दै यादवले जनताको आवश्यकता र स्थानीय सम्भावनालाई केन्द्रमा राखी पारदर्शी तथा योजनाबद्ध रूपमा विकासका कार्यक्रम सञ्चालन गर्ने विश्वास दिलाउनुभयो।
सन्तपुरसहित समग्र क्षेत्रलाई पूर्वाधार, खेलकुद, शिक्षा र रोजगारीको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यका साथ आफू चुनावी मैदानमा उत्रिएको उहाँले उल्लेख गर्नुभयो।







