आरके श्रीवास्तव,राैतहट,असाेज १७ गते ।
रौतहटको मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरस्थित बकैया नदीमा बाढी छिर्ने खतरा बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी दिनहरूमा नदीमा पानीको बहाव तीव्र हुने प्रक्षेपण गरे पनि सम्बन्धित सरकारी निकायहरू आवश्यक सतर्कता नअपनाएकोमा स्थानीयहरू चिन्तित भएका छन् ।
नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन् । उनले चेतावनी दिँदै भनेका छन्, “यदि समयमा बाँधको मर्मतसम्भार नगरिएको खण्डमा मर्यादपुर क्षेत्रमा ठुलो जनधनको क्षति हुन सक्छ।”
झाले थप भने, “अहिलेको अवस्थामा पनि नदीको बहावले धेरै स्थानमा कटान गरिरहेको छ । स्थानीय बासिन्दाहरू त्रासमा छन्, तर सम्बन्धित निकाय कानमा तेल हालेर बसेका छन्।”
स्थानिय बासिन्दाले वर्षेनी आउने वाढीबाट पीडित हुँदै आएका छन् । बाँधको अवस्थालाई ध्यानमा राख्दै अहिले नै पूर्वतयारीमा जुटिनुपर्नेमा जोड दिएका छन् ।
हालसम्म जिल्ला प्रशासन कार्यालय वा बाढी नियन्त्रण तथा निकास व्यवस्थापनका लागि जिम्मेवार सरकारी निकायबाट कुनै ठोस कदम चालिएको छैन् । स्थानीयहरूले तत्काल राहत तथा बाँध मर्मत कार्य अघि बढाउन सरकारसँग माग गरेका छन् ।
तस्बिर क्रान्तिद्वार डट कम









