जनकपुरधाम, कार्तिक २० गते ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ ले राष्ट्रव्यापी रुपमा संचालन हुन गइरहेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सबैलाई सहयोग गर्न अपिल गर्नुभएको छ ।
मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी अपिलमा भनिएको छ कि कार्तिक २० र २१ गते देशव्यापी रूपमा सञ्चालन हुने कार्यक्रममा मधेश प्रदेशका सबै स्थानीय तहका वडाहरूमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागितामा ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि (अलवेन्डाजोल ट्याबलेट) खुवाइनेछ ।
मुख्यमन्त्री सोनारले प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका सबै निकाय, स्थानीय तह र सरोकारवालाहरूलाई यस कार्यक्रमलाई पूर्ण सफल बनाउन आवश्यक सहयोग र समन्वय गर्न आग्रह गर्नुभएको छ ।
भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने यो राष्ट्रिय अभियानले बालबालिकामा कुपोषण, रगतअल्पता, दृष्टि समस्या तथा जुकाको असर घटाउनेमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।








