आरके श्रीवास्तव,राैतहट,२२ गते मंसिर ।
राैतहट । मधेस प्रदेशका नव–नियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली काँग्रेसले सदियौँदेखि प्रजातन्त्र स्थापनादेखि विकास निर्माणसम्म उठाएका कदमहरू सफलतापूर्वक कार्यान्वयन हुँदै आएको बताएका छन् । कटहरियामा आयोजित शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसका काम र प्रतिबद्धतामाथि प्रदेशवासीले विश्वास गर्नुपर्ने धारणा राखेका छन् ।
मुख्यमन्त्री यादवले भने, “नेपाली काँग्रेस त्यति नै बोल्छ, जति गर्छ । हामी अरूजस्तो हावादारी पार्टी होइनौं । जनताको दुःख–सुखमा सदैव साथ दिन हामी प्रतिबद्ध छौँ।” उनले जनताको आवश्यकतालाई पहिचान गर्दै छलफल र संवादमार्फत काम गर्ने आश्वासन पनि दिए ।
कार्यक्रममा नेपाली काँग्रेस रौतहट क्षेत्र नम्बर ३ का सभापति तथा कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले कटहरियामा ईलाका प्रशासन कार्यालय र मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिदिन आग्रह गरेका थिए । सो अनुरोधबारे मुख्यमन्त्री यादवले प्रक्रिया मिलाइ अध्ययन गरी छिटो सेवा केन्द्र ल्याउन पहल गर्ने प्रतिबद्धता जनाए ।

कटहरियामा भएको कार्यक्रमले स्थानीयस्तरमा प्रशासनिक सेवा विस्तारप्रति आशा दिलाएको सहभागीहरूले बताएका छन् । साे कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ता र शुभचिन्तकहरूले फुलमाला र गमछा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए । साे कार्यक्रममा मधेस प्रदेश सरकारका पूर्व अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र) ,नव नियुक्त मन्त्री जंगी राय यादव सहितका नेताहरू सहभागी रहेका थिए ।








