सागर संगम ठाकुर,रौतहट, मंसिर १७ गते
रौतहटको देवाही गोनाही नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै भव्य रूपमा मनाइएको छ। तराई एकता अपाङ्ग संघको आयोजना तथा देवाही गोनाही नगरपालिकाको सहयोगमा नगरपालिका भवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम संस्थाका अध्यक्ष अजय कुमार यादवको अध्यक्षतामा भएको थियो भने देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भयो। अपाङ्गता समावेशी समाजको प्रतिबद्धता, सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा अध्यक्ष यादवले दिवसका उद्देश्य र महत्वबारे जानकारी गराउनुभयो।

सो अवसरमा प्रमुख अतिथि नगर प्रमुख साहले नगरपालिकाभित्र रहेका अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई २५ वटा ह्विलचेयर यसै हप्ता वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो।कार्यक्रममा वक्ताहरूले नेपाल सरकारले संविधानमार्फत अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा, आत्मसम्मानको जीवन र सार्वजनिक सेवा–सुविधामा समान पहुँचको हक सुनिश्चित गरे पनि व्यवहारमा त्यसको पूर्ण कार्यान्वयन हुन बाँकी रहेको भन्दै आवाज उठाएका थिए।








