जनकपुरधाम, कात्तिक १८ गते – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले सप्तरी जिल्लाको विभिन्न क्षेत्रमा फैलिएको झाडापखालाको बढ्दो जोखिमप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै स्वास्थ्य सेवा सुदृढीकरणका लागि तत्काल कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
मिति २०८२ साल कात्तिक १५ गतेदेखि छिन्नमस्ता गाउँपालिका क्षेत्रमा झाडापखालाका बिरामी देखिन थालेपछि मुख्यमन्त्री सोनलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका सचिव, सप्तरीका प्रमुख जिल्ला अधिकारी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिद्यानन्द चौधरी र स्वास्थ्य कार्यालय सप्तरीका प्रमुखसँग प्रत्यक्ष छलफल तथा टेलिफोन वार्ता गरी तत्कालीन नियन्त्रण योजना कार्यान्वयनमा जोड दिएका हुन् ।
मुख्यमन्त्री सोनलले बिरामीहरूको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, आवश्यक औषधि, रोग निदानका उपकरण तथा स्वास्थ्य सामग्री तुरुन्तै उपलब्ध गराउन निर्देशन दिएका छन् । साथै, उनले जनचेतना अभिवृद्धिका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई पनि आदेश दिएका छन्।
प्रदेश सरकारले झाडापखालाको जोखिम बढ्दै गएमा स्वास्थ्य विज्ञ टोलीसहित जनशक्ति परिचालन गर्न तयारी अवस्थामा रहेको जनाएको छ ।
मुख्यमन्त्री सोनलले भने, “जनताको स्वास्थ्य नै पहिलो प्राथमिकता हो। प्रदेश सरकार नागरिकको स्वास्थ्य सुरक्षाका लागि सबै आवश्यक सहयोग र स्रोत साधन उपलब्ध गराउन प्रतिबद्ध छ ।”
प्रदेश सरकारले महामारी नियन्त्रणका लागि प्रदेश र स्थानीय तहबीच समन्वयात्मक कार्ययोजना कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।








