आरके श्रीवास्तव,राैतहट,असाेज १३ गते ।
राैतहटकाे गरूडामा चलिरहेको मेयर कप सिजन ४ मा जयनगर क्रिकेट टिम र गरूडा ४ क्रिकेट टिमबीच सम्पन्न भएको क्रिकेट प्रतियोगितामा जयनगर टिमले २३ रनको शानदार जीत हात पारेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको जयनगरले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १३२ रनको चुनौतीपूर्ण स्कोर खडा गर्यो ।
जयनगरका कप्तान अरविन्द चौधरीले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै ३२ बलमा ६ चौका र ४ छक्का सहित ६२ रनको महत्वपूर्ण योगदान दिए । बलिङमा समेत उत्कृष्ट प्रदर्शन गर्दै उनले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिएका थिए ।

दोस्रो इनिङमा गरूडा ४ टिमले १८ ओभर ३ बलमै १०९ रनमा समेटिँदै हार बेहोर्नुपर्यो । कप्तान उमेश पटेलको नेतृत्वमा प्रयास गरिए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । जयनगरका बलरहरूको कसीलो बलिङ र कुशल फिल्डिङका कारण गरूडा ४ को ब्याटिङ धरासायी भयो ।
ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गरेका जयनगरका कप्तान अरविन्द चौधरीलाई “म्यान अफ द म्याच” घोषित गरिएको छ ।
आईतवार सम्पन्न पहिलो खेलमा गेडही गुठ्ठी टिमले गरुडा यूथ क्लबलाई १६९ रनको फराकिलो अन्तरले पराजित गर्दै सशक्त सुरुवात गरेको थियो ।
खेलमा जित हात पारेपछि गरूडा नगरपालिका १ का वडा अध्यक्ष शेेख वहाबले टिमका खेलाडीहरू लाई हाैशला प्रदान गर्दै बधाई तथा शुभकामना दिएका छन् ।








