आरके श्रीवास्तव,राैतहट,१८ गते कार्तिक ।
रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले तलब–भत्ताको माग गर्दै सुरु गरेको आन्दोलन सातौं दिनमा पुगेको छ । तलब–भत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्ट कर्मचारीहरूले बुधबारदेखि वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय र नगरपालिकाको मुख्य कार्यालयमा तालाबन्दी गरी धर्ना कार्यक्रम जारी राखेका छन् ।
नगरपालिकाको कटहरिया–६ स्थित फत्तेपुर आधारभूत स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी रामविनोद राय यादवले भने, “पहिलो चरणको आन्दोलनमा आश्वासन पाएर रोकिएका थियौं, तर यसपालि भने निर्णायक आन्दोलनका लागि निस्किएका हौं।”
कर्मचारी प्रमोद कुमार गुप्ताले अधिकांश कर्मचारीको दुई वर्षभन्दा बढीको तलब बाँकी रहेको बताए। “मेरो करिब तीन वर्षको तलब बाँकी छ,” उनले भने, “अब हामी तलब पाएरै छाड्छौं।”
त्यसैगरी, रामानन्द पासवानले नगरपालिकाले कर्मचारीको दुःखप्रति गम्भीरता नदेखाएको भन्दै असन्तुष्टि जनाए । “झुठा आश्वासन मात्रै पायौं,” उनले भने। रञ्जित कुमार रामले भने, “मेरो २८ महिनाको तलब बाँकी छ, तर नगर प्रमुख अजयप्रकाश जयसवालको कुनै अत्तोपत्तो छैन।”
कटहरिया–८ मा कार्यरत मुकुन्द यादवले आन्दोलनको मूल कारण नै नगर प्रमुख भएको आरोप लगाए। “सबै समस्या जयसवालकै कारण भएको हो, अब उहाँले नै यसको समाधान गर्नुपर्छ,” उनले बताए।
कर्मचारी मुकेश कुशवाहाले भने, “मेयर साहेबले तिहारअघि तलब दिने भनेर प्रतिबद्धता गर्नुभयो, तर अहिलेसम्म पाएका छैनौं।”
उता, कटहरिया नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष समिश विक्रम शाहले पनि आन्दोलनरत कर्मचारीप्रति समर्थन जनाएका छन् । उनले भने, “गत वर्ष पनि तलब दिने निर्णय भएको थियो, तर कार्यान्वयन भएन् । हाकिमविहीन नगरपालिका छ अहिले । हामी पनि कर्मचारीको मागमा साथ छौं।”
तालाबन्दीका कारण अहिले नगरपालिकाका अधिकांश प्रशासनिक कार्यहरू ठप्प भएका छन् । नागरिकका महत्त्वपूर्ण काम प्रभावित भएका छन् । वडा अध्यक्ष शाहले समस्या चाँडो समाधान होस् भनेर आग्रह गरेका छन् ।
यस विषयमा प्रतिक्रिया लिन नगर प्रमुख अजयप्रकाश जयसवाललाई सम्पर्क गर्ने प्रयास गर्दा उनको मोबाइल स्विच अफ रहेको पाइएकाे छ ।








