आरके श्रीवास्तव,राैतहट,असाेज ०९ गते ।
राैतहटकाे कहटरिया बजारका नव दुर्गा पूजा समितिका युवाहरूले सामूहिक रूपमा इलाका प्रहरी कार्यालय कटहरियाको प्रांगणमा सरसफाइ गरेका छन् । समितिका अध्यक्ष सुनिल कुमार सोनी, उपाध्यक्ष अमित जयसवाललगायतका युवाहरूको नेतृत्वमा गरिएको उक्त अभियानले प्रहरी कार्यालयको वातावरण थप स्वच्छ र आकर्षक बनाएको छ ।

समितिका अध्यक्ष सोनीका अनुसार सरसफाइ अभियानसँगै प्रहरी कार्यालयमा रंगरोगनको काम पनि चाँडै सुरु गरिनेछ । “समाज र सुरक्षा निकायबीच समन्वय आवश्यक छ भन्ने सोचले हामीले यो अभियान थालेका हौं,” अध्यक्ष सोनीले बताए ।

ईलाका प्रहरी कार्यालय कटहरियाका इन्चार्ज सई धर्मेन्द्र पौडेलले समितिको यो पहलप्रति प्रशंसा व्यक्त गर्दै भने, “युवाहरूले देखाएको यो सामाजिक उत्तरदायित्वको भावना सराहनीय छ । यस्तो कामले प्रहरी र समुदायबीचको सम्बन्ध अझ बलियो बनाउँछ।”

उक्त सरसफाइ अभियानमा समितिका अन्य सदस्यहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो । अभियानले दुर्गा पूजाको सन्दर्भमा धार्मिक मात्र होइन, सामाजिक सरोकारप्रति युवाहरूको सक्रिय भूमिका झल्काएको छ ।








