आरके श्रीवास्तव,राैतहट,२७ गते मंसिर ।
रौतहट । रौतहटको वृन्दावन नगरपालिका–८ मा सञ्चालित कुन्ती इट्टा उद्योगमा आजदेखि भट्टी बाल्ने काम सुरु गरिएको छ । प्रहरी प्रशासनले इट्टा पोल्ने कार्य तत्काल सुरु नगर्न निर्देशन दिएपछि त्यहाँ कार्यरत कामदारहरू प्रतिकारमा उत्रिएका छन् ।
इट्टा उद्योगसँग आफ्नो रोजीरोटी प्रत्यक्ष रूपमा जोडिएको बताउँदै कामदारहरूले उद्योग सञ्चालनमा अवरोध नलगाउन माग गरेका छन् । इट्टा व्यवसायी संघले प्रहरी प्रशासनसँग मिलेर इट्टा पोल्ने कार्यमा रोक लगाउन खोजेपछि आफूहरू आक्रोशित बनेको कामदारहरूको भनाइ छ ।

उद्योगमा कार्यरत सबिर अन्सारीले भने, “मेरो पूरा परिवार यही इट्टा उद्योगमा निर्भर छ । यहाँ काम गरेर आएको पैसाले घर चल्छ । उद्योग चलेन भने तलब कहाँबाट पाउने ? परिवार कसरी पाल्ने ? प्रहरी र संघ मिलेर हामीमाथि दमन गर्न खोजिरहेका छन् । यदि उद्योग चल्न दिइएन भने हामी जे पनि गर्न तयार छौं ।”
कामदारहरूका अनुसार हाल आर्थिक मन्दीका कारण रोजगारीको अभाव छ । इट्टा उद्योग सञ्चालन भए सयौँ श्रमिकले रोजगारी पाउने उनीहरूको दाबी छ । सरकारले इट्टा सञ्चालनका लागि निश्चित समयसीमा तोकेको भए पनि मौसम प्रतिकूल भई पानी परेमा उद्योगीहरूले लाखौँ रुपैयाँको क्षति बेहोर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् । यस्तो क्षतिमा न त कतैबाट क्षतिपूर्ति पाइने, न त सहयोग नै हुने गरेको गुनासो छ ।
इट्टा उद्योग सञ्चालकहरूले सहयोग गर्न नसक्ने अवस्था भए कम्तीमा काम गर्न दिने वातावरण बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूले उद्योग सञ्चालनमा अनावश्यक अवरोध नलगाई श्रमिकको जीविकोपार्जनलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।








