२०८३ श्रावण ८
२०८३ श्रावण ८

 

काठमाडौं, २३ साउन ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दु:ख व्यक्त गरेका छन् । घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कार्वाही गर्ने र घाइतेको उचित उपचार गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका हुन् ।  म‌ंगलबार मन्त्रालयमा तामाङ घेदुङ र मगर संघका अध्यक्ष सहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिबद्धता जनाएका हुन् ।

तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कार्वाही गर्न उजुरी दिएपनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसर अगाडि धर्ना दिईएको थियो। सोही धर्नामा प्रहरी हस्तक्षेप हुँदा तीन दर्जन बढी धर्नाकारी घाइते भएका थिए।

 

सोही दिन पक्राउ अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौंको आदेशले रिहा भएपनि धर्नाकारीलाई भने प्रहरी हिरासतभित्र समेत चरम यातना दिईएको तामाङ घेदुङ र मगर संघले बताएकाे छ। मरणासन्न घाइते दर्जनौं महिला र पुरुष आन्दोलनकारीको उपचार जारी छ।

 

अधिवक्ता पाण्डेमाथि कारबाही, धर्ना र हिरासतमा यातना दिन आदेश दिने  प्रहरी अधिकारी तथा संलग्नमाथि कार्वाही तथा उचित क्षतिपूर्ति एवम् उपचारको माग गर्दै तामाङ घेदुङ र मगर संघले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र दिएका हुन्।
 

 

काठमाडौं, २३ साउन ।

संघीय संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन दल सहमत भएका छन् । बालुवाटारमा मंगलबार बसेको सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुबीच संसदको गतिरोध अन्त्य गर्न सहमत भएका हुन् ।

एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी दल एमाले अन्ततः सदन सुचारु गर्न सहमत भएको हो । सुन तस्करीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदनमा जवाफ दिने सहमतिसँगै एमाले सदनको अवरोध हटाउन सहमत भएको हो ।

बैठकपछि एमालेका सचेतक महेश बर्तौलाले मंगलबार बोलाइएको संसद् बैठकमा गृहमन्त्री श्रेष्ठले बोल्ने र बैठक पनि सञ्चालन हुने जानकारी दिए ।

‘संसदमामान्यज्यूहरुले आफ्नो धारणा राख्नुपर्नेछ । बाढी पहिरोको समस्या छ । लम्पी स्किनका विषय छन् । तमाम विषयले सदन चलाउनुपर्ने छ । उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएको स्थिति हुँदाहुँदै पनि आज गृहमन्त्रीज्यूले केही कुरा बताउँछु भन्नु भएकाके छ । आज बैठक अघि बढ्नेछ । गृहमन्त्रीको जवाफ सुन्छौँ,’ उनले भने ।

मंगलबार अपरान्ह ३ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

 

श्रावण २३, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

 

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् ।

 

प्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएका हुन् ।

 

काठमाडौं, २३ साउन ।

सदनको अवरोध हटाउन भन्दै सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणममा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल एमालेको मागको विषयमा कुराकानी भइरहेकको छ ।  उक्त माग राखेर केही दिनयता एमालेले लगाातार सदन अवरुद्ध गर्दै आएको छ ।

जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तथा यी दलका प्रमुख सचेतकहरू सहभागी छन् ।

यसअघि सोमबार पनि उनीहरुबीच छलफल भएको थियो । सहमति हुन नसकेपछि सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबार अपरान्ह ३ बजेका लागि साारिएको छ ।

काठमाडौं, २३ साउन । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

 

मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता गरेकी हुन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।

 

काठमाडौं, २३ साउन ।

प्रतिनिधिसभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।

 

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

 

उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।

 

साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसुची रहेको छ ।

 

 

 

काठमाडौं, २३ साउन ।

प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शिर्ष नेताहरु पुनः छलफलमा बस्ने भएका छन् ।

 

सुन प्रकरणमा छानबिन समिति बनाउने बिषयमा हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षमा पुग्न नसके पछि थप छलफलका लागि आज पुनः बैठक बस्न लागेका हुन ।

जस अनुसार आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान १० बजे बस्नेछ । प्रतिनिधिसभा बैठक ३ बजे बस्नु अघि प्रमुख दल बिच सहमति जुटाउने प्रयास स्वरुप सो बैठक बोलाईएको हो ।

 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देबराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उक्त बैठकमा रहने छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्विकार गरे पछि गत १२ साउन देखी नै संसद अबरुद्ध हुदैँ आएको छ । सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण यस अघिका कयौं बैठकहरु निष्कर्षमा निस्कन सकेका छैनन ।

 

आजको बैठकवाट निष्कर्ष निकाल्ने अपेक्षा शिर्ष नेताहरुले गरेका छन् ।

 

काठमाडौं २३ साउन ।

राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी भाद्र ७ र ८ गते काठमाडौंमा बोलाईएको छ ।

 

राप्रपा नेपाल पुनर्जागरण पश्चात् यो बैठक पार्टी जिबनको निमित्त अत्यन्तै महत्त्वपूर्ण रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

 

बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्र सहित जनआन्दोलनको खाका समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

“यो बैठक पार्टीको भाबी कार्यदिशा र कार्ययोजना सहित सैधान्तिक बैचारिक पक्षलाई थप स्पष्ट पार्दै अघि बढ्नेछ” महामन्त्री बर्तौलाले भने । संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि संघर्षको बाटो बैठकले तय गर्ने उनले बताए । विभिन्न ब्यक्ती, समूह, अभियान, पार्टीमा रहेका राष्ट्रबादी प्रजातान्त्रिक शक्तिलाई एकै ठाउँमा ल्याउन पार्टीले भरमग्दुर प्रयास गर्ने तथा राप्रपा नेपाललाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउन सबैको साथ , सहयोग र समर्थन लिने गरि पार्टीलाई अघि बढाइने कार्ययोजना प्रस्तुत हुने जनाईएको छ ।

 

बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र तथा आन्दोलनको खाका सहित महामन्त्री भाष्कर भद्राको सचिवालय सबन्धी प्रतिबेदन, महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धि प्रतिबेदन ,महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिबेदन ,कोषाध्यक्ष ज्ञानेन्द्र कार्किको आर्थिक प्रतिबेदन सहित राजसंस्थाको बारेमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले प्रतिबेदन पेश गर्नेछ। राप्रपा नेपालसङ्ग एकताको लागि सडक संघर्ष न्युनतम बटमलाईन रहने स्रोतले बताएको छ ।

 

 

काठमाडौं, २२ साउन ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पूर्वमन्त्री चन्द्रदेव जोशीले सरकारको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो पूरा समर्थन रहेको बताएका छन् ।

ललिता निवास प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित पूर्वभूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा पूर्वराज्यमन्त्री सञ्जय साहविरुद्ध पूर्जी जारी गरिएको छ । आइतबार मात्र सर्वोच्च अदालतले निर्णय र निर्णय प्रक्रियामा संलग्नहरूलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो । जसअनुसार तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईसमेत अनुसन्धानमा तानिने भएका छन् ।

 

तर, आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार बाहिरिएपछि सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत् पूर्वमन्त्री जोशीले सरकारको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो समर्थन रहेको र अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् ।

फेसबुकमा उनले लेखेका छन् :

वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा मेरो पुरै समर्थन छ । देशमा नासुरको रुपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो । लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ । अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ ।

तर समाचार माध्यमहरुमा आए अनुसार २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्री परिषदमा निर्णय हुँदा म मन्त्री पदमा थिइँन । मन्त्रिपदबाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ । म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्र तत्कालिन बाबुराम भट्टराई मन्त्रिपरिषदमा रहेको हुँ । म पछि तत्कालिन मन्त्रिपरिषदका अर्का सदस्य टोपबहादुर रायमाझीले मैले सम्हाल्दै आएको मन्त्रालय सम्हालेको जानकारी त्यसबखत पाएको हुँ । त्यसपछि मन्त्रिपरिषदको समाजिक समितिमा प्रस्ताव जाँदा समेत म मन्त्री पदमा थिइन । मैले मन्त्री पद छाडेपश्चात भएको कुनै पनि निर्णयबारे मलाई जानकारी छैन । पछिल्लो समय समाचार माध्यम नै मेरो जानकारीका श्रोत भएका छन् ।

यसअघि पनि पटक पटक जानकारी दिए अनुसार नै आदालतको दोस्रो ताकेता पछि अदालतको आदेश नमान्दा मानहानी गरिएको हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रुपमा मेरो मार्फत निर्णकालागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान मैले सहमति मात्र दिएको हो । सो सम्बन्धी निर्णय प्रकृयामा मेरो कुनै सहभागिता छैन ।  जे जसो भए पनि अनुसन्धान निकायले गर्ने छानबिनलाई मेरो पूरा सहयोग रहनेछ ।

 

काठमाडौं, २२ साउन ।

गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ) पठाएको छ।  जाजरकोटको रिक्त प्रजिअमा  हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् भने अछाममा मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव शरदकुमार पोखरेललाई पठाइएकाे छ ।

 

अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेकाले उनकाे स्थानमा पाेखरेललाई पठाइएकाे हाे । सुनारले पनि यसअघि मोरङ र बाँकेमा  सहायक प्रजिअका रूपमा  काम गरेको अनुभव छ। उनी  डोल्पा र बझङमा प्रजिअ भइसकेका छन्।

 

पोखरेलसँग मुगु र दार्चुलाको प्रजिअ भइसकेको अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत भइसकेका छन् । उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअको रुपमा जिम्मेवारी पूरा गरिसकेका छन् ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।