२०८३ श्रावण १
२०८३ श्रावण १

११ मंसिर, सुनसरी ।

सुनसरीको रामधुनी नगरपालिका तत्कालीन उपप्रमुखसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष समेत नौ जनाउपर गैरकानुनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मुल सडक सिंगियादेखि वडा नम्बर ४ को लालपुर गाउँसम्म कालोपत्र सडक निर्माण कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी कितावमा चढाई बढी भुक्तानी गरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालका अनुसार रामधनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृ ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देवेन्द्र नारायण चौधरी र सवइन्जिनियर हर्षलाल चौधरीले स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट गरी उक्त निर्माण कार्यको गलत नापी किताव र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको अनुसन्धाबाट खुलेको छ ।

यसैगरी, रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष राजकुमार चौधरी र तत्कालीन वडा सदस्य (नगर कार्यपालिका सदस्य) टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका सुनील कुमार चौधरीले अनुगमन तथा मूल्याङ्कन समितिमा रही स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट गरी भ्रष्टाचार गरेको आरोप छ ।

साथै जलपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत)ले सरकारी सम्पत्तिमा गैरकानुनी हानि र आफूलाई लाभ पु¥याउने बदनियतले रामधुनी नगरपालिकासँग भएको सम्झौता विपरीत निर्माणस्थलमा सम्पादन नै नभएको र नापी किताव एवम् ठेक्काको बिलमा वास्तविक कामको परिमाणभन्दा बढी काम गरेको देखाई नगरपालिकाको कार्यालयमा पेश गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले नगरपालिकाका तत्कालीन उपप्रमुख चौधरी र प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध दुई लाख १२ हजार ७३ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण बमोजिम सजाय गरी बिगोसमेत जफल हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । नेपालबहस

 ११ मङ्सिर २०८०,काठमाडौँ ।

जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ गते गएको भूकम्प प्रभावितका लागि नेपाल बैंकले रू.५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सो रकम सहयोग गरेको हो ।

नेपाल बैंकसञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बालुवाटारमा आज आयोजित एक कार्यक्रममा रू.५० लाखकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर ज.ब.रा., का.मु.प्रमुख कार्यकारी अधिकृत समता पन्त, कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा बरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियो । रातोपाटी

 

 मंसिर ११, २०८०,काठमाडौं

ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ६ स्थित पाटन बजारमा यही मंसिर १० गते आइतवारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबीच बैंकको पाटन शाखाको समुद्घाटन गरेका छन् । नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ । कला करमी

 

जनकपुरधाम, ११ मङ्सिर :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीन दिनसम्म बैठक बस्न लागेको जानकारी दिनुभयो । केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहने बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने सचेतक परियारले बताउनुभयो । बैठकमा सहभागी हुन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र पार्टी सांसद आउने क्रम जारिरहेको उहाँले बताउनुभयो । प्रतिनिधिसभा सदस्य मनिष झाले मधेस प्रदेशमा सङ्गठन निर्माणलगायत विषयमा केन्द्रित हुन रणनीतिकरूपमा बैठकले महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बताउनुभयो । रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेस प्रदेशमै हुनुहुन्छ । रासस

 

रुपन्देही ।

आफ्नै पार्टी नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई मन्त्रालय थपेर भागवण्डा मिलाउन नहुने भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको पुरानो अडान दोहोर्‍याएका छन् ।

अहिलेको अवस्थामा प्रदेशमा मन्त्रालय थप्नुपर्ने कुनै कारण नभएको जनाउँदै उनले कसैलाई भागवण्डा पुर्‍याउन यो अवस्थामा मन्त्रालय थप्ने विषयमा पार्टीले सहमति नजनाउने स्पष्ट पारे । आइतबार नेपाल प्रेस युनियनले पाल्पामा गरेको पत्रकार भेटघाटमा सभापति पुनले मुख्यमन्त्रीसहित १० मन्त्रालय यथावत रहेकाले थप्न नहुने बताए ।

सभापति पुनले मन्त्रालय थप्ने कुनै कारण नरहेको बताउँदै अहिले भएका मन्त्रालयलाई पूर्णता दिएर काम गर्न सुझाव दिएको उनले बताए । अहिलेको अवस्था अर्थतन्त्र डामाडोल भएको र यस्तो अवस्थामा मन्त्रालय र मन्त्री थपेर जनताको इच्छा, आकांक्षा पूरा नहुने उनले बताए ।

‘आठ दलको सरकार छ, सबैलाई भागवण्डा पुर्याउनुपर्ने हुन्छ,सबैलाई धेरै चाहियो भनेर अझ दुई वटा मन्त्रालय थप्न प्रस्ताव आएको छ । पार्टीले नीतिगत रुपमा १० भन्दा बढी बनाउन हुंदै भन्नेछ’, उनले भने, ‘यसलाई पूर्णता दिनुस पहिला त्यसपछि अवस्था परिवर्तन भयो भने संघीय कानुन, ऐन बनेपछि जिम्मेवारी पूर्ण भएपछि मात्र थप्न राम्रो हुन्छ, जसलाई बनाउने हो बनाउने तर छिटो मन्त्रीपरिषद् पूर्णता दिनुपर्ने अवस्था छ ।’

मंसिर १६ र १७ गते रुपन्देहीको बुटवलमा हुने काग्रेसको लुम्बिनी प्रदेशको सम्मेलनपछि तत्कालै मन्त्रीपरिषद्ले पूर्णता पाउने विश्वास सभापति पुनको छ । उनले लुम्बिनी प्रदेशका १२ जिल्लालाई केन्द्रबिन्दुमा राखेर जनताको माग सम्बोधन गरेर सरकार अघि बढ्नुपर्ने उनले जोड दिए ।

उनले कतिपय अवस्थामा माओवादीले बराबरी भाग माग्दा मन्त्रीपरिषद् विस्तारमा समस्या भएको बताए । ‘मन्त्रीपरिषद बिस्तारका विषयमा केन्द्रीय नेतृत्वसंगसमेत कुराकानी भइरहेको छ’, उनले भने, ‘कांग्रेस र माओवादी पार्टीको नेतृत्वसंग यस विषयमा छलफल भएकाले सम्मेलनपछि नै मन्त्रीपरिषद् विस्तार हुनेमा पूर्ण विश्वस्त छु ।’

लुम्बिनी प्रदेशमा अहिले सात सदस्यीय मन्त्रिपरिषद् रहेको छ । सहमतिअनुसार माओवादीले थप दुई र कांग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हुन्छ । तर बाँकी तीन मन्त्रालय मात्रै छ । जसले गर्दा भागबन्डा पु¥याउन दुई मन्त्रालय थप्नुपर्छ । हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट मुख्यमन्त्री चौधरीसमेत दुई, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमतबाट एक÷एक जना मन्त्री रहेका छन् ।

कांग्रेस लुम्बिनी प्रदेशमा इतर समूहको वर्चश्व रहेको छ भने प्रदेश सभामा संस्थापन समूहको वर्चश्व रहेको छ । अहिले सरकारमा मुख्यमन्त्री र मन्त्री संस्थापन समूहबाटै रहेका छन् ।

 

ताप्लेजुङ

– ताप्लेजुङमा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड गरेका छन् ।

आज आइतवार गृहजिल्ला ताप्लेजुङबाट काठमाण्डाै फर्कने क्रममा सदरमुकाम फुङलिङकाे ताेक्मे डाँडामा भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड गरेका हुन् । ताेडफाेडबाट गाडीकाे सिसा फुटेकाे छ ।

सात/आठ जनाको समूहमा रहेकाहरूले भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेका एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले बताउनुभयाे । गाडीकाे सिसा फुटे पनि मान्छेलाई केही नभएकाे खतिवडाले जानकारी दिनुभयाे । यसअघि आजै दिउँसाे सचिव भट्टराईलाई पहिचान पक्षधरहरूले कालाे झण्डा देखाएका थिए ।

 

काठामडौं १० मङ्सिर।

सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केका मानिसले आफ्नो स्वार्थका मुलुकका ठुला साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् । भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिविधिमा संलग्न व्यक्तिहरूले आफ्नो कर्तुत लुकाउन राजनीतिक दलहरूलाई उपयोग मात्र गरेका छैनन, बदनामसमेत गराएका छन् ।

बदनाम र विवादित पात्रहरूलाई पार्टीमा आश्रय र संरक्षण दिनुमा दलका नेताको पनि आफ्नै स्वार्थ देखिन्छ ।
डेढ वर्षअघि विशेष अदालतले दोषी ठहऱ्याएर तीन करोडभन्दा बढी रूपैयाँ जरिवाना तोकेका पप्पु कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार केही दिनअघि एमालेमा प्रवेश गरे । यही मंसिर ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि यसअघि ओलीको आशीर्वादमा एमालेमा प्रवेश गरेका थिए । अहिले तिनै प्रसाईं एमाले छाडेर नेताहरूमाथि गालीगलौजमा उत्रेका छन् । २०७८ कात्तिक ७ गते झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रसाईंलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरेका थिए। त्यसअघि प्रसाईं माओवादी केन्द्रनिकट मानिन्थे । एमाले सत्तामा पुगेपछि उनी हजुरबा साइनो लगाएर ओलीसँग नजिकिएका थिए। औपचारिक रूपमा एमालेमा प्रवेश नगर्दै प्रसाईं केन्द्रीय सदस्यको रूपमा २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनमा पनि सहभागी भएका थिए । एमाले प्रवेश कार्यक्रममा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना गरेका थिए। अहिले उनी राजसंस्था फर्काउनुपर्ने नारा लगाउँदै सडक आन्दोलनमा छन्।

अर्का विवादित लक्ष्मी महतो पनि जनता समाजवादी पार्टी छाडेर २०७९ असोज २३ गते एमाले प्रवेश गरे । सोही साल मंसिरमा भएको संसदीय निर्वाचनमा एमालेले महतोलाई महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनायो । उनले चुनाव पनि जिते । फरार भनिएका उनलाई प्रहरीले पक्राउ गरेको छैन । उनी अहिले भारतमा छन् ।

त्यस्तै कुनै बेलाका चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार मानिएका उमेश गिरीलाई एमाले अध्यक्ष केपी ओलीले २०७४ मंसिर ४ गते फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका थिए । गिरीको गुन्डागर्दीको विरोधमा एमालेले बेलाबखत संसद्समेत तताउने गरेको थियो । एमाले नेताहरूले गिरीलाई कारबाही गर्न

भूमिहारको समूह परिचालन गरी अग्रवाललाई अपहरण गरी फिरौती लिएको, एमालेका नेता–कार्यकर्तामाथि आक्रमण गरेको आरोपसमेत उनीमाथि थियो। उनको प्रवेशलाई लिएर एमाले नेतृत्वको आलोचना भएको थियो। अहिले गिरी गुमनाम छन्।

हिन्दु युवा संघको केन्द्रीय अध्यक्ष रहेका ४५ वर्षीय काशी तिवारीको २०६७ जेठ २९ गते वीरगन्जमा गोली हानेर हत्या गरियो। तत्कालीन माओवादी नेता प्रभु शाह, जलिम मियाँलगायतको योजनामा तिवारीको हत्या भएको अभिव्यक्ति त्यसबेलाका प्रहरी अधिकारीहरूले सार्वजनिक रूपमै दिएका थिए।

पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्षसमेत रहेका मियाँमाथि कान्छा छोराकी सालीको हत्यामा संलग्न रहेको आरोपसमेत थियो। तिवारी हत्या प्रकरणमा मुछिएका साह र मियाँ पछि एमाले प्रवेश गरे। पर्सा र रौतहट एमाले वृत्तमा त्यसको विरोध भयो। अन्ततः पार्टीको निर्णय भन्दै कार्यकर्ताले ती विवादित पात्रलाई स्वीकार गरे।

त्यसैगरी तिवारी हत्यामा मुछिएका साहलाई जोगाउन ८ लाख रूपैयाँ घुस दिने पूर्वसहसचिव नागेन्द्र झा एमाले प्रवेश गरे। झालाई एमाले अध्यक्ष ओलीले २०७९ वैशाख ३ गते सर्लाही पुगेर पार्टीमा भित्र्याएका हुन्। झाले २०६८ असोज २६ गते तिवारीकी पत्नी बबितालाई ८ लाख रूपैयाँ दिई साहको नाम नलिन प्रलोभन दिएका थिए। त्यसको अडियोसमेत सार्वजनिक भएको थियो।

बदनाम पात्रलाई पार्टीमा ल्याउँदा पदाधिकारी असन्तुष्ट छन् । तर उनीहरू खुलेर बोल्न सकेका छैनन् । यो समाचार नागरिक दैनिकमा छ ।

काठमाडौँ, ९ मङ्सिर :

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनःगठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बूवान राष्ट्रिय समिति आज पुनःगठन गर्न लागिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले सञ्चालन गरेको तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत सङ्गठन गठन, पुनःगठन तथा रुपान्तरणको कार्यअन्तर्गत बाँकी रहेका प्रदेश र राष्ट्रिय समिति पुनःगठन हुन लागेको हो । यसैगरी पोखरामा हुन लागेको गण्डकी प्रदेश समिति पुनःगठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं गण्डकी प्रदेश समिति इञ्चार्ज शिवलाल थापामगर र पाँचथरको फिदिममा हुन लागेको लिम्बूवान राष्ट्रिय समिति पुनःगठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ प्रमुख अतिथि रहनुहुने केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख बस्नेतले बताउनुभयो । रासस

काठमाडौँ
राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको मतभार कायम गरेको छ । आयोगले राष्ट्रिय सभाका १९ सदस्यका लागि माघ दोस्रो साता निर्वाचन गर्ने तयारी गरेको छ । २०७८ को जनगणनाको तथ्यांकअनुसार मतदाताको मतभार पनि कायम गरेको छ ।
आयोगको बुधबारको बैठकले राष्ट्रिय सभाका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको मतभार कायम गरेको हो । प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ । २०७८ को मतगणनाको प्रतिवेदन आउनुअघि राष्ट्रिय सभा निर्वाचक मण्डलका सदस्यहरू प्रदेश सांसदको मतभार ४८ थियो भने गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचक मण्डलका सदस्यहरूको मतभार कायम भइसकेपछि राष्ट्रिय सभा निर्वाचनको मितिबारे सरकारसँग परामर्श भइरहेको जानकारी दिए । निर्वाचन कहिले गर्ने भन्ने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा जाने व्यवस्था छ । थपलियाले मतभार कायम गरिएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग राष्ट्रिय सभाको आगामी निर्वाचनबारे बुधबार नै छलफल गरेका छन् ।

राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनका विषयमा आयोगले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी माघ १५ भित्र राष्ट्रिय सभा निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस गरिसक्ने गरी तयारी भइरहेको जानकारी दिएका छन् । ‘माघ दोस्रो हप्ता निर्वाचन गर्ने तयारी छ । आजमात्रै लाइन मिनिस्ट्री भएकाले गृहमन्त्रीसँग भेटेर छलफल गरिसकेको छु । अब सरकारसँग परामर्श गरेर मितिबारे छलफल हुन्छ,’ उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनको मतदान माघ ९ देखि १२ सम्म गरिसक्ने भन्ने छलफल चलेको थियो । माघ ११ गते बिहीबार मतदानको मिति घोषणा गर्ने कि भन्नेमा छौं ।’ उनले राष्ट्रिय सभाका लागि आयोगले सम्पन्न गर्नुपर्ने कामहरू भइराखेको जानकारी दिए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि २०८० फागुन २० मा समाप्त हुन लागेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम सभाका सदस्यको पदावधि सकिनु ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । फागुन २० मा पदावधि समाप्त हुनेमा एमालेका ७ सांसद छन् ।

पदावधि सकिन लागेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । त्यसबाहेक इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राईको पनि पदावधि सकिन लागेको हो । राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित पाँच सांसदको पनि पदावधि सकिन लागेको छ । त्यसमा अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृगनारायण पाण्डे रहेका छन् ।

माओवादीका तीन जनाको पनि पदावधि सकिन लागेको छ । जसमा महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी छन् । एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्माको पदावधि सकिन लागेको छ भने जसपाकी प्रमिला कुमारीको पनि पदावधि सकिन लागेको छ ।

त्यस्तै, स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिन लागेको छ । राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिन लागेको छ । पौड्यालको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनीत हुनेछन् भने बाँकी १९ सांसदका लागि निर्वाचन हुन लागेको हो । कान्तिपुर

९ मंसिर, २०८०

पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोडस्थित इकम कलेजमा बनाइएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने भएका छन् । यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘शक्ति प्रदर्शन’ गर्ने भएको छ । मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले ठूलो संख्यामा मोटरसाइकलसहित र्याली आयोजना गरिने जनाइएको छ ।

र्यालीसहित पूर्वराजा शाह मेचीनगरबाट बिर्तामोड पुगेर सालिक अनावरण गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । कार्यक्रममा सहभागी हुन पूर्व राजा शाह हिजो शुक्रबारै झापा आइपुगेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमको तयारीका सिलसिलामा साताभन्दा बढी समयदेखि गृहजिल्ला झापामा छन् । राप्रपा नेताहरुका अनुसार पूर्वराजा शाहले सर्वसाधारण भेट गर्ने कार्यक्रम पनि राखिएको छ ।

कार्यक्रममा सहभागी हुन झापाका विभिन्न क्षेत्रबाट सर्वसाधारणको सहभागिता हुने जनाइएको छ । ५० हजारको सहभागिता रहने दाबी गरिएको कार्यक्रममा छिमेकी जिल्ला इलाम, पाँचथर, मोरङ, सुनसरीलगायत क्षेत्रबाट पनि सहभागिता हुने राप्रपाले जनाएको छ ।

राजतन्त्रका पक्षमा विभिन्न समूहहरुद्वारा प्रदर्शन भइरहेका बेला झापामा पूर्वराजा शाह सहभागी हुने कार्यक्रम तय भएकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । फरकधार

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।