२०८३ बैशाख १६
२०८३ बैशाख १६

माघ २६ रौतहट ।

रौतहट जिल्लाको मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साहले राजनीतिक रिस साध्न २ वटा वडालाई विकास निर्माण कार्यमा विभेद गरेको वडा अध्यक्ष श्यामकिशोर साहले आरोप लगाएका छन्।

नगरपालिकाले सञ्चालनमा ल्याएको असहायसँग मेयर कार्यक्रमअन्तर्गत विवाह कार्डको आधारमा गरेको सिफारिशमाथि नगर प्रमुखले छानविन नै नगरी आफूलाई बदनाम गर्ने उद्देश्यले आफ्नो गल्ती ढाक छोप गर्न अफवाह फैलाएको उनको आरोप छ।

शुक्रबार वडा कार्यलयमा सञ्चारकर्मीसँग कुरो गर्दै वडा नम्बर ९ का नेकपा एमालेबाट निर्वाचित भएका वडा अध्यक्ष साहले नगर प्रमुखले आफ्नो नजिकको व्यक्तिलाई वडाको सिफारिश बिना रकम दिने तथा गरिव असहायलाई सिफारिश गरेर पठाउँदा फाइल नै गायव गरिदिएको आरोप लगाएका छन्।

बैठकमा सादा पानामा हस्ताक्षर गराएर मनोमानी ढंगबाट योजना लेख्ने गरेको बताउँदै आवाज उठाउँदा धम्कि दिने गरेको गुनासो गरे। आर्थिक वर्ष २०७९/८० मा आर्थिक सहयोगको लागि गरेको सिफारिशसहितको फाइल नै गायव गरिदिएको स्थानीय ठगा साहले बताए।

एक वर्ष पहिला नै छोरीको बिबाह गरेको र सहयोगको लागि निवेदन दिएकोमा अहिलेसम्म रकम नपाएको गुनासो गरे।

वडा नम्बर ८ का स्वतन्त्र निर्वाचित भएका वडा अध्यक्ष शिव प्रसन यादवलाई समेत उपेक्षित गर्ने मेयर रिना साहले आफ्नो पक्षको सम्पन्न व्यक्तिलाई सोझै आर्थिक सहयोग दिने गरेको स्थानीयले बताए। स्थानीय नरेश यादवले एक वर्षदेखि दौड धुप गरे पनि अहिलेसम्म रकम नपाएको गुनासो गरे।न्युज कारखाना

काठमाडौं, २६ माघ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका जनसम्पर्क समितिका पदाधिकारीसँग भर्चुअल संवाद गरेका छन्। आसन्न फागुन ७—१० मा हुने कांग्रेसको महासमिति बैठकमा प्रवासमा रहेका नेपालीहरुको विचार समेट्न नेता महरले संवाद गरेका हुन् ।

 

छलफलमा जनसम्पर्क समितिका समस्या, पार्टीसँगका अपेक्षा, पार्टीले चाल्नुपर्ने कदम र नेपालमा लगानीको वातावरण निर्माण लगायतका एजेण्डा थिए । नेपाल जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, क्यानडाका सभापति प्रदीपप्रकाश ओली, नेदरल्याण्डका सालिक गौतम, बहराइनका पद्यमसुन्दर गुरुङलगायत ३५ जना सहभागी थिए ।

 

जनसम्पर्क समितिका सभापतिहरूले नेपालमा लगानी गर्न चाहेको र लगानीको सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने बताएका थिए । कांग्रेस र देशका लागि आफूहरूले योगदान गरिरहेको भए पनि देशले माया नगरेको अनुभूति भइरहेको उनीहरूको गुनासो थियो ।

 

संवादका क्रममा उनीहरूले आफ्नो दोहोरो नागरिकता अलि बलियो हुनुपर्ने बताएका थिए । नागरिकतामा आफूहरूका अधिकार कम भएको गुनासो उनीहरूको थियो ।

 

नेपालको सम्पत्ति भोगचलनका सन्दर्भमा पनि नागरिकतामा धेरै कुरा अटाउन नसकेको उनीको भनाइ थियो । विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाका विषयमा कांग्रेसले नीतिमै स्पष्टरूपमा ल्याउनुपर्ने उनीहरुको जोड थियो ।

 

सम्पर्क समितिहरूको विश्व सञ्जाल बनाएर कांग्रेस केन्द्रीय समितिमा प्रवासबाट पनि प्रतिनिधित्व गराउन उनीहरुको माग थियो ।

 

दोहोरो नागरिकताको विषय अगाडि बढिसकेको भन्दै त्यसलाई थप बलियो बनाउन पार्टीमा सुझाव दिने महरले बताएका थिए । सम्पत्तिको भोगचलन, लगानी र प्रविधि नेपालमा ल्याउने कुरामा पनि कांग्रेसले पहल गर्नेमा महरले आश्वस्त पारेका थिए।

 

विदेशमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्ने पक्षमा लबिङ गर्न आफू सधैँ क्रियाशील रहेको भन्दै महरले महासमिति बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउने बताए ।

 

‘विश्वमा छरिएर रहेका नेपालीहरूको योगदान बीना देश बन्न गाह्रो छ। त्यसैले मुलुकको समृद्धिका लागि उहाँहरूको साथ र सहयोगको खाँचो छ। विश्वमा छरिएर रहेका नेपालीहरूको सिप, ज्ञान, प्रविधि, क्षमता र लगानीलाई नेपालको पक्षमा सदुपयोग हुनेगरि काम गर्नुपर्छ। यो विषय म कांग्रेस महासमिति बैठकमा मेरो प्राथमिक एजेण्डा मध्ये एक हुने छ,’ उनले भने।न्युज कारखाना

नुवाकोट, २६ माघ :

प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले  आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । आठौं नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पारे ।

 

राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले  परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भईरहेको बताए ।

“अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, प्रधानमन्त्रीले प्रचण्डले भने, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।”

 

बजेट निर्माण प्रक्रिया अगाडि बढीको बताउँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा नुवाकोटले प्राथमिकता पाउने विश्वास दिलाए । प्रधानमन्त्री प्रचण्डले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने उल्लेख गरे । उनले नुवाकोट दरबारको पुःननिर्माणमा सरकारले ध्यान दिने बताए ।

 

सो अवसरमा विभिन्न झाँकी प्रस्तुति गरिएको थियोे ।न्युज कारखाना

काठमाडाैं, २६ माघ

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको छ। नेकपा एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा रौतहटको गरुडामा नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको हो ।

 

नेताहरूले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेको भए पनि सर्वसम्मत नेतृत्व चयन नहुने आकलन गरिएको छ। नेकपा एमाले रौतहटको अध्यक्षको आकांक्षीमा अखिलेश चौधरी, रुपेश पटेल, सचिलानन्द शाहले शाह रहेका छन् ।

 

आज दिनभर सर्वसम्मत नेतृत्वको चयन गरिने र सर्वसम्मत नेतृत्व चयन हुन नसकेको खण्डमा भोलि बिहानबाट रौतहटको गरुडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयनको प्रयास गरिने नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिएका छन् । न्युज कारखाना

काठमाडौं, २६ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक भएको बताए ।

 

हरेक वर्ष पुरानै वर्षको फोटोकपीका रुपमा नयाँ बजेट आउने परिपाटी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक सार्वजनिक बहसको केन्द्रीकृत स्वरुपका रुपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरेको बताए । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावहरुलाई केन्द्रीकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गर्नेमा उनको जोड थियो ।

छलफलका क्रममा विषयगत विज्ञहरुले उठाएका विषयहरु महत्वपूर्ण रहेको बताउँदै उनले नीति, कार्यक्रम र बजेटको नीति, ढाँचा र समयतालिकामा परिमार्जन गर्ने प्रक्रिया अन्तर्गत नै छलफल आयोजना गरेको बताए ।

 

“सबैको विवेकलाई केन्द्रित गरेर मात्र हामी ठीक ठाउँमा पुग्न सक्छौँ । हामीले सबै क्षेत्रमा आमूल सुधारतर्फ सोच्नैपर्छ,” उनले भने,  “यसपटक नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय बहसको परिस्थिति सिर्जना गरेर सबैका सुझाव संकेन्द्रित गर्छौं । नीति तथा कार्यक्रम पहिला जनता, बुद्धिजीवी र जनप्रतिनिधिमा पठाइन्छ । त्यसलाई अन्तिम रूप दिएपछि मात्र सम्माननीय राष्ट्रपतिले संसदमा पढ्नुहुन्छ ।”

देशमा आर्थिक संकट र गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने कोसिस भइरहेको जटिल परिस्थितिमा सरकारको नेतृत्व लिएको प्रसंगबारे चर्चा गर्दै उनले संकटको निकास गर्ने जिम्मेवारी आफूमा रहेको बताए ।  “म संकटको बेला प्रधानमन्त्री भएँ । देशलाई संकटबाट मुक्त गर्न मैले लगातार कोशिस गरिरहेको छु,” उनकाे भनाई थियो, “तीन तहको सरकार नै प्रभावकारी बनाउने गरी हामीले छलफल गरेका छौँ । प्रदेश र स्थानीय तहलाई बलियो नबनाइकन व्यवस्था बलियो बनाउन सकिँदैन । यसमा हामी गम्भीर छौँ । हामीले फड्को हान्न सक्नुपर्छ ।”

राष्ट्रिय योजना आयोगको समन्वयमा सम्पन्न ‘सोह्रौँ योजना र आगामी वर्षको नीति तथा कार्यक्रममाथि विज्ञहरूको सुझाव लिने कार्यक्रम’मा बिभिन्न क्षेत्रका विज्ञहरुले सरकारले निर्दिष्ट गर्नुपर्ने कार्यदिशाका बारेमा सुझाव दिएका थिए । कार्यक्रममा योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठले उत्पादन र रोजगारी बढायो भने अर्थतन्त्रका धेरै समस्या सम्बोधन हुने भएकोले यो विषयलाई केन्द्रमा राखेर सोह्राैँ योजनाको मस्यौदा तयार भइरहेको जानकारी दिनुभएको थियो । सुशासन कायम गर्न सकियो भने थोरै स्रोतबाट पनि धेरै काम गर्न सकिने वनको भनाई थियो ।

कार्यक्रममा विज्ञहरुले योजना छनोट प्रक्रिया हचुवा र पहुँचमुखी हुने कुरा रोक्नुपर्ने, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्ने योजना निर्माण गर्नुपर्ने,  व्यापार, वित्त र विनिमयको उदारीकरणको चपेटामा पर्दै गएको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने र उत्पादनका साधनमा बहुसंख्यक जनताको पहुँच कसरी पुर्‍याउनेतर्फ सोच्नुपर्नेमा जोड दिए । यसैगरी वित्तीय र प्रशासनिक संघीयता कार्यान्वयनको विषयलाई योजनामा प्राथमिकता दिनुपर्ने र “ग्रीन इकोनोमी”लाई एको–टुरिज्ममा लैजानुपर्ने सुझाव समेत उनीहरुको थियो ।

छलफलका क्रममा विज्ञहरुले कृषि र उद्योगको योगदान खुम्चिने परिस्थितिमा सुधार ल्याउनुपर्ने, नीति र कार्यक्रमबीचको विरोधाभाष अन्त्य गर्नुपर्ने, राष्ट्रिय गौरवको आयोजनाको लागत बढ्दै जाने परिस्थिति रोक्नुपर्ने तथा कृषिमा आत्मनिर्भरताको योजना निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । राष्ट्रिय योजना आयोगलाई सङ्घीय योजना आयोगमा पुनर्संरचना गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा विज्ञहरुले सडकहरू मान्छे मार्ने धराप बनेको बताउँदै सुरूङमार्गमा जोड दिनुपर्ने समेत बताए । यसैगरी शिक्षा, स्वास्थ्य र सूचना प्रविधिको हबका रुपमा नेपाललाई विकास गर्ने विषय समेत आगामी योजनामा समावेश हुनुपर्नेमा जोड दिएका थिए ।

यसैगरी विज्ञहरुले विकासका प्रमुख आधार यकीन गरी पूँजिगत खर्च बृद्धि गर्नुपर्नेमा विशेष जोड दिएका थिए । अहिलेको मुल समस्या नै सुशासन कायम हुन नसक्नु भएकोले सुशासनमा संरचनागत परिवर्तन गर्नुपर्ने, राजनीतिक दवावमा योजना छनोट हुने प्रक्रिया रोकिनुपर्ने र तल्लो तहलाई अधिकार बढी दिनुपर्नेमा समेत जोड दिए । कार्यक्रममा विज्ञहरुले भारत र चीनको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्नेमा जोड दिएका थिए ।न्युज कारखाना

काठमाडौं, २६ माघ ।

सरकारले प्रजातन्त्र दिवस २०८० भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सो बैठकले प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटक, विशेषाङ्क÷स्मारिका प्रकाशनलगायत जनचेतनामूलक कार्यक्रम निर्माण, सञ्चालन तथा प्रसारण गर्ने, नेपाली सेनाबाट सैनिक मञ्च, टुँडिखेलमा विभिन्न कार्यक्रम गर्ने र सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विभिन्न कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । न्युज कारखाना

काठमाडौं, २५ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिएका हुन्। उत्पादन बृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उहाँले मन्त्रालयहरूलाई निर्देशन दिए।

‘बजेट बनाउँदा यथार्थपरक होऔँ । ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौँ। हाम्रो नीति तथा कार्यक्रम र बजेटले जनताको विश्वास जित्नुपर्छ । व्यवस्थालाई बलियो बनाउनुपर्छ,’ उनले भने।

बजेट विशुद्ध अर्थशास्त्र मात्र नभएर राजनीतिक अर्थशास्त्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विगत वर्षमा हुने गरेका असमझदारीलाई अन्त्य गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘विगतमा योजना आयोग र मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच केही अन्योलता देखिने गरेको थियो, अब त्यसो हुन हुँदैन ‘

पछिल्लो समय देशको अर्थतन्त्री सही बाटोमा आगाडि बढेको बताउँदै प्रधानमन्त्रीले निरन्तरको प्रयासपछि राजस्व सङ्कलन बढेको र अर्थतन्त्रका बाह्य सूचकहरू राम्रा भएको बताए।

पुँजीगत खर्च बढ्न नसक्नुका कारण पहिल्याएर आगामी दिनमा वित्तीय एवं मौद्रिक नीति तय हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘राष्ट्रिय महत्त्व र प्राथमिकतामा आधारमा बजेट बनाऔँ । पुँजीगत खर्च किन बढ्न सकेको छैन, त्यसको गम्भीर समीक्षा गरौँ र बजेट बनाऔँ ।’

सो अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महतले माग र सामथ्र्यबीच विरोधाभास भएको स्थितिमा सन्तुलित बजेट आवश्यक पर्ने बताए।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बजेटका स्रोतहरू राजस्व, अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणको अवस्थाबारे जानकारी गराएका थिए।न्युज कारखाना

महोत्तरी, २५ माघ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धिको बाधक भ्रष्टाचार र कुशासन भएको बताएका छन् । महोत्तरीको बर्दिबासस्थित आधारशीलाको २१ औ वार्षिकोत्सवको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यसलाई नै मुल आधार बनाएर सरकारले काम गरेको बताए ।

 

भ्रष्टाचारलाई प्रभावकारी ढंगले नियन्त्रण नगरे विकास र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्दै उनले सरकारले त्यसको क्रमिकरुपमा नतिजासमेत देखाइरहेको दाबी गरे । ‘गृहमन्त्रालय समाले कै दिन पञ्चायतकालदेखि खाइरहेको गृहमन्त्रीको सुविधा पनि खारेज गरेँ,’ उनले भने, ‘शरणार्थी काण्डदेखि बाँसबारी छालाजुत्तासम्म आइपुग्दा सरकार अडिग भएर लागिरहेको छ ।’

 

काम होस् भनेर खबरदारी गर्नेहरु कै कारण सरकारमा आत्मबल सञ्चार भएको बताउँदै गृहमन्त्री श्रेष्ठले पैसावाला, राजनीति पहुँच भएकाहरूले भने सरकारको कामको विरुद्ध खबरदारी गर्ने गरेको पनि बताए ।

 

सामन्तवादको निकृष्ट सोच कै कारण मिटरव्याजी मौलाएको र यसलाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक लागीपरेको उनको भनाई छ । ५ हजार भन्दा बढी पिडितहरुलाई अहिलेसम्म न्याय दिलाईसकेको बताउँदै सुशासन स्थापनामा सरकारले अभियान नै बनाएको गृहमन्त्री श्रेष्ठले बताए ।

 

अहिले मिटरव्याजी पीडितहरुले गरेको आन्दोलनलाई संकेत गर्दै उनले आन्दोलनले सरकारलाई बल मिलेतापानी गलत ढंगले त्यसलाई प्रयोग गर्न नहुने सुझाए । विभिन्न तरिकाले जालसाँजी गरी राज्यलाई ठग्नेविरुद्ध सरकाले कारबाही अगाडि बढाएको र यहि प्रक्रियाअन्तर्गत बाँसबारी छालाजुत्तामा सग्लनहरुको छानबिन भइरहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।न्युज कारखाना

काठमाडौं, २५ माघ ।

विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा बयान दिन पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा सिंहदरबार पुगेका छन् ।

सिंहदरबारस्थित सुन छानबिन समितिको कार्यालयमा बयान दिन उनी पुगेका हुन् । समितिले बोलाएपछि पुगेका उनले बयान दिएका हुन् ।

 

भेपमा लुकाएर तस्करी भएको ९ किलो प्रकरणमा चिनियाँ तस्करसँग सम्पर्क भएको देखिएपछि महरासँग समितिले बयान लिएको हो ।

सोही प्रकरणका महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।न्युज कारखाना

विराटनगर, २५ माघ ।

आफैँले दिएको अभिव्यक्तिका कारण यतिबेला चौतर्फी विवादमा फसेका छन् कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । सोमबार सुन्दरहरैँचामा रहेको साजिलाल माविको वार्षिकोत्सवमा कार्कीले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 

कार्कीले सयौँ विद्यार्थीका अगाडि उभिएर आफू लास्ट बेन्चर अहिले मुख्य मन्त्री भएको र सँगै पढेको फस्टबेन्चर खरदार भएको भन्दै व्यङ्ग्य गरेका छन् । कार्की अझै थप्छन्, ‘फस्ट बेन्चरले कलम चलाउने र आफ्नु भुडिभर्ने मात्रै जानेका छन् । तर, कक्षा कोठामा सबै अब्बल हुन्छन्, म लास्ट बेन्चर यतिबेला मुख्य मन्त्री छु ।’

 

साेही अभिव्यक्तिका कारण मुख्यमन्त्री कार्की विवादमा परेका हुन् । उनको भाषण सुन्ने कलिला बालबालिकाको दिमागमा के पस्यो होला ? अब नपढे पनि मुख्यमन्त्री भइनेरहेछ भन्ने भान किन पारेका होलान मुख्यमन्त्रीले ? प्रदेश मुख्यमन्त्रीबाट के सिक्ने विद्यार्थीले भन्दै मुख्यमन्त्री कार्कीकाे आलाेचना भइरहेकाे छ ।न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।