२०८३ श्रावण २५
२०८३ श्रावण २५

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयहरुलाई सफा राख्न सरसफाइका कार्यक्रम चलाउन, स्वच्छताका लागि हरियाली बढाउन तथा कलात्मक देखाउन सवाजटका क्रियाकलाप गर्न ६ महिनाका लागि स्वयंसेवक परिचालन गरिएको छ ।

४३७ जना आवेदकबाट सर्टलिष्टमा छानिएका २४७ जनासँग गरिएको अन्तर्वार्ताबाट सम्पदामा युवा र बालबालिका (सम्युवा) का लागि ४५ जना, वातावरण र बालबालिका (बाबा) कार्यक्रमका लागि १ सय जना छानिएका छन् । उनीहरुका लागि ४ दिनको तालिम दिइएको छ । यसपछि बाबा कार्यक्रमका लागि छानिएका स्वयमसेवकहरुलाई विद्यालयका फोकल शिक्षकहरुसँगै ४ दिनको थप तालिम दिएर परिचालन गरिएको हो ।

तालिमको समापनपछि र विद्यालय जानुअघि आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘सरकारका जिम्मेवार पदमा रहेको महसुस गरेर नतिजाका लागि काम गर्न गर्नुहोला । सरकार र सरकारका कार्यक्रम चिन्ने यो अवसर पनि हो । धेरैलाई यस्तो अवसर प्राप्त हुँदैन ।’ उनले भनिन्, ‘आफूभित्रको उर्जा चिनेर आफ्नो प्रयत्नबाट रुपान्तरणमा योगदान गरौँ । यसमा बालबालिकाको नेतृत्व हुनेछ । स्वयमसेवकले सहजीकरण गर्नुहुनेछ । शिक्षकहरुले अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ ।’

हरेक स्वयंसेवकले हप्ताको २ दिन (बिहीबार र शुक्रबार) विद्यालयका लागि समय उपलब्ध गराउनु पर्नेछ । वाबा समूहका फोकल शिक्षक र विद्यार्थीहरुसँग सहकार्य गरेर सुन्दर विद्यालय कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नु स्वयंसेवकको मुख्य जिम्मेवारी हो । यसका लागि हरेक बिहीबार फोकल शिक्षकसँग बसेर शुक्रबार सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना बनाउनुपर्छ । कार्ययोजना अनुसारका कार्यक्रम शुक्रबार कार्यान्वयन गर्नुपर्छ । विद्यालय हाता, कक्षा कोठा, बगैँचा, शौचालयको सरसफाइका लागि अनुवाइ गर्नुपर्छ । विद्यालयमा फोहोर वर्गीकरण अभ्यासलाई संस्थागत गर्ने काममा उनीहरुबाट योगदान हुने अपेक्षा गरिएको छ ।

स्वयंसेवामा थप समय दिन सक्नेहरुलाई महानगर स्वर्णिम योजना ‘स्मार्ट टोल’ कार्यक्रममा सहभागी गराउन सकिने अधिकारीहरुको भनाइ छ ।

बालबालिकाका नैसर्गिक अधिकारप्रति सचेत रहनुपर्छ । कोही पनि बालबालिकासँग एकान्तमा भेट्ने वा अनावश्यक कुराकानी गर्नुहुँदैन । विद्यार्थीहरुका व्यक्तिगत गोपनीयताका विषयमा ख्याल गर्नुपर्छ । गुडटच र व्याडटच लगायत हिंसा हुन सक्ने कार्यमा सचेत हुनुपर्छ । निर्धारित समयमा विद्यालय पुग्नुपर्छ । विद्यालय सुहाउँदो पोशाक र कक्षाकोठा सुहाउँदो व्यक्तित्व हुनुपर्छ । समयको सिमा पालना गर्नुपर्छ ।

विद्यालयका प्रधानाध्यापक, फोकल शिक्षक तथा अन्य विषयगत शिक्षक र कर्मचारीसँग समन्वय गर्नुपर्छ । सदभाव कायम गर्नुपर्छ । विद्यार्थीहरुलाई सिकाइप्रति उत्प्रेरित गर्नुपर्छ । सकारात्मक भाव र विचार जगाउने व्यवहार गर्नुपर्छ । विद्यालयको सौन्दर्य बढाउने, सरसफाइ गर्ने, खानेपानीको व्यवस्थापन गर्ने काममा विशेष भूमिका खेल्नुपर्छ । फोहोर वर्गीकरण र व्यवस्थापनका अभ्यासमा विद्यार्थीहरुलाई सहजीकरण गर्नुपर्छ ।

बुक फ्रि फ्राइडे कार्यक्रमलाई विद्यार्थीमैत्री बनाउन उनीहरुकै रुचिअनुसारका विषय र विषयसम्बद्ध १५ वटा उपसमूह बनाइएको छ ।

यी उपसमूहमध्ये बालबालिका तथा वातावरण, बिज्ञान, प्रविधि, इञ्जिनियरिङ्, आर्टस् र गणित (स्टीम) विषय हरेक विद्यालयका लागि अनिवार्य छन् । यससँगै भित्ते चित्र लेखन (म्युरल आर्ट), संस्कृति र सम्पदा, ट्राफिक, विपद व्यवस्थापन, नाट्य, व्यक्तित्व विकास, पठन संस्कार, उद्यमशील सोच, योग, संगीत र नृत्य, ड्रोन, एनिमेसन र गेमिफिकेसन र कोड कोडिङ् उपसमूह छन् । यी उपसमूहमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुलाई राखिएको छ । हरेक शुक्रबार कम्तीमा २ घण्टा उपसमूहका क्रियाकलाप हुनेछन् ।

कक्षा ९ र १० का विद्यार्थीहरुका लागि ५६ वटा माध्यमिक विद्यालयमा १० उपसमूह छन् । कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र विजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोवाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विषय हुन् । सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाकाअनुसार, यी उपसमूहका हरेक कक्षा प्रत्येक शुक्रबार ६ घण्टा सञ्चालन हुन्छन् । पाठ्यपुस्तक बिना पाठ्यक्रमका विषयलाई पढाउने नभइ सिक्ने संस्कारको विकास गराउने यसको मुख्य उद्देश्य हो । न्युज कारखाना

काठमाडौँ ।

भियतनामको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठुलो बैंक ठगि प्रकरणमा मृत्युदण्डको सजाय सुनाइएको छ । यस घटनालाई विश्वले अहिलेसम्म देखेको सबैभन्दा ठूलो बैंक ठगी मध्ये एक भनिएको छ ।

भियतनामको साइगन कमर्शियल बैंकबाट ४४ बिलियन डलर ऋण लिएर नतिरेको आरोपमा ६७ बर्षिय ट्रुङ मी लानलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको बिबिसीले उल्लेख गरेको छ । लानले ११ बर्षको अवधिमा बैंकबाट ४४ बिलियन डलर ऋण लिएकी थिइन्, जसमा २७ बिलियन डलर कहिल्लै फिर्ता हुननसक्ने बताइएको छ ।

यस प्रकरणमा २७ सयको बयान लिइएको र यस केसमा १० राज्य अभियोजक तथा करिब २०० वकिल संलग्न रहेको रिपोर्टमा उल्लेख छ । यस केसको प्रमाण १०४ बक्समा राखिएको छ, जसको वजन ६ टनभन्दा बढी रहेको बताइएको छ । ल्यानसँगै ८५ जनालाई मुद्धा चलाइएको थियो ।

यस प्रकरणले भियतनामका दुई राष्ट्रपति र दुई उपप्रधानमन्त्रीहरूलाई राजीनामा दिन बाध्य पारेको र सयौं अधिकारीहरूलाई जेल हालेको छ । यसैक्रममा पछिल्लो पटक देशकै धनी महिलामध्ये एक लान पनि सोहि पङ्क्तिमा सामेल भएकी छन् ।

लान चिनियाँ- भियतनामी परिवारकी हुन् । उनी भियतनामी अर्थतन्त्रको इन्जिन मानिने हो ची मिन्ह शहरकी हुन्, जसलाई दक्षिण भियतनामको कम्युनिस्ट विरोधी राजधानीको रूपमा समेत चिनिन्छ । उनले आफ्नी आमासँग कस्मेटिक्स बेच्ने बजार स्टल विक्रेताको रूपमा क्यारियर सुरु गरेकी थिइन्, तर कम्युनिष्ट पार्टीले १९८६ मा डोई मोई भनेर चिनिने आर्थिक सुधारको अवधिमा शुरू गरेपछि जग्गा र सम्पत्ति किन्न थालेकी थिइन् ।

यद्यपि भियतनाम देश बाहिर यसको द्रुत-बढ्दो उत्पादन क्षेत्रको लागि चिनिन्छ, चीनको लागि वैकल्पिक आपूर्ति श्रृंखलाको रूपमा, धेरै धनी भियतनामीहरूले आफ्नो पैसा विकास र सम्पत्तिमा लगाए । सबै जग्गा आधिकारिक रूपमा राज्यको स्वामित्वमा छ । यसमा पहुँच पाउनु प्रायः राज्यका अधिकारीहरूसँगको व्यक्तिगत सम्बन्धमा निर्भर हुन्छ । २०११ सम्म लान हो ची मिन्ह शहरमा एक प्रसिद्ध व्यापारिक व्यक्तित्व थिइन्, र तिनलाई तीनवटा साना, नगद-बन्दी भएका बैंकहरूलाई ठूलो संस्थामा मर्जर गर्ने अनुमति दिइएको थियो ।

भियतनामी कानूनले कुनै पनि व्यक्तिलाई कुनै पनि बैंकमा ५ प्रतिशत भन्दा बढी शेयर राख्न निषेध गर्दछ । तर अभियोजकहरूले लानले सयौं शेल कम्पनीहरू र उनको प्रोक्सीको रूपमा काम गर्ने व्यक्तिहरू मार्फत साईगन कमर्शियल बैंकको ९० प्रतिशत भन्दा बढी स्वामित्व आफुसँग राखेकी थिइन् ।

उनीहरूले त्यो शक्ति प्रयोग गरेर आफ्नै मानिसहरूलाई प्रबन्धकको रूपमा नियुक्त गरेको र त्यसपछि उनीहरूलाई आफूले नियन्त्रण गरेको शेल कम्पनीहरूको नेटवर्कमा सयौं ऋण स्वीकृत गर्न आदेश दिएको आरोप लगाएका थिए । त्यस्तै उनले लिइएको रकम बैंक सम्पूर्ण ऋणको ९३ प्रतिशत भन्दा बढी रहेको बताइएको छ ।

अभियोजकहरूका अनुसार, फेब्रुअरी २०१९ देखि तीन वर्षको अवधिमा, उनले आफ्नो ड्राइभरलाई करिब ४ बिलियन डलर भन्दा बढी नगद निकाल्न र आफ्नो ढुकुटीमा राख्न आदेश दिएको पाइएको थियो । यति धेरै नगद, भियतनामको सबैभन्दा ठूलो मूल्यको बैंक नोटमा भए पनि, दुई टन तौल हुने बताइन्छ ।

उनीमाथि यस विषयको अनुसन्धान गर्ने केन्द्रीय बैंकका इन्स्पेक्टरलाई ५० लाख डलर घुस दिएको समेत आरोप रहेको छ । अदालतको फैसला आएपछि पनि अहिले भियतनाममा उनी कसरी यति लामो समयसम्म कथित ठगीलाई निरन्तरता दिन सक्षम भइन् भन्ने प्रश्न पनि उठिरहेको छ ।
न्युज कारखाना

धनगढी ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ ।  केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो ।

नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ ।

सुदूरपश्चिममा हाल नाउपाका ६ सांसद रहेका छन् । यस अघि ७ सांसद रहेकोमा अध्यक्ष  रञ्जिताले आफ्नो निर्देशन नमानेको भन्दै इन्दिरा गिरीलाई फिर्ता बोलाएकी थिइन् र प्रदेश सभाले उनी पदमुक्त भएको सूचना समेत सार्बजनिक गरिसकेको छ । ६ सांसद मध्ये अध्यक्षको पक्षमा २ सांसद मात्र रहेका छन् ।

केन्द्रमा भएको सहमति अनुसार मुख्यमन्त्री बाहेक नाउपाले एक मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीचको विवादले नाउपामा अहिले अन्योलता रहेको छ । अध्यक्ष रञ्जिताले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गरेर कैलाश चौधरीलाई नेता बनाएकी थिइन् । यो विषय पनि विवादमा रहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५१ सांसद रहेका छन् । बहुमतको लागि २६ मत चाहिनेमा हालको सत्ता समिकरणसँग माओवादीका ११, एमालेका १०, नाउपाका ६, एकीकृत समाजवादीका ४ गरि ३१ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा कांग्रेसका १८ राप्रपा १ र एक जना स्वतन्त्र सांसद रहेका छन् । न्युज कारखाना

पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाएर १२ पुर्याउने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अहिले गण्डकीमा सात मन्त्रालय रहेकोमा दलहरुबीच भागबण्डा पुर्याउन १२ मन्त्रालय बनाउने तयारी गरिएको हो ।

सरकारका प्रवक्ता हरिबहादुर चुमानका अनुसार मंगलबार बसेको मन्त्रपरिषद्को बैठकले मन्त्रालय थप्ने निर्णय गरेको र सो निर्णय संघमा सिफारिस गरिएको छ ।

मुख्यमन्त्री अधिकारी माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सरकार दाबि गर्दा सभामुखलाई समेत समावेश गरेपछि उनको नियुक्ति विवादमा रहेको छ । यो विषय अहिले सर्वोच्चमा छ र सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश समेत दिएको छ । साथै सर्वोच्चले यो विषयको पूर्ण सुनुवाई बैशाख १० गते गर्ने बताएको छ ।न्युज कारखाना

काठमाडौँ ।

भारतीय चर्चित क्रिकेटर हार्दिक पाण्डेय र क्रुनाल पाण्डेयलाई आफ्नै सौतेलो भाईले ठगि गरेको घटना बाहिर आएको छ ।

भारतीय मिडियाहरुका अनुसार हार्दिक र क्रुनालका भाई वैभव पाण्डेयलाई करिब ४ करोड भारु ठगि गरेको आरोपमा पक्राउ गरेको छ ।

वैभवले साझेदार फर्मबाट करिब ४.३ करोड रुपैया डाइभर्ट गरेको आरोपमा दुबै पाण्डे दाजुलाई नोक्सान भएको रिपोर्टमा बताइएको छ ।

यो घटना २०२१ भएको बताइएको छ । आरोपी वैभवले हार्दिक दाजुभाईसँग मिलेर पोलिमर बिजनेस कम्पनी खोलेका थिए, यस कम्पनीमा हार्दिक र क्रुणालको ४०-४० प्रतिशत र वैभवको २० प्रतिशत सेयर थियो ।

आरोपका अनुसार वैभवले गैरकानुनी रूपमा आफ्नो नाफाको हिस्सा २० प्रतिशतबाट बढाएर ३३.३ प्रतिशत पुर्याएका थिए, जसले हार्दिक र कृणाल पाण्ड्यालाई थप आर्थिक नोक्सान पुर्यायो ।

कम्पनीको नाफालाई सोही अनुपातमा तीन भागमा बाँड्नुपर्ने थियो । कम्पनीको नाफाको रकम पाण्डेय दाजुलाई दिनुको सट्टा अभियुक्त वैभवले छुट्टै कम्पनी बनाएर नाफा रकम हस्तान्तरण गरेपछि पाण्डे दाजुलाई करिब ४ करोड ३ लाख रुपैयाँ नोक्सान भएको बताइएको छ ।

हाल इन्डियन प्रिमियर लिगमा दुवै क्रिकेटर दाजुभाइ व्यस्त रहेका बेला मुम्बई पुलिसको आर्थिक अपराध शाखाले कारवाही अगाडी बढाउदै वैभव पाण्ड्यालाई पक्राउ गरेको छ ।न्युज कारखाना

काठमाडौँ ।

दिनेश राउत निर्देशित फिल्म ‘पूजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउने यस फिल्मको नयाँ पोस्टरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित मुख्य दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बूलाई सामेल गरिएको छ ।

पोस्टरमा फिल्मका प्रमुख कलाकारलाई आफ्नो भूमिका अनुसारको लुक्समा देखाइएको छ । आर्यन ढाका टोपीसहित देखिएका छन् भने प्रदीप लामो कपालसहित कालो टोपी र हाफ पाइन्टमा देखाइएको छ । त्यस्तै पललाई बन्दुक बोकेको र आक्रामक लुक्समा देखाइएको छ । यस पोष्टरले फिल्मको ग्रामिण परिवेस झल्काउछ ।

विकास सुवेदीले लेखेको फिल्ममा मोहन निरौला, प्रेम सुब्बा, तारा शर्मा, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय छ । फिल्मको पहिलो टिजर शुक्रबार रिलिज हुने निर्देशक राउतले जानकारी दिएका छन् ।न्युज कारखाना

काठमाडौँ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका छन् ।

उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथम पटक नियुक्त भएका थिए । उनी २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए ।

बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्मेवारी तोकिएको छ ।

बैंक व्यवस्थापनको तर्फबाट एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाई गरिएको छ । उक्त समारोहमा प्रतिस्पर्धी बैंकिङ्ग बजारमा राष्ट्रिय वाणिज्य बैंकलाई सबल बैंकको रुपमा उभ्याउन श्रेष्ठले गरेको योगदानको बारेमा चर्चा गर्दै उनीप्रति आभार व्यक्त गरिएको थियो । श्रेष्ठले ८ वर्षको अवधिमा आफुले पाएको साथ र सहयोग प्रति सम्पूर्ण सरोकारवाला प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त समारेहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । न्युज कारखाना

विराटनगर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताए ।

सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने स्पष्ट पारे ।

सरकारले गरेका सकारात्मक कार्यबाट जनतामा आशा जागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुशासन र सामाजिक न्यायका सन्दर्भमा सरकारले गरेका सकारात्मक काम जनतासमक्ष पुर्‍याउनुपर्नेमा जोड दिए ।

आगामी दिनमा माओवादी आन्दोलनका सहभागीहरू एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भने, “माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ । समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ । बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नु भएको छ । हामी सबै एक ठाउँमा हुन्छौँ, हुनेछौँ ।”

माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धीलाई उल्ट्याउने प्रयास भइरहेकाले त्यसतर्फ सचेत हुन आग्रह गरे । उनले सङ्घीय निजामति ऐन पारित गर्ने चरणमा रहेको र सङ्घीय प्रहरी ऐन बनेको एवं प्रदेश प्रहरी ऐन कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । न्युज कारखाना

काठमाडौँ ।

बलिवुडका सुपरस्टार सलमान खानले ईदको अवसरमा आफ्नो आगामी फिल्म ‘सिकंदर’ घोषणा गरेका छन् ।

यो फिल्मलाई दक्षिणका चर्चित निर्देशक ए. आर. मुरुगादासले निर्देशन गर्नेछन्, जसले यसअघि ‘गजनी’ र ‘हॉलिडे’ जस्ता हिन्दी फिल्महरू निर्देशन गरिसकेका छन् । यस फिल्मको निर्माता साजिद नाडियाडवाला हुनेछन् ।

बिहीबार इदको विशेष अवसरमा सलमानले सामाजिक सञ्जालमार्फत यो फिल्मको घोषणा गरेका हुन् । पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘यो ईदमा ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ हेर्नुहोस् र अर्को ईद आउनुहोस् र ‘सिकंदर’लाई भेट्नुहोस्… सबैलाई ईदको शुभकामना।’

मुरुगादास र सलमानले यसअघि फिल्म ‘जय हो’ मा सँगै काम गरिसकेका छन् ।

सलमानको पछिल्लो फिल्म टाइगर-३ २०२३ मा रिलिज भएको थियो । उनको २०२४ मा किक-२ रिलिज हुने बताइएको छ भने २०२५ मा टाइगर भर्सेज पठान पनि आउदै छ ।न्युज कारखाना

राजविराज ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्ना गाउँपालिका भित्रका किसानहरूको सिँचाइको विद्युत् महसुल तिर्ने भएको छ। कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पुर्याउने निर्णय गरेको हो।

४० हजार जनसंख्या रहेको यस पालिकामा ९५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् । तर, सिँचाइको अन्य विकल्प नहुँदा किसानले डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्दै आएका थिए । यसरी सिँचाइ गर्दा महँगो पर्न जाने किसानको गुनासो रहँदै आएको थियो ।

कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिका अध्यक्ष बिद्यानन्द चौधरीले बताए  । गएको असार ७ गते सम्पन्न १० औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल पचास प्रतिशत  गाउँपालिकाले तिरिदिने निर्णय गरिएको अध्यक्ष चौधरीले बताए ।

यो निर्णयबाट सम्पूर्ण किसान लाभान्वित हुने अपेक्षा गरेका छौँ,’ अध्यक्ष चौधरी भने, ‘कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले साथै खेतिप्रति किसानको आकर्षणसमेत बढ्ने छ ।’न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।