२०८३ श्रावण २२
२०८३ श्रावण २२

काठमाडौँ । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान बस्नेहरू २२ वर्षीय अनक राई, ३२ वर्षीय अविजल थापा तथा २२ वर्षीय मोहन राई र भोजपुर आमचोक बस्ने २२ वर्षीय विशन राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र  इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले को.३९ प १७४५ नम्बरको स्कुटरमा सवार अनक राई र विशन राईलाई १ ग्राम ६० मिलिग्राम तथा को.३२ प ५४२६ नम्बरको मोटरसाइकलमा सवार अविजल थापा र मोहन राईलाई १ ग्राम २ सय ४० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२० विष्णुपादुकास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोसहित सहिदभूमी गाउँपालिका-१ घर बताउने २४ वर्षीय अनिल कटुवाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको संयुक्त टोलीले प्रदेश १-०६-००१ प ००८३ नम्बरको मोटरसाइकलमा सवार कटुवाललाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै बर्दिया, मधुबन नगरपालिका-७ गोपाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही नगरपालिका-५ गाउँ नम्बर ११ बस्ने २९ वर्षीय रमेश चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २१ मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २९ वर्षीय सुरेन्द्र श्रेष्ठलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै झापा, मेचिनगर नगरपालिका-१५ सुकुम्बासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्रामसहित सोही नगरपालिका-१५ भागागोला बस्ने २६ वर्षीय पर्वत राजबंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही ठाउँ बस्ने ३९ वर्षीय सरोज गहतराजलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी झापा, गौरीगंज गाउँपालिका-४ बारासुतिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-१ बस्ने १९ वर्षीय लुखिराम बास्की र २३ वर्षीय योगेश राजबंशी रहेका छन् । इलाका प्रहरी कार्यालय खजुरगाछीबाट खटिएको प्रहरीले भारतबाट गौरीगंजतर्फ आउँदै गरेको को.१७ प ४८५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पर्दाथसहित पक्राउ गरेको हो ।

त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित कैलाश गाउँपालिका-१० बस्ने ४० वर्षीय पाल्साङ मोक्तानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ५२६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।न्युज कारखाना

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

खनालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।न्युज कारखाना

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्किएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरेका थिए ।

हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो ।

नेशनल सेन्ट्रल ब्युरो नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि एवम् पारस्परिक सहयोग आदान प्रदानका विषयहरूमा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय छलफल समेत गरेका थिए ।

प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेतको सहभागिता रहेको थियो ।न्युज कारखाना

काठमाडौं । जुम्लाका १८ वर्षीय किशोरलाई स्कुल जान पटक्कै मन लाग्ने थिएन । साथीहरूसँग बरालिएर लागूऔषध सेवन गरी घर फर्किँदा उनलाई हिनता बोध हुन थालेको थियो । परिवारका अगाडि निराश देखिन्थे । बोल्न र घुलमिल हुन मन पराउँदैनथे ।

पढाई पनि बिग्रदै गएको थियो । उनको यो अवस्था देखेर घर परिवार चिन्तित भए । उनीहरूको आग्रहमा किशोर लालटिन समूहको सम्पर्कमा आए । अहिले उनी खुसी छन् । घर र स्कुलमा रमाउन थालेका छन् । पढाई पनि राम्रो हुँदै गईरहेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘कर्णालीमा लागूऔषध विरूद्ध लालटिन अभियान’ अन्तर्गत गठित लालटिन समन्वय डेस्कको सम्पर्कमा आएपछि ती किशोर लागूऔषध दुर्व्यसनबाट मुक्त भएका हुन् । अहिले उनी जस्ता धेरै युवाहरू अभियान अन्तर्गत संचालित कार्यक्रमहरूको प्रभावले दुर्व्यसन मुक्त भएका छन् । सो क्षेत्रमा लागूऔषधको अवैध कारोवार पनि घटेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित कर्णाली विशेष अभियान,२०८० अन्तर्गत लालटिन अभियान संचालन गरिरहेको छ । लागू पदार्थ उत्पादन, ओसार पसार, बिक्री वितरण र सेवन विरूद्ध प्रहरी परिचालन गरी कानूनी दायरामा ल्याउने लगायतका उद्देश्यले २०८० असोज २५ गतेदेखि अभियान संचालन गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन्, “तत्कालिन अवस्थामा म आफै प्रदेश प्रहरी कार्यालय कर्णालीको प्रमुख थिएँ । लागूऔषध दुर्व्यसनमा फसेका युवाहरू जोगाउन र लागूऔषधको अवैध कारोवार नियन्त्रण गर्न अभियान संचालन गरिएको हो । अभियान कर्णालीका १० जिल्लामा एकैपटक शुरू गरिएको थियो । प्रहरीको सक्रियताले सबै जिल्लाका गाउँ गाउँसम्म अभियान पुग्न सफल भएको छ । अहिले १ वर्ष पछि आएर समीक्षा गर्दा लागूऔषध कारोवार र प्रयोग घट्दो अवस्थामा रहेको पाइएको छ । यस अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजानु आवश्यक छ ।”

अभियान अन्तर्गत विभिन्न लालटिन समूह गठन गरी काम भइरहेको छ । शुरूदेखि हालसम्म ७ महिनाको अवधिमा जम्मा १ हजार २०० वटा लालटिन समूह गठन भएका छन् । तीमध्ये जिल्ला लालटिन समन्वय डेस्क ९ वटा, नगरपालिका स्तरीय लालटिन समूह २२ वटा, गाउँपालिका स्तरीय लालटिन समूह ४३ वटा, वडा स्तरीय लालटिन समूह ५४१ वटा, गाउँ/टोल लालटिन समूह २५६ वटा, कलेज लालटिन समूह १४ वटा र विद्यालय लालटिन समूह ३१५ वटा रहेका छन् ।

लागूऔषध दुर्व्यसनले प्रभाव पारेका क्षेत्र, समुदाय वा वर्ग पहिचान गरी अभियान संचालन गर्ने गरिएको छ । बढि प्रभाव परेका क्षेत्र र वर्ग लक्षित नियन्त्रणका उपायहरू अवलम्बन गरी सक्रिय रूपमा काम गर्ने गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओली भन्छन्, “अभियान अन्तर्गत जिल्लादेखि पालिका, वडा, वस्तीस्तर हुँदै स्कुल कलेजसम्म लालटिन समूह गठन गरी काम गरिएको छ । समुदायसँग मिलेर उनीहरूकै सुझाव कार्यान्वयन गर्दै काम गर्दा अभियान सफल हुँदै गएको छ ।”

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कर्णाली प्रदेशमा १ सय २९ जना लागूऔषध कारोवारी पक्राउ परेका छन् । सो अवधिमा ८२ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा २ सय १५ जना पक्राउ परेका थिए । उक्त आर्थिक वर्षमा ११४ मुद्दा दर्ता भएका थिए । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा १ सय ७२ जना मानिस पक्राउ परेका थिए भने ९५ मुद्दा दर्ता भएका थिए । अभियान अन्तर्गत चालु आर्थिक वर्षमा २५ रोपनी जग्गामा लगाएको गाँजा खेती र ६ सय १८ रोपनी जग्गामा लगाएको अफिम खेती फडानी गरिएको छ । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ५ सय ३७ रोपनी जग्गामा लगाएको गाँजा खेती र ४ सय ७१ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरिएको थियो । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा ५ सय ८ रोपनी जग्गामा लगाएको गाँजा खेती र ५९ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरिएको थियो ।

अभियान अन्तर्गत विभिन्न लक्षित वर्गहरूको लागि निरन्तर रूपमा प्रभावकारी तवरले लागूऔषध विरूद्धको सचेतना अभिवृद्धि कार्यक्रमहरू संचालन गरिएको छ । यसबाट समाजमा विकरल रोगको रूपमा फैलिएको लागूऔषध दुर्व्यसनी रोक्न अभियान सफल भएको छ । शान्ति सुरक्षा र सुरक्षित कर्णाली कार्यक्रम गाउँ गाउँसम्म पुगेको छ । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन्, “आम नागरिकहरूलाई सचेत बनाई सक्रिय सहभागिता गराउने अभियानको लक्ष्यले सार्थकता पाएको छ ।

लागूऔषध दुर्व्यसन र कारोवारको कारण सुक्ष्म रूपमा अध्ययन गरी त्यसको समाधन गर्न सहज भएको छ । यसबाट लागूऔषध सेवन, कारोवारबाट हुने अपराधलाई निरूत्साहित पार्न सहज भएको छ । यसले समाज र नागरिकहरूमा सुरक्षाको अनुभूति बढाएको महसुस भएको छ । ”न्युज कारखाना

काठमाडौँ । काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामीलाई पनि यस्तै लागेको थियो । तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो । जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ ।

लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ किलोमिटरको दूरीमा छ,दोलखाको डाँङडुँगे डाँडा । समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको यो क्षेत्रमा डाँफे पाइने जानकारीमा भए पनि तस्बिर भने पहिलो पटक खिचिएको भीमेश्वर नगरपालिका–९ का वडा अध्यक्ष हिमाल श्रेष्ठ बताउँछन् । डकुमेन्ट्री प्रोडक्सनमा सक्रिय राइज मिडियाको टोलीले सो क्षेत्रमा भाले र पोथी डाँफेको तस्बिर पहिलो पटक खिचेको हो ।

सोही वडाका स्थानीय बासिन्दा जीत बहादुर श्रेष्ठले यस भेगमा डाँफे, मुनाल लगायतका चराहरू पाइने सुनाए । राजधानीबाट अत्यन्तै नजिकको दूरीमा उच्च हिमाली भेगमा पाइने डाँफे, मुनाल लगायतका चरा हेर्न पाइने भए पनि जानकारीको अभावले यहाँ चरा पारखी वर्ड फोटोग्राफरहरूको ध्यान पुग्न नसकेको बताए ।

जीत बहादुर चलचित्र विकास बोर्डका बोर्ड सदस्य पनि हुन् । यसै ठाउँमा पर्ने १५ सय रोपनी जग्गा र आसपासको क्षेत्रलाई चलचित्र विकास बोर्डले फिल्म सिटी बनाउँदै छ । यहाँबाट आँखैअगाडि गौरीशङ्कर, गणेशसहित आधा दर्जन हिमालहरू र एकै थलोमा अनेक थरीका गुराँस देख्न सकिन्छ ।

घाँसले ढाकिएका अत्यन्त भिरालो चट्टानयुक्त भीर र सो नजिकको जङ्गलमा बस्न रुचाउँछ–डाँफे । लजालु स्वभावको यो चरा हिमपातका बखत होचो भूभाग तथा लालीगुराँसको जङ्गलमा झर्दछ । डाँफे पाकिस्तान, भारत, नेपाल, भुटान चीन र वर्माको रैथाने चरा हो ।

नेपालमा यो चरा ३३०० मिटर देखि ४७५० मिटर सम्मको उचाइमा र हिउँदमा २५०० मिटरसम्म झर्छ । हिमाली संरक्षित क्षेत्रहरू (मकालु वरुण, सगरमाथा, लाङटाङ, शे–फोक्सुण्डो, खप्तड र रारा राष्ट्रिय निकुञ्जहरू, ढोरपाटन सिकार आरक्ष, कञ्चनजङ्घा, गौरीशङ्कर, मनास्लु, अन्नपूर्ण तथा अपिनाम्पा संरक्षण क्षेत्रहरू) मा यो चरा देखिने गरेको छ ।

नेपालमा यसको सङ्ख्या ३५०० देखि ५००० सम्म अनुमान गरिएको छ । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस चरालाई संरक्षित पन्छीको सूचीकृत गरेको छ ।न्युज कारखाना

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक अभियुक्तले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पतालमा भर्ना गरेको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका छन् ।

प्रहरीले सलमान खानको घरबाहिर गोली हान्ने चार जना विक्की गुप्ता, सागर पाल, सोनुकुमार चन्दर बिश्नोई र अनुज थापनलाई पक्राउ गरेको थियो ।

प्रहरीले गोली प्रहारका अभियुक्त विक्की गुप्ता र सागर पालका साथै यस घटनामा हतियार उपलब्ध गराउने सोनुकुमार चन्द्र बिश्नोई र अनुज थापान र गुण्डा नाइके लरेन्स बिश्नोई र उनका भाइ अनमोल बिश्नोईलाई पनि मुद्दा दायर गरेको थियो ।

अदालतले उनीहरुलाई मे ८ सम्म प्रहरी हिरासतमा पठाएको थियो ।न्युज कारखाना

राैतहट १९  वैशाख । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित हुन थालेको छ । सबैभन्दा बढी बालबालिकालाई प्रभाव पर्न थालेको देखिएको छ । अत्यधिक गर्मी र तातोले घरबाहिर हिँड्न मुस्किल हुन थालेपछि मधेश प्रदेशका केही पालिकाले विद्यालयको समय परिवर्तन गरेका छन् भने केहीले पठनपाठन नै बन्द गरेका छन् ।

सर्लाहीको हरिवन नगरपालिकाले शनिवारसम्म पालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

अत्यधिक गर्मी बढेर बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि शनिवारसम्मको लागि पालिकाका सबै विद्यालय बन्द गरिएको शिक्षा शाखाका प्रमुख एवं शिक्षा अधिकृत रुस स्टालिन चौलागाईँले जानकारी गराएका छन् । हरिवन नगरपालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालय शनिवारसम्म बन्द गर्ने नगर शिक्षा समितिको निर्णय भएको चौलागाईँले सार्वजनिक गरेका छन् ।

यसै गरी  पर्साको वीरगंज महानगरपालिकाले पनि विद्यालयको समय परिवर्तन गरी बिहानको समयमा कक्षा संचालन गर्न सूचना जारी गरेको छ । विद्यालयको पठनपाठनको कूल समयमा फरक नपर्ने गरी बिहानको सत्रमा कक्षा संचालन गर्न महानगरपालिकाले सूचना जारी गरेको हो । अत्यधिक गर्मीले विद्यालयको छानो तातो हुने गरेको तथा कतिपय विद्यालयमा जस्ताको छानो हुँदा भित्र बस्ने नसक्ने अवस्था सिर्जना भएकोले बिहानको समयमा कक्षा संचालन गर्न धेरैतिरबाट सुझाव दिइएको छ ।

बिहानको दश बज्दा नबज्दै कक्षाकोठामा तातो हावा पस्न थाल्ने गरेको तथा सबै बालबालिकालाई शीतल खानेपानीको साथै गर्मीबाट जोगिन बिजुली र पंखाको व्यवस्थापन सबै विद्यालयमा सम्भव नहुनाले विद्यालयहरुलाई गर्मी चर्किनु अगावै घर पठाउन थालिएको हो । मधेशका अधिकांश विद्यालयमा बैसाखदेखि असारसम्म बिहानी सत्रमा कक्षा संचालन हुने गर्दछ ।न्युज कारखाना

 

१८ बैसाख, महोत्तरी 

महोत्तरीको बर्दिवासमा रहेको खानेपानी संस्थानमा चरम अनियमितता भएको भन्दै समितिका पदाधिकारीहरुले नै प्रशासन कार्यालयमा उजुरी दिएका छन  ।

बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थानमा अध्यक्ष भुलन सेनवाट  अनियमितता भएको आरोपसहित  उपभोक्ताहरुवाट निर्वाचित सचिव र कोषाध्यक्षले मंगलवार  इलाका प्रशासन कार्यालय बर्दिवासमा उजुरी दिएका हुन ।

स्वार्थसिद्धको लागि विधानविपरित काम गरेर उपभोक्ताहरुको अपेक्षामा ठेस पुर्‍याएको जिकिर गर्दै कोषाध्यक्ष भोज प्रसाद फुयाल र सचीव उदय भण्डारीले छुट्टाछुट्टै उजुरी दर्ता गराएको इलाका प्रशासन कार्यालयले जनाएको छ ।

कोषाध्यक्ष फुयालको हस्ताक्षर हटाएर ३ महिनादेखी उपभोक्ताहरुको पैसाको दुरुपयोग र अनियमितता भएको र कार्यालय संचालनार्थ काम गर्नुपर्ने सचिव भण्डारीलाई समेत हटाएर जनमतको उपेक्षा गरेको उनिहरुले वताएका छन ।

आन्तरिकरुपमा आम उपभोक्तालाई थाहा नै नदिएर भित्री बदमासीहरुलाई सच्याउन बिशेष साधारणसभा समेत गरिएको कोषाध्यक्ष फुयालले दावी गरे । यो बिषयलाई पुष्टि गर्नेगरी सामाजिक संजालमा साधारणसभा गरिएको माइन्युट र निर्णयहरु समेत सार्वजनिक भएका छन ।

अहिले नगर क्षेत्रमा यँहि बिषय नै पेचिलो बन्दै गएको छ । एकै परिवारको ७ जनासम्म उपस्थित गराएर बिशेष साधारणसभावाट अध्यक्ष अनुकुल हुनेगरी बिधान संसोधन समेत गरिएको पदाधिकारीहरुको आरोप छ । सभाको नाममा हस्ताक्षर किर्ते गरी संस्थानलाई कमाई खाने ठाँउ वनाएको र खानेपानी जस्तो संवेदशील विषयमा अध्यक्ष सेनले कुठाराघात गरिरहेको कोषाध्यक्ष फुयालले वताए ।

३ महिनादेखि आफ्नो हस्ताक्षरविना खानेपानीमा जम्मा भएको जनताको पैसामा रमाईलो गरेको प्रमाण समेत सुरक्षित रहेको वताउदै यो अवधिमा भएको सम्पूर्ण कारोवार पनि अवैध भएको उनको भनाइ छ ।

सचिव उदय भण्डारीले पनि संस्थानको मनोमानिप्रती आपत्ति जनाएका छन । अध्यक्ष सेनले बहुमतको वलमा आफुलाई थाहा नदिई वैठक राख्ने र अनुचित निर्णय गर्ने गरेको सचिव भण्डारीले वताए ।

बहुसंख्यक मानिसहरुको आशाको धरोहर रहेको खानेपानी संस्थानमा निर्वाचित पदाधिकारीहरुवाट नै  बेथितिहरु  सार्वजनिक भएपछी नगर क्षेत्रका उपभोक्ताहरुले

चासो र चिन्ताको ब्यक्त गरेका छन  । नगर क्षेत्रका कंयौ स्थानीयहरुले सामाजिक संजालवाट नै खवरदारी गर्न सुरु गरेका छन ।स्थानीय रिमनाथ अधिकारीले फेसवुकमा लेख्छन – ‘हिजोको दिनमा गलत तवरले चलेको छ भन्ने सुन्नमा मात्र आएको थियो तर आज प्रमाणित भएको छ । जनता जनार्दन हुन, जनताको मतको दुरुपयोग गर्ने जोकोही सजायको भागिदार हुन्छन । सार्वजनिक सम्पतीमाथी जथाभावी गर्नेहरुले तुरुन्तै राजीनामा दिनु पर्छ ।’

कोषाध्यक्ष र सचिवको अध्यक्षसँगको दुरी  प्रतिस्पर्धा विना आफ्नै नाता पर्ने महिला कर्मचारी राखेको भन्दै वढेको थियो । ‘कर्मचारी राख्न प्रतिस्पर्धा गराउनुपर्ने ठाँउमा गुपचुप नातेदार भर्ना गरेको बिषयमा विवाद भयो त्यहि कारण हामीलाई हटाएका हुन ।’ सचिव भण्डारीले भने ।

अध्यक्ष भुलन सेन भन्छन : मैले गलत गरेको छैन

अध्यक्ष भुलन सेनले भने खानेपानी संस्थानमाथी लागेका आरोपहरु निराधार भएको वताएका छन ।

जनताको भावना र आवस्यकताअनुरुप काम गरेको वताउदै त्यसभन्दा बाहिर कुनै गलत नगरेको अध्यक्ष सेनको भनाई छ । अफवाह फैलाउनेगरी केहि व्यक्तिहरु लागेको वताउदै त्यसको पछाडी नलाग्न अध्यक्ष सेनले आग्रह गरे ।

‘म कतै गलत छैन कार्यालयमा नै आएर बुझ्दा हुन्छ ।’ उन्ले भने । ‘अव अरुले के गर्छन त्यो मलाई मतलव छैन तर जिम्मेवारीमा प्रतिवद्ध छु ।’

दिर्घकालिन खानेपानी योजना अगाडी बढाएर बढिरहेको र आम उपभोक्ताहरुलाई प्रतिवद्धता जनाएअनुसार नै काम गरिरहेको अध्यक्ष सेनको भनाई छ ।

न्युज कारखाना

 

 

 

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो ।

वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुदै १५१ रन बनाएको थियो ।

नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाएका थिए ।

त्यसैगरी वेस्ट इन्डिज ए का बलर हेडेन वाल्शले ३ विकेट लिए भने गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको थियो ।

वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका छन् ।

त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए ।

वेस्ट इन्डिज ए ले यो जितपछि ५ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । अब सिरिजको चौथो खेल भोलि खेल्दै छ भने पाँचौं खेल मे ४ मा हुने छ ।न्युज कारखाना

 

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

डा. थापाले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन् । ‘धार्मिक एवं सांस्कतिक अध्ययन अनुसन्धानका लागि अन्तराष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय गरिएको हो । सेतो सत्तल गुह्वेश्वरीमा पुस्तकालय निर्माण गरिनेछ । दुवै निर्णय औपचारिक रुपमा कोष सञ्चालक परिषद्को बैठकमा प्रस्ताव गरी कार्यान्वयन गर्ने तयारी छ,’ उनले भने ।

यसैबीच, विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा परेको मुद्दामा सदस्य सचिव डा. थापासहित तीनै जनालाई सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले डा. मिलनकुमार थापासहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।

विशेष अदालतले मङ्गलबार भएको सुनुवाइपछि अन्तिम फैसला गर्दै पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा अनियमितता नभएको ठहर गरी सदस्य सचिव डा. थापा, पूर्व सदस्य सचिव डा. ढकाल र श्रेष्ठलाई सफाइ दिइएको हो । अख्तियार दुरुपयोग अनुन्धान आयोगले २०८० असोज १४ गते उनीहरूविरुद्ध मुद्धा दायर गरेको थियो ।

सदस्य सचिव डा. थापाले पशुपति नाथ मन्दिरको सम्पत्ति फिर्ता गर्ने बताएका छन् । ‘३० वर्षसम्म नबोल्ने भगवानको सेवा गरेँ, तर बोल्ने भगवानकहाँ न्याय माग्न पुगेपछि न्याय पाएँ । सम्पूर्ण न्यायमुर्तिहरूप्रति हार्दिक आभार व्यक्त गर्छु । र अब भगवान पशुपतिनाथको सेवामा अहोरात्र खटिनेछु,’ उनले भने ।

डा. थापाले धार्मिक एवं सामाजिक अभियानमा निरन्तर खटिएको बताउँदै सत्य र निष्ठापूर्वक काम गरेको र अब त्यही उत्साहलाई कायम राखेर खट्ने प्रण गरेका छन् ।

सदस्य सचिव डा. थापा जलहरी निर्माण गर्दा संयोजक एवं कोषका सदस्य हुनुहुन्थ्यो । २०७७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा जलहरी निर्माण गरिएको थियो । अख्तियारले नापजाँच गरेपछि २०८० असार १३ गते जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा सुनको जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको थियो ।

२०८० असार १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको थियो । २०८० असार ११ गते सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरबाट उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको थियो । जलहरी राखिएको स्थानलाई नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषबाट परिचालित निजी सुरक्षागार्डले सिसिटिभीको निगरानीसहित सुरक्षा प्रदान गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली २०७७ माघ १२ गते पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन गर्न गएका बेला सुनको जलहरी निर्माणको विषयले प्रवेश पाएको हो । उनले कोषले राखेको आगन्तुक पुस्तिकामा ‘आज श्रीपशुपतिनाथको दर्शन गर्ने सुअवसर मिल्यो । स्वर्ण जलहरी बनाउने यहाँको समितिको इच्छा पुरा गर्न अपुग हुने रकम ३० करोड नेपाल सरकारको तर्फबाट तत्काल दिइँने छ । आगामी महाशिवरात्रीसम्ममा सो जलहरी निर्माण भइसक्ने छ भन्ने विश्वास लिएको छु’ लेखेका छन् ।

पूर्व प्रधानमन्त्री ओलीको भ्रमणको दुईदिनपछि माघ १४ गते कोषका अध्यक्ष समेत रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको कोषको सञ्चालक परिषद्को बैठकले जलहरी निर्माण गर्ने निर्णय गरेको थियो । सोही बैठकले जलहरी निर्माण गर्ने निर्णय गरेको थियो । २०७८ फागुन ११ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी उद्घाटन गरेकी थिइन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।