सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका-१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भन्ने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
जितेन्द्रले घरायसी वादविवादको कारण मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते चन्दरको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
उदयपुर, कटारी नगरपालिका-६ धप्पर बस्ने सिन्धुली दुधौली नगरपालिका-७ कटहरे घर भएका ६५ वर्षीय बल बहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा कटारी नगरपालिका-६ धप्पर बस्ने ३५ वर्षीय केसर बहादुर परियारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । केसर बहादुरले सोमबार साँझ दाउराले हान्दा गम्भीर घाइते भएका बल बहादुरको कटारी अस्पताल हुँदै ब्लु क्रस अस्पताल त्रिपुरेश्वर काठमाडौंमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । न्युज कारखाना
जनकपुरधाम । तराई-मधेश लोकतान्त्रिक पार्टीले मटीहानीको जरलहवा टोलका जनताका लागि प्रदेश सरकारबाट विशेष राहत सहयोगको मांग गरेको छ ।
पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाली काँग्रेसको नेता जीवनाथ ठाकुर, तमलोपाका रविशंकर सुभाष, उमेश मण्डल, बिभा ठाकुर, बिमला साह, बैध्यनाथ साह सहितको प्रतिनिधि मण्डलले आज मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसंग भेंट गरी अगिलागीबाट पूर्णतः जलेको मटीहानीको जरलहवा टोलका जनताका लागि प्रदेश सरकारबाट विशेष राहत सहयोगको माग गरेका हुन् ।
पुनः बसोबासको अहिलेसम्म कुनै व्यवस्था नभएको र जनता बिचल्लीमा रहेको उनीहरुको भनाई छ । उनीहरुले एक द्वार प्रणालीको नाममा अरुलाई राहत वितरण गर्न अवरोध खडा गरिरहिएको खबरप्रति समेत बिरोध प्रकट गरेका छन् । प्रशासन, स्थानीय सरकार , प्रदेश र संघीय सरकार राजनीतिक क्रेडिटको निमित्त यस्तो गर्नु नहुने, राजनीतिक समर्थनको आधारमा सहयोग वितरण गर्न नहुने र जनताको पैसाबाट गरिने सरकारी सहयोगमा व्यक्ति वा नेताको हालीमुहाली चल्नु नहुने उनीहरुको भनाई थियो ।
गत बैशाख १२ गते सो टोलमा अगिलागी भई करीब १५० घर परिवार पूर्णतः नष्ट भएको थियो । प्रतिनिधि मण्डलले अहिलेसम्म सो टोलका बासिन्दाहरुको निमित्त बसोबास लगायत अन्य व्यवस्थामा प्रदेश सरकारले कुनै विशेष राहत-सहयोगको घोषणा नगरेकोमा क्षोभ प्रकट गर्दै यथाशिघ्र कदम उठाउन माग गरेको छ ।
प्रतिनिधि मण्डलले पूरै मधेश प्रदेशमा भूमिगत जलको सतह सवाट्टै झरेर दैनिक उपयोग र पेयजलको आभाव भएको समस्याप्रति समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गरायो । यस क्षेत्रमा तत्काल अग्रसरता र खानेपानीको आपूर्ति गर्नुका साथै भूमिगत जलको रिचार्जिंगमा आइरहेको खठिनाई, चुरे भाँवरसंग सम्बन्धित वातावरणीय समस्या इत्यादिको बारेमा समेत ध्यानाकर्षण गराउँदै भूमिगत जलको रिचार्जिंगको निमित्त अल्पकालिन/दिर्घकालिन परियोजना संचालन गर्न आग्रह गरे ।
मधेश प्रदेशमा यस अवधिमा हत्या र दुर्घटनाका घटनाहरु दिनानुदिन बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै प्रतिनिधि मण्डलले यसलाई त्तकाल नियन्त्रण गर्नु पर्ने भन्दै सुरक्षा क्षेत्रलाई यसप्रति सजग गराउन मुख्यमन्त्रीसंग अनुरोध गरेको छ । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताए ।
“प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ,” प्रधानमन्त्री प्रचण्डले भने, “सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ । असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसकिताको विकास गराउने, सामाजिक सद्भाव विथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीहरूको प्रकाशन प्रसारणका लागि स्वनियमन प्रणाली विकास गर्न आमसञ्चार माध्यमहरूलाई मेरो आग्रह छ ।”
महासङ्घले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालका रूपमा लिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताए ।
“कुनै पनि व्यवस्था जनपक्षीय र लोकतान्त्रिक हो वा होइन भनेर मापन गर्ने बलियो आधार त्यो व्यवस्थामा प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको सुनिश्चितता छ वा छैन भन्ने पनि हो,” प्रधानमन्त्री प्रचण्डले भने, “हिजोको राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मारिनुपर्ने, समाचार सामग्री सेन्सरसीप गराउनुपर्ने तथा संचार साधन अवरुद्ध गरिने अवस्था अन्त्य भएको छ ।”
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अङ्ग बनेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने स्पष्ट पारे ।
“हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताविना देशमा यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन,” प्रधानमन्त्री प्रचण्डले भने, “अब पत्रकारिता क्षेत्रसमेत सहभागी भएर प्राप्त भएका उपलब्धीको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी र निगरानी गर्ने मिसन बनाउनुपर्छ ।”
सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डामा सरकारको जोड रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार प्रेस जगतसँग हातेमालो गर्दै परिवर्तनका एजेण्डालाई संस्थागत गर्न र देशमा द्रुत आर्थिक बृद्धि हासिल गर्न चाहेको बताए ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीहरुको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न सबै पक्षलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मी तथा जिम्मेवार निकायबाट हुने दुर्व्यवहार र हतोत्साहित गर्ने कार्य कानुनी शासन, लोकतन्त्र र मानव अधिकारका मूल्य मान्यताविपरीत रहेको उल्लेख छ ।
उनले एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ- ‘नेपालमा गत वर्षभन्दा यस वर्ष बढी सञ्चारकर्मीहरू पीडित हुन पुगेको अवस्थाप्रति आयोग चिन्ता व्यक्त गर्दछ । नेपाल पत्रकार महासङ्घका अनुसार पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएका छन् । ’
आयोगले जस्तोसुकै सङ्कटको अवस्थामा पनि चुनौतीहरूको सामना गर्दै सूचनाको हकका लागि अहोरात्र कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीहरू भौतिक रूपमा असुरक्षित भएको, अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लागेको र समाचार लेखेकै आधारमा सञ्चारकर्मीहरू पक्राउ पर्ने गरेकोप्रति चिन्ता प्रकट गरेको छ । साथै सञ्चारकर्मीहरूप्रति असहिष्णु व्यवहार हुने गरेको, सञ्चारकर्मीहरूको कार्यप्रति प्रश्न खडा गरिएको, समाचार सङ्कलनका लागि स्थलगत रूपमा खटिँदा सञ्चारकर्मीलाई हतोत्साहित गरिएको तथा सामाजिक सञ्जालमा लेखेको आधारमा विभेदपूर्ण रूपमा साइबर अपराधमा मुद्दा चलाउने गरिएको जस्ता सूचनाहरू आयोगमा प्राप्त भएको पनि जनाएको छ ।
न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको र आगामी दिनमा पनि सोहीअनुसार अगाडि बढ्ने विश्वास दिलाए ।
“सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्द्धन गर्ने नीति लिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाइँदैछ ।”
नेपालको प्रेस जगत सधैँ परिवर्तनको पक्षमा उभिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कतिपय आन्दोलनमा प्रत्यक्ष सरिक र कतिपय एजेण्डामा प्रेस जगतले ऐक्यबद्धता व्यक्त गर्दै आएको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं समाजको रुपान्तरण र जनताको अधिकार प्राप्तिका निम्ति नेपाली प्रेस जगतले महत्त्वपूर्ण योगदान गरेको बताए ।
निरङ्कुश शासनकालमा नेपाली प्रेसले शासकहरूबाट राजनीतिक दलहरूले जस्तै कठोर दमन र उत्पीडनको सामना गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले दमनविरुद्धको प्रतिरोधमा प्रेस जगत खरो सावित हुँदै आएको उल्लेख गरे । उनले भने, “इतिहासको विभिन्न कालखण्डका प्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक आन्दोलन वा गणतन्त्र स्थापनाको समयमा मात्र नभई जनयुद्धको समयमा पनि प्रेसले महत्त्वपूर्ण योगदान गरेको छ । शान्ति प्रक्रियाको चरणमा पनि नेपाली प्रेसले सकारात्मक योगदान गरेको मेरो विश्लेषण छ ।”
नेपाली प्रेसको वर्तमान अवस्था, यसले भोगिरहेका चुनौती र समस्याहरूका बारेमा सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प, नाकाबन्दी, कोभिड–१९ हुँदै पछिल्लो आर्थिक मन्दीसम्म पुग्दा नेपाली मिडिया उद्योग आर्थिकरूपमा कमजोर बन्न पुगेको बताए ।
श्रमजीवी पत्रकारका समस्या चाहे जसरी सम्बोधन नभइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पत्रकारको दक्षता अभिवृद्धि गर्न, वृत्ति विकासको अवसर सिर्जना गर्न र स्वास्थ्य उपचारलगायत सामाजिक सुरक्षाको निम्ति ठोस कदम चालिने बताए ।
“आमसञ्चार क्षेत्रको पुनर्संरचनाको निम्ति केही नीतिगत आधार तयार भए पनि कानुन तथा संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ,” प्रधानमन्त्री प्रचण्डले भने, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलगायतका विषयमा सरकार गम्भीर छ र तिनको सम्बोधन गर्न प्रयासरत छ ।” उनले पत्रकारिता क्षेत्रमा उठेका कतिपय विषयहरू आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्बोधन गरिने जानकारी दिए ।
“पत्रकारको दक्षता बृद्धिका लागि प्रशिक्षण प्रतिष्ठानको स्थापना, श्रमजीवी पत्रकार तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने विषय, विज्ञापनको सवाल, बीमाको विषय, मिडिया उद्योगले भोगिरहेको आर्थिक सङ्कटको सम्बोधनजस्ता विषयलाई प्राथमिकतामा राखेर अघि बढाइने छ,” प्रधानमन्त्रीले भने । न्युज कारखाना
काठमाडौँ । भारतमा जारी लोकसभा निर्वाचनमा भारतीय नेशनल कांग्रेसले उत्तर प्रदेशको चर्चित सिट रायबरेली र अमेठीका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ ।
कांग्रेसले राहुल गान्धीलाई रायबरेली सिटबाट चुनावी मैदानमा उतारेको छ । रायबरेली सिटका लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति आज हो ।
राहुल गान्धीले रायबरेली सिटबाट चुनाव लड्ने यो पहिलो पटक हो । उनले आजै आफ्नो मनोनयन दर्ता गर्दै छन् । अब उनको प्रतिष्पर्धा भाजपाका दिनेश प्रताप सिंहसँग हुने भएको छ ।
गत लोकसभा चुनावमा उनलाई सोनिया गान्धीले पराजित गरेकी थिइन् । सोनिया गान्धी सन् २००४ देखि २०२४ सम्म रायबरेली सिटबाट सांसद भइन् ।
यसपटक सोनिया गान्धीले रायबरेलीबाट चुनाव नउड्ने निर्णय गरिन् । सोनिया गान्धी अहिले राज्यसभाकी सांसद बनेकी छन् ।
राहुल गान्धी सन् २००४ मा अमेठी सिटबाट सांसद निर्वाचित भएका थिए । त्यसपछि उनी यस सिटबाट लगातार सांसद चुनिए । तर २०१९ मा भाजपाकी स्मृति इरानीले यस सिटमा राहुल गान्धीलाई हराएकी थिइन् । तर, २०१९ लोकसभा चुनावमा राहुल गान्धीले केरलाको वायनाड सिटबाट पनि चुनाव लडे र त्यहाँबाट जितेर संसदमा पुगेका थिए । यसपटक पनि राहुल गान्धी वायनाडबाट चुनाव लडिरहेका छन् । यो सिटमा मतदान भइसकेको छ ।
त्यस्तै १९९९ पछि यो पहिलो पटक हो कि गान्धी परिवारका कुनै सदस्यले अमेठीबाट चुनाव लडेका छैनन् । सन् १९९९ मा सोनिया गान्धीले अमेठी सिटबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । यसपछि सन् २००४ मा सोनिया गान्धीले रायबरेली सिटबाट चुनाव जितिन् । यस वर्ष राहुल गान्धी अमेठी सिटबाट सांसद निर्वाचित भएका थिए ।
२०१९ बाहेक, कांग्रेसले 19७७ र १९८८ मा पनि अमेठी सिटमा हारेको छ, जब यस सीटमा उम्मेदवार गान्धी परिवारबाट थिएनन् ।
अमेठी र रायबरेलीलाई गान्धी परिवारको सिट मानिन्छ। फिरोज गान्धी सन् १९५२ र १९५७ मा यस सिटबाट सांसद निर्वाचित भएका थिए । इन्दिरा गान्धी १९६७ मा रायबरेलीबाट चुनाव लडेर लोकसभा पुगेकी थिइन् । इन्दिरा गान्धीले सन् १९७१ मा रायबरेली सिट जितिन् । तर, सन् १९७७ मा आपतकालपछि उनले यो सिट गुमाएकी थिइन् । सन् १९८० मा इन्दिरा गान्धीले रायबरेलीबाट फेरि चुनाव जितिन् । तर यी चुनावमा उनले आन्ध्र प्रदेशको मेडक सिटबाट पनि जितिन् ।
गान्धी परिवारको राजनीतिक सुरुवात अमेठीबाट सन् १९८० मा भएको थियो। त्यसपछि सञ्जय गान्धी यही सिटबाट जितेर संसदमा पुगेका थिए ।
सञ्जय गान्धीको मृत्युपछि राजीव गान्धी सन् १९८१ मा यही सिटबाट संसदमा पुगेका थिए । उनी आफ्नो मृत्युसम्म यही सिटबाट सांसद निर्वाचित भए । तर, १९९१ देखि १९९९ सम्म गान्धी परिवारका कुनै पनि सदस्यले यस सिटमा उम्मेदवारी दिएनन् ।
यस पटक कांग्रेसले अमेठीबाट गान्धी परिवारका नजिकका मानिने किशोरीलाल शर्मालाई उम्मेदवार बनाएको छ । उनले भाजपाकी स्मृति इरानीको सामना गर्ने छिन् । त्यस्तै कांग्रेसकी प्रियंका गान्धी भने उम्मेदवार नबन्ने भएकी छन् ।न्युज कारखाना
काठमाडौँ । स्वास्थ्य बिमा गराएका, काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १ गते जारी हुँदैछ । यसमा सबैभन्दा धेरै बिमित वडा नं. १५ बाट छन् । कार्ड जारी भएसँगै स्वास्थ्य उपचार सेवा सञ्चालन हुनेछ । बिमा गराउने कार्य नियमित चल्नेछ । कार्ड हरेक ३ महिनामा जारी हुनेछ ।
अहिले वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. २६ लैनचौर, वडा नं. १४ कलंकी, वडा नं. १९ कंकेश्वरी र वडा नं. ३० ज्ञानेश्वरका स्वास्थ्य प्रवर्धन केन्द्र बिमा बोर्डमा सूचीकृत छन् । बिमित व्यक्तिहरुले छानेका यी केन्द्रहरु सुरु सम्पर्क विन्दु हुन् । यिनै केन्द्रहरुबाट स्वास्थ्य उपचार सेवा प्रदान गरिन्छ । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइनेछ ।
यसरी प्रदान गरिने उपचार सेवा अनलाइन प्रणालीमा आधारित हुनेछन् । यसका लागि हरेक केन्द्रका ५ जना स्वास्थ्यकर्मीलाई ४ दिने सफ्टवेयर सञ्चालन तालिम सुरु गरिएको छ । बिहीबारबाट सुरु भएको तालिममा विवरण प्रविष्टि, उपचार सेवा, प्रयोगशाला तथा औषधिको विवरण अभिलेखन, प्रतिवेदनलगायत सिप सिकाइने बताउँदै स्वास्थ्य बिमा कार्यक्रमका फोकल पर्सन कमलप्रसाद भट्टराई भन्नुहुन्छ, ‘कागजबिहिन उपचार सेवाका लागि केन्द्रका स्वास्थ्यकर्मीलाई प्रविधि र प्रणाली सिकाउन तालिम गराएका हौँ । यसमा बिमित व्यक्तिले कार्ड देखाएपछि त्यसका आधारमा सफ्टवेयरमा नाम रजिष्ट्रेसन गरिन्छ । यसपछिका सबै प्रक्रिया सफ्टवेयरमार्फत नै हुन्छन् ।’ उहाँकाअनुसार आकस्मिक सेवा, ओपिडी, प्रयोगशाला, रेडियोलोजी, फार्मेसीका सबै सेवा अनलाइन हुनेछन् । यसबाट विरामीको वास्तविक अवस्था उही नै समयमा सम्बन्धितले थाहा पाउन सक्नेछन् । बिमा बोर्डले आफूले रकम भुक्तानी गर्नु पर्ने विरामीको स्वास्थ्य उपचार र अवस्थाका बारेमा त्यही प्रणालीबाट सूचना तथा विवरण थाहा पाउनेछ ।
सूचीकृत भएकाबाहेक अन्य सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरुको पूर्वाधार निर्माण (प्रयोगशाला, औषधिलगायत), जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरुको प्राप्तिका काम गरिरहेको छ ।
यसको व्यवस्थापनपछि बिमा बोर्डमा सूचीकृत गराएर पहिलो सम्पर्क विन्दु बढाउँदै लैजाने योजना रहेको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनको भनाइ छ । सबै (१—३२) वडाका लागि बिमा दर्ता सहयोगीले बिमा गराइरहेका छन् ।
सेवा सञ्चालनका लागि स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले मापदण्ड तोकेको छ ।
यस कार्यक्रममा बिमा गरेको प्रति ५ जना परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बिमा बोर्डले महानगरपालिकाअन्तर्गत रहेका प्रवर्धन केन्द्रलाई शोध भर्ना गर्नेछ ।
महानगरपालिकामा प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा ७ सदस्यीय पालिका संयोजन समिति गठन भएको छ । समितिको सदस्यमा वडाध्यक्षहरुको प्रतिनिधिका रुपमा वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापती हुनुहुन्छ । महानगरपालिकाका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवाल, स्वास्थ्य संस्थाकातर्फबाट प्रतिनिधि, उज्वल पन्थी, महिला स्वास्थ्य स्वयमसेविकाको प्रतिनिधि गंगा महर्जन, बिमा बोर्डका प्रतिनिधि कृष्ण पोखरेल, महानगरपालिकाको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन सदस्य हुनुहुन्छ । समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार रहेका छन् ।
स्वास्थ्य संस्थाहरुमा उपकरण, प्रयोगशालाको सेवामा निरन्तता, स्तरोन्नति र पूर्वाधार अभिवृद्धिमा सहयोग गर्ने, स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा सेवाको गुणस्तर वृद्धि गर्ने, गराउने, कार्यक्रम विस्तार गर्न प्रवर्धनात्मक कार्यमा सहयोग काम गर्ने संयोजन समितिको काम हो । समितिले, सरकारी, सार्वजनिक संस्थाहरुका कर्मचारी र परिवारलाई स्वास्थ्य बिमाको दायरामा ल्याउन नियमावलीले तोके बमोजिम प्रिमियमको व्यवस्था गरेर कार्यक्रममा आवद्ध गर्नेछ । अति गरिव परिवारलाई कार्यक्रममा आवद्ध गर्न पालिका र बोर्डबिच समझदारी गर्नेछ । नसर्ने रोगका लागि कार्यक्रमले दिई आएको सुविधा उपलव्ध गराउन वा वृद्धि गर्न बोर्डसँग साझेदारी गर्नेछ ।
बिमाबाट प्रदान गरिने औषधिहरु पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले सञ्चालन गरेका फार्मेसीमा उपलव्ध हुने व्यवस्थामा सहयोग गर्ने, गराउनेछ । स्वास्थ्य संस्थाहरुमा चिकित्सकको उपलव्धता हुने व्यवस्था गर्ने, गराउनेछ ।न्युज कारखाना
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ११ ले घटेर १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार छापावाल सुन तोलाको एक लाख ३६ हजार ५०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ८५० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य विहिबारकै प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । न्युज कारखाना
काठमाडौँ । सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ का नामले परिचित प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । केही समय अगाडि उनकी श्रीमतीको पनि मृत्यु भएको थियो।न्युज कारखाना
काठमाडौँ । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’ ले काठमाडौँ महानगरपालिकालाई अहिलेसम्म बहाल कर नतिरेको भेटियो । यी दुवै प्लाजा वडा नं. २२ मा छन् । आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन । पिपुल्स प्लाजाले नियमित ३ आर्थिक बर्षको तिरेको छैन । वहाल कर दुवैले तिरेका छैनन् ।
प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको राजस्व स्थलगत सुपरीवेक्षण तथा अनुगमन टोलीले, कम्प्लेक्स सञ्चालकसँग कर सम्बन्धी विवरण माग यस्तो अवस्था देखिएको हो । यसपछि टोलीले, कम्प्लेक्स सञ्चालकलाई ७ दिनभित्र विवरण पेश गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर वक्यौता तिर्न पत्र दियो ।
महानगरपालिकाको राजस्व विभागको ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ मा ३ प्रकारका राजस्व अनुगमन टोलीहरुको व्यवस्था गरिएको छ । एउटा वडा स्तरीय टोली छ । यसमा जनप्रतिनिधि, कर्मचारी, राजस्व विभागका कर्मचारी रहने व्यवस्था छ । अर्को केन्द्रमा राजस्व विभाग स्तरको टोली । यी दुवै टोलीले गरेका कामको अनुगमन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा टोलीको व्यवस्था गरिएको छ ।
अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले कम्प्लेक्स सञ्चालकहरुलाई, घर बहालमा लगाउँदा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारमा बुझाउनु पर्ने कानुनी व्यवस्था भएकोले यसैबमोजिम कर बुझाउन आग्रह गरे ।
अनुगमनका क्रममा वहाल सम्झौता, कर योग्य सम्पत्ति सम्बन्धी विवरण माग गरिएको थियो । आरबी कम्प्लेक्समा करि ३१५ व्यवसायी र पिपुल्स प्लाजामा करिब १६० व्यवसायी छन् ।
महानगरपालिकाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिने बिचका सर्त व्यवस्थापन गर्न ‘वहाल व्यवस्था कार्यविधि’ जारी गरेको छ । यसबमोजिम कम्प्लेक्स सञ्चालकले व्यवसायीसँग सम्झौता गरेर आपसमा एक÷एक प्रति लिनुदिनु पर्छ । एक प्रति वडामा बुझाउनु पर्छ । अनुगमनका क्रममा यस व्यवस्थाको पालना पनि हेरिएको थियो ।
न्युज कारखाना