२०८३ श्रावण १३
२०८३ श्रावण १३

वीरगन्ज । खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल–भारत खुला सीमा संवाद समूह, पर्साको आयोजनामा वीरगन्जमा बुधबार ‘खुला सिमा– सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल–भारत खुला सीमा संवाद समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै देशका अगुवाहरुको उपस्थिति रहेको थियो ।

समुहका राष्ट्रिय अध्यक्ष डा. झाले इपीजी रिपोर्ट बनाउने समिति समावेशी नभएको र नेपाल–भारत सीमा सम्बन्धि ज्ञान नभएका व्यक्तिहरुले बनाएकोले नमान्ने बताएका छन् । उनले वल्र्ड ग्लोबलाइजेसन तर्फ अग्रसर भैरहेको बेला सीमामा तारबार लगाउने कुरा असान्दर्भिक र हास्यासपद रहेको बताएका हुन् ।

यस्तै, अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको बताए । ‘नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै जनता–जनताबीच सम्बन्ध कायम थियो ।,’ उनले भने, ‘नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौंको नियम कानुनले मात्रै चल्न सक्दैन, किनकि यहाँ बहुआयामिक सम्बन्ध छ । खुला सीमा अवसर हो दुवै देशको लागि र यहाँका जनता रक्षक हुन् ।’

त्यस्तै, कार्यक्रमका अर्का वक्ता वरिष्ठ पत्रकार चन्द्रकिशोरले सीमा सुरक्षाको नाममा मधेशमा सैनिकिकरण भैरहेको बताएका छन् । उनले सीमा क्षेत्रमा रहेका जनताहरुको भावना अनुरुप नियम कानुन बनाउनु पर्ने बताए ।

अर्का वक्ता भारत रक्सौलका समाजसेवी महेश अग्रवालले खुला सीमा दुबै देशका जनताको आवश्यकता रहेको बताए । यसैगरी, प्रदेश सदस्य श्याम पटेलले  सरकारले चाहदैमा बोर्डरमा तारबार लगाउन नमिल्ने जिकिर गरे ।

यस्तै, प्राध्यापक डा. प्रमोद कुमार कुशवाहाले हाम्रो शिक्षा प्रणाली नै ठीक नभएकोले सीमा सम्बन्धि जानतामा भ्रम रहेको बताएका थिए ।

कार्यक्रममा डा. घनश्याम ठाकुर, नेजामुदिन समानी, कृष्णा पटेल, रम्भा मिश्रा, शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र, अशोक वैद्य, भारतीय महावाणिज्यदूतावासका शशि भुषण, अनिरुद्ध सिंह कल्वार लगायत समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, पत्रकार, राजनीतिकर्मीको विषेश उपस्थिति रहेको थियो ।न्युज कारखाना

विराटनगर । विमानस्थलमा बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ ।

बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध भएपछि उडान बन्द भएको हो ।

बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको छ । यस्तै हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको छ । तर, विमानस्थलको धावनमार्गमा अहिलेसम्म भने बाढी नपसेको कार्यालयले जनाएको छ ।

विमानस्थलको धावन मार्गमा बाढी नपसे पनि बाढी पस्ने जोखिम भएका कारण विमानस्थल बन्द गरिएको कार्यालयले जनाएको छ ।

दैनिक औसतमा १८ उडान हुने गरेको विराटनगर विमानस्थलमा आज कुनै पनि उडान हुन सकेको छैन । विमानस्थलमा पसेको बाढी घट्दै सामान्य अवस्थामा आएपछि मात्रै विमानस्थल सुचारु गरिने बताइएको छ । न्युज कारखाना

काठमाडौँ ।  काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम नेपाली सेनाको मुख्यालय जंगी अड्डाको रिपुमर्दिनी सभामण्डपमा बुधबार सम्पन्न भएको छ ।

गृह मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रमको सुरूमा गृहमन्त्री लामिछाने, गृह मन्त्रालय तथा विभिन्न मन्त्रालयका पदाधिकारीहरू, सुरक्षा निकायका अधिकारीहरू, स्काउट, विभिन्न क्याम्पस तथा विद्यालयका विद्यार्थीहरू एवम् सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको सहभागितामा लागूऔषध सम्बन्धी विभिन्न चेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली भृकुटीमण्डप, भद्रकाली हुँदै उक्त सभामण्डपमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले गृह मन्त्रालयद्वारा प्रकाशित ‘सुरक्षित जीवन’ नामक जर्नल २१औँ संस्करणको लोकार्पण गरेका थिए । उनले दिवसलाई सफल पार्न सहयोग गर्ने नेपाली सेना, नेपाल प्रहरी संगीत विद्यालय, सशस्त्र प्रहरी बल सांगितिक बाद्यबाधन गुल्म, नेपाल स्काउट, प्याब्सन लगायतका विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गर्नुको साथै  आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट हुन सफल नयाँ जीवन पुनर्स्थापना केन्द्र बागलुङ र सियान रिह्‍याबिलेशन हेटौंडालाई प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछानेले लागूऔषध प्रयोग तथा बेचबिखन आजको समाजको प्रमुख समस्या रहेको उल्लेख गर्दै यसको समाधानमा सरोकारवाला चार वटै मन्त्रालय एकै ठाउँमा उभिएर देशको युवा बचाउन लागि पर्ने बताए । उनले सीमित स्रोतका बावजुद धेरै जिम्मेवारी बोकेको प्रहरीलाई कर्तब्यनिष्ठ भएर लागूऔषध कारोबारीलाई कानूनको दायरामा ल्याउन निर्देशन दिए । दुर्व्यसनीलाई समाजमा पुनर्स्थापित गराउन सबैले मदत गर्नुपर्ने विचार उनले व्यक्त गरे ।

उक्त अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले आ-आफ्नो विचार व्यक्त गर्दै लागूऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणमा आफू र आफ्नो मन्त्रालय कटिबद्ध रहेको उल्लेख गरे ।

उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका अध्यक्ष तथा गृह मन्त्रालयका निमित्त गृह सचिव झक्क प्रसाद आचार्यले देशको चिन्ताको रूपमा रहेको लागूऔषध नियन्त्रण र नियमनको मुख्य जिम्मेवारी बोकेको गृहमन्त्रालयले जिम्मेवारी निर्वाह गर्न गैरसरकारी संघसंस्था, नागरिक समाज लगायत विभिन्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी समाजको साझा उद्देश्य प्राप्ती र सुखी समाज निर्माणमा आफ्ना गतिविधिहरू निर्देशित र केन्द्रीकृत गर्ने बताए ।

गृह मन्त्रालयका सह-सचिव ई. गोगन बहादुर हमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेसफाडा नेपाल, रिकभरिङ नेपाल, एफडिडिआरका प्रतिनिधिहरूले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

‘लागूऔषध दुरूपयोग विरुद्ध लडौं रोकथाममा जोड दिऔं’ भन्ने मूल नाराकासाथ सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले सङ्गीत प्रस्तुती गरेको थियो भने लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रदर्शनी गरिएको थियो । साथै विभिन्न विद्यालयका विद्यार्थीहरूले लागूऔषध सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा नृत्य प्रस्तुती गरेका थिए ।

गृह मन्त्रालयका निमित्त गृह सचिव झक्क प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा, निमित्त सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नागरिक समाज, संचारकर्मीहरू, विद्यार्थी, अभिभावक एवम् आमन्त्रित महानुभावहरूको समेत उपस्थिति रहेको थियो । न्युज कारखाना

काठमाडौँ । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभिस हेड टी- २० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा उक्लिएका छन् ।

आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित शिर्ष स्थानमा उक्लिएका हुन् ।

यस अघि शिर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् भने दोस्रो स्थानमा रहेका ईङल्याण्डका फिल साल्ट तेस्रो स्थानमा झरेका छन् ।

त्यस्तै पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् । त्यस्तै वेस्ट इन्डिजक जोन्सन चार्लेजले चार स्थानको सुधार गर्दै टप टेनमा इन्ट्री गरेका छन् ।

टी-२० क्रिकेटमा ब्याट्सम्यानको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६औं स्थानमा छन् भने अल राउण्डरको वरियतामा ऐरी सातौं स्थानमा रहेका छन् ।

त्यस्तै नेपालका कप्तान रोहित पौडेल ६१औं स्थानमा छन् भने आसिफ सेख ६९औं स्थानमा छन् ।न्युज कारखाना

काठमाडौँ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ ।

विभाग गठन भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपा ललितपुरमा मङ्गलवार अपराह्न भएको छलफलमा सहभागी उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरूसँगको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो । विभागका प्रमुख एवं केन्द्रीय सदस्य गुरु बरालको अध्यक्षतामा भएको कार्यक्रममा  उपभोक्ताको स्वास्थ्य र उपभोग्य बस्तुको गुणस्तर सम्बन्धमा कांग्रेसको स्पष्ट नीति आवश्यक रहेको विषयमा पनि चर्चा गरिएको थियो ।

सो अवसरमा  धारणा राख्ने सबै व्यक्तिले खाद्य तथा उपभोग्य सामग्रीहरूको गुणस्तर तथा मापदण्डको बारेमा नेपाली कांग्रेसले आम नागरिकको हितलाई ध्यानमा राखेर बस्तुको गुणस्तर र मापदण्ड, उपभोक्ता ऐन, नीति, नियम तय गर्न स्पष्ट दृष्टिकोण पनि आवश्यक रहेको बताउँदै संसद्मा गैर सरकारी विधेयक दर्ता गराउनु पर्नेमा पनि जोड दिएका छन् ।

सो अवसरमा आपूर्ति तथा उपभोक्ता विभागका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य बरालले उत्पादन र उपभोक्ताका हितका विषयमा कानुनी अप्ठ्यारोहरू के छन्, जोखिमहरू केके छन्, समस्यालाई सम्बोधन गर्दै उपभोक्ताको हक अधिकार संरक्षण कसरी गर्न सकिन्छ भन्ने अभिप्रायले सरोकारवालहरूसँग छलफल गरेको बताए । उनले भने ‘दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्य वृद्धिले चामल, चिनी, दाल, तेल, माछा–मासु, सागसब्जी तथा फलफूल अत्यधिक महँगिँदा आम उपभोक्ताको भात भान्छा अत्यन्त महँगो भएको छ, यस विषयमा कांग्रेस बेखबर बन्न सक्दैन, सत्ता रहँदा होस् या प्रतिपक्ष रहँदा होस्, काँग्रेसले उपभोक्ताको अधिकार संरक्षणमा, क्षतिपूर्तिको व्यवस्थामा, भएका कानुन कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ, यसैका आधारमा नीति तय गरेर लोक कल्याणकारी समाजवाद उन्मुख संविधानको मर्मलाई लागू गराउन हाम्रो भूमिका रहनेछ ।’

आम नागरिकको खाद्य माथिको सहज पहुँचको साथै स्वास्थ्य र गुणस्तरीय उत्पादनको उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्नेतर्फ पार्टीको ध्यान केन्द्रीकृत गराउने पनि बरालले बताए ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकारको बारेमा विभागले पहिलो पटक सुझाव सङ्कलन गरेको जानकारी दिँदै आगामी दिनहरूमा सरोकारवालाहरूसँगको छलफल र अन्तरक्रियामा नीति निर्माण तथा कार्यान्वयनलाई अझ प्रभावकारी  बनाउनु पर्नेमा जोड दिए ।

‘समृद्ध नेपाल निर्माणका लागि काम गर्छौ। दैनिक उपभोग्य वस्तुको आपूर्ति र जनताको आवश्यकता पूरा गर्न लागि उपभोक्ता अधिकारलाई बलियो बनाउनुपर्छ, पार्टीको दस्ताबेज निर्माणका लागि छलफल बहसले भूमिका निर्वाह गर्छ। यसलाई अझै व्यापकता दिनु आवश्यक छ ।’ उनले भने ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले बजारमा पाइने खाद्य पदार्थ कम गुणस्तरीय र अस्वस्थकर रहेको भन्दै गुणस्तरका बारेमा काँग्रेसले आवाज उठाउनु पर्छ भन्ने धारणा राखे ।

‘बजारका खाद्यान्न अस्वस्थकर भए, शुद्धताको विषयमा ध्यान दिनु जरुरी छ, हानिकारक कुरा र रसायनले मानव स्वास्थ्यमा असर पारिरहेको छ, बजारलाई नियमन गर्ने, गुणस्तर कायम गर्ने सरकारको मोडेल र नीति हुनुपर्छ, आपूर्ति शृङ्खलामा भएको लामो अन्तरलाई ध्यान दिनुपर्नेछ, नीतिगत कुरामा सुधार गर्नुपर्छ, भोटसँग जोडिएका राजनीतिक नेताबाट हैन कर्मचारी संयन्त्रबाटै बजार अनुगमन हुनुपर्छ ।’ उनले भनाइ छ ।

उनले उपभोक्ताको सूचनाको हकलाई प्रभाकारी बनाइनु पर्छ भन्दै भएका कानुनलाई प्रभावकारी कार्यान्वयन गरेर काम गर्ने व्यक्तिहरूलाई जिम्मेवार बनाउनुपर्छ भन्ने धारणा राख्दै सबै क्षेत्रमा समस्या रहेकोतर्फ सचेत गराए ।

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार थानीले उपभोक्ताको हित संरक्षण गर्ने सन्दर्भमा राज्यको निर्णय क्षमता कमजोर भएका कारण वितरण प्रणालीमा बेलाबेलामा समस्या आउने गरेको बताए ।

उनले भने ‘म एक्काइस महिना नेपाल आयल निगमको कार्यकारी हुँदा निगमको हितका साथै उपभोक्ताको हितलाई पनि ध्यानमा राखेर काम गरियो । जनतालाई तेलको मूल्य बढ्दा बढी चासो हुन्छ । २१ महिना कार्यकारी भूमिकामा हुँदा इन्डियन आयल कर्पोरेसनको सबै बक्यौता तिरियो, स्वचालित मूल्य प्रणाली लागू गरेको केही समयपछि नै सल्लाह गरेर पद छोडेको हुँ ।’

थानीले अहिले नेपालमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १९ सय ट्याङ्कर सबै निजी क्षेत्रका भएको बताउँदै आयल निगमको एउटा पनि ट्याङ्कर नहुँदा बेलाबेलामा ढुवानी व्यवसायीहरूको आन्दोलनका कारण उपभोक्ताहरू मारमा पर्ने गरेको पनि बताए ।

अहिले इन्डक्सन चुलोको प्रयोगले एलपी ग्यास खपतमा कमी आएको बताउँदै सरकारले उपभोक्ताका हितमा हुने गरी एलपी ग्याँसको खपत घटाउन उपभोक्तालाई सहज हुने गरी विद्युत् महसुस र विद्युतीय चुलोको व्यवस्थापन गर्ने नीति अङ्गीकार गर्नु पर्नेमा जोड दिए ।

दुग्ध विकास संस्थान (डिडिसी) काठमाडौँ आयोजनाका वितरण प्रमुखका गणेशकुमार यादवले कमिसन र माफियातन्त्रले गर्दा डिडिसीलाई सिद्ध्याउने गरी काम भइरहेको बताए ।  उनले अनावश्यक हल्लाले पनि डिडिसीलाई समस्या पारिरहेको बताउँदै उपभोक्तालाई सहज हुने गरी नै उत्पादनहरूलाई वितरण गरिरहेको बताए ।

आर्थिक मन्दिर र युवाहरूको विदेश पलायनले दूधको खपत कम भएको बताउँदै मखन नै ८ सय पचास मेट्रिक टन स्टकमा रहेका कारण पाँच महिनादेखि किसानले भुक्तानी पाउन नसकेको बताए । उनले किसानलाई तिर्नु १ अर्ब २९ करोड रहेको जानकारी दिए ।

हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्त कुमार पाण्डेले बिचौलियाका बारेमा पार्टीले बोल्नु पर्ने बताए । ‘पुराना उद्योगका उत्पादन महँगो हुने गरेका कारण उपभोक्ता मारमा छन्, उत्पादन लागत घटाउन सरकारले नयाँ प्रविधिमा रूपान्तरणका लागि प्रोत्साहन गर्नुपर्छ । सरकारले औद्योगिक क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने छ, सरकारले चलाउने उद्योगबाट उत्पादन हुने सिमेन्ट भन्दा निजी क्षेत्रबाट उत्पादन हुनेमा लागत कम हुने गरेको छ, जसअनुसार प्रतिस्पर्धा गर्नुपर्दा सस्तोमा बेच्नुपरेकाले घाटा व्यहोर्नु परेको छ ।’ उनले भने ।

नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले भने गुणस्तर कायम राख्न र मूल्य नियन्त्रणका लागि उत्पादनमा सरकारको उपस्थिति हुनु पर्नेमा जोड दिएका थिए ।

उनले भने ‘सरकारको उपस्थिति हुँदैनथ्यो भने अहिले सिटामोलको न्यूनतम मूल्य अहिलेको भन्दा ६ सय गुणामाथि हुन्थ्यो । उत्पादनमा सरकारको उपस्थिति हुनुपर्छ, तरकारी, फलफूल, दूध र खाद्यको विषयमा गुणस्तर कायम गर्न हाम्रो आफ्नो मापदण्ड बनाउनुपर्छ ।’

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष खोमप्रसाद घिमिरेले फलफूल तथा तरकारी सम्बन्धी उपभोक्ताको हितमा हुने गरी स्पष्ट नीति आवश्यक रहेको बताएका छन् । ‘आपूर्ति सम्बन्धी योजनाबद्ध नीति आवश्यक छ, सधैँ आपूर्ति मात्रै गरेर धेरै समय धान्न सकिँदैन, पुँजी बाहिरिने समस्या रोक्न उत्पादन वृद्धि,सन्तुलित मूल्य शृङ्खलाका लागि नीति बनाइनुपर्छ, किसानहरूको उत्पादनले मूल्य नपाएर पीडित हुनुपरेको छ, फलफूल र तरकारीलाई स्थानीय तहले समर्थन मूल्य तोक्नु जरुरी छ। प्रदेश सरकारले पनि आवश्यक नीति लिनु आवश्यक छ। तरकारी तथा फलफूलको गुणस्तर मापदण्ड राखिनुपर्छ ।’ उनको भनाई थियो ।

हेटौडा सिमेन्ट उद्योगका पूर्व अध्यक्ष रघु रमण न्यौपानेले उत्पादकबाट उपलब्ध सामग्री घर घरमा पुर्‍याउन व्यवस्थापन नै नमिलेको बताउँदै उत्पादन र वितरणमा तारतम्य नमिल्दा उपभोक्ता शृङ्खलामा समस्या सृजना भएको उल्लेख गरे । नेपाली उत्पादनले नै मासुजस्ता अन्य बस्तुमा आत्मनिर्भर भइरहेको अवस्थामा बेलाबेलामा फैल्याइने अनेक अनावश्यक हल्लाले समस्या सिर्जना गर्ने गरेको उल्लेख गरे ।

इलाम डेरीका सञ्चालक देवेन्द्र रिमालले निजी क्षेत्रले विक्री वितरण गर्नेभन्दा ३ रुपैयाँ बढी डिडिसीले नौनी घ्यू बेच्दा पनि घाटा हुने कुरा गर्नुलाई यसको पछाडिका रहस्यहरू र कारण खोज्नु आवश्यक रहेको बताए ।

कांग्रेसको उपभोक्ता विभागका सदस्य फूलकुमार लालवानीले उपभोग्य बस्तुको आपूर्तिका लागि सहज हुने गरी सहजी करणका लागि नीति बनाउन पार्टीलाई सहजीकरण गर्ने बताए । नेपाली कांग्रेस पार्टी सरकारमा रहँदा वा नहुँदा सकारात्मक भूमिका निर्वाह गर्ने बताउँदै उनले क्षेत्रगत विषयमा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गर्दै नीतिगत छलफल गरेर पार्टीको कार्यलाई गतिशील बनाउने बताए । विभाग प्रमुख बरालले आफूहरूले पहिलो पटक सबैसँग छलफल गरेको बताउँदै अब आउँदा दिनमा विभिन्न क्षेत्रगतरुपमा छलफल गर्ने बताए । उनले फलफूल तथा तरकारी,   दुग्धजन्य पदार्थ,   पेट्रोलियम पदार्थ, औषधी, सिमेन्ट, रड लगायत तमाम विषयमा सम्बन्धी क्षेत्रका व्यक्तिहरूसँग छलफल गर्ने योजना रहेको पनि जानकारी दिए ।न्युज कारखाना

काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले रुपमा पक्राउ गरेको छ ।

मदिरा घोटाला प्रकरणमा सीबीआईले मंगलबार राति तिहाड जेलमा केजरीवालसँग सोधपुछ गरेको थियो । सोधपुछ पछि सीबीआईले बयान रेकर्ड गर्यो र बुधबार बिहान केजरीवाललाई राउज एभिन्यू अदालतमा पेश गर्न लागेको छ ।

सुनुवाइपछि सीबीआईले केजरीवाललाई अदालतमै पक्राउ गरेको थियो । सीबीआईले केजरीवाललाई हिरासतमा लिन अदालतसँग माग गरेको छ ।

केजरीवालको जमानत याचिकामा बुधबार बिहान सर्वोच्च अदालतमा सुनुवाइ हुने थियो, तर त्यसअघि सीबीआईले उनलाई तिहाड जेलमा हिरासतमा लिएको थियो ।

यसपछि अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट आफ्नो याचिका फिर्ता लिए र पुन अर्को याचिका दायर गर्ने भएका छन् ।

अरविन्द केजरीवालका वकिल अभिषेक मनु सिंघवीले भने, ‘हामीसँग हरेक दिन केही न केही भइरहेको छ । सीबीआईले २०२२ को सूचना र अनुसन्धानको सन्दर्भमा हिजो पक्राउ गरेको हो ।’

यस अघि केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले जमानतमा रिहा गर्न आदेश दिएको थियो । जसलाई  दिल्ली उच्च अदालतले खारेज गरिदिएको छ ।
न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण जनसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको बताएकी छन् ।

ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका निर्देशक झाछिन्कुनको नेतृत्वमा काठमाडौँ आएको प्रतिनिधि मण्डलसँग भेट गर्दै उपप्रमुख डंगोलले यस विषयमा जानकारी गराएकी हुन् ।

‘काठमाडौँ ल्हासाको अनौपचारिक सम्बन्ध काठमाडौँमा मानव बसोबास सुरु भए देखिको हो । यहाँका आदिबासी नेवार समुदायले ल्हासाबाट सुनसहित अन्य सामान ल्याएर व्यापार गर्थे ।’ उनले भनिन्, ‘कोविड १९ को महामारीले आफैँ संकटमा परेका बेला हाम्रो संकट व्यवस्थापन गर्न प्राप्त सहयोगले जनताको स्वास्थ्योपचारमा काम गर्न पाइयो । यसरी दुई नगरबिचको सम्बन्धको लाभ महानगरबासी स्तरमा पुगेको छ ।’

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भाषा फरक भए पनि भाव एउटै भएको उल्लेख गरे । ‘नेपालीमा प्रचलित उखान छ, ल्हासामा सुन छ कान मेरो बुच्चै । यसले ल्हासाको समृद्धि दर्शाउँछ । हामीले यो उखान जत्तिकै समृद्ध भएको महसुस गरेका छौँ ।’ उनको भनाइ थियो ।

ल्हासा र काठमाडौँको समन्ध, इतिहास कालदेखिर्कै हो । भेटका क्रममा ल्हासा नगरका अन्तरराष्ट्रिय मामिला प्रमुखले भने, ‘अनौपचारिक सम्बन्ध भएको समयभन्दा औपचारिक सम्बन्ध भएको समयलाई थप आत्मीय र गाढा बनाउन चाहन्छौँ ।’ भेटका क्रममा उनले, दुई नगर बिच अटुट सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गरे ।

प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार काठमाडौँ र ल्हासा नगरका बिचमा सन् २०११ सेप्टेम्बर महिनामा भगिनी सम्बन्ध स्थापना भएको हो ।

भगिनी सम्बन्ध स्थापना भएपछि ल्हासा नगरले काठमाडौँको सरसफाइ, सुन्दरता, जनस्वास्थ्य प्रणालीलगायत विभिन्न क्षेत्रमा सहयोग गरेको छ । यस्तै १० पटक काठमाडौँको भ्रमण भएको छ ।

काठमाडौँ महानगरपालिकाबाट पनि समय समयमा प्रतिनिधि मण्डलले ल्हासाको सहरी विकास तथा व्यवस्थापनको अवलोकन भ्रमण गरेका छन् ।

यस पटकको भ्रमण प्रतिनिधि मण्डलले ल्हासाले उपलब्ध गराएका स्वास्थ्य उपकरण प्रयोग भएका अस्पतालमा अवलोकन गरेको छ । यस क्रममा सामान तथा उपकरणको उपयोग र यसबाट जनसाधारणमा परेको लाभका विषयमा जानकारी लिएको छ । न्युज कारखाना

बारा । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृह नगर कलैया उपमहा नगरपालिकाले एक समारोह बिच सम्मान गरेको छ । शाहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदान समेत गरेको छ ।

उपमहानगरपालिकाका मेयर बिनोद साहले पुर्व घोषणा अनुसार टी- २० विश्वकमपा नेपाली राष्ट्रीय टोलीमा सहभागि कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हसतान्तरण गरेका हुन् ।

कलैयामा जारी नगरसभामा खेलाडी साहलाई मेयर साह र  नगर खेलकुद बिकाश समितीका संयोजक महमद समिउल्लाहले संयुक्त रुपमा खाँदा ओढाएर कदरपत्र बाट सम्मानित गरेका थिए ।न्युज कारखाना

चितवन । मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जादा सडक एकतर्फी संचालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी दिएको छ । न्युज कारखाना

काठमाडौँ । परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइडोङले बुधबार भेटवार्ता गरेका छन् ।

सो भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस अघि वेइडोङले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।

नेपाल भ्रमण सकेर उपविदेशमन्त्री वेइडोङ आजै स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकालले विदाई गरेका छन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।