मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५५ किलोग्रामसहित चितवन राप्ती नगरपालिका-२ गड्यौली बस्ने ३६ वर्षीय सुनिल मुक्तानसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयातर्फ जाँदै गरेको ना.५ ख १११८ नम्बरको ट्रक जाँच गर्ने क्रममा हुटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, भिमफेदी गाउँपालिका-१ सामरी पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय ७५ किलोग्रामसहित हेटौंडा उपमहानगरपालिका-४ बस्ने ५१ वर्षीय पूर्ण बहादुर रूम्बालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले बा.३ ख ४६१ नम्बरको मिनीट्रकलाई जाँच गर्ने क्रममा ट्रकको पछाडि भागमा पल्स बटन बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला परी चालक पूर्ण बहादुरलाई पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१७ अलौबाट अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्रामसहित बहुदरमाई नगरपालिका-७ फूलकौल गाउँ बस्ने ३१ वर्षीय विश्वेश्वर प्रसाद यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खलवाटोला श्रीसियाबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको मोटरसाइकललाई रोकी जाँच गर्न खोज्दा चालक फरार भएको र पछाडि सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको खोजी भइरहेको छ ।
भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-५ कमेरेटारबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ९ सय ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-३ घर भएका ४५ वर्षीय राम कुमार तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.प्र.०२-०३४ प ०१७८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-१ घर भई शिवसताक्षी नगरपालिका-१० टेकक्रा बस्ने २६ वर्षीय प्रदिप तामाङलाई अवैध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८७ मिलिग्राम र नगद २० हजार ४ सय २० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट माइधारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-८ तिनकुनेस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामानिल ९ हजार ९ सय क्याप्सुलसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिक-८ बस्ने २४ वर्षीय कृष्ण बहादुर विक र सोही उपमहानगरपालिका-१७ बस्ने २५ वर्षीय दिनेश निरौला रहेका छन् । अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरीले बिराटनगरबाट धरानतर्फ आउँदैगरेको को.१ ख ४७४७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका चालक विक र सहचालक निरौलालाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनस्थित सडकबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ १ सय ५० ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-५ बस्ने २१ वर्षीय नितेश पाण्डे र ३० वर्षीय नवीन सुनार रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।न्युज कारखाना
रौतहट- मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवको पहलमा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका घरको भुक्तानीको माग गर्दै पूर्वाधार कार्यालय गौरमा धर्ना बसेका आन्दोलनकारी पीडितसँग सहमति भएको छ।
मौलापुर नगरपालिकाको विभिन्न टोलमा निर्माण भएको आवासहरूको भुक्तानी गर्न कर्मचारीहरूले जालझेल गर्दै आएपछि प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम दलित मोर्चाको अगुवाइमा सरोकारवालाले पूर्वाधार कार्यालय गौरमा चार दिनअघि तालाबन्दी गरेर धर्नामा बसेका थिए।
मोर्चाको अगुवाइमा धर्नामा बसेका पीडितहरू र मधेश सरकारका मन्त्री सरोज यादवको उपस्थितिमा सहमति भएको हो। सहमति अनुसार पूर्वाधार कार्यालय गौरबाट अनुगमन निरीक्षण गरी प्रतिवेदन तयार पारेर आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट भुक्तानी गर्ने, मौलापुर नगरपालिका अन्तर्गत पर्ने भकुवा पुलको अधुरो कार्यलाई जिल्ला समन्वय समिति रौतहटमार्फत् यथाशीघ्र कागजातहरू पेश गराई पुल निर्माणको काम पूरा गर्नुपर्ने सहमति भएको मोर्चाका अध्यक्ष ठागा दाशले बताएका छन्।
उल्लेखित मागहरू सम्बोधन भएपछि गठित संघर्ष समितिले आफ्ना सबै आन्दोलन आजैदेखि फिर्ता लिएको छ। बैठकमा मन्त्री यादवका साथै एमाले केन्द्रीय सदस्य अजय कुमार गुप्ता, सिडिओ हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्रका एसपी विक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंह, भौतिक पूर्वाधार कार्यालय गौरका प्रमुख, मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, आम विधार्थी मोर्चाका अध्यक्ष विवेक साह, संघर्ष समितिका अध्यक्ष ठागा दास लगायतको सहभागिता रहेको थियो।
मधेश प्रदेश सरकारको मातहत रहेका जनता आवास कार्यक्रमका ठेकदारहरूले कैयौं घर निर्माण भइरहेकै अवस्थामा अधुरो छोडेका छन्।
रौतहटको कटहरिया-८ बगही, मौलापुर नगरपालिका अन्तर्गत पतौरा, मर्यादपुर, पथरा, बुधरामपुर लगायतका गाउँमा जनता अवास कार्यक्रम अन्तर्गत निर्माण भइसकेको घरको भुक्तानी गर्न बाँकी रहेको संघर्ष समिति संयोजक ठागा दासले बताएका छन्।
यस अघी आम दलित मोर्चाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा रौतहटका सिडिओ हिरालाल रेग्मीलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।न्युज कारखाना
काठमाडौं । प्रतिनिधि सभाका केही सदस्यहरुलाई विषयगत समितिमा हेरफेर गरिएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको जानकारी गराएका हुन् ।
जसअनुसार कार्य व्यवस्था परामर्श समितिमा अब्दुल खानको स्थानमा अनिता देवीलाई मनोनयन गरिएको छ भने संसदीय सुनुवाई समितिमा डोलप्रसाद अर्यालको स्थानमा डा. स्वर्णिम वाग्लेलाई समावेश गरिएको छ ।
त्यसैगरी अर्थ समितिमा डा. प्रकाशरण महत, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायणप्रकाश साउद, कानुन न्याय तथा मानव अधिकार समितिमा सीता गुरुङ र सुहाङ नेम्बाङलाई समावेश गरिएको सभामुख घिमिरेले जानकारी दिएका छन् ।
त्यस्तै रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा राखिएको छ भने टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा समावेश गरिएको छ ।
त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा धनराज गुरुङ, डिगबहादुर लिम्बू र मोहनबहादुर बस्नेतलाई राखिएको छ।
सभामुख घिमिरेका अनुसार अनिता देवीलाई राज्य व्यवस्था तथा सुशासन समितिमा राखिएको छ भने हरि ढकाललाई सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेर गरिएको छ । त्यस्तै असिम साहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा समावेश गराइएको छ ।न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारीको संख्या २१ सदस्यीय बनाउने भएको छ ।
विहिबार बसेको सचिवालय बैठकले पधाधिकारीमा अध्यक्ष, सम्मानित नेता र वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा एक महिला र एक मधेशी रहने व्यवस्था गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
त्यसैगरी एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने भएको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक-एक जना ल्याइने भएको छ ।न्युज कारखाना
काठमाडौँ । भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।
भारतले दिएको १७२ रनको लक्ष्य पचाएको इङल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो ।
यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । फाइनल खेल शनिबार राति ८: १५ बजेदेखि हुने भएको छ ।
न्युज कारखाना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । न्युज कारखाना
आजमिति २०८१ साल असार १४ गते शुक्रबार तदअनुसार जुन २८ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको सत्तमी तिथी, पुर्वभाद्र नक्षत्र, । सौभाग्य योग । चन्द्र राशि मिन । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४० देखि १२:३५ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:११
• सुर्यास्त: बेलुका ०७: ०३ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ७
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः २
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः १
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः रातो
शुभ अंक ः ४
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः २
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः सेतो
शुभ अंक ः ८
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ९
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन् । ऊनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।
न्युज कारखाना
महोत्तरी । आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका-४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घराययी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफुले घनश्याम भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट गरेका छन् ।
विहिबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिदै नेता खनालले आफ्नो दाबि जारी रहेको बताउदै भुसालसँग सहमति नभएको स्पष्ट गरेका हुन् ।
बुधबार खनाल निवासमा भुसालसँगको छलफल पछि उनलेअध्यक्षमा भुसाललाई सहमति गर्ने भएको बताइएको थियो ।
नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ भन्दै आफ्नो नाममा सहमति बन्ने बताएका हुन् ।
असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा वर्तमान अध्यक्ष माधव नेपाललाई नेता खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने बताएका छन् ।न्युज कारखाना
जनकपुरधाम । मैथिली भाषामा निर्माण गरिएका फिल्महरुलाई लक्षित गर्दै पहिलोपटक जनकपुरधाममा दुई दिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरिएको छ । असार ११ र १२ गते जनकपुरस्थित गिरिजा हलमा चलेको महोत्सवलाई जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवले गर्दै मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा टेवा पुर्याउने बताए ।
‘मैथिली भाषामा फिल्म निर्माण हुनु गौरवको विषय हो । नवीनतम सोच भएका युवाहरूको उपस्थिती बढेसँगै आउँदो समयमा अन्य भाषा झैँ मैथिली फिल्मले फड्को मार्नेमा विश्वस्त छु । यो महोत्सवले मैथिली फिल्म बनाउन प्रेरित गर्नुका साथै मन्थन गर्ने अवसर दिएको छ’, मुख्यमन्त्री सिंहले भने ।
दुई दिन चलेको महोत्सवमा प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड (काठमाडौँ), चलचित्र विकास बोर्ड (काठमाडौँ) जोडिएको कार्यक्रममा सहभागी अभिनेता तथा निर्देशक् नीर शाहले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउन अन्तर संस्कृतिका विषय फिल्ममा आउनु पर्ने बताए ।
‘हामी कहाँ कथा कुनै कमि छैन । सांस्कृतिक विविधताले हामीलाई धेरै विषय दिएको छ । त्यसकारण हामीले त्यस्ता विषयसँग जोडिएको कथालाई अगाडि ल्याउन सक्नुपर्छ । त्यसैले हामी अन्तर सांस्कृतिक हुनुपर्छ’, अभिनेता शाहले भने ।
महोत्सवका निर्देशक रमेश रञ्जन झाले फेस्टिभलका कारण मिथिलाञ्चल क्षेत्रसँगै मैथिली भाषामा काम गरिरहेका प्रसिद्ध कलाकार, लेखक, गायक तथा निर्देशक एउटा प्लेटफर्मको निर्माण भएको बताए ।
‘मैथिली भाषाका फिल्म र फिल्मकर्मीलाई आफ्नो काम मुल्यांकन गर्ने र छलफल गर्ने एउटा प्लेटफर्म तयार भएको छ । मैथिली भाषालाई लक्षित गर्दै नेपाल मात्र नभई भारतमा समेत फिल्म फेस्टिभल भएका छैनन् । हामी यो भाषामा काम गरिरहेकालाई प्रोत्साहन गर्न चाहन्छौँ’, निर्देशक झाले भने ।
महोत्सवमा वृत्तचित्रतर्फ ‘गुमकी’ र ‘विदापत’ तथा लघुफिल्मतर्फ ‘अफवाह’ र ‘रक्त तिलक’, फिचर फिल्मतर्फ ‘ललका पागु’, ‘लोटस ब्लूम्सु’ ‘समानान्तर’ प्रदर्शन गरियो । यस्तै, महोत्सवमा ‘मैथिली सिनेमाक निर्माण आ व्यवसाय’, ‘निर्देशक सँ विमर्श’, ‘समकालीन परिदृश्य मे मैथिली सिनेमा’, ‘मैथिली सिनेमाक विविध स्वरूप आ सम्भावना’ शीर्षकमा अन्तरक्रिया गरिएको निर्देशक र महोत्सवका संयोजक पुर्णेन्दु के झाले जानकारी दिए ।
‘पहिलो संस्करण भएकाले हामीले प्रतिस्पर्धा राखेनौं । हामीले अहिले मैथिली भाषामा काम गरिरहेकालाई भेला गर्ने काम गर्यौं । आउँदो दिनमा यसको प्रभाव देखिने नै छ । साथै महोत्सवमा भएका अन्तरक्रियाले फिल्म निर्माण गर्न प्रेरित गरेको छ । मिथिला संस्कृति र भाषालाई संरक्षण गर्न फिल्मले खेल्ने भूमिकाको विषयमा चर्चा भएको छ’, निर्देशक झाले भने । महोत्सवलाई नेपोभिट टायल्सले सघाएको थियो ।न्युज कारखाना