काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतीय राजदुत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।
मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा सिंहलाई राजदुत श्रीवास्तवले भेटवार्ता गरेको उनको सचिवालयले जानकारी गराएका हुन् ।
भेटमा राजदुत श्रीवास्तवले बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । उत्तर कोरियाका एक कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबी गरिएको छ । दक्षिण कोरियाको जासुसी एजेन्सीले शरण खोज्ने कूटनीतिज्ञहरू क्युबामा उत्तर कोरियाली राजनीतिक मामिला सल्लाहकार भएको दाबी गरेको छ ।
दक्षिण कोरियाको राष्ट्रिय खुफिया सेवाले उत्तर कोरियाली राजनीतिक मामिला सल्लाहकार क्युबाबाट भागेको रिपोर्टहरू सत्य भएको बताएको छ ।
रिपोर्टमा उत्तर कोरियाली कूटनीतिज्ञ रि इल क्यू गत वर्ष नोभेम्बरमा आफ्नो श्रीमती र बच्चाहरुसँग दक्षिण कोरिया आएको बताइएको छ भने यस बारे थप विवरण दिइएको छैन । हालैका वर्षहरूमा धेरै उत्तर कोरियाली कूटनीतिज्ञहरूले दक्षिण कोरियामा शरण लिएका छन् र रि इल क्यूको मामला यस श्रृंखलाको सबैभन्दा नयाँ हो ।
प्रतिवेदनमा रीलाई उद्धृत गर्दै राजनीतिक प्रणालीप्रतिको मोहभंगका कारण उत्तर कोरियाबाट भाग्ने निर्णय गरेको दाबि गरिएको छ ।
दक्षिण कोरियाली एजेन्सीले उत्तर कोरियाली विदेश मन्त्रालयका अधिकारीहरूसँग गम्भीर मतभेद भएपछि रिले भाग्ने निर्णय गरेको दाबी गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले उत्तर कोरियाली कूटनीतिज्ञ सियोल भागेको वा नभएको पुष्टि गरेको छैन ।
१९५०-५३ कोरियाली युद्धको अन्त्य पछि, लगभग ३४ हजार उत्तर कोरियालीहरू आर्थिक कठिनाइ र राजनीतिक दमनबाट बच्न दक्षिण कोरियामा भागेको बताइएको छ ।न्युज कारखाना
काठमाडौँ । बलिवुडका सुपरस्टार अभिनेता अक्षय कुमारका फिल्मले पछिल्लो समयमा बक्स अफिसमा सफलता पाउन सकेका छैनन् । अहिले रिलिज भएको फिल्म सरफिरा बक्स अफिसमा असफल भएपछि अक्षयको समस्या बढेको छ ।
हरेक बर्ष कम्तिमा चार फिल्म रिलिज गर्ने अक्षय कुमारका पछिल्ला फिल्म लगतार असफल भएको समयमा सरफिराबाट उनले विशेष आशा राखेका थिए । तर यो फिल्मले पनि दर्शकको मन जित्न नसकेपछि उनी निराश भएका छन् ।
सरफिराको पहिलो दिन कमाई नै निकै निराशाजनक रहेको थियो । साताको अन्त्यमा फिल्मको कमाईमा केही सुधार भएपनि पहिलो सोमबारको कमाईमा उल्लेख्य गिरावट आएको छ । फिल्मले आइतबार ५.१ करोड कमाएको थियो । चौथो दिन सरफिराले १.४० करोड कमाएको थियो । योसँगै फिल्मले अहिलेसम्म १३.४० करोडको व्यापार गरेको छ ।
८० करोडको लगानीमा बनेको यो फिल्मले अब बक्स अफिसमा जादु देखाउने सम्भावना देखिएको छैन ।
यस अघि उनको अप्रिलमा रिलिज भएको बडे मिया छोटे मियाँले केवल ५९ करोड कमाएको थियो र फ्लप भएको थियो भने त्यसअघि गत अक्टोबरमा मिसन रानीगंजले ३३ करोड कमाएको थियो र बक्स अफिसमा असफल भएको थियो । सरफिरासँगै उनका लगातार तेस्रो फिल्म बक्स अफिसमा फ्लप भएका छन् ।
उनको फिल्म २०२३ को अगस्तमा ओएमजी- २ ले १५० करोड कमाई गरेको थियो र बक्स अफिसमा सुपर हिट भएको थियो । त्यसअघि रिलिज भएका सेल्फी, रक्षा बन्धन, सम्राट पृथ्वीराज र बच्चन पाण्डे फ्लप भएका थिए ।
सुधा कोंग्रा प्रसादले निर्देशन गरेको सरफिरामा अक्षय कुमार बाहेक राधिका मदन, परवेश रावल सीमा विश्वासलगायतको अभिनय रहेको छ ।न्युज कारखाना
काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । आज अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।
समाजवादी मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीति बारे छलफल हुने बताइएको छ ।
समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो ।
यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ९ सय रहेको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो ।
यसको सुरूवात भएको आर्थिक बर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरि जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका छन् । यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार/स्वरोजगार भएका छन् ।
महानगरको सानो प्रयासले एक आर्थिक बर्षमा १७०० भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनीहरू रोजगार/स्वरोजगार भएका छन् । यद्यपि यो हाम्रो लक्ष्य भन्दा धेरै सानो संख्या हो । आर्थिक बर्ष २०८१/८२ मा दुवै योजनाहरूलाई थप परिस्कृत गरि लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरि बजेट तथा कार्यक्रमहरु तयार गरेको छ । सिप मेलामा फर्म भर्नु भएका सम्पूर्णलाई तालिमतालिका अनुसार तालिम उपलब्ध गराउने नै छौँ । समय र स्थान एसएमएस मार्फत जानकारी गराउने छौँ ।
महानगरले व्यवसाय, संघ संस्था कार्यालयका लागि सीपयुक्त दक्ष जनशक्ति आवश्यक परेमा काठमाडौँ प्लाजास्थित महानगरको श्रम बैंक वा वेबसाइटमा भएको लिंक मार्फत सम्पर्क गरी सेवा लिन सक्ने जनाएको छ । एउटै पदका लागि १० जना भन्दा बढी जनशक्ति आवश्यक भएमा सेलेबसमा आधारित तालिम दिई रोजगारीमा पठाउने व्यवस्था मिलाएको महानगरले जनाएको छ ।
न्युज कारखाना
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय १३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय १३ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय १९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय ५ वटा घर, ७८ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ६ सय ३० घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जानकारी दिएकोछ ।न्युज कारखाना
चितवन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन ।
नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको अहिले उत्खनन गर्ने काम भैरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
त्रिशूली बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै शव भएको हुनसक्ने अनुमान छ । यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका ३ यात्रुको शव फेला परेको थियो ।
हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ भने कम्तिमा ४७ यात्रुको अवस्था अझै अज्ञात रहेको छ । सिमलता दुर्घटनामा परेका यात्रुको शव करिब १०० किमी तल गण्डक व्यारेजमा भेटिन थालेकोले सो क्षेत्रमा खोजी तिब्र पारिएको स्थानीय प्रशासनले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । पूर्वप्रधान मन्त्री एवम् मदन पुरस्कार विजेता आख्यानकार लोकेन्द्रबहादुर चन्दको ‘रात्रिभोज’ कथा सङ्ग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ।
वि.सं. २०६० मा बगर फाउन्डेसन नेपालबाट पहिलो संस्करण प्रकाशित यस कृतिको दोस्रो संस्करण वि.सं. २०८१ मा एलआरआई एडुकेसनल् फाउन्डेसनबाट प्रकाशित भएको हो। यस कृतिमा कृतिको नामकरण गरिएको रात्रिभोज कथासहित जम्माजम्मी १८ कथा समावेश छन्।
जीवन–भोगाइसम्बद्ध अनेक परिघटना एवम् मनोगत विम्बलाई बौद्धिकताको कसी लगाएर तथ्यपरक आलोचनाका साथ स्पष्ट मूल्याङ्कनसमेत गर्ने प्रखर सामथ्र्य भएका कथाकार लोकेन्द्रबहादुर चन्दले विभ्रान्त अन्तर्दशाका नेपथ्यमा नै मानवीय निष्ठा र आदर्शको घर–आँगन स्थापना गर्ने अभीष्टका साथ सामाजिक यथार्थमा आधारित पर्यवेक्षणयुक्त आख्यान सिर्जना गरी उच्च साफल्य प्राप्त गरेको पुस्तकका सम्पादक सुभाषचन्द्र भण्डारीले बताए।
उनले कथाका माध्यमबाट भ्रष्ट र अनैतिक आचरणको पर्दाफास गर्दै निखारिएको व्यङ्ग्यात्मक धारको चेत–अस्त्रबाट चोटिलो प्रहार गरेका छन्। उनले वस्तुतः सामाजिक विसङ्गतिले विषाक्तिएर विक्षत भएका असन्तुष्टि र आवेशयुक्त मनोद्वन्द्वका बियाँहरुलाई युगचेतनाको सुपोमा राखेर राम्ररी निफनेको भण्डारीले बताए।
‘हिउँको तन्ना’ र ‘विसर्जन’ (मदन पुरस्कार प्राप्त) पछि प्रकाशित तेस्रो कथासङ्ग्रह ‘रात्रिभोज’को दोस्रो संस्करण (वि.सं. २०८१) एलआरआई एडुकेसनल् फाउन्डेसन, काठमाडौंका तर्फबाट सुरुचिपूर्वक प्रकाशन गर्ने अभिलाषा सार्थक गरेकोमा शिक्षासेवी, समाजसेवी एवम् साहित्यपारखी शिवराज पन्तप्रति भण्डारीले आभार व्यक्त गरे।न्युज कारखाना
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकन सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरेका छन् ।
ट्रम्पले सोमबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा यो घोषणा गरेका हुन् । भ्यान्स ट्रम्पको आलोचक थिए तर पछि उनको सहयोगी बने।
ओहायोबाट पहिलो पटक सिनेटरमा निर्वाचित भएका भ्यान्सको कन्जरभेटिभ मतको राम्रो आधार छ । भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुले रिपब्लिकन पार्टीमा ठूलो संख्यामा कन्जरभेटिभ मतदातालाई आकर्षित गर्न सक्ने बताइएको छ ।
रिपब्लिकनबाट उपराष्ट्रपतिको दौडमा फ्लोरिडाका सिनेटर मार्को रुबियो, नर्थ डकोटाका गभर्नर डग बर्गमलगायत दौडमा रहेका थिए ।न्युज कारखाना